‘जनयुद्ध’लाई हिंसा भनेपछि योगेशमाथि संसद्‍बाटै लाग्यो हतियार तस्करी आरोप | Khabarhub Khabarhub

रोकिएन एमाले-माओवादी दोहोरी

‘जनयुद्ध’लाई हिंसा भनेपछि योगेशमाथि संसद्‍बाटै लाग्यो हतियार तस्करी आरोप


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुधबार बसेको प्रतिनिधिको बैठकमा नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले माओवादीले चलाएको १० वर्षे जनयुद्धलाई हिंसा भनेपछि सुरु भएको विवाद रोकिएको छैन ।

‘हाम्रो देशमा माओवादी हिंसा १० वर्ष नभएको भए पहिले नै विद्युतमा आत्मनिर्भर हुन्थ्यो । विद्युत् उत्पादन गर्न गएका व्यवसायीलाई माओवादीले चन्दा आतंक मच्चायो, लखेट्यो’, उनले बुधबार भनेका थिए, ‘यदि त्यसो नभएको भए २०७५ सालमा होइन, २०६२ सालमै नेपाल लोडसेडिङमुक्त हुन्थ्यो ।’

यसैलाई लिएर माओ‌वादी सांसदहरूले नियमापत्तिसहित विरोध जनाएका थिए । तर यसैलाई लिएर एमाले सांसद रघुजी पन्तले पनि ‘हिंसा’ शब्द असंसदीय नभएको बताए ।

‘यदि कुनै पनि सांसदबाट असंसदीय शब्द प्रयोग भए त्यसमा आपत्ति उठाउन पाइन्छ’, पन्तले भनेका थिए, ‘असंसदीय भनेर उठाउने सांसदले त्यो शब्द असंसदीय हो भन्ने सावित गर्न सक्नु पर्छ ।’

एमाले सांसदहरूले ‘जनयुद्ध’लाई सशस्त्र संघर्ष र हिंसाको संज्ञा दिएसँगै माओवादी आक्रोशित भएको छ।

नेकपा माओवादी केन्द्रका सांसदहरूले बिहीबार एमाले सांसद योगेशमाथि धावा बोलेका छन् । माओवादीबाट प्रतिनिधि सभा सदस्य छिरिङ डुम्डुल लामा (भोटे) ले एमाले सांसद भट्टराईले जनयुद्धको समयमा चन्दा असुली र हतियार तस्करी गरेको जस्तो संगीन र गम्भीर आरोप लगाए।

प्रतिनिधि सभाको शून्य समयमा सम्बोधन गर्दै भोटेले आफैँ हिंसाको गतिविधिमा संलग्न रहेका योगेशले ‘महान् जनयुद्ध’लाई हिंसा भनेको भन्दै आपत्ति जनाए ।

सांसद भट्टराईले बुधबार माओवादी सशस्त्र विद्रोहलाई हिंसा भनेपछि दुई दलबीच सुरु भएको भनाभन र नोकझोंक रोकिएको छैन ।

‘जनयुद्धको नाममा चन्दा असुलेर, हतियार तस्कर गर्ने, आफैँ हिंसाको गतिविधि गर्ने नाइकेले महान जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारी हो,’ माओवादी सांसद भोटेले आक्रोशित हुँदै भने ।

माओवादीकै अर्की सांसद छिरिङ ल्हामु लामा (तामाङ) ले पनि योगेशमाथि आक्रोश पोखिन् ।

उनले योगेशमाथि लागेका आरोपबारे छानबिन हुनुपर्ने माग गरिन् । ‘एकजना माननीयले जनयुद्धकालमा उहाँ (योगेश) लाई हतियार खरिद–बिक्री र ओसारपसार गरेको आरोप लगाउनु भएको छ । यसबारे उचित छानबिनका लागि संसद्को गम्भीर ध्यानाकार्षण गराउँछु ।’

योगेशको जवाफ

माओवादी सांसदहरूले हतियार तस्करी जस्तो गम्भीर आरोप लगाएपछि एमाले सांसद भट्टराईले तत्कालै जवाफ दिएका छन् ।

उनले माओवादीले विगतमा गरेका आफ्ना कु-कर्मको जवाफ दिनैपर्ने तर्क गरेका छन् । आफूमाथि हतियार तस्करीको आरोप संसद्‍बाटै लगाइएपछि योगेश झन् आक्रोशित भएका हुन् ।

‘निर्दोष मानिसको हत्या गर्ने, अपहरण गर्ने, सुतिरहेका पुलिस र सेनामाथि बम हान्ने, जनताको सम्पत्ति लुटने, बैंक लुटेर पैसा र सुन माटोमुनि लुकाउने, रक्तचन्दनको तस्करी गर्ने, गिट्टी बालुवाको तस्करी गर्ने । तिमीहरूका यी कु-कर्मको एक ठाउँमा मात्रै जवाफ देऊ’, योगेशले माओवादीमाथि निशाना साँध्दै भनेका छन्, ‘तिमीले लगाएको तथ्यहीन, मिथ्या, असत्य र झुट आरोपको हजार ठाउँमा जवाफ दिन तयार छु ।’

उनले माओवादीको धम्कीले आफूलाई फरक नपर्ने पनि बताएका छन् । ‘तिम्रा धम्की र फरेबले मेरो इमान डगमगाउने छैन। कालो तिम्रो अनुहारमा छ, सिसा फुटाएर उन्मुक्ति पाइने छैन।’

बुधबारदेखि सुरु भएको यो विवाद २०८० फागुन २१ गतेसम्म सत्ता सहकार्य गरेका दुई दलबीच नयाँ मोडमा पुग्ने देखिएको छ ।

बुधबार भट्टराईको भनाइलाई लिएर माओवादी सांसद माधव सापकोटाले नियमापत्ति जनाएका थिए । उनले हिंसा शब्दलाई लिएर नियमापत्ति गर्दै त्यसरी संसद्‍मा बोल्न नपाइने जिकिर गरेका थिए ।

विवाद बढ्दै जाँदा माओवादीका अर्का सांसद देवेन्द्र पौडेलले जनयुद्धलाई कहीँ कतै पनि हिंसा नभएको बताएका थिए । उनले एमाले सांसद भट्टराईले हिंसा शब्द प्रयोग गरिएको भाषणलाई संसद्को रेकर्डबाट हटाउन आग्रह गरेका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले हिंसा शब्दलाई लिएर आफूले यसअघि नै निर्देशन दिइसकेको बताएका थिए । तर एमाले सांसद भट्टराईले बुधबार पनि हिंसा भन्ने शब्द असंसदीय नभएको बताउँदै जनयुद्धमा हिंसा भएकै जिकिर गरेका थिए ।

बिहीबार पनि यो विवादको सिलसिला बढ्दै जाँदा माओवादी सांसदहरूले योगेशमाथि काउन्टर एट्याक गरेका थिए । उनीहरूले हतियार तस्करीकोसमेत आरोप लगाएपछि योगेशले यसबारे आफू हजार ठाउँमा जवाफ दिन तयार रहेको तर उनीहरूका अपराधको पनि जवाफ चाहिने जिकिर गरेका हुन् ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ४ : २९ बजे

प्रधानमन्त्री कार्कीलाई कांग्रेस नेता केसीले दिए पाँच बुँदे सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेता जगदिश्वर नरसिंह केसीले जेन-जी आन्दोलनका

मोरङका पत्रकारद्वारा जिल्ला प्रशासन कार्यालयको सरसफाइ

मोरङ – नेपाल पत्रकार महासङ्घ मोरङको अगुवाइमा विराटनगर महानगरपालिका–७ स्थित

कैदीबन्दीलाई कारागारमा आउन र अन्यलाई नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आग्रह

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा भागेका

नयाँ बसपार्कबाट तीनसय बढी सार्वजनिक सवारीसाधन उपत्यका बाहिरिए

काठमाडौं – काठमाडौं गोँगबुस्थित नयाँबसपार्कबाट ३०० भन्दा बढी सार्वजनिक सवारीसाधन

बालसुधारगृहबाट भागेका ४८ जना पक्राउ

बाँके – जिल्लाका दुई बालसुधारगृह र एउटा कारागारबाट भागेका तीन