देशमा विपद् पर्दा कार्यक्रम छोट्याएर किन फर्किएनन् प्रधानमन्त्री ? | Khabarhub Khabarhub

देशमा विपद् पर्दा कार्यक्रम छोट्याएर किन फर्किएनन् प्रधानमन्त्री ?


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबार र शनिबारको अविरल वर्षाका कारण यतिबेला देशको आधाजसो भागले ठूलो क्षति ब्यहोरेको छ । संघीय राजधानी काठमाडौं उपत्यकादेखि पूर्वी पहाड र मधेश प्रदेशमा पनि बाढी, पहिरो र डुबानले गरेको क्षति अकल्पनीय छ ।

संघीय राजधानीअन्तर्गतका तीनै जिल्लामा अविश्वसनीय विध्वंश मच्चाएको बाढीले कयौँ मानिसको पनि ज्यान लिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका सूचना अधिकारी विनोद घिमिरेका अनुसार आइतबार दिउँसोसम्म उपत्यकाका तीन जिल्लामा ४३ जनाले ज्यान गुमाएका छन्।

बाढीबाट काठमाडौंमा १६ जना, ललितपुरमा २२ जना र भक्तपुरमा पाँच जनाले ज्यान गुमाएका छन्। प्रहरीका अनुसार १५ जना घाइते भएका छन्। बाढीबाट काठमाडौंमा १५, ललितपुरमा १, भक्तपुरमा दुई जना घाइते भएका छन्।

उपत्यकामै अहिलेसम्म दुई हजार १५५ जनालाई उद्धार गरिएको छ। उपत्यकाबाट १५ जना बेपत्ता छन् । काठमाडौँमा र १४ जना ललितपुरबाट बेपत्ता रहेको घिमिरेले बताए ।

अर्कातिर संघीय राजधानी उपत्यकालाई देशका अन्य भागसँग जोड्ने राजमार्गहरू क्षतविक्षत छन् । त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, बीपी राजमार्गसहितका संघीय राजधानीका लाइफलाइन खुल्न कति समय लाग्छ अहिलेसम्म टुंगो छैन ।

त्रिभुवन राजपथको झ्याप्ले खोलामा तीनवटा गाडी पुरिँदा ज्यान गुमाएका ३७ जना यात्रुको शव निकालिएको छ । उता बीपी राजमार्गको करिब २ सय मिटर भाग नदीले पूरै कटान गरेपछि पूर्वीनेपालसँग करिब सम्बन्धविच्छेद छ ।

५० वर्षयताकै ठूलो पानी परेको संघीय राजधानी उपत्यका र देशका अन्य भाग बाढीपहिरोले थला परेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली भने अमेरिकामा छन् ।

४ असोजमा न्यूयोर्कका लागि उडेका उनले असोज १० गते नै राष्ट्रसंघको महासभामा नेपालकोतर्फबाट सम्बोधन गरिसकेका छन् । त्यसपछि उनी हार्वर्ड युनिभर्सिटीमा सम्बोधनमा व्यस्त रहे । त्यससँगै उनले नेपालसँग खासै अर्थ नराख्ने केही देशका सरकार प्रमुखसँग पनि संवाद गरे ।

ओ‌लीले राष्ट्रसंघीय महासभामा मुख्य सम्बोधन गर्नुअघि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति जो बाइडे र चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भइसकेको थियो ।

उनले बिहीबार राष्ट्रसंघमा मुख्य सम्बोधन सकिकेको अवस्थामा शुक्रबार नेपालमा ठूलो विपत्ति निम्तियो । असोज १४ गते अर्थात् सोमबार नेपाल फर्किने तालिकाअनुसार न्यूयोर्क गएका ओलीलाई देशमा निम्तिएको बिपत्तिबारे जानकारी नहुने कुरै भएन ।

उतैबाट संवाद

उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक दिएर अमेरिका उडेका ओलीले बाढीको विपत्तिपछि त्यहीँबाट निर्देशन दिइरहेका छन् ।

ओलीले बाढीको विपत्तिबारेमा कार्यवाहक प्रधानमन्त्री सिंह र गृहमन्त्री रमेश लेखकसँग पटक पटक संवाद गरिसकेको उनको सचिवालयले जनाएको छ ।

बाढीपीडितसहित सामाजिक सञ्जालका प्रयोगकर्ताले भने विपद्‍का बेला प्रधानमन्त्री देशमै हुनुपर्ने भन्दै खोजिरहेका छन् । उनीहरूले समाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले भ्रमण छोट्याएर आउने निर्णय नगरेको भन्दै आक्रोश पोखेका छन् ।

‘कार्यक्रम सकेर स्वदेश फर्कने तयारीमा छु । कार्यक्रम छोट्याएर स्वदेश फर्कने तयारीमा छु’, एकजना सामाजिक सञ्जाल प्रयोगकर्ता एवम् व्यवसायी अमृत बानियाँले प्रधानमन्त्रीको कार्यशैलीबारे दुई वाक्यको ब्याख्यासहित लेखेका छन्, ‘दुई फरक वाक्यले धेरै फरक अर्थ राख्छन्, भलै स्वदेश फर्काइले अर्थ राखोस्, राखोस् ।’

उनी जस्तै सामाजिक सञ्जालका अर्का प्रयोगकर्ता एवम् सञ्चाकर्मी जंग योञ्जनले पनि प्रधानमन्त्रीले भ्रमण छोट्याएर आउन तदारुकता नदेखाएकोमा आक्रोश ब्यक्त गरेका छन् ।

‘प्रधानमन्त्री भ्रमण छोट्याएर देश फर्किन मिल्दैन ?’, उनी सोध्छन्, ‘देशमा जनता आकुलव्याकुल छन्, उता भाषण ठोक्दै हिँड्न शोभनीय हो ?’

प्रधानमन्त्री विदेशमा रहेका बेला कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखको भूमिकालाई लिएर पनि प्रश्न उठिरहेको छ । अमेरिकाबाट चाँडो फर्किएर देशको अवस्था सम्हाल्न छाडेर प्रधानमन्त्री उतै अल्मलिँदा यता जिम्मेवारी लिएकाहरूले पनि प्रभावकारी भूमिका खेल्न नसकेको गुनासो बढ्न थालेको छ ।

अहिलेको विपद्पछिको उद्धार र राहतको फितलोपनालाई लिएर एकजना पत्रकार गजेन्द्र बुढाथोकीले प्रधानमन्त्री ओली, कार्यवाहक प्रम सिंह र गृहमन्त्री रमेश लेखकले राजीनामा नै दिनुपर्ने राय राखेका छन् ।

शनिबारको प्राकृतिक विपद्‍मा सरकारको भूमिकालाई लिएर राजनीतिक विश्लेषक झलक सुवेदीले कडा टिप्पणी गरेका छन् । सुवेदीले जनता यति ठूलो संकटमा पर्दा पनि सरकारले गतिलो काम नगरेको भन्दै आक्रोश पोखेका छन् ।

प्रधानमन्त्री विदेश भएका बेला कार्यवाहक प्रधानमन्त्री सिंह र गृहमन्त्री रमेश लेखकले काम गर्न नसकेको भन्दै उनले पनि राजीनामा दिनु उचित हुने बताएका छन् ।

उनले आइतबार खबरहबलाई भने, ‘सरकारको काम खासै ठिक भएन । कार्यवाहक प्रधानमन्त्री क्लबको कार्यक्रममा हिँडेको छ । गृहमन्त्री बचाउन सकिएन भन्दै बोलेको छ । ठिक भएन नि, यो ठिक भयो त ?’

