ओखलमा टाउको राखेपछि मुस्लीको के डर ? | Khabarhub Khabarhub

ओखलमा टाउको राखेपछि मुस्लीको के डर ?



एकपटक नौ अंकले आठ अंकलाई थप्पड हान्यो। पीडा सहन नसकेर आठले आँसु झार्दै सोध्यो- ‘मलाई किन हिर्काएको ?’ कति पनि नहिच्किचाई उसले भन्यो- ‘म तँ भन्दा ठूलो छु, त्यसैले ठटाएँ के गर्छस् ?’ यो सुन्नेबित्तिक्कै आठले सातको गालामा तोरीको फूल देखिने गरी बजायो। यो क्रम सातले छ, छ ले पाँच, पाँचले चार, चारले तीन, दुईले एक हुँदै बढ्दै गयो। जब एकको पालो आयो, उ धर्मसंकटमा पर्‍याे । उसको पछाडि थियो- शून्य। एकले शून्यलाई पिटेन। बरु प्रेमसँग छेवैमा राख्यो। जसबाट उसको शक्ति दश भयो।

कोही आफ्नो काँधमा टाउको राखेर रुन सक्दैन। आफैँलाई अँगालो हाल्न सक्दैन। सम्बन्धले मुनाफा दिने होइन, जीवन सम्पन्न बनाउने हो। घडी जुनसुकै बाँधे पनि समय उही हो। मोबाइल जति महँगो होस्, कुरा गर्ने मानिस उही हो। सम्बन्ध कहिले पनि खुकुरी अचानो जस्तो नहोस्, एउटा दुखाइरहने अर्को सहिरहने। बरु मैन धागोजस्तो होस्, एउटा जलेपछि अर्को पग्लने। ८७ प्रतिशत मानिसले आफूलाई जवाफ थाहा भएको प्रश्न सोध्छन् रे। जीवन र उमेरमा यति मात्र फरक छ। निरासा र दुःख मानेर बिताएका प्रत्येक क्षण उमेर हो। खुसी र आनन्द मानेर बिताएका प्रत्येक क्षण जीवन हो।

विज्ञानले भन्छ- ‘जिब्रोमा लागेको घाउ सबैभन्दा छिटो निको हुन्छ।’ तर ज्ञानको ठहर छ- ‘जिब्रोले लागेको घाउ कहिल्यै निको हुँदैन।’ विभीषण रावण राज्यमा पनि बिग्रिएनन्। कैकेयी रामराज्यमा पनि सप्रिनन्। त्यसैले सप्रिनु र बिग्रनु व्यक्तिको सोच र स्वभावमा निर्भर रहन्छ।

समय एउटा यस्तो इमान्दार वस्तु हो, जसले पर्खाउन लाएर धोका दिँदैन। खुसीको एउटा ढोका बन्दसँगै अर्को ढोका खुलेको हुन्छ। तर खुलेको ढोकातिर हाम्रो आँखा जाँदैन। भाग्य लिफ्ट हो भने मेहनत सिँढी हो।

समय एउटा यस्तो इमान्दार वस्तु हो, जसले पर्खाउन लाएर धोका दिँदैन। खुसीको एउटा ढोका बन्दसँगै अर्को ढोका खुलेको हुन्छ। तर खुलेको ढोकातिर हाम्रो आँखा जाँदैन। भाग्य लिफ्ट हो भने मेहनत सिँढी हो। हामी यस्तो देशमा छौँ, जहाँ डाक्टर स्वास्थ्य, वकिल न्याय, प्राज्ञिक ज्ञान, सरकार स्वतन्त्रता, मिडिया सूचना, धर्म नैतिकता, बैंक अर्थ व्यवस्था नष्ट गर्ने प्रतिस्पर्धामा छन्।

प्राप्ति मात्र पनि पूर्णता होइन। तपाईंले अंक जितेर मात्र परिणाम जित्न सक्नुहुन्न। त्यसका लागि सामाजिक स्वीकृति अनिवार्य हुन्छ। रावण रामभन्दा बलशाली थिए। विद्वताको त बहसै नगरौं। त्यतिबेलै पुस्तक लेखेका थिए। भगवान शिवको परम भक्त थिए। लंका यस्तो समृद्ध मुलुक थियो, अभाव कुन चराको नाम हो, त्यहाँका जनतालाई भेउ थिएन।

रावणको योजना आयोगले स्वर्ग र मर्त्यलोक सुनको सिंढीले जोड्ने योजना पास गरेको थियो। समुद्रको पानी गुलियो बनाउने महत्वाकांक्षी योजना थियो। धानचमरमै मकै फलाउने सुयोग खोजिँदै थियो। प्राविधिक रुपमा रावणले रामलाई जितेका थिए। यद्यपि सामाजिक स्वीकृति रामसँग थियो। उनले जालझेल गरेर रावणलाई जितेको सत्यलाई पनि समाजले धर्मको विजयका रुपमा स्वीकार्‍याे।

रामायणको प्रभाव स्वरुप एक्काइसौं शताब्दीमा आउँदा पनि नेपाली समाजका घरघरमा लाखौँ रामबहादुर, रामप्रसाद, रामचन्द्र जन्मिए। तर आफ्ना सन्तानको नाम रावण राख्ने साहस कसैले गरेनन्। यो नियम वर्तमान सरकारमा पनि लागू हुन्छ। अंकले यो सरकार दुई तिहाइ हो भन्नेमा शंका रहेन। तर यसका मनसा, वाचा र कर्मणामा देखिएको असन्तुलनप्रति समाजको स्वीकृति रहेन। त्यसैले अंकका आधारमा बन्ने यस्ता सरकारका हरेक निर्णय भुसको भँगेराजस्तै बन्दै गए।

अंकले यो सरकार दुई तिहाइ हो भन्नेमा शंका रहेन। तर यसका मनसा, वाचा र कर्मणामा देखिएको असन्तुलनप्रति समाजको स्वीकृति रहेन। त्यसैले अंकका आधारमा बन्ने यस्ता सरकारका हरेक निर्णय भुसको भँगेराजस्तै बन्दै गए।

एक जापानी साहित्यकारको सुझाव छ- “तिमीलाई एक वर्षको चिन्ता छ भने एउटा रुख रोप, यदि समय जीवनका लागि योजना रोप्न चाहन्छौ भने आफ्नो युवाकाललाई नै यसका लागि अर्पित गर।” आलोचनाबाट बच्न मानिसका लागि तीन सुविधा छन्। पहिलो केही नगर, दोस्रो केही नभन र तेस्रो केही नबन। मान्छे केही पाउन स्तुति गर्छ तर निन्दा फगतः निन्दाका लागि मात्र गर्छ। मानिस अरुको नराम्रोमा सुन्न र भन्न बढी रस लिन्छ। निन्दा रसिलो, प्रशंसा निरस हुन्छ। अरुको सम्पन्नताको निन्दा गर्दा मान्छेले आफ्नो विपन्नताको औचित्य सिद्ध गरिरहेको हुन्छ। यी भए ज्ञानका कुरा, पालो विज्ञानको।

पत्याउनु हुन्छ ? मानिसको शरीरमा पानीबाहेक २२ सय सलाइको काँटी बनाउन पुग्ने फस्फोरस, सल्फर र २५ मिमि नङ तयार पार्न पुग्ने आइरन र ३० ग्राम अन्य धातु हुन्छ। मानिसको फोक्सोमा तीन क्यापिलरिज (अत्यन्तै साना रक्तनली) हुन्छन्, जसलाई फैल्याउँदा त्यसको लम्बाई २४ सय किलोमिटर हुन्छ। जागा भएको अवस्थामा मानव मस्तिष्कले १२ देखि २५ वाट विद्युत निकालिरहेको हुन्छ। जुन सानो चिमलाई निरन्तर बाल्ने क्षमताको विद्युत हो। औसत दिमागले दैनिक ५० हजार विचार उत्पादन गर्छ। त्यो मध्ये ७० प्रतिशत नकारात्मक हुन्छ। मानिसको दिमागमा ८ अर्ब ६० करोड न्यूरोन कोष हुन्छन्। यति उर्जावान शक्ति आफैँभित्र बोकेको मानिस किन अनेकन समस्याग्रस्त छ ?

शरीरमा आगो छ भनेर ताप्न त नमिल्ने रहेछ। त्यसलाई बिजुलीको तार बनाउन नसकिने रहेछ। नीतिले भन्छ- ‘जो राजर्षि बनी देशको सेवा गर्छ उसले गिद्धको जस्तो दृष्टि, सिंहको जस्तो साहस, इन्द्रियमा अनुशासन, रहस्य लुकाउने क्षमताजस्ता गुणहरु आफूमा सुरक्षित राख्नु आवश्यक छ।’ प्रकृतिले मानिसको शरीरलाई यस्तो चमत्कारयुक्त बनाएको छ, जसका अगाडि संसारका सबै वस्तु रंगहीन ठहर्छन्।

चाणक्यले मानिसको नैतिक साहसको मूल्य बताउँदै भनेका छन्- ‘ठूला महापुरुष आफ्ना आचार विचारमा सदैव दृढ रहन्छन्। जब कि युगको अन्त्यमा सुमेरु पर्वतले पनि आफ्नो ठाउँ छोड्छ। कल्प समाप्त भएपछि समुद्रमा पानीले आफ्नो सीमा नाघ्दछ र पृथ्वीलाई जलमग्न बनाइदिन्छ। तर सज्जनले आफ्नो सच्चाइ र परोपकारको बाटो कहिल्यै पनि छोड्दैन।’ एकदिन विश्वविख्यात कलाकार पिकासोलाई कसैले सोध्यो- ‘तपाईंको तस्बिर म त केही बुझदिन।’ उनले प्रत्युत्तरमा स्वाभाविक उत्तर दिए- ‘चिनियाँ भाषा शायद तपाईं बुझ्नुहुन्न तर ५० करोडभन्दा बढी यही भाषा बोल्छन्।’

‘ठूला महापुरुष आफ्ना आचार विचारमा सदैव दृढ रहन्छन्। जब कि युगको अन्त्यमा सुमेरु पर्वतले पनि आफ्नो ठाउँ छोड्छ। कल्प समाप्त भएपछि समुद्रमा पानीले आफ्नो सीमा नाघ्दछ र पृथ्वीलाई जलमग्न बनाइदिन्छ। तर सज्जनले आफ्नो सच्चाइ र परोपकारको बाटो कहिल्यै पनि छोड्दैन।’

हो राजनीतिक कुटिल चाल थोरैलाई मात्र आउँछ तर विश्वका सात अरब मानिसले बुझ्ने यौटै भाषा छ। त्यो हो- हाँसो। हरेक राजनीतिको गन्तव्य त्यही बन्नुपर्छ। त्यसबाहेकका सबै चिज वस्तुको हैन, मान्छेको व्यापार बढाउने कुटिल खेल मात्र हो। जिन्दगी रेलको पट्री, सडकमा जसरी गुड्दैन। यो त गंगाको नहर जसरी बग्छ। जहाँ पानीको लागि बाटो खनिएको हुँदैन। मन सफा सेतो कपडाजस्तै हो। यसलाई जुन रंगमा डुबायो, त्यही रंग सर्छ। मानिसले पन्छी जसरी उड्न जान्यो। माछाजस्तै पौडन सिक्यो। तर मान्छे जस्तो भएर पृथ्वीमा रहन अझै जानेन। देश समृद्ध हुनु पछाडि तीनवटा रहस्य हुन्छन्। त्यो हो, एक शिक्षा, दुई शिक्षा, तीन शिक्षा।

देश नलुटौँभन्दा दलहरु, पैसाअनुसारको पेट्रोल माग्दा पम्पवाला, देश आफैं चलाउँछु भन्दा भारत, भाडामा बस्नेलाई पानी माग्यो घरबेटी, मिटरमा उठेको मात्र पैसा दिँदा ट्याक्सीवाला रिसाउने अनि कुन धर्मले चल्छ समाज ? पहिला सुनिथ्यो सेटिङ, अहिले सेटिङलाई स्कर्टिङ। मलेसियामा सार्वजनिक शौचालय अत्यन्त दूषित भएपछि त्यस विरुद्ध अभियान सञ्चालन गर्न सरकारले क्याम्पसमा शौचालय व्यवस्थापन कोर्स समावेश गर्‍याे ।

मानिसले पन्छी जसरी उड्न जान्यो। माछाजस्तै पौडन सिक्यो। तर मान्छे जस्तो भएर पृथ्वीमा रहन अझै जानेन। देश समृद्ध हुनु पछाडि तीनवटा रहस्य हुन्छन्। त्यो हो, एक शिक्षा, दुई शिक्षा, तीन शिक्षा।

सिंगापुर र बेलायतमा यसप्रकारको पाठ्यक्रम सुरु गरिएपछि व्यापक सुधार आएको थियो। तर नेपालको इतिहास कस्तो छ भने पलाञ्चोक देवीको मूर्ति बनाउने कालिगढले अर्को यस्तो मूर्ति बनाउन नसकोस् भनेर दाहिने हात नै काटियो। पञ्चायतमा तर मारेकाहरुले पञ्चायतको खण्डन गर्नेलाई शत्रु देखे। व्यवस्था विरोधीको ट्याग लगाए। बहुदललाई धन कमाउने साधन बनाएकालाई प्रवृत्तिको विरोध गर्दा त्यो पचेन। अहिले राज्यप्रणालीलाई संगठित अपराधमा होम्ने पात्र, प्रवृत्ति विरुद्ध दुई अक्षर लेख्यो भने राज्य विरुद्ध विप्लवको आक्षेप लाग्छ। जाबो रेसम किराले त मान्छेको आङ ढाकिदिएर आफू अमरत्व कमाउँछ भने राजनीतिक नाममा तीनपुस्ताको भविष्य खरानी बनाउने यस्तो संघीयता विरुद्ध बोल्दा के नै फरक पर्छ र ? ओखलमा टाउको राखेपछि मुस्लीको के डर ?

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  १० : २१ बजे

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार

चिया बगानको जग्गा ३३ वर्षपछि सरकारको स्वामित्वमा

झापा – मेचीनगर नगरपालिका–५ स्थित नकलबन्दा टी इस्टेटले ३३ वर्षअघि

माछापुच्छ्रे छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गण्डकी – कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर अन्तर्राष्ट्रिय उडान गर्ने ११ एयरलाइन्सले

इजरायलका प्रधानमन्त्री नेतान्याहूविरुद्ध पक्राउ पुर्जी जारी

द हेग – अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन