आर्थिक

एक लाख ७५ हजारदेखि २५ लाखसम्मका स्कुटर र मोटरसाइकल

By खबरहब

August 29, 2024

काठमाडौं- मंगलबारदेखि चलिरहेको नाडा अटो शोमा दुईपाङ्ग्रे सवारी साधनले अवलोकनकर्ताको ध्यान तानिरहेका छन् ।

विभिन्न भेरियन्टमा इलेक्ट्रिकदेखि पेट्रोलका नयाँ नयाँ दुई पाङ्ग्रे साधन अटो शोमा लञ्च गरिएको छ । आवश्यकता र इच्छा अनुसार मानिसहरूले विभिन्न मोडेल तथा डिजाइनका सवारी किन्न पाउने विकल्प यहाँ दिइएको छ ।

नाडा अटो शोमा अघिल्ला वर्षझैँ यस पटक पनि विक्रेताहरूले विशेष अफरहरू ल्याएका छन् । यस वर्षको अटो शोमा एक लाख ७५ हजारेखि २५ लाख १५ हजारसम्मका दुईपाङ्ग्रे सवारी राखिएको छ ।

यस शोमा सबैभन्दा सस्तो दुईपाङ्ग्रे सवारीमा यादियाको इलेक्ट्रिक स्कुटर छ । यादियाको एम सिक्स स्कुटर अटो शोकै सस्तो इलेक्ट्रिक स्कुटर हो ।

हेर्दा सानो र चिटिक्क यो स्कुटरको मोडेल भने अन्य महंगाा स्कुटरको जस्तै छ । यसको ब्याट्री ७२ भोल्टको छ । यो स्कुटर एकपटक पूरा चार्ज हुन ५ देखि ६ घण्टा लाग्छ । एक पटक चार्ज भएपछि यसलाई ९० किलोमिटरसम्म चलाउन सकिन्छ । यसमा १० इन्चको ट्युबलेस टायर छन् ।

यसले सबैभन्दा धेरै ४५ किलोमिटर प्रतिघण्टा गति दिन्छ । यो ५ देखि ५ वटा कलरमा उपलब्ध छ । यसको मूल्य एक लाख ७५ हजार राखिएको छ । यसको ब्याट्रीमा २ वर्षे वारेन्टी छ ।

अटो शोको सबैभन्दा मंहगो मोटरसाइकलमा बेनेलीको सुपर बाइक हो । यो शोमा राखिएको बेनेलीको ७५२ एस मोटरसाइकल ७५० सीसीको इन्जिनको हो ।

यसमा १८ दशमलव ५ लिटरको ट्याङकी छ । यसको अगाडि दुईवटा डिस्प्ले राखिएको छ भने पछाडि एउटा डिस्प्ले छ । यो बाइक जस्तोसुकै कच्ची बाटोमा लैजान सकिन्छ ।

यो बाइकको आवाज अन्य बाइकको भन्दा फरक रहेको कम्पनीका सेल्स मेनेजर नवराज घिमिरेले बताएका छन् । यसको सिट पनि ग्राहकहरूले मन पराएको घिमिरे बताउँछन् ।

यो बेनेली कम्पनीको सबैभन्दा मंहगो भेरियन्ट पनि हो । यसको मूल्य २५ लाख १५ हजार राखिएको छ । नाडा अटो शोमा यो बाइक किन्नेलाई अर्को कम्पनीको एउटा स्कुटर उपहार दिने व्यवस्था छ । यो बाइक नेपालमा सन् २०२१ मा भित्रिएको हो ।

गोगोरोदेखि सीएफ मोटोका नयाँ नयाँ भेरियन्ट

नाडा अटो शोमा गोगोरो कम्पनीले ब्याट्री ६ सेकेण्डमै स्वाप हुने स्कुटर लञ्च गरेको छ । यो विश्वमै नयाँ ब्राण्ड हो । यससँगै गोगोरोले नेपालमा ब्याट्री स्वापिङ प्रविधि भित्र्याएको छ । गोगोरोले स्मार्ट स्कुटरसँगै नयाँ चार्जिङ प्रविधि पनि ल्याएको छ ।

सहरका लागि सस्टेनेबल मोबिलिटी सोलुशन प्रदान गर्न, ब्याट्री–स्वापिङ प्रविधि इकोसिस्टममा गोगोरो इंक र नेबुला इनर्जीले मंगलबार पल्स र जेगोको साथ गोगोरोका नयाँ भेरियन्ट लन्च गरेका छन् ।

गोगोरोले लञ्च गरेको विद्युतीय स्कुटरको ब्याट्री स्वाप गर्न जम्मा ६ सेकेण्डमात्रै लाग्ने प्रविधि छ । स्कुटर खरिद गर्नेको फोनमा यसको स्क्यानर राखिएको हुन्छ ।

यसमा दुईवटा ब्याट्री छन् । यसलाई निकालेर चार्जिङ सेन्टरमा हालिसकेपछि ब्याट्री तत्कालै अर्को ब्याट्री उपलब्ध हुने बताइएको छ । यसको मूल्य तोकिएको छैन ।

यसको ब्याट्रीका लागि उपत्यकामा मात्रै ४५ वटा चार्जिङ स्टेशन राखिने छ । एउटा ब्याट्रीले यो स्कुटर ६० किलोमिटर चल्छ । दुईवटा ब्याट्री भएकाले १६० किलोटिर चल्ने कम्पनीले जनाएको छ । ब्याट्रीको लाइफ टाइम ग्यारेन्टी रहेको कम्पनीले जनाएको छ । गोगोरो ताइवानको कम्पनी हो ।

यस्तै, बजाज पल्सरको एनएस ४०० जेड नेपाली बजारमा सार्वजनिक भएको छ । यो बजाजको सबैभन्दा ठूलो बाइक हो । नेपालमा बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कोले नाडा अटो शो २०२४ को अवसरमा बाइक सार्वजानिक गरेको हो ।

बजाज पल्सर एनएस ४०० जेड मा ३७३ सिसीको सिंगल–सिलिन्डर, लिक्विड–कुल्ड इन्जिन समावेश छ । जसले ३९.४ ब्रेक हर्स पावर र ३५ एनएमको टर्क दिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार युवाहरूको प्रमुख रोजाईमा बजाज पल्सर एनएस ४०० जेड छ । ६ गियरसम्मको गियरबक्स रहेको यो मोटरसाइकलमा गियर फेर्न सहज छ । पल्सर एनएस ४०० जेडमा राइड–बाई–वाइर प्रविधि पनि समावेश छ । जसले राम्रो थ्रोटल रेस्पोन्स दिनुका साथै पेट्रोल खपत कम गर्दछ ।

यसमा रोड, रेन, स्पोर्ट, र अफ–रोड गरी चारवटा राइडिङ मोडहरू छन् । स्विच गर्न सकिने ट्रयाक्सन कन्ट्रोल र डुअल–च्यानल एबीएस पनि उपलब्ध छ । जसले सबै अवस्थाका सडकमा सुरक्षा सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।

नाडा अटो शोमा बुकिङ गर्ने ग्राहकले ५ लाख ५९ हजार नौ सय रूपैयाँमा पल्सर एनएस ४०० जेड लान सक्ने कम्पनीले जानकारी दिएको छ।

अर्कातिर सीएफ मोटोले प्रिमियम ४५० एमटी एड्भेन्चर बाइक नेपाली बजारमा ल्याएको छ ।

सीएफ मोटो तथा जिहो इलेक्ट्रिकको आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले नाडा अटो शोमा यो बाइक सार्वजनिक गरेको हो ।

४५० एमटी प्रिमियम फिचर र एडभान्स्ड टेक्नोलोजीको यो एड्भेन्चर बाइक हो। ४४९ सीसीको बाइकको लिक्विड कुल्ड इन्जिनले ४४ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पिड गियर बक्स उपलब्ध छ ।

एमटी ४५० मा २१/१८ इन्च स्पोक ह्वील छ । कम्पनीले यसमा ट्यूबलेस स्पोक ह्वील प्रयोग गरेको छ। यो मोटरसाइकलमा ट्रयाक्सन कन्ट्रोल, डबल च्यानल स्विचेबल एबीएस, ५ इन्च टीएफटी डिस्प्ले र आरामदायी सिटसहितका फिचर छन् ।

यसको मूल्य १२ लाख ४९ हजार ९०० रुपैयाँ छ । नाडा अटो शोमा यामाहासहितका कम्पनीले विभिन्न भेरियन्टका अन्य विद्युतीय सवारी पनि सार्वजनिक गरिरहेका छन् ।