यस पटकको विपद्‍लाई लिएर संविधानविद् एवम् वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यले सरकार हराएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री ओली विदेशमा रहेकोतर्फ इंगित गर्दै यस पटक मौसमविद्‍हरूले समयमै चेतावनी दिँदा पनि सरकारको जिउँदो उपस्थित आफूले कहीँ नदेखेको तिखो टिप्पणी गरेका छन् ।

‘यस पटक मौसमविद्हरूले सम्भावित खतराको जानकारी र चेतावनी समयमै दिएका थिए। यसका बाबजुद सरकारको जिउॅंदो उपस्थिति कहीँकतै देखिएन’, उनले भनेका छन्, ‘नारायणगढ-बुटवल खण्डको सडक देख्दा सरकार नामको कुनै चीज यो देशमा छ जस्तो लागेन। विपद्मा संयमता अपनाऊँ तर अब नसहौँ।’

सामाजिक सञ्जाल एक्समा रमेश तिवारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्र संघको बैठकमा आफ्नो सम्बोधन सकेर स्वदेश फर्किँदा पनि नेपालका प्रधानमन्त्री भने उतै अल्मलिएको टिप्पणी गरेका छन् ।

‘यता देशमा लगातारको वर्षाले जनजीवन अस्तब्यस्त भइरहेको छ, हाम्रो देशको प्रधानमन्त्री र परराष्ट्रमन्त्री भने राष्ट्र संघको बैठकमा सम्बोधन सकेर पनि अमेरिकामा घुमफिरमा मस्त छन्’, उनले आक्रोशमिश्रित शब्दमा भनेका छन् ।

पूर्वजलश्रोत मन्त्री तथा जलश्रोतविद् दीपक ज्ञवालीले नेपाल नफर्की उतै बसेर गोहीको आँसु नचुहाउन भन्दै प्रधानमन्त्रीलाई व्यंग्य कसेका छन् ।

‘उता बसेर यस्तो गोहीको आँसु जस्तो बकवास कुरा नगर्नुस् । तपाईंले यसरी ट्विट लेख्नेबाहेक केही गर्नु भएको छैन । तपाईंको ‘क्रान्तिकारी’प्रतिष्ठामा पहिले नै भएको क्षतिलाई तपाईंका सीमित झोलेहरूले अझै बढाउने काम गरिरहेका छन्’, उनले लेखेका छन् ।

प्रकाशप्रसाद शर्माले राहत र उद्धारमा नजुटे पनि ओली र उनका सहयोगीले विपद्लाई कमाई खाने बाटो बनाउन सक्ने टिप्पणी गरेका छन् । उनले ओली विपद्मा पनि देश नफर्केकोमा कटाक्ष गरेका छन् । ‘तपाईं र तपाईंका झोलेहरूमा खुसीको लहर उर्लिरहेका होलान् । यस्तै विभिन्न प्रकोपलाई कमाई खाने, लुटी खाने अवसर बनाइरहनेको मनमा के को पहिरो जान्छ ?’

के भन्छ सचिवालय ?

प्रेस संयोजक रामशरण बजगाईं विपद्पछिको अवस्थाबारे प्रधानमन्त्रीले अमेरिकाबाट क्षण-क्षणमा जानकारी लिइरहेको बताउँछन् ।्

विपद् निम्तिनु साताअघि नै अमेरिका गएका प्रधानमन्त्रीबारेमा अवाञ्छित र अनुचित टिप्पणी जायज नहुने उनको तर्क छ।

‘देशमा आपत आउनुअघि नै उहाँ बाहिर जानु भएको हो । निर्धारित कार्यक्रम सकेर आउनु हुन्छ । उद्धारको व्यवस्थासहित निरन्तर सम्पर्कमा रहेर प्रधानमन्त्रीले जानकारी लिएर निर्देशन दिने काम भइरहेकोछ’, उनी भन्छन्, ‘यहाँ बाढी नआउँदै उहाँ जानु भएको हो । प्रधानमन्त्री यहाँ नहुँदा पनि उद्धार र राहत तदारुकताका साथ भइरहेको छ । उद्धारको काम पनि सुरुबाटै सरकारले रेको छ । बाढी आउँदैछ भन्ने कुराको अग्रिम जानकारी पनि दिएको छ।’

उनले बाढी आउनुअघि नै सरकारले खतरा रहेका ठाउँबारे जानकारी दिएको बताए। राजमार्ग पनि बन्द गरेको अवस्थामा राति सरकारी निर्देशन अवज्ञा गरेर हिँड्दा केही सवारी पहिरोमा परेको उनले बताए । झ्याप्ले खोलामा मान्छेको हताहतीको कारण सरकारीक निर्देशन अवज्ञा गर्दै राति गाडी चलाउनु रहेको बजगाईंको टिप्पणी छ ।

‘सरकारले खतरा छ भनेको ठाउँमा जाँदा पनि घटना भएका छन् । अहिले उद्धारका लागि तीनवटै सुरक्षा निकायलाई खटाइएको छ । प्रधानमन्त्रीको प्रयासमै त्यो भएको छ । प्रधानमन्त्रीकै योजनामा सर्वदलीय बैठक आयोजना गरिएको छ । बैठकमा सरकारको कामको सबैले प्रशंसा गरेका छन्। यो दिन बाढी आउँछ, बाटो बन्द गर्नुपर्छ भनेर सरकारले नै भनेको छ । तर सरकारले भन्दा भन्दै पनि अटेरी हुँदा दुर्घटना भएको छ ।’

बजगाईंले सरकारको आलोचना भइरहँदा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट र पश्चिम रुकुममा २०८० असोजमा गएको भूकम्पपछि भोगेको असफलता पनि सम्झाएका छन्।

‘त्यसबेला पीडित परिवारलाई राहत दिने कुरामा प्रचण्ड फेल भएको कुरा ताजै छ । अहिले विपद्बाट उद्धार गर्नका लागि काम भएको छ। गृहमन्त्रीसँग प्रधानमन्त्रीको कुरा भएको छ । कुन कुन ठाउँमा के के भएको भन्नेमा प्रधानमन्त्री अपडेट हुनुहुन्छ । बाहिर हुँदा पनि चासो दिनु भएको छ । सामाजिक सञ्जालबाट लेखेर प्रधानमन्त्रीले जनतालाई पनि खबर गरिरहनु भएको छ’, उनी भन्छन्, ‘सुरक्षानिकाय पनि खटेका छन् । यता विपद् भयो तर भन्नेबित्तिकै उताबाट आउन पनि दुई दिन लाग्छ । उहाँ अब भोलि फर्किनु हुँदैछ ।’

बजगाईंले अहिलेसम्म सुरक्षा निकायबाट ५ हजार भन्दा बढीको उद्धार भएको पनि बताए ।

‘प्रधानमन्त्री आएपछि राहत र पुनर्स्थापना अभियानले गति लिन्छ । अहिले उहाँ अमेरिका भए पनि उद्धार अभियानमा खास फरक परेको छैन’, उनले भने, ‘तत्काल खट्नका लागि प्रहरीसहित सुरक्षानिकायलाई पनि निर्देशन दिनु भएको छ। मौसमविद्सँग पनि छलफल गरिरहनु भएको छ। मुख्यसचिवसँग पनि संवाद र निर्देशन दिइरहनु भएको छ। निर्धारित कार्यक्रम पूरा गरेर फर्किएपछि सरकारले पुनर्स्थापना र राहतलाई अझ तीव्रता दिन्छ ।’

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ८ : १५ बजे

ओमानविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं – नेपालले त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत ओमानविरुद्ध पहिला ब्याटिङ

बाढीपहिरोबाट बागमतीमा एक सय दुई जनाको मृत्यु, २७ बेपत्ता

बागमती – भनिन्छ, विपद्को कुनै सीमा र समय हुँदैन, यो

बाढीले अवरुद्ध बनेको खानेपानी आपूर्ति सोमबारदेखि सञ्चालन हुने

काठमाडौं – अविरल वर्षाका कारण आएको बाढीले काठमाडौँका केही स्थानमा

ललितपुरमा विपदमा परी मृत्यु भएका ३० जनाको शव भेटियो, अझै सात बेपत्ता

ललितपुर – अविरण वर्षासँगैको विपद्मा परी ललितपुरमा हालसम्म ३० जनाको

ज्वाइँ साबका निर्देशकलाई प्रश्न : क्लाइमेक्स दृश्य लिक गर्नेलाई किन उजुरी नगरेको ?

काठमाडौं- कलाकार जितु नेपाल र नीति शाहको शीर्ष भूमिका रहेको