गुठीलाई बदनाम गराउने महागुथी सहकारी, सञ्चालनदेखि ऋण लगानीसम्म अनेक बदमासी | Khabarhub Khabarhub

गुठीलाई बदनाम गराउने महागुथी सहकारी, सञ्चालनदेखि ऋण लगानीसम्म अनेक बदमासी

एकै व्यक्तिलाई पटक पटक करोडौँ ऋण


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धार्मिक वा परोपकारी कार्य सञ्चालनका लागि दाताले दयालु भावनासहित छुट्याएको चल–अचल सम्पत्तिलाई गुठी भनिन्छ । त्यही गुठीको चल–अचल सम्पत्तिको आयस्ताले देव–पितृको पूजाआजा आदि गरिन्छ ।

धार्मिक र परोपकारी कार्यका लागि छुट्याइएको चल–अचल सम्पत्तिको रेखदेख गर्ने सामाजिक संस्थालाई पनि गुठी नै भनिन्छ । गुठीको चल–अचल सम्पत्ति उसले मात्रै प्रयोग गर्ने चलन छ ।

अरुभन्दा पनि नेवार समुदायमा गुठी परम्परा बढी प्रचलनमा छ । संघीय राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानका कतिपय मन्दिरहरू गुठीकै आयस्ताबाट चल्ने गरेका छन् ।

काठमाडौंमा नेवार समुदायले अहिले पनि जात्रा परम्परालाई निरन्तरता दिन र विभिन्न पर्व मनाउन गुठीको आयस्रोतबाट खर्च जुटाउने गरेको छ । सम्भवतः यही गुठी परम्पराबाट प्रेरित भएर २०५६ सालमा काठमाडौं महानगरपालिका–१७ स्थित टुेंगालमा महागुथी बहुद्देश्यीय सहकारी संस्था दर्ता भएको थियो ।

पछिल्लो समय महानगरपालिका–१८ नरदेवीमा कार्यालय राखेर दैनिक कार्यसञ्चालन गर्दै आएको यस सहकारीले आफ्नो नाम महागुथी (महागुठी) राखे गतिविधि भने गुठी परम्पराविपरीत गरेको भेटिएको छ ।

कयौँ गडबडी भेटिएपछि काठमाडौं महानगरपालिकाको सहकारी विभागले उजुरीका आधारमा छानबिन गरेर कारबाहीका लागि बागमती प्रदेश सरकारलाई सिफारिस गरिसकेको छ । महागुथी बहुद्देश्यीय सहकारी संस्था सञ्चालनदेखि कर्जा वितरणसम्म कैफियत नै कैफियत देखिएको महानगरले जनाएको छ ।

छानबिनबाट कैफियत देखिएपछि महागुथी बहुद्देश्यीय सहकारीलाई कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाउन बागमती प्रदेश सरकारलाई यसअघि नै सिफारिस भइसकेको थियो । तथापि, महानगरको प्रतिवेदन सार्वजनिक गरिएको छैन ।

महानगरपालिकाले सहकारी ऐन ०७४, महानगरपालिका सहकारी ऐन ०७४, बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्था सुपरीवेक्षण, निरीक्षण तथा अनुगमन निर्देशिका ०७७ को आधारमा तयार पारिएका ८२ वटा सहकारी संस्थाको निरीक्षण सूचकका आधारमा प्रतिवेदन तयार पारेको थियो ।

महानगरपालिकाले प्रदेश सरकारलाई कारबाहीका लागि पठाएको सिफरिससहितको खबरहबलाई प्राप्त प्रतिवेदनले नेपालका सहकारीहरू कसरी आरोलो लागे, सहकारी सञ्चालक र पदाधिकारीले मिलेमतो गरेर बचतकर्ताको रकम कसरी हिनामिना गर्दा रहेछन् भन्ने छर्लङ्ग पारिदिएको छ ।

पूँजीगत कोषको १० प्रतिशतभन्दा बढी ऋण लगानी

सहकारी विभागले ०७९ जेठ १२ गते जारी गरेको सहकारी संघ–संस्थामा सुशासन प्रवर्द्धनका लागि एकीकृत निर्देशिका–०७९ को बुँदा नम्बर १८ मा प्रष्टसँग तत्काल कायम पूँजीकोषको अधिकतम १० प्रतिशत नबढ्ने गरी मात्रै प्रतिसदस्य कर्जा प्रवाह गर्न पाउने भनिएको छ ।

तर, महागुथी बहुद्देश्यीय सहकारीले सहकारी विभागको निर्देशिका लत्याउँदै पूूँजीगत कोषको १० प्रतिशतभन्दा बढी ऋण लगानीका साथै केही ऋणीलाई हर्जाना छुट दिएर अनियमितता गरेको छ ।

