काठमाडौं – श्रीमतीले सुतेकै ठाउँमा आगो लगाइदिँदा डोल्पाका एक २० वर्षीय युवा सख्त घाइते भए । निन्द्रामै रहेका बेला हातखुट्टा बाँधेर आगो लगाउँदा उनका दुईवटै कान, घाँटी, छातीको भाग र हातखुट्टा गरी ७० प्रतिशत शरीर जल्यो । एकवर्ष जति उनले भारतमा उपचार गराए । भारतमा उपचार गर्दागर्दै २० लाख रुपैयाँ सकियो ।
खर्च धान्नै नसकिएपछि कीर्तिपुर अस्पतालमा आएर उपचार गराए । खबरहबसँग कुरा गर्दै उनले भने, ‘६/७ लाख रुपैयाँ त यहाँ पनि खर्च भयो ।अब डिस्चार्ज भएर जाँदैछु ।’
शरीरका घाउ त छँदैछन्, आफैँले माया गरेर ल्याएकी श्रीमतीले दुई महिनामै बिनाकारण आफूलाई यस्तो अवस्थामा पुर्याएकोमा मानसिक रूपमा पनि उनी विक्षिप्त बनेका छन् । श्रीमती भने कारागारमा सजाय भोगिरहेकी छन् ।
रोल्पामा पाँच महिने बालिका भान्सामा आगोले जलेर घाइते भइन् । उनको हात खुट्टा लगायत कम्मरको भाग जलेको छ । तीन हप्तादेखि कीर्तिपुर अस्पताल उपचाररत ती बालिकाको उपचारमा २ लाख रुपैयाँजति खर्च भइसकेको उनले आमाले बताइन् ।
‘पैसा सकियो, छोरीलाई सञ्चो पनि भएको छैन, अझै कति खर्च लाग्ने हो थाहा छैन,’ खबरहबसँग कुरा गर्दै उनले भनिन्, ‘स्थानीय तहसँग पनि सहयोग त मागेका छौं, केही सहयोग गर्छ कि भन्ने आशा छ ।’
विभिन्न प्रकृतिका जलनमा परेर कीर्तिपुर अस्पतालमा हरेक वर्ष ७०० देखि ८०० सम्म बिरामी उपचार निम्ति आउँछन् । ती मध्ये धेरै आगोले जलेका बिरामी रहेको अस्पतालका प्रमुख प्राध्यापक डा. शङ्कर राईले बताए ।
उनका अनुसार उपचारमा आउने बिरामीमध्ये एक तिहाइ त बच्चा तातो तेल र तातो पानी लगायत तरल पदार्थबाट पोलिएका हुन्छन् । १५ प्रतिशतजति बिजुलीले जलेर आउँछन् । एसिड र अल्कोहलिक जलनका केशहरू भने निकै कम आउने डा. राईले जानकारी दिए ।
ग्रामीण भेगबाट उपचारका लागि आउने बिरामी कसरी जलेर आउँछन् भन्ने एकिन भन्न सकिने अवस्था छैन ।एउटा अध्ययन अनुसार गाउँघरमा तातो तेल र तातो पानीले हुने जलन धेरै हुन्छ। अस्पतालमा भर्ना गरेरै उपचार गराउनुपर्ने गम्भीर खालका बिरामी भने आगोले जलेको नै धेरै हुने डा. राईको भनाइ छ ।
कीर्तिपुर अस्पतालमा मात्रै दैनिक जसो ४० देखि ५० जना बिरामीहरू आउँछन् त्यसमा बालबालिका धेरै हुने गरेको अस्पतालमा कार्यरत जनरल सर्जन तथा प्लाष्टिक सर्जन डा. विसन सिंह बोहोराले बताए । खबरहबसँगको कुराकानीमा डा. बोहोराले भने, ‘जलनका घटना अधिकांश आफ्नै घरको भान्सामा हुने गरेका छन् । महिलाहरू भान्साको कामकै क्रममा जल्ने गरेको घटना धेरै देखिन्छ । बालबालिकाहरू आगो वा तातोपानीमा पर्ने गरेका छन् । उनीहरू भान्सामा आमासँगै हुँदा जलेका घटनाहरू धेरै आउने गरेका छन् ।’ हातखुट्टा जलेको केशहरूमा उपचार पनि सहज हुन्छ । तर अनुहार र गोप्य अंगहरू जलेको छ भने उपचारमा पनि कठिन हुने उनको भनाइ छ ।
नेपालमा जलनको अवस्था
प्राध्यापक डा. राई भन्छन्, ‘सरकारी तथ्याङ्क अनुसार वार्षिक झण्डै ५५ हजारको हाराहारीमा नेपाली विभिन्न कारणले जलन भएर उपचारका लागि सरकारी स्वास्थ्य संस्थामा पुगेको तथ्याङ्क छ भने दुई हजार मानिसको जलनकै कारण मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठन डब्लुएचओको भनाइ छ।’
गम्भीर अवस्था भएर अस्पतालमै भर्ना भएर उपचार गराउने जलनका बिरामीको संख्या त्यति धेरै छैन। कतिपय अस्पताल नै नगएर घरमै बसेर घरेलु उपचार गर्ने बिरामी पनि छन्। सबै जलनका बिरामी गम्भीर खालका नभएर सामान्य पनि हुने गरेको उनले बताए।
खबरहबसँगको कुराकानीमा डा. राईले भने, ‘तराई क्षेत्रबाट जलनका घटना धेरै आउने गर्दछन्। किनकी त्यहाँ बाक्लो बस्ती पनि छ। बाक्लो बस्ती भएको सुरक्षामा लापरवाही गर्ने क्षेत्रमा आगलागीका घटना धेरै हुने गर्दछन्।’
जलनको समस्या भनेको गरीबीको पनि समस्या हो। त्यसैले तराई संगसंगै ग्रामीण भेगका पहाडी क्षेत्रबाट पनि जलनका बिरामीहरू आउने उनको भनाइ छ।
गतवर्ष मात्रै कीर्तिपुर अस्पतालमा सात सय ९० जना जलनका बिरामीलाई भर्ना गरेर उपचार गरिएको थियो भने सामान्य जलनका दुई हजार बढी बिरामीलाई इमर्जेन्सी र ओपीडीबाटै उपचार गरिएको उनले बताए।
धेरै महिला पुरुष वयस्क उमेरको नै धेरै आउने गरेका उनको भनाइ छ। बालबालिबालिका एक तिहाइको संख्यामा आउने गरेका छन्। त्यस्तै उपचारका लागि आउने बिरामीमा आधाभन्दा धेरै महिला आउने गरेका उनले बताए।
जलनका बिरामीको उपचारमा हुने जटिलता
कीर्तिपुर अस्पतालमा पुग्ने धेरैजसो बिरामी काठमाडौं भन्दा बाहिरका छन्। ‘हाम्रो तथ्याङ्क अनुसार अहिले पनि ९२ प्रतिशत बिरामी उपत्यका भन्दा बाहिरका आउने गर्दछन्’, डा. राईले भने, ‘एम्बुलेन्समा राखेर अस्पतालसम्म पुर्याउँदा उनीहरूलाई धेरै पानीको आवश्यकता हुन्छ।’
जलनका बिरामीलाई जीवनजल हालेर खुवाउने वा नसाबाट दिएर २४ घण्टामा कम्तिमा पनि १० लिटर पानी दिनुपर्ने हुन्छ। अस्पतालमा पुग्दा बिरामीले पर्याप्त मात्रामा पानी पाएका हुँदैनन्। एम्बुलेन्समा पानी दिने सुविधा नभएकाले यो समस्या भएको उनको भनाइ छ। त्यस्ता बिरामीलाई बचाउन एकदमै कठिन हुने उनको अनुभव छ।
‘जलनका बिरामीलाई जुन प्रकारको हेरचाह तथा उपचार गर्नुपर्ने हो त्यो खालको उपचार गर्नसक्ने हामीसँग स्रोत साधन तथा भौतिक संरचना छैन। किनकी यति धेरै बिरामी आउलान भन्ने हेतुले यो अस्पताल बनाइएको नै होइन’, डा. राईले भने।
हरेक वर्ष जलनका बिरामीहरू बढ्दै गएकाले दुई वटा अप्रेशन कक्ष बनाइएको छ। ‘ती दुई अप्रेशन कक्षमा दैनिक जलनका बिरामीको मात्रै अप्रेशन गर्ने गरिएको छ। त्यस्तै आठ वटा आईसीयू कक्षमा जलनकै बिरामी राख्ने गरिएको छ’, उनले भने।
कीर्तिपुर अस्पतालमा एउटा आईसीयू कक्षमा एउटा मात्रै बिरामी हनुपर्नेमा धेरै बिरामी राख्नुपर्ने बाध्यता छ। उनले थपे, ‘धेरै बिरामीलाई इन्फेक्शन हुने गरेको छ। अहिले हामीले सोचिरहेको अर्को एउटा भवन बनाउन सकियो भने मात्रै यो सम्भव छ।’
अस्पतालको क्षमता कति ?
एक सय शैय्याको कीर्तिपुर अस्पताल सबैखाले बिरामीको उपचार गर्ने अस्पताल हो। ‘जलनका जती बिरामीहरू आए पनि हामीले उपचार गरीरहेका छौं’, डा. राईले भने, ‘हालसम्म हामीले ६५ जनासम्म जलनका बिरामी भर्ना गरेरै उपचार गरेका छौँ। अहिले पनि दैनिक ३० जना जति बिरामी भर्ना भएरै उपचार गराइरहेका छन्।’
७०÷८० प्रतिशत शरीरको भाग जलेर गम्भीर अवस्थामा आएका बिरामीलाई बचाउन गाह्रो हुने गरेको उनले बताए। बिरामी बचाउन नसक्नुका धेरै कारणमध्ये प्रमुख कारणप्रविधी भएको उनले बताए। ‘प्रविधीमा हाम्रो पहुँच पुग्दैन। सबै प्रविधी महँगो छ। उपचारको एउटै प्रविधीमा मात्रै १५ लाख बढी खर्च हुन्छ’, उनले भने, ‘जबकी हामीले तीन–चार लाखमा सम्पूर्ण उपचार गर्नुपर्ने अवस्था हुन्छ।’
जलनकै बिरामीका लागि भनेर अक्षय कोष बनाउने र त्यसबाट आर्थिक अवस्था कमजोर भएका बिरामीहरूको उपचार गर्ने अस्पतालको अबको योजना रहेको उनले सुनाए।
सांसद चन्द्र भण्डारीलाई उपचारका लागि बाहिर पठाउनुको कारण
सांसद चन्द्र भण्डारीलाई उपचार गर्न नसकेर बाहिर पठाएको नभएर त्यसका धेरै कारण रहेको रहेको उनले बताए। उनले भने, ‘उहाँ देशकै सम्मानित व्यक्ति हो। उहाँको फोक्सोसहित ४० प्रतिशत जलन भएको थियो। उहाँकै प्रकृतिको जलनको बिरामीलाई हामीले उपचार गरेर बचारहेका छौँ। एक जना आर्मीको जलनमा परेर फोक्सोमा इन्फेक्शन भएको थियो। उनलाई यहाँबाट उपचार गरेर आर्मी अस्पताल पठायौं। तर चन्द्र भण्डारीको केशमा हामीले जोखिम उठाउन चाहेनौं।’
सांसद चन्द्र भण्डारी । फाइल तस्बिर
त्यस्तै सांसद भण्डारी कीर्तिपुर अस्पतालमा उपचाररत हुँदा उहाँका शुभचिन्तकको दैनिक भीड लाग्ने गर्थ्यो जसका कारण उनको सुरक्षा र अन्य बिरामीलाई उपचारमा असहज परिस्थिती सिर्जना भएर बाहिर पठाउनुपर्ने अवस्था आएको उनले बताए।
डा. राईका अनुसार सन् २०१४ अर्थात आजभन्दा १० वर्ष अगाडि कीर्तिपुर अस्पतालमा ४० प्रतिशत जलेका बिरामीहरू एकजना पनि बचाउन सकिएको अवस्था थिएन। अहिले शरीरको ४० प्रतिशत भाग जलेका आधाभन्दा धेरै अर्थात ५० प्रतिशतभन्दा धेरै बिरामीलाई निको पारेर घर पठाएको उनको अनुभव छ। कतिपय ६० प्रतिशत जलेका मान्छेको उपचार पनि अस्पतालमा भइरहेको उनको भनाइ छ।
अस्पतालमा कार्यरत चिकित्सक, विभिन्न संघसंस्था लगायतको ठुलो मेहेनत तथा सहयोगमा यो सफलता मिलेको उनको भनाइ।
