समाचार

रौतहटमा बाढीले १२ सय ४५ घर डुबानमा, तीन जनको मृत्यु

By खबरहब

September 29, 2024

रौतहट– गत बिहिबारदेखि परेको अविरल वर्षासँगै रौतहट स्थित विभिन्न नदी खोलामा आएको बाढीबाट जिल्लामा घर डुबानको संख्या १२ सय ४५ पुगेको छ ।

आइतबार विभिन्न घटनामा परी तीन जनाको मृत्यु भएको छ । जिल्लाको पूर्विभेग दुर्गा भगवती गाउँपालिका ४ पचरुखिका ३५ बर्षीय राजकुमार मुखियाको माछा मार्नक्रममा डुबेर मृत्यु भएकाे छ, भने परोहा नगरपालिका ७ नरकटीयाकी १४ बर्षिया आशा कुमारी साह घाँस काट्न जाँदा जमेको पानीमा डुबेर मृत्यु हुनुका साथै बौधिमाई नगरपालिका २ ईनरवाका १४ बर्षीय अनिल महतोको आफ्नै ट्युवेलमा पानी खान जाँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

अविरल वर्षासँगै बागमती लालबकैया लगायत विभिन्न नदी खोलामा आएको बाढीले जिल्लाको १८ स्थानीय तह मध्ये १३ वटा प्रभावित भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

वर्षा बाढीबाट वृन्दावन, गढीमाई,माधव नारायण, गौर, राजदेवी, ईशनाथ, परोहा, बौधिमाई, मौलापुर, देवाही गोनाही , कटहरिया नगरपालिका,दुर्गा भगवती, र यमुनामाई गाउँपालिका बढी प्रभावित भएको छ ।