महागुथीले सहकारी विभागको निर्देशिकाविपरीत आशाकाजी महर्जनलाई १४ दशमलव ७५ प्रतिशत ब्याजदरमा एक करोड २० लाख र बाबुराजा महर्जनलाई दुई करोड रुपैयाँ ऋण दिएको भेटिएको छ । उसले तिनै बाबुराजालाई फेरि १३ प्रतिशत ब्याजदरमा ३० लाख रुपैयाँ थप ऋण दिएको महानगरको प्रतिवेदनले देखाएको छ ।

निर्देशिकाविपरीत ऋण लिनेमा अनिता महर्जन, रेनुका बासुकला र श्यामबहादुर सिंह पनि छन् । अनिताले १४ दशमलब ७५ प्रतिशत ब्याजदरमा एक करोड ३० लाख, रेनुकाले १२ प्रतशित ब्याजदरमा एक करोड ७० लाख र १२ प्रतिशत ब्याजदरमै श्यामबहादुरलले एक करोड २९ लाख ऋण लिएका छन् ।

महानगरको प्रतिवेदनमा अनिता महर्जनको नाममा १४ दशमलब ७५ प्रतिशतमै थप एक करोड ३० लाख रुपैयाँ ऋण प्रवाह भएको देखिन्छ । १४ दशमलब ७५ प्रतिशत ब्याजदरमा हर्षबहादुर महर्जनलाई एक करोड ३० लाख, १४ प्रतिशत ब्याजदरमा गीता डंगोललाई ६० लाख रुपैयाँ ऋण दिइएको भेटिएको छ । प्रतिवेदनमा गीतालाई सहकारीले हर्जान छुट पनि दिएको उल्लेख छ ।

यस्तै सहकारी विभागको निर्देशिका मिचेर महागुथीले सागर महर्जनलाई १२ प्रतिशत ब्याजदरमा ६९ लाख एक हजार ८९२, लक्ष्मी महर्जनलाई एक दशमलब ७५ प्रतिशत ब्याजदरमा हर्जाना छुटसहित ५५ लाख, मञ्जु महर्जनलाई १२ प्रतशितमा ५६ लाख २७ हजार ६२३ र त्यही ब्याजदरमा ईन्द्र महर्जनलाई ६७ लाख ८३ हजार ५६१ ऋण दिएको छ ।

महागुथीले भगवती महर्जनलाई ८० लाख कम ब्याजदर (८ प्रतिशत)मा कर्जा लगानी तथा हर्जाना छुट पनि दिएको देखिएको छ । विभागको निर्देशिकाविपरीत महागुथीले १४ करोड ३६ लाख १३ हजार ७६ रुपैयाँ ऋण लगानी गरेको महानगरको प्रतिवेदनमा उल्लेख छ ।

सेवा शुल्क र ब्याजदरमा छैन एकरुपता

प्रतिवेदनअनुसार महागुथी बहुद्देश्यीय सहकारी संस्थाले सदस्यलाई कर्जा दिँदा सेवा शुल्क तथा ब्याजदरमा एकरुपता नगरेको भेटिएको छ । सहकारीले सञ्चालक समितिका सदस्य तथा उनीहरूका परिवारका सदस्यलाई भने कम ब्याजदरमा कर्जा लगानी गरेको पाइएको छ ।

सहकारीको सञ्चालकीय लाभ सम्बन्धमा प्रतिवेदनमा भनिएको छ, ‘कम ब्याजदरमा सञ्चालक तथा एकाघरका परिवारलाई कर्जा लगानी : सहकारी संस्थाले सम्पूर्ण सदस्यहरूलाई कर्जा लगानी गर्दा सेवा शुल्क तथा ब्याजदरमा एकरुपता गर्नुपर्नेमा देहायबमोजिम सञ्चालक समिति सदस्य तथा एकाघरका परिवारलाई कर्जा लगानी गर्दा कम ब्याजदरमा कर्जा लगानी गरेको देखियो ।’

महानगरको प्रतिवेदनअनुसार सहकारीले उपाध्यक्ष मचाराजा महर्जनलाई सेवा शुल्क नलिई साढे ८ प्रतशित ब्याजदरमा पाँच लाख ऋण प्रवाह गरेको देखिएको छ । त्यही ब्याजदरमा सहकारीका सचिव बाबुराजा महर्जनले पनि १० लाख ५० हजार रुपैयाँ ऋण लिएका छन् ।

सञ्चालक समितिका सदस्य गम्भीरमान महर्जनलाई १२ प्रतिशत ब्याजदरमा पाँच लाख र साढे ८ प्रतिशत ब्याजदरमा थप पाँच लाख गरी सहकारीले १० लाख रुपैयाँ ऋण लगानी गरिएको छ । सहकारीले अधितम् ब्याजदर कायम गरेर कर्जा प्रवाह गर्नुपर्ने भए पनि एउटै व्यक्तिलाई फरक–फरक ब्याजदरमा ऋण दिएको भेटिएको छ ।

