ब्रेकिङ स्टोरी

झ्याप्ले खोलाको पहिरोमा आमासहित अस्ताए बंगलादेश हिँडेका दाजुबहिनी

By खबरहब

September 29, 2024

काठमाडौं- स्याङ्जाको गल्याङ नगरपालिका निवासी जुम्ल्याहा दाजुबहिनी दिपेश र दीपिका भट्टराई शुक्रबार बुटवलबाट विङ्गर (बस) चढेर काठमाडौंका लागि निस्किए ।

बुटवलबाट काठमाडौंका लागि छुटेको लु १ ज ४५७८नम्बरको विङ्गरमा उनीहरूकी आमा सीता भट्टराई पनि साथमै थिइन् ।

बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत यी जुम्ल्याहा दाजुबहिनीको योजना थियो बंगलादेशमा हुने नेशनल एस्ट्रोनोमी ओलम्पियाड २०२४ प्रतिस्पर्धामा भाग लिनू ।

अनलाइनमार्फत फर्म भरेर पहिलो चरण पार गरेका उनीहरूलाई यही भदौ १७ गते हुने दोस्रो चरणको प्रतिस्पर्धामा भाग लिन काठमाडौं पुग्नु थियो ।

चालक रमेश लुइँटेलले हाँकेको उक्त विङ्गर काठमाडौं पुग्न त पाएन नै यी जुम्ल्याहा मेधावी दाजुबहिनीको जीवनयात्रा पनि धादिङको झ्याप्ले खोलामा सदाका लागि टुंगियो ।

शुक्रबार बुटवलबाट छुटेको उक्त विङ्गर त्यही राति धादिङको धुनबेँसी नगरपालिका वडा नं. ९ स्थित नागढुंगा-नौबिसे सुरुङमार्ग नजिकै झ्याप्लेखोलामा आएको लेदोसहितको पहिरोमा पुरियो ।

अहिले पनि उद्धारकार्य जारी रहेको त्यही झ्याप्ले खोलाको पहिरोमा जुम्ल्याहा दाजुबहिनी र उनीहरूकी आमासहित ३५ जनाको शव सुरक्षाकर्मीले झिकिसकेका छन् ।

बुटवलको कालिका मानवज्ञान माविमा कक्षा १० मा अध्ययनरत उनीहरू पढाइमा अब्बल थिए । विद्यालयमा सधैँ उत्कृष्ट नतिजासहित उत्तीर्ण हुन्थे ।

पढाइमा अब्बल दुवैजना ३२ राष्ट्रका विद्यार्थी सहभागी हुने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन बंगलादेश जाने गरी आमासँगै काठमाडौंतर्फ गएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले खबरहबलाई बताए ।

‘पहिलो चरण पार गरेपछि उनीहरू दोस्रो चरणको प्रतिस्पर्धाका लागि काठमाडौं गएका थिए । दोस्रो चरणको परीक्षा पार गरेपछि बंगलादेश जाने गरी उनीहरूलाई आमासहित काठमाडौंतर्फ बिदाइ गरेका थियौँ’, थापाले भने, ‘तर उनीहरू सवार विङ्गर काठमाडौं पुग्नै नपाई पहिरोमा परेको खबरले मर्माहत भएका छौँ ।’

कालिका माविका विद्यार्थीले यसअघि पनि नेशनल एस्ट्रोनोमी ओलम्पियाडमा भाग लिएर देशका लागि ट्रफी जितेर आइसकेका थिए । उनीहरू पनि आफ्ना सिनियर दाजुदिदीको सफलतालाई निरन्तरता दिने गरी बुटवलबाट हिँडेका थिए ।

नेशनल एस्ट्रोनोमी ओलम्पियाड २०२४को पहिलो चरणमा छनोट भएर दोस्रो चरणको लागि बंगलादेश जान हिंडेका बुटवलको कालिका मानवज्ञान माविमा कक्षा १० मा अध्ययनरत जुम्लीया दाजु-बहिनी दिपेश भट्टराई र दिपिका भट्टराई सहित आमा सिता भट्टराईको धादिङको झ्याप्ले खोलामा आएको पहिरोमा पुरिएर मृत्यु भएको छ।

प्रधानाध्यापक थापाका अनुसार उनीहरूका बुवा वैदेशिक रोजगारीका क्रममा छन् । त्यसैले उनीहरूलाई आमाले गल्याङबाट झरेर बुटवल नगरपालिका-११ देवीनगरमा बसेर पढाइरहेकी थिइन् ।

‘नेशनल एस्ट्रोनोमी ओलम्पियाड २०२४ भाग लिन उनीहरूले व्यक्तिगत रुपमै अनलाइन फर्म भरेर छनोट भएका थिए । तर विद्यालयको तर्फबाट हामीले उनीहरूलाई हौसला दिँदै पठाएका थियौँ’, थापाले भने, ‘अघिल्ला साल पनि यहीँका विद्यार्थीले उक्त जितेर आइरहन्थे । त्यसरी प्रतिस्पर्धा गर्न दुई तीनजना हाम्रा अमेरिका पनि गएका थिए । यी जुम्ल्याहा पनि काठमाडौंमा १७ गते दोस्रो चरणको प्रतिस्पर्धा जितेर बंगलादेश जान हिँडेका थिए ।’

प्रधानाध्यापक थापाले प्रारम्भिक चरणमा छनोट भएका उनीहरू दोस्रो चरण पार गरेको भए बंगललादेश जाने थिए । तर झ्याप्ले खोलाको पहिरोले आमासहित मेधावी विद्यार्थीको भौतिक जीवन खोसेकोमा अहिले कालिका मावि परिवार स्तब्ध छ ।

‘दुवैजना १० कक्षामा पढ्थे, असाध्यै मिहिनेती र मेधवी विद्यार्थीमा पर्थे । दुवैको नतिजा पनि जीपीए ४ आइरहन्थ्यो’, थापाले भने, ‘दुवैजना साहित्यमा रुची राख्थे । सामाजिक काममा पनि चासो दिन्थे । उनीहरूको क्षमता देखेरै व्यक्तिगत रुपमा गए पनि विद्यालयबाट ७५ हजार रुपैयाँ दिने निर्णय गरेका थियौँ ।’

उनीहरूलाई हौसला दिन स्याङ्जाको गल्याङ नगरपालिकाले पनि आर्थिक सहयोगको बचन दिएको थियो । आमासहित ज्यान गुमाएका उनीहरूका दुईजना दाजुदिदी छन् ।

अहिले उनीहरूकी जेठी दिदी डाक्टर पढिरहेकी छन् । बुवा वैदेशिक रोजगरमा रहेर सन्तानलाई पढाइरहेका थिए । उनीहरूका दाजु पनि काठमाडौंमा बसेर अहिले ब्याचलर पढिरहेको प्रधानाध्यापक थापाले बताए ।

उनीहरू सवार विङ्गरमा १२ जना यात्रु सवार थिए । ती सबैको शव पहिरोले पुरिएको उक्त विङ्गरबाट झिकिएको छ । तर शव पहिचानमा समस्या भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । तर विङ्गरमा सवार चालकसहित सबैको ज्यान गएको जानकारी धादिङको धुनबेँसी नगरपालिका वडा नं. ९ का अध्यक्ष माधवप्रसाद सिलवालले दिएका छन् ।

झ्याप्ले खोलामा गएको पहिरोमा अहिलेसम्म बुटवलबाट आएको विङ्गर, गोरखाबाट आएको दरौँदी यातायातको बस र चितवनबाट आएको माइक्रो बस परेको पुष्टि भएको छ । अर्को एउटा सवारी पनि त्यहाँ पुरिएको अवस्था भेटिएको प्रहरीले जनाएको छ ।