गण्डकीमा सडक सञ्जाल विस्तारमा उच्च प्राथमिकता « Khabarhub

गण्डकीमा सडक सञ्जाल विस्तारमा उच्च प्राथमिकता


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– गण्डकी प्रदेश सरकारले पछिल्लो एक वर्षमा दुई सय ३३ किलोमिटर पक्की सडक निर्माण गरेको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत आर्थिक वर्ष २०८०–८१ मा सम्पन्न भएका क्रमागत बहुवर्षीय र सालबसाली आयोजनामार्फत सडक कालोपत्र र ढलान भएको जनाएको छ ।

मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रामकुमार श्रेष्ठले गण्डकी प्रदेशका ११ जिल्लामा गत आवमा सञ्चालन भएका आयोजनामार्फत दुई सय ३३ किलोमिटर सडक कालोपत्र र ९७ किलोमिटर सडक ग्राभेल भएको जानकारी दिए ।

उनका अनुसार ५५ किलोमिटर कच्ची सडक निर्माण, एक सय ४६ दशमलव ६३ किलोमिटर सडक फराकिलो बनाउने, दुई सय २७ दशमलव १३ किलोमिटर नाली, एक सय ७८ वटा कजवे र कल्भर्ट निर्माण भएका छन् ।

सडकको सुरक्षाका लागि प्रदेशभर दुई लाख १९ हजार एक सय ४९ दशमलव ५४ घनमिटर टेवा पर्खाल, ४७ किलोमिटर सडकको नियमित मर्मत भएको छ ।

गत आवमा गण्डकी प्रदेश सरकारले २१ मोटरेबल पुल, १९ झोलुङ्गे पुल र २५ भवन निर्माण गरेको सिनियर डिभिजनल इन्जिनियर श्रेष्ठले बताए ।

१२ अर्ब १८ करोड २३ लाख पाँच हजार पुँजीगत बजेट रहेको मन्त्रालयले ७१ दशमलव ७४ प्रतिशत अथवा आठ अर्ब ७३ करोड ९५ लाख २९ हजार खर्च गरेको छ ।

आव २०७९–८० मा ५७ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले सो अवधिमा एक सय ७४ किलोमिटर सडक कालोपत्र, १५ सडक पुल, १२ झोलुङ्गे र चारवटा भवन निर्माण गरेको थियो ।

गत आवमा ३० लाखभन्दा कम बजेटका टुक्रे योजना कटौती गरेर ठूला र रणनीतिक महत्वका आयोजनालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको, कार्ययोजनाअनुसार अघि बढेकाले बजेट तथा योजना कार्यान्वयनमा सुधार भएका मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डितले बताए ।

प्रदेश सरकार स्थापना भएको सात वर्षको अवधिमा नौ सय एक किलोमिटर कालोपत्र, छ सय ९६ किलोमिटर ग्राभेल, एक सय छवटा मोटरेबल पुल र ८४ वटा झोलुङ्गे पुल निर्माण भएको मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निमित्त निर्देशक डा महेन्द्र बानियाँले ग्रामीण क्षेत्रमा आवतजावत सहज बनाउन, यात्रा अवधि छोट्याउन, कृषि उपजको निकासी, खाद्यान्न, दैनिक उपभोग्य वस्तुु र निर्माण सामग्रीको भाडादर घटाउन, दुर्घटना कम गर्न, प्रत्यक्ष रोजगारी सिर्जना, बसाइँसराइ घटाउँदै सहरबाट गाउँ फर्काउन, आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनका लागि सडक आयोजना प्रभावकारी बनेको बताए ।

उनका अनुसार गत आवमा एक सय २७ प्रादेशिक सडक, पाँचवटा सङ्घीय समपूरक सडक, ३० पक्की पुल र चार झोलुङ्गे पुल आयोजना बहुुवर्षीय ठेक्कामार्फत कार्यान्वयनमा लगिएको छ ।

बहुवर्षीयका लागि छनोट भएका सडक, मोटरेबल र झोलुङ्गे पुल योजनाका लागि १२ अर्ब ७३ करोड ९८ लाख बजेटको स्रोत सुनिश्चित भएको छ । अधिकांश तीन वर्ष र केही योजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

राष्ट्रिय राजमार्गका वैकल्पिक सडकको मार्ग खोल्ने र स्तरोन्नति गर्ने योजनालाई प्राथमिकता दिएको भौतिक मन्त्रालयमार्फत एक निर्वाचन क्षेत्र, एक सडक’, स्थानीय तहको केन्द्र जोड्ने, अन्तरजिल्ला, अन्तरपालिका जोड्ने रणनीतिक महत्वका सडक गौरवका आयोजनाका रूपमा कार्यान्वयनमा छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ६ : ३२ बजे

नामिबियाविरुद्ध नेपालको फितलो प्रदर्शन

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब

प्रधानमन्त्री निवासअगाडि धर्ना बसेका राहुल गान्धी र अखिलेश यादव पक्राउ

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका विपक्षी

‘ओली–प्रचण्डकै नेतृत्वमा वाम एकता सम्भव छैन, नयाँ पुस्ता अगाडि आउनुपर्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता झलनाथ खनालले लामो समयदेखि

सिँचाइ क्षेत्रको दिगो विकासका लागि तीन तहबीच प्रभावकारी समन्वयमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा