काठमाडौं– हरेक बर्ष बाढी पहिरो जाँदा काठमाडौंमा बस्ने आफन्तले गृहजिल्लामा फोन गरेर हालखबर सोध्ने गर्दथे । ‘गंगा उलटी बहती है’ भन्ने हिन्दी आहानजस्तै यसपालि काठमाडौंका ठीक उल्टो दृश्य देखियो !
बिहीबारदेखि शनिबारसम्म तीन दिन लगातार परेको वर्षापछि गाउँघरबाट मानिसहरुले काठमाडौंमा रहेका आफन्तलाई फोन गरेर सोधे– बाढीले काठमाडौं पूरै डुबायो भन्ने सुनियो, तिमीहरुको अवस्था कस्तो छ ?
गाउँबाट मात्र होइन, विदेशमा रहेका नेपालीले समेत काठमाडौंमा फोन गरेर आफन्तलाई सोधे– बाढीले काठमाडौं डुब्यो भन्ने सुनियो, त्यहाँको अवस्था के छ ?
यता काठमाडौंमा बस्नेहरुको जवाफ हुन्थ्यो– बागमती, विष्णुमती र मनोहरा खोला किनारमा बाढी पसेको हो, हामी बसेको ठाउँमा त ठीकै छ । खोला किनारको सुकुम्बासी बस्तीचाहिँ सोत्तरै भयो ।
विदेशमा रहेका वा बाहिरी जिल्लाका मानिसहरुलाई यस्तो लाग्छ कि संघीय राजधानी काठमाडौं बाढी पहिरोको जोखिमबाट सुरक्षित ठाउँ हो । यहाँ कोशी, गण्डकी कर्र्णाली जस्ता ठूला नदीहरु पनि छैनन् । उपत्यका सम्म भएकाले पहिरोको जोखिम पनि छैन ।
केन्द्रीय राजधानी नै भएकाले कुनै विपद आइहालेमा उद्धारका लागि केन्द्रीय संरचनाहरु तत्कालै पुग्छन् र विकग जिल्लामा जस्तो कठिनाइ हुँदैन भन्ने लाग्नु स्वाभाविकै हो । तर, खोलामा टहरोमाथि घण्टौं कुर्दा पनि राज्यको संयन्त्रले उद्धार गर्न नसकेको दृश्य पनि यसपटक काठमाडौंमै देखियो । खासमा भन्ने हो भने काठमाडौंको बाढीले हाम्रो राज्यसंयन्त्रको निरीहतालाई नांगो रुपमा देखाइदियो ।
तीन दिनयताको वर्षाले काठमाडौं उपत्यकामै सबैभन्दा बढी क्षति हुन पुग्यो । नेपाल प्रहरीले सार्वजनिक गरेको आइतबार अपरान्ह ३ बजेसम्मको विवरण अनुसार तीन दिनयता देशभर १६५ जनाको मृत्यु भएको छ भने बाढी र पहिरोमा परेर ५५ जना हराइरहेका छन् ।
शनिबार बिहान १० बजेदेखि आइतबार बिहान १० बजेसम्म २४ घण्टाको अवधिमा मात्रै ६५ जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । मृत्यु भएका ६५ मध्ये २८ जना काठमाडौं उपत्यकाकै रहेका छन् । प्राधिकरणका अनुसार काठमाडौंमा ९, ललितपुरमा १४ र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ । तीन जिल्लाबाट बेपत्ता हुनेको संख्या १७ रहेको छ ।
काठमाडौंबाट १५९ र ललितपुरबाट ४ जनाको उद्धार गरिएको सरकारी तथ्यांकमा उल्लेख छ ।
आखिर काठमाडौं शहरभित्रै बाढीका कारण यति ठूलो क्षति कसरी हुन पुग्यो ? स्थानीयबासीलाई सोध्दा यो प्रश्नको जवाफ एउटै अहाउने गरेको छ– मनोहरा, बागमती, विष्णुमती लगायतका खोलाहरु मिचेर बस्ती बनाइएका कारण नदीको बहाव अवरोध हुन गई मानवीय क्षति भएको हो ।
तर, शनिबारको बाढीले नदी किनारका सुकुम्बासी बस्तीलाई मात्रै धक्का दिएको भने होइन । नम्बरी जग्गामा बनाइएका विशाल भवनहरुमा समेत पानी पसेको स्पष्ट देख्न सकिन्थ्यो ।
जस्तै– ललितपुरको च्यासलमा रहेको सत्तारुढ नेकपा एमालेको मुख्यालय पनि जलमग्न भयो । च्यासलको वैकल्पिक रंगशालामा खोलो कुद्यो । ललितपुरको मेडिसिटी अस्पतालको ल्याब र बिरामी राख्ने वार्डसमेत चुर्लुम्म डुब्यो । यो दृष्टान्तले स्पष्ट हुन्छ कि समस्या सुकुम्बासी बस्ती मात्र होइन, ‘हुकुम्बासी’ बस्तीमै खोलो पस्यो, आखिर किन ?
कति छन् काठमाडौं उपत्यकामा सुकुम्बासी ?
अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिको तथ्यांक अनुसार उपत्यकाका तीन जिल्लामा नदी किनारामा ३ हजार ४९६ घरधुरी छाप्राहरु रहेका छन् ।
काठमाडौंमा मात्रै त्यस्ता छाप्राहरु २ हजार १७० वटा छन् । यीमध्ये कागेशवरी मनोहरामा ९० वटा छाप्रा छन् । बूढानीलकण्ठमा १५६ वटा छाप्रा छन् ।
ललितपुर महानगरनगरपालिकामा १७ वटा र गोदावरी नगरपालिकामा २१५ वटा छाप्राहरु रहेका छन् भने भक्तपुर जिल्लामा ७७३ परिवारका घर टहरा छन् ।
यसरी उपत्यकामा रहेका ३४ सय ९६ घरधुरीको व्यवस्थापन हुन नसक्दा नदी किनारामा अतिक्रमण हुँदै आइरहेको अवस्था छ ।
त्यसो त काठमाडौंको इचंगुनारायणमा सरकारले २३० घर परिवार सुकुम्बासीलाई राख्न मिल्ने भवन समेत बनाइसकेको छ । तर, त्यहाँ स्थानीयको अवरोधलाई कारण देखाई सुकुम्बासीलाई राखिएको छैन ।
मापदण्डको अवहेलना
सरकारले नदीको दायाँवायाँ अतिक्रमण गरिएको सन्दर्भमा ०६५ सालमा एएटा मापदण्ड जारी गरेको थियो । ०६५ मंसिर १ गतेको मन्त्रिपरिषद बैठकले पारित गरेको सो मापदण्ड अनुसार बागमती, विष्णुमती र मनोहरा खोलाको दायाँ वायाँ २० मिटर छाडेर मात्रै संरचना बनाउन पाइने भनेको थियो । अन्य नदीको हकमा दायाँ वायाँ ४ मिटर छाडेर संरचना बनाउनुपर्ने मापदण्ड सरकारले तोकेको थियो ।
सरकारले तोकेको यो मापदण्डमा थप २० मिटर छाड्नुपर्ने हालै सर्वोच्च अदालतले फैसला गरेको छ । र, उक्त फैसलाविरुद्ध सरकारले सर्वोच्चमा पुनरावेदन गरेको अवस्था छ । तर, नदी क्षेत्रको जोखिम हटाउन सरकारले तोकेको भन्दा थप २० मिटर जमीन छाड्नैपर्ने सर्वोच्च अदालतको ठहर छ, जसलाई शनिबारको भीषण बाढीले थप पुष्टि गरिदिएको छ ।
हेर्नुहोस् सर्वोच्च अदालतको आदेशको व्यहोरा–
काठमाडौंमा क्षतिका तीन कारण
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता एवं सूचना अधिकारी डा. डिजन भट्टराईका अनुसार काठमाडौं उपत्यकामा बाढीले यस्तो क्षति पु¥याउनुका पछाडि मुख्यतः तीनवटा कारण छन्–
‘पहिलो कुरा, यहाँ अव्यवस्थित शहरीकरण भयो, दोस्रो– ढल व्यवस्थापन सही रुपमा भएन’ भट्टराईले खबरहबसँग भने,‘तेस्रो–नदीको बहाव क्षेत्रमा भौतिक संरचना बनाइयो । यिनै तीन कारणले गर्दा उपत्यकाका नदी किनारामा यस्तो क्षति हुन पुगेको हो ।’
नदी किरानामा मानिसहरुले बसोबास गरिसकेपछि उनीहरुको सम्पत्तिको अधिकार पनि जोडिएर आउने र समस्या समाधानमा जटिलता थपिने गरेको डा. भट्टराईको विश्लेषण छ । उनी भन्छन् ‘इतिहासमा गल्ती भयो, अब त्यसलाई सच्याउनका लागि महत्वपूर्ण निर्णय गरेर अगाडि बढ्नुपर्छ । सामान्यरुपमा सोचेर इतिहासको गल्ती सच्याउन सकिँदैन ।’
