कसैको धम्कीले एमाले छाडिन्न, नयाँ पार्टी चाहिँदैन | Khabarhub Khabarhub

अन्तर्वार्ता

कसैको धम्कीले एमाले छाडिन्न, नयाँ पार्टी चाहिँदैन

पार्टीभित्र केही नेताहरुको 'भाले' प्रवृत्ति छ : उषाकिरण तिम्सेना



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली झापाली ज्येष्ठ नागरिक हुन् । बिन्दा पाण्डेसँगै केन्द्रीय सदस्यबाट ६ महिने निलम्बनमा परेकी उषाकिरण तिम्सेना नुवाकोटे युवा हुन् । ओली र तिम्सेनाबीच उमेर र भूगोल दुबै मिल्दैन । जिम्मेवारीको तह पनि फरक छ । तर, बेग्लाबेग्लै कुवाको पानी खाएका झापाली र नुवाकोटे दुबैको नशामा एउटै ‘नेकपा एमाले’ बहन्छ ।

शायद यही भएर हुनुपर्छ, ओलीबाट कारवाहीमै परे पनि उषाकिरण ढुक्कसँग भन्छिन्, ‘नेपालमा नयाँ पार्टीको आवश्यकता छैन, एमालेलाई नै रुपान्तरण गर्ने हो । एमालेमै बस्ने हो !’

एमालेको हालै सम्पन्न सचिवालय बैठकले भीम रावललाई सधैंका लागि पार्टीबाट हटाएको छ भने बिन्दा पाण्डे र उषाकिरणलाई ६ महिनाका लागि निलम्बन गरेको छ । मीनबहादुर गुरुङबाट जग्गादान लिएको विषयमा फेसबुकमा प्रश्न उठाएकै भरमा पाण्डे र तिम्सेना कारवाहीमा परेका हुन् ।

केन्द्रीय सदस्य पदबाट ६ महिनाका लागि निलम्बनमा परेकी उषाकिरण निर्धक्कसँग भन्छिन्, ‘मलाई कुनै पश्चाताप छैन, सामाजिक सञ्जालमा लेखेको कुरा म डिलिट गर्दिनँ । माफी पनि माग्दिनँ ।’

उनी अगाडि थप्छिन्, ‘मैले एमाले कसैको करले रोजेको पार्टी हैन र कसैको धम्कीले छाड्ने पनि छैन । पार्टी छाड्ने वा अरू पार्टीमा लाग्ने योजना छैन । यत्रो रगत पसिना बगाएको पार्टी किन छोड्ने ?’

विद्यार्थी राजनीतिबाट एमालेको यात्रा शुरु गरेकी तिम्सेना सादगी युवा नेताका रुपमा परिचित छिन् । उनले त्रिविबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी छिन् ।

किशोरावस्थादेखि नै नेकपा एमालेमा लागेर उर्जाशील समय खर्चेकी उषाकिरणसँग खबरहबले सोधेको छ– तपाई कसरी एमाले बन्नुभयो । सुनौं, बोलेकै आधारमा एमालेबाट कारबाही भोगिरहेकी तिम्सेनासँगको अन्तरंग सम्वाद–

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग तपाईको पछिल्लो भेट कहिले, कहाँ भएको थियो ?

फागुनको केन्द्रीय कमिटी बैठकमा भेट भएको थियो । म कामबिना भेट्न जान्नँ । व्यक्तिगत भेटघाट गर्ने, चिया खाने, नमस्कार गर्न जाने मेरो बानी छैन । किनकि म पनि पार्टीको काममा बिजी हुन्छु । अरूजस्तो नमस्कार नै गर्न जानेगरी फुर्सदमा हुँदिनँ । तर, च्यासलमा मिटिङपछि पनि भेट भएको हुन सक्छ । उहाँसँग चिनजान राम्रो छ । तर, म सामान्य कार्यकर्ता भएकाले प्रत्यक्ष कुराकानी हुँदैन ।

तपाईको वाल्यकाल र किशोरावस्थाको पृष्ठभूमिबारे बताइदिनु न..

म गाउँमा जन्मेकी सामान्य किसानकी छोरी हुँ । नुवाकोट तार्केश्वर गाउँपालिका वडा नम्बर ५ मा मेरो घर छ । मैले गाउँकै चम्पादेवी माविमा एसएलसीसम्म अध्ययन गरेँ । प्रवीणता प्रमाणपत्र र स्नातक तहको पढाइ ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसबाट पूरा गरेँ । समाजशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी छु । कक्षा ७ मा पढ्दादेखि नै एमालेको राजनीतिमा लागेकी । एमालेकी सामान्य कार्यकर्ता हुँ ।

गाउँको मान्छे, काठमाडौंमा पढ्ने अवसर कसरी पाउनुभयो ?

दाइ काठमाडौंमै पढ्नुहुन्थ्यो । दिदीहरूले चाहिँ पढ्न पाउनुभएको थिएन । बहिनीलाई पढाउने दाइहरूको ठूलो लक्ष्य थियो । दाइको पसल थियो । भाइ प्रकाश र म जुम्ल्याहा हौँ ।

मलाई आमाले गाउँमै पढ भन्नुहुन्थ्यो तर दाइहरूले मान्नुभएन । भाइले त स्कूल पनि काठमाडौंमै पढेको थियो । त्यतिखेर छोरीलाई चाहिँ काठमाडौं पठाउनुभएन । ०५६ सालमा एसएलसी दिएपछि म पनि काठमाडौं आएँ ।

 राजनीतिक यात्रा कसरी सुरु भयो र एमालेको केन्द्रीय सदस्य कसरी बन्नुभयो ?