जलनको उपचारमा सरकारबाट भइरहेको पहल
सरकारबाट जलनका बिरामीको उपचार निःशुल्क गर्ने विषयमा पहल भइरहेको डा. राईले बताए। ‘मैले केही समय अगाडि मात्रै स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई भेटेको थिएँ। उहाँले जिल्ला अस्पताल तथा त्योभन्दा साना निकायमा जति पनि जलनका बिरामी जान्छन् उनीहरूको निःशुल्क उपचार गर्नका लागि प्रयास गरिरहनुभएको छ’, डा. राईले भने।
क्षेत्रीय अस्पतालमा जलन कक्ष खुल्ने, कीर्तिपुर अस्पतालमा निःशुल्क उपचार गर्ने विषयमा कुरा भएको र यसबाट ठुलो सहयोग पुग्ने उनको भनाइ छ।
पूर्व स्वास्थ्यमन्त्री मोहन बस्नेतले पनि यसबारेमा पहल गर्नुभएको थियो। अहिलेको स्वास्थ्यमन्त्रीले यसलाई पार लाउनुहुन्छ भने अपेक्षा राईले गर्नुभएको छ।
अहिले अस्पताल कसरी चलिरहेको छ ?
डा. राईका अनुसार जलनको उपचार अन्य उपचार भन्दा खर्चिलो हुने गर्दछ। कीर्तिपुर अस्पताल पूर्ण सरकारी होइन र निजी पनि होइन। दुई वटा संस्था मिलेर यो अस्पताल चलाइरहेका छन्। कीर्तिपुर नगरपालिकाको मेयर यो अस्पतालको पदेन अध्यक्ष रहने व्यवस्था छ। उहाँको मातहतमा पाँच जना र जनस्वास्थ्य सरोकार ट्रष्टका पाँच जना पदाधिकारी मिलेर यो अस्पताल सञ्चालन भइरहेको छ। नगरपालिकाले पत्येक वर्ष ७०/८० लाख सहयोग गर्ने गरेको उनले बताए।
बिभिएस नेपाल, समाजसेवी उज्वल विक्रम थापाको संस्था र केही विदेशी संस्था र यहाँ उपचाररत आर्थिक अवस्था कमजोर भएका बिरामीहरू बसोवास गर्ने स्थानीय तहबाट पनि केही सहयोग हुने गरेकाले सबैखाले बिरामीको उपचार हुने उनले सुनाए।
जलनको जोखिम
जलनका क्रममा बिरामीको मुख जल्यो र त्यहाँबाट धुवाँ फोक्सोभित्र पस्यो भने त्यसले ठुलै समस्या पार्ने डा. राईको भनाइ छ। ‘यस्ता बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्छ नत्र बचाउन धेरै कठिन हुन्छ।’
त्यस्तै अर्को थाइ अथवा तिघ्रामा जलन भए उपचारमा कठिनाइ हुन्छ। जलेर गहिरो घाउ भएको छ भने त्यो छाला काटेर फाल्ने र तिघ्राको छाला लगेर हाल्नुपर्ने हुन्छ। तिघ्रा नै जल्यो भने छालाको समस्या हुने उनको भनाइ छ।
छाला दानको अवस्था