महागुथी सञ्चालक समितिका अर्का सदस्य गोविन्द महर्जनलाई १४ प्रतिशत ब्याजदरमा २५ लाख पाँच हजार रुपैयाँ ऋण दिइएको छ । सहकारीले गोविन्दका छोरा आशीष महर्जनलाई समेत १२ प्रतिशत ब्याजदरमा १६ लाख १९ हजार ८२२ रुपैयाँ ऋण दिएको महानगरले प्रतिवेदनमा उल्लेख गरेको छ ।

महागुथी सहकारीबाट नियमविपरीत सबैभन्दा बढी बचतरकम चलाउनेमा लेखा समिति संयोजक रेणुका डंगोल बासुकला छिन् । उनले नियमविपरीत सहकारीबाट आफ्नो र छोराको नाममा दुई करोड १४ लाख ९९ हजार ९९९ रुपैयाँ ऋण लिएकी छन् ।

संयोजक रेणुकाले आफ्नो नाममा १२ प्रतिशत ब्याजदरमा एक करोड ७० लाख र छोरा विभाष बासुकलाको नाममा साढे ८ प्रतिशत ब्याजदरमा ४४ लाख ९९ हजार ९९९ रुपैयाँ ऋण लिएको प्रतिवेदनले देखाएको छ ।

महागुथीका उपाध्यक्ष मचाराजाले श्रीमती अनिता महर्जनको नाममा साढे ८ प्रतिशत ब्याजदरमा बचतकर्ताको रकमबाट ४५ लाख रुपैयाँ सेवा शुल्क नदिएरै ऋण लगेको महानगरको प्रतिवेदनमा उल्लेख छ ।

महानगरले कारबाहीका लागि सिफारिस गरेको पत्रसँगै प्रदेश सरकारलाई उपलब्ध गराएको प्रतिवेदनमार्फत सहकारी संस्थालाई अन्य सदस्यलाई कर्जा प्रवाह गर्दा लाग्ने कर्जाको अधितम ब्याजदरलाई कायम गरी सञ्चालक र उनीहरूका आफन्तको नाममा प्रवाह भएको ऋणको बाँकी रकम र सेवा शुल्क असुलउपर गर्न सुझाएको छ ।

‘संस्थाले अन्य सदस्यलाई कर्जा प्रवाह गर्दा लाग्ने कर्जाको अधितम ब्याजदरलाई कायम गरी बाँकी रकम असुलउपर गर्नुपर्ने,’ प्रतिवेदनको सुझावमा भनिएको छ, ‘साथै सेवा शुल्कसमेत असुलउपर गर्नुपर्ने ।’

नियमविपरीत सञ्चालक कार्यकारी भूमिकामा

प्रतिवेदनमा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समितिलगायत अन्य उपसमितिले पाउने सेवा सुविधा सम्बन्धमा साधारण सभामा निर्णय गरी लागू गर्नुपर्ने भए पनि ०८० असोज १३ गते भएको महागुथीको साधारण सभामा प्रस्तुत प्रतिवेदन तथा निर्णयमा त्यस सम्बन्धमा केही उल्लेख नभएको पाइएको छ ।

सहकारीको व्यवस्थाअनुसार सञ्चालक समितिका कुनै पनि सदस्य कार्यकारी भूमिकामा बस्न पाइँदैन । तर, महागुथी सहकारीका चारजना सञ्चालकहरू कार्यकारी भूमिकामा थिए । उनीहरूले बिनाकुनै निर्णय मासिक तलबसमेत बुझ्ने गरेको पाइएको छ ।

‘सहकारीको व्यवस्थाविपरीत चार सञ्चालक क्रमशः उपाध्यक्ष मचाराजा महर्जन, सचिव बाबुराजा प्रजापति, कोषाध्यक्ष कुलबहादुर महर्जन तथा सञ्चालक गम्भीरमान महर्जन कार्यकारी भूमिकामा रही मासिक १८ हजार साय सय ५० बराबरको सेवा सुविधा लिँदै आउनुभएको तर त्यस सम्बन्धमासमेत साधारण सभामा निर्णय नभएको,’ प्रतिवेदनमा लेखिएको छ । महानगरले नियमविपरीत भएको भुक्तानी उनीहरूबाट असुलउपर गर्न सुझाएको छ ।

ब्याज र हर्जाना छुटमा मनोमानी

महानगरको सहकारी विभागको छानबिनले महागुथी बहुद्देश्यीय सहकारी संस्थाले ब्याज तथा हर्जाना छुटमा पनि मनोमानी गरेको देखाएको छ । सहकारी संस्थाले साधारण सभाको निर्णयपछि मात्रै ऋणीलाई ब्याज र हर्जानामा छुट गर्नुपर्ने प्रावधान छ । तर ०८० अजार मसान्तमा संस्थाको सञ्चालक समितिले निर्णय गरेर ब्याज र हर्जाना छुट दिएको देखिएको हो ।