केही मानिसहरूले भन्ने गरेजस्तो मचाहिँ जन्मँदै एमाले होइन । मेरो दाइ शिक्षक हुनुहुन्थ्यो । उहाँ वामपन्थी हुनुहुन्थ्यो । समाजमा त्यतिबेला शिक्षकहरूले नै राजनीति धानेका थिए ।

दाइको तलब आउँथ्यो । एमालेका नेताहरू गाउँ जाँदा दाइले नै व्यवस्थापन गर्नुहुन्थ्यो । ०४८ सालमा बिन्दा पाण्डे हाम्रो गाउँमा जाँदा म एमालेमा जोडिएँ । अन्य महिला पनि हुनुहुन्थ्यो । त्यतिबेला बिन्दा दिदीले समानता र न्यायको भाषण गर्नुभएको थियो । उहाँले भाषण गरेको देख्दा ‘म पनि पछि यत्तिको हुने हो’ भन्ने भयो । त्यसपछि त म पनि भाषणमा लागिसकेकी थिएँ । बच्चा हुँदा जे लक्ष्य देखेकी थिएँ, त्यो अहिले पूरा भएको छ ।

म ०६० मा सरस्वती क्यापसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को कोषाध्यक्ष थिएँ । जितिसकेपछि मैले ०६१ सालमा एमालेको सङ्गठित सदस्यता लिएँ । १२ वर्षकै उमेरदेखि अनेरास्ववियूमा जोडिएकी थिएँ । गाउँका दाइहरू बलराम अर्याल र अनुज श्रेष्ठले सङ्गठनमा जोड्नुभएको थियो ।

०६१ पछि तत्कालीन राजा ज्ञानेन्द्रले गरेको ‘कु’ विरुद्ध आन्दोलनमा लागियो । त्यसबेला सडक आन्दोलन भयो । २६ दिन हिरासत बसेँ । गणतन्त्र ल्याउने आन्दोलनमा लागियो । कुटाइ पिटाइ खाइयो । ठूलो आन्दोलनमा म प्रायः अग्रपङ्क्तिमै हुन्थेँ । हिंसाको प्रतिहिंसा गर्ने स्वाभाव ममा थिएन । सामूहिक रूपमा ढुङ्गा चाहिँ हानियो । तर, व्यक्तिगत कुटपिट भएन । एकपटक महिला पुलिसले झ्याम–झ्याम लाठीले हाने । मेरो हातको छाला नै सोहोरिएछ । ठूलो चोट लागेको थियो ।

पार्टीको बुटवलमा भएको आठौँ महाधिवेशन पनि हेर्न गएकी थिएँ । नवौँ महाधिवेशनमा प्रतिनिधि थिएँ । १० औँ महाधिवेशनमा केन्द्रीय सदस्य भएँ ।

यहाँले ठमेलस्थित सरास्वती क्याम्पसमा पढेँ भन्नुभयो, ०५६/०५७ तिर ठमेल कस्तो थियो ?

मान्छेहरूले ठमेलको कुरा जसरी गर्छन् नि, वास्तवमा ठमेल त्यस्तो छैन । त्यो ठाउँमा म धेरै बसेकी छु । विभिन्न देशबाट आएका पर्यटकहरूसँग सङ्गत थियो । ती देशका मानिसहरूको मनोविज्ञानलाई बुझ्ने मौका पाएँ । जापानीहरू बढीजसो भावनात्मक कुरा गर्थे । युरोपेली र अमेरिकीहरूले आधुनिकताको कुरा गर्थे । केटीहरूले छोटा कपडा लगाएर हिँडेको खासै नौलो लाग्दैनथ्यो । जहाँका मानिससँग पनि सङ्गत हुन्थ्यो । अहिले पनि फेसबुकमा त्यतिबेलाका साथीहरूले ‘यतिबेरसम्म राजनीतिको कुनै स्थानमा किन पुगेनौ ?’ भनी जिज्ञासा राखिरहन्छन् ।

रावलबारे सबै नेता तैँ चुप मै चुप, बिन्दा र उषाबारे अरूको कुरै सुनेनन् ओ‌लीले

समाजशास्त्र नै किन पढ्नुभयो ? डाक्टर पढ्ने, पाइलट हुने आकाङ्क्षा थिएन ?

त्यस्तो भएन । म स्कूलमा प्रथम भएकी छात्रा थिएँ, तर त्यस्तो अब्बल विद्यार्थी थिइनँ । मलाई परिवारले निश्चित विषय अध्ययनका लागि कुनै दबाब दिनुभएन । काठमाडौं आएको दुई/चार दिनमै कलेजमा मेरो राजनीति शुरू भइसकेको थियो । म आएको केही दिनमै तत्कालीन विद्रोही माओवादीको भ्रातृसंस्था अखिल (क्रान्तिकारी)ले कलेजमