धनतेरसमा पनि जनकपुरधामका सुन व्यवसायीमा छैन उत्साह | Khabarhub Khabarhub

धनतेरसमा पनि जनकपुरधामका सुन व्यवसायीमा छैन उत्साह


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सुनको भाउ निरन्तर रुपमा बढिरहँदा जनकपुरधाममा गरगहनाको मागमा कमी आएको छ । यसको असर प्रत्यक्ष रुपमा जनकपुरधामस्थित सोनरपट्टी बजारमा देखिएको छ । करिब एक साताअघि देखि नै निकै तामझाम र सुनचाँदीको पसललाई आकर्षक रुपमा साजसज्जा गरिए पनि पसलमा ग्राहकहरूको भीडभाड उत्साहजनक नरहेको एक सुन पसलेले बताए । 

सुनको मूल्य बढिरहँदा जनकपुरधाम बजारमा भने सुनको माग निरन्तर घटिरहेकोले सुन व्यवसायीमा उत्साह छैन । प्रत्येक वर्ष बडादसैँ, दीपावली र छठ पर्वको अवसरमा विशेषगरी बिक्री हुने सुनचाँदीको गरगहना पसलेहरू यसपटक भने प्रायः अत्यावश्यक बाहेकका उपभोक्ताले खरिद नगरेको उनीहरु बताउँछन् ।

दिनानुदिन सुनको मूल्य बढेर तोलाकै १ लाख ४५ हजार ४ सय रुपैयाँमा बिक्री भइरहेको छ । सुनको मूल्य बढ्दै गएपछि गरगहनाको मागमा पनि कमी आएको सुन व्यवसायी अमरनाथ साहले बताए । महँगो मूल्यका कारण धनतेरसका दिन पनि सुनचाँदी व्यवसायीमा उत्साह देखिएको छैन । सामान्य अवस्थामा तिहारमा सुनचाँदी धेरै बिक्री हुने गर्छ । विशेषगरी धनतेरसका दिन सुनचाँदी ठूलो परिमाणमा बिक्री हुने गरेको उनको भनाइ छ ।

तिहारकै लागि भनेर विभिन्न खाले नयाँ डिजाइनका सुनका गरगहना बनाएर राख्ने गरेका व्यवसायीहरू यसपालि माग नै नरहेको बताउन थालेका छन् । सुनचाँदीको मूल्य निरन्तर उकालो लाग्दा कारोबार घट्दै गएको सुन व्यवसायीहरू बताउँछन् । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ मधेश प्रदेशका महासचिव मनिष रमण साहले तिहारका लागि विशेष तयारी गरिए पनि उत्साहजनक अवस्था नरहेको बताए ।

महासचिव साहले भने, ‘सुनको भाउ अत्यधिक महँगो भएका कारण गरगहना धेरै बनाइएको छैनौँ ।’ उनले अघि थप्दै भने, ‘सुनको मूल्य महँगिएपछि गरगहनाको माग घट्यो, तिहार आउन लाग्दा पनि व्यवसायीमा उत्साह नहुनुको कारण खस्कदो अर्थतन्त्र र महँगी नै हो ।’

धनतेरसको दिन कारोबार बढ्ला कि भन्ने उनको आश रहे पनि विगतका तिहारमा जस्तो कारोबार हुनेमा ढुक्क हुने अवस्था छैन । बजारमा सुनको माग नरहेका कारण बैंकहरूले एक महिनासम्म सुनको आयात नै गरेका छैनन् । आवश्यकता अनुसार बैँकसँग खरिद गरिएको सो सुन स्टकमै रहेको व्यवसायीहरूको भनाइ छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ मधेश प्रदेशका महासचिव साहले सुन महँगो भएकोले तिहारमा राम्रो कारोबार हुने विश्वासमा तयारी गरेको छ । 

स्थानीय सुनचाँदी व्यवसायी राजकुमार साहले भने, ‘महँगीका कारण ग्राहकले खासै सुन खरिद गरिरहेका छैनन् । त्यसैले अहिले तिहारका लागि भनेर धेरै गरगहना बनाएर राख्ने अवस्था पनि छैन ।’

विगत वर्षमा दैनिक ४०-५० किलोग्रामसम्म खपत हुने गरेको सुन पछिल्लो पटक मूल्य अकासिन थालेसँगै दैनिक औसत २० किलोग्रामभन्दा कममा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । व्यवसायीहरूले तिहार लक्षित गरेर १०० किलोग्राम सुन आयात गर्न बैंकलाई भनिएको छ । तर यसबीचमा आफूहरूले सरकारले भन्सार दर घटाउँला भनेर आयातका लागि केही समय पर्खी रहेको महासंघले जनाएको छ ।

गत वर्षको कार्तिकमा सुनको मूल्य १ लाख १६ हजार रुपैयाँ रहेकोमा यस वर्षको कार्तिक महिनामा करिब ४० हजार रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ । नेपाल राष्ट्र बैंकले यसै वर्षको भदौँ मसान्तमा सार्वजनिक गरेको देशको वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनमा गत वर्ष सोही अवधिको तुलनामा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ३४ प्रतिशतसम्मले बढेको उल्लेख गरेको छ ।

अर्कोतर्फ नेपालमा सुनको मूल्य आकाशिदा पनि छिमेकी भारतमा भने नेपालमा भन्दा सस्तो सुन पाइरहेको छ । जसले गर्दा सीमावर्ती क्षेत्रतर्फका ग्राहकहरु भारतको सीमावर्ती बजारमा गएर सुनलगायतका गरगहना खरिद गर्न थालेपछि स्थानीय बजारमा असर परेको सुनचाँदी व्यवसायीहरु नै बताउँछन् ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुनको गरगहना नेपाल–भारत सीमावर्ती क्षेत्रतर्फ सहजै पाउन थालिएपछि सोनारपट्टी बजारमा प्रत्यक्ष असर परेको छ ।

भारतमा नेपालभन्दा सस्तोमा सुन पाउन थालेपछि जनकपुरधाम हुँदै प्रायः उपभोक्ता सीमावर्ती क्षेत्रतर्फको बजारमा गएर सुनलगायतका गरगहनाहरु खरिद गर्ने गरेका कारण पनि त्यसको असर जनकपुरधामको सुनचाँदी बजार परेको व्यवसायी सुशील कर्णले बताए ।

नेपालमा सुनको मूल्यसंगै २० प्रतिशत कर सरकारले थप गरेको छ । तर, भारतमा भने ६ प्रतिशत भारत सरकारले लिइरहेकाले भारततर्फ सुन सस्तोमा बिक्री भइरहेको सुनचाँदी व्यवसायीहरु बताउँछन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ५ : २० बजे

चिसो बढेपछि कैलालीमा दाउरा वितरण

टीकापुर– कैलालीको टीकापुर क्षेत्रमा चिसो बढेपछि चोकचोकमा दाउरा वितरण थालिएको

स्वास्थ्य बीमा क्षेत्र सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन

काठमाडौं– स्वास्थ्य बीमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले स्वास्थ्य

‘सञ्चार ऐनलाई संशोधन गर्ने प्रक्रिया अघि बढाएका छौँ’

देउखुरी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्रको सबलीकरणका लागि

बाँकेमा १ सय ४६ जना नयाँ कुष्ठरोगका बिरामी फेला

बाँके– बाँके जिल्लामा एक सय ४६ जना नयाँ कुष्ठरोगका बिरामी

राप्रपा नेपालको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)को केन्द्रीय समितिको बैठक