सुकुम्बासी समस्या समाधानबारे नीतिगत अलमल
काठमाडौं महानगरपाकिलाका मेयर बालेन्द्र शाहले कार्यभार सम्हालेयता लगातार बागमती किनारका सुकुम्बासीलाई बल प्रयोग गरेर हटाउने प्रयास गर्दै आए । उनले यसका लागि पटक–पटक डोजर चलाउने प्रयास पनि गरे । त्यसक्रममा सुकुम्बासीहरुले प्रतिवाद गर्दा नगर प्रहरीसमेत घाइते भए ।
सुकुम्बासी बस्तीमा डोजर लगाउने अभियानलाई संघीय सरकारले सहयोग नगरेको र गृहमन्त्रीले प्रहरी फोर्स उपलब्ध नगराएको गुनासो समेत मेयर शाहले गर्दै आए ।
तर, संघीय सरकारले भने भूमि आयोगमार्फत् समस्या समाधान गर्नुपर्ने भन्दै सुकुम्बासीहरुमाथि बल प्रयोग गर्न नहुने र विकल्प दिएर स्थानान्तरण गरिनुपर्ने अडान राख्दै आएको छ ।
काठमाडौं महानगर र केन्द्र सरकारवीचको यही मतान्तरका वीच बागमती किनारको सुकुम्बासी बस्ती हट्न नसकेको छैन । यी बस्तीमा न त महानगरले बल प्रयोग गर्न सकेको छ, न त संघीय सरकारले उचित विकल्प नै दिन सकेको छ । समस्या यसरी कचल्टिइरहेकै बेला सर्वोच्चका आदेश आएको छ र त्यस अगत्तै बाढी आएको छ ।
खोलालाई कुलो बनाउँदाको परिणाम
भूगर्भविद श्रीकमल द्विवेदीलाई हामीले सोध्यौं– काठमाडौं उपत्यकामा बाढीले जुन बितण्डा मच्चायो, यसले दिएको सन्देश के हो ?
द्विवेदीले खबरहबसँग भने,‘बगर भनेको खोलाकै भाग हो । खोलालाई बगर वर्षभरि चाहिँदैन, वर्षायाममा केही घण्टाका लागि मात्र चाहिन्छ । तर, हामीले वागमती, विष्णुमती खोलाको बगर मास्यौं र खोलालाई साँघुर्याएर कुलो जत्रो बनायौं । त्यसैको परिणामस्वरुप अहिलेको अवस्था आएको हो ।’
मेयर केशव स्थापितका पालामा बगरमा फोहोर थुपारेर अग्लो बनाइएको र नदीलाई साँघुरो पारिएको द्विवेदीको तर्क छ । उनी भन्छन्, ‘टेकु भनेको त्यस्तो ठाउँ हो जहाँ काठमाडौं, ललितपुर र भक्तपुरको पानी एकत्रित हुन्छ । तर, त्यही टेकुमा नदीलाई साँघुरो र बगरलाई अग्लो बनाइएपछि वस्तीमा पानी पसेको हो ।’
नदी आसपास सौन्दर्यकरण गर्दा जल प्रवाहलाई असर पार्ने कार्य गर्न नहुने उनी बताउँछन् । शहरको उत्तरी भागमा कस्ती बढ्दै गएको र जमीनमा कंक्रिट भरिँदै गएको तर दक्षिणी भागमा नदी चाहिँ झन् साँघुरो बन्दै गएका कारण आगामी दिनमा उपत्यकामा बाढीको जोखिम अझै बढ्ने द्विवेदीले खबरहबलाई बताए ।
आगामी दिनमा काठमाडौंले मात्रै होइन, अन्य विकासोन्मूख नगरहरुले पनि विकासको मोडल सच्याउनुपर्ने र जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्ने द्विवेदीको सुझाव छ ।
प्रतिक्रिया