सञ्चालक समितिले निमयविपरीत दिएको ब्याज तथा हर्जाना छुटलाई ०८० असोज १३ गते सम्पन्न सहकारी संस्थाको साधारण सभाले अनुमोदन गरेको छानबिनका क्रममा फेला परेको छ ।

‘ऋणीको हर्जाना तथा ब्याज छुट दिई नियमविपरीत सम्बन्धित ऋणीको खातामा आ.व. २०७९/०८० को वित्तीय विवरणबाटै समायोजन गरिसकेको तथा सहकारी संस्थाले २०८० असोज १३ गतेको साधारण सभाले अनुमोदन गरेको पाइयो,’ प्रतिवेदनमा भनिएको छ ।

यसरी ऋणीको हर्जाना तथा ब्याज छुट दिँदा महागुथी बहुद्देश्यीय सहकारी संस्थालाई १८ लाख ७१ हजार ७०६ रुपैयाँ घाटा देखिएको छ ।

छुट पाउने ऋणी र रकम

भगवती डंगोल– १ लाख १८ हजार रुपैयाँ
गीता डंगोल– ९० हजार रुपैयाँ
जुपुधापी महर्जन– १ लाख ९२ हजार रुपैयाँ
रत्नकाजी महर्जन– १ लाख ९२ हजार रुपैयाँ
विष्णुदेवी महर्जन– १ लाख ९२ हजार रुपैयाँ
रश्मि महर्जन– १ लाख ९२ हजार रुपैयाँ
राजेन्द्र महर्जन– १ लाख ५० हजार रुपैयाँ
बुद्धरत्न महर्जन– ३२ हजार रुपैयाँ
लक्ष्मी महर्जन– २ लाख २५ हजार रुपैयाँ
पुरुषोत्तममान सिंह डंगोल– १ लाख ५० हजार रुपैयाँ
विश्वनारायण डंगोल– १ लाख ४६ हजार ७०३
कुल रकम– १८ लाख ७१ हजार ७०६ रुपैयाँ

महानगरपालिकाको सहकारी विभागले प्रतिवेदनमा नियमविपरीत गरेको छुटमा सञ्चालक समितिलाई जिम्मेवार बनाउनु पर्ने सुझाव पनि दिएको छ ।

सेवा शुल्कमा पनि मनोमानी

प्रतिवेदनमा प्रदेश सहकारी ऐनको दफा ४६ (३) बमोजिम नयाँ कर्जाको हकमा १ प्रतिशत तथा नवीकरण गर्दा बढीमा शून्य दशमलव २५ प्रतिशत सेवा शुल्क लिनुपर्ने भए पनि महागुथी सञ्चालक समितिको ०८० असार १७ को निर्णयबमोजिम बढी शुल्क असुलेको देखिएको उल्लेख छ । नियमविपरीतको सेवा शुल्क सदस्यलाई फिर्ता गर्नुपर्ने र आगामी दिनमा नियमसंगत शुल्कमात्रै लिन पनि । महानगरले सुझाएको छ ।

महानगरका अनुसार महागुथीले नगर रकमको बीमा पनि नगरेको पाइएको छ । प्रतिवेदनमा भनिएको छ, ‘संस्थाले नगद व्यवस्थापनअन्तर्गत काउन्टर भल्टको रकमका साथै मार्गस्थलको नगद रकमको बीमा नगरेको पाइयो,’ प्रतिवेदनमा उल्लेख छ, ‘जसले गर्दा नगद रकमको हानी नोक्सानी हुने सम्भावना रहने ।’

महानगरले छानबिनपछि जोखिमलाई मध्यनगर गर्दै रकमको बीमा गर्नुपर्ने सुझाव दिएको छ ।

यो पनि-

‘कालो सूर्य’का लेखकको सहकारीमा ‘ग्रहण’, कसरी मुछिइन् रविपत्नी निकिता ?

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ८ : १३ बजे

अधुरा आयोजनालाई सरकारले अगाडि बढाउने छ : ऊर्जामन्त्री

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–भारतबीच निर्माण

जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका चुनौतीको समाधानमा एकजुट

बीमा प्राधिकरणमा अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन

काठमाडौं – नेपालको बीमा क्षेत्र नियामक नेपाल बीमा प्राधिकरण अध्यक्ष

बैतडीमा खोप लगाएका बालकको मृत्युपछि तनाव, सडक अवरुद्ध 

बैतडी– बैतडीमा खोप लगाएका कारण बालकको मृत्यु भएको भन्दै स्थानीयले

स्ववियु निर्वाचनको तीव्र तयारीमा त्रिवि

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी