काठमाडौं– नेपालमा अनलाइन भुक्तानी बढ्दो छ । गोजीमा नगद बोकेर हिँड्ने युवा जमात कमै देखिन्छ । हामीले डिजिटल प्रविधि प्रयोग गरी अनलाइन भुक्तानीलाई दिनानुदिन बढाइरहेका छौँ ।
अनलाइन भुक्तानी गर्न मोबाइल बैंकिङ, वालेट, कनेक्ट आइपीएस, डेबिट कार्ड, क्रेडिट कार्ड र इन्टरनेट बैंकिङ लगायत विभिन्न प्लाटफर्म छन् । नेपाल राष्ट्र बैंकका अनुसार यी प्लाटफर्ममा एक वर्ष अवधि अर्थात् २०८० असारदेखि २०८१ असारसम्ममा ८६ लाख ८९ हजार २५८ जना प्रयोगकर्ता थपिएका छन् ।
हामीले रकम भुक्तानीमा डिजिटल माध्यम रोज्दै गर्दा आफ्ना लागि उपलब्धमध्ये कुन प्लाटफर्म उपयुक्त छ भनी थाहा पाउनुपर्छ । अहिले नेपालमा पीएसओ नौ वटा र पीएसपी २६ गरी ३६ वटा डिजिटल प्लेटफर्महरू छन् ।
तथ्यांक अनुसार सम्पूर्ण प्लेटफर्महरूमा २०८० को तुलनामा २०८१ मा भुक्तानी बढेको देखिएको छ । यसलाई एटीएम मेसिन प्रयोगले नै पुष्टि गर्छ ।
२०७९ साल असारमा देशभर चार हजार ६०६ वटा रहेको एटीएम मेसिन प्रयोगमा थिए । २०८० असारसम्म यो सङ्ख्या बढेर ४८ सय ५५ पुग्यो । यो वर्षको तेस्रो महिना अर्थात् २०८१ असारसम्म आइपुग्दा सङ्ख्या थपिएर ५१ सय ९३ वटा पुगेको छ ।
डिजिटल वालेट
डिजिटल वालेट रकम राख्ने अभौतिक गोजी हो । यो एक प्रकारको विद्युतीय कार्ड हो, जुन कम्प्युटर वा स्मार्टफोनबाट मात्रै अनलाइन कारोबारमा प्रयोग गरिन्छ ।
अहिले नेपालमा १२ वालेट बढी प्रचलनमा रहेका छन् । ई–वालेटको मुख्य उद्देश्य कागजविहीन (नगदरहित) पैसा स्थानान्तरणलाई अझ सहज बनाउनु हो ।
वालेटको प्रयोग पनि नेपालमा बढ्दो छ । २०८१ साल असारसम्म वालेट प्रयोगकर्ता सङ्ख्या २ करोड ३४ लाख ६४ हजार पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४५ लाख १९ हजारले बढी हो ।
यो संख्या २०८० को असारमा १ करोड ८९ लाख ४१ हजार रहेको थियो । २०८१ असारसम्म ३ अर्ब १३ करोड रुपैयाँ बराबर कारोबार भएको छ ।
मोबाइल बैंकिङ
मोबाइल बैंकिङ भनेको बैंक वा अन्य वित्तीय संस्थाले उपलब्ध गराएको त्यस्तो सेवा हो- जसले आफ्ना ग्राहकहरूलाई स्मार्टफोन वा ट्याब्लेट लगायत ग्याजेटमार्फत वित्तीय कारोबार गर्न अनुमति दिन्छ ।
मोबाइल बैंकिङमा विशेष किसिमको सफ्टवेयर प्रयोग हुन्छ, जसलाई एप भनिन्छ। मोबाइल बैंकिङका लागि आवश्यक एप बैंक तथा वित्तीय संस्थाले नै उपलब्ध गराउँछन् ।
मोबाइल बैंकिङ चौबिसै घण्टा उपलब्ध रहने गर्छ । यसबाट कारोबार गर्दा केही वित्तीय प्रतिबन्ध र कारोबार गर्न सकिने रकमको सीमा निर्धारण गरिएको हुन्छ ।
अहिले नेपालमा अनलाइन भुक्तानी सेवा प्रयोगकर्ताहरूले मोबाइल बैंकिङ सेवा नै प्रयोग गर्छन् । २०८० असारमा मोबाइल बैंकिङ प्रयोगकर्ता सङ्ख्या २ करोड १३ लाख ६३ हजार ९८९ थिए । २०८१ असारसम्म यस्तो सङख्या २ करोड ४६ ४८ हजार ८४६ पुगेको छ ।
मोबाइल बैंकिङमा अघिलो वर्षको तुलनामा ३२ लाख ८४ हजार ८५७ सदस्य बढेका हुन् । मोबाइल बैंकिङबाट गत असारसम्ममा ३७ अर्ब ३९ करोड ७८ लाख रुपैयाँ बराबर कारोबार भएकोे तथ्याङ्कले देखाएको छ ।
इन्टरनेट बैंकिङ
इन्टरनेटमार्फत बैंकले उपलब्ध गराउने सेवा नै इन्टरनेट बैंकिङ हो । यसबाट ग्राहकले बैंकबाट प्राप्त हुने केही सुविधाहरू इन्टरनेटमार्फत आफ्नै ग्याजेटबाट उपयोग गर्न सक्छन् ।
आफ्नो बैंक खातामा रहेको रकम (ब्यालेन्स), कारोबार विवरण (स्टेटमेन्ट) हेर्ने र प्रिन्ट गर्ने, नयाँ चेक बुकको अनुरोध गर्ने, हराएको चेक रोक्का निम्ति अनुरोध गर्ने, मोबाइलको बिल तिर्नेजस्ता युटिलिटी सर्भिसहरू इन्टरनेट बैंकिङबाट प्राप्त हुन्छ ।
नेपालमा इन्टरनेट बैंकिङको प्रयोग पनि बढिरहेको छ । इन्टरनेट बैंकिङमा २०७९ असारमा १६ लाखभन्दा बढी प्रयोगकर्ता रहेका थिए । २०८० असारसम्म त्यस्ता सेवाग्राहीको सङ्ख्या १८ लाख ५६ हजार १९५ पुगेका थिए भने ८१ असारसम्म आइपुग्दा १९ लाख १९ हजार नाघिसकेको तथ्याङ्कले देखाएको छ । यो २०८० को असारसम्मको तुलनामा ६३ हजारले बढी हो । यसबाट पनि १ अर्ब ७७ करोड रुपैयाँ बराबर कारोबार भएकोे छ ।
डेबिट र क्रेडिट कार्ड
नेपालमा डेबिट र क्रेडिट कार्ड प्रयोग पनि बढिरहेको छ । २०८१ असारसम्म क्रेडिटकार्ड सङ्ख्या २ लाख ८९ हजार पुगेको छ । एक करोड २८ लाख ९३ हजार डेबिट कार्ड प्रयोगमा छ ।
गत असारसम्म एक वर्ष अवधिमा आइपुग्दा डेबिट कार्डबाट ९ अर्ब ५२ करोड ६० लाख रुपैयाँभन्दा बढी रकम कारोबार भएको छ । यस्तै, क्रेडिट कार्डबाट २ करोड ७३ लाख रुपैयाँ कारोबार भएको छ ।
कनेक्ट आइपीएस
कनेक्ट आइपीएस बैंकहरूका सामान्य सदस्यहरूले अतिरिक्त सेवा लिन सक्ने प्रणाली हो । मोबाइल इन्टरनेटको माध्यमबाट सरल भुक्तानीमा पहुँच पुर्याउनु यसको उद्देश्य हो ।
सेवाग्राहीले जुनसुकै ठाउँमा बसेर आफ्नो खाताबाट सोझै कारोबार गर्न सक्ने कनेक्ट आइपीएसमा तेस्रो माध्यम अपनाउनु पर्दैन । हाल नेपालमा कनेक्ट आइपीएस प्रयोगकर्ता सङ्ख्या १२ लाख ७६ हजार ८८६ पुगेको छ ।
कनेक्ट आइपीएसमार्फत गत आर्थिक वर्षको असार सम्ममा ६६ अर्ब ६५ करोड लाख रुपैयाँ कारोबार भएको छ ।
प्रतिक्रिया