कीर्तिपुर अस्पतालमा छाला बैंक सुरु गरेको १० वर्ष भइसक्यो तर प्रभावकारी नभएको डा. राईको भनाइ छ। ‘छाला पायौं भने धेरै बिरामलाई बचाउन सकिन्थ्यो भनेर हामी लागेकै हो। त्यसको लागि रोटरी क्लब, लायन्स क्लब, अमेरिका नेपाल मेडिकल फाउण्डेशन लगायतका संस्थाले ठुलो सहयोग गरेका हुन्’, उनले भने, ‘जनमानसमा अझै पनि छाला दान गर्न सकिन्छ, गर्नुपर्छ भन्ने चेतना छैन। त्यसले जलको उपचारमा समस्या भइरहेको छ।’
गएको १० वर्षमा जम्मा ३५ जनाले छाला दान गरेका छन्। हरेक वर्ष सात देखि आठ सय जलनका गम्भीर बिरामी उपचारका लागि आउने ठाउँमा १० वर्षमा ३५ जनाले छाला दान गर्दा केही सहयोग नपुग्ने उनको भनाइ छ। भविष्यमा छाला बैंक प्रभावकारी हुने उनको विश्वास छ।
कीर्तिपुर अस्पतालमा मात्र अहिले दैनिक तीनदेखि चार जना बिरामीलाई छाला चाहिएको अवस्था छ। यसरी अर्को व्यक्तिबाट दान गरिएको छालालाई ५ वर्षसम्म सुरक्षित राख्न सकिन्छ।
जलनका बिरामीलाई मानसिक पीडा
जलनका बिरामीलाई मानसिक पीडा धेरै हुने गरेको डा. राईले बताए। ‘अहिले उपचारका लागि आउने धेरै बिरामीमा उपचारपछि मानसिक पीडा धेरै देखिएकाले त्यसको हामीले अस्पतालमै मनोविदसँग परामर्श गराउने गरेका छौँ’, उनले भने।
लामो समयसम्म घाउ पाकेमा क्यान्सर हुने सम्भावना हुन्छ। तर यो धेरै केशमा हुँदैन समयमै राम्रो उपचार गरियो भने जलनको घाउहरू पूर्णरूपमा निको हुन्छ।
यदि समयमै उपचार पाएन भने अपाङ्ग हुने, नसा खुम्चिएर हिँडडुल गर्न, काम गर्न पनि समस्या हुनसक्छ। यदि कुनै बिरामीहरूमा समस्या भइहाल्यो भने निःशुल्क उपचार गर्ने गरिएको उनको भनाइ छ।
जलनको प्राथमिक उपचार
जुनसुकै प्रकृतिबाट जलन भए पनि पहिलो प्राथमिक उपचार भनेको पानी हो। पानी सफा र ठिक्कको तापक्रममा हुनुपर्छ। एकदमै चिसो पानी लगाउनु हुँदैन। जलेको आधा घण्टासम्म पानी खन्याइराख्नुपर्छ। यत्ति गर्न सकियो भने जलन गहिरो हुन नपाउने उनको भनाइ छ।
जलनबाट बच्न के गर्ने ?
जलनका घटनाबाट पीडित हुने भनेको गरिब समुदाय हो। तर सांसददेखि हाम्रै आफ्नै टिम तथा विभिन्न धनाढ्य वर्गका मानिस पनि जलनका घटनामा परेर उपचारमा आएका छन्। ‘कतिखेर जलनको घटनाको सामना गर्नुपर्छ भन्ने कुरा कसैलाई पनि थाहा हुँदैन।
यदि केही गरी शरीरमा जलन भइहाल्यो भने पनि पानी खन्याउन भुल्नु नहुने उनको सुझाव छ। अस्पताल जानु अगाडि अस्पतालको टोल फ्रि नम्बर १६६००१ ५१००० मा फोन गरेमा तत्काल सुझावसहित बिरामीलाई अस्पताल पुर्याउनुपर्नेमा उनको जोड छ।
प्रतिक्रिया