समाचार

कोशीको बहाव घट्दै, साँझसम्ममा आवागमन खुल्ने

By खबरहब

September 29, 2024

सुनसरी– अविरल वर्षा रोकिएपछि कोशी ब्यारेजमा पानीको बहाव घट्न थालेको छ । आइतबार दिउसो तीन बजेको मापन अनुसार कोशी ब्यारेजमा ३ लाख ९८ हजार ३ सय ७० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव भइरहेको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।

आइतबार बिहान ६ बजे ६ लाख ६१ हजार २ सय ९५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो । यो तथ्य कोशीको ब्यारेज निर्माण भएयता ५६ वर्ष यताकै उच्च पानीको बहाव मानिएको छ ।

पानीको बहाव घट्दै गए पनि कोशी ब्यारेज नियन्त्रण कक्षले उच्च खतरा भने कायम नै रहेको जनाएको छ । ब्यारेजका सबै ५६ ढोका खुल्ला नै राखिएको छ । पानीको बहाव बढेपछि ब्यारेज माथिबाटै पानी बगेको थियो ।

पानीको बहाव अत्यधिक भएपछि कोशी ब्यारेजमा शनिवार साँझबाट अत्यावश्यक बाहेक अन्य यातायात सञ्चालनमा रोक लगाइए पनि ब्यारेजमाथिबाट पानी बग्दा थुप्रिएको हिलोको लेदो र फोहोर सफा गरिसकेपछि आज साँझदेखि आवागमन खुल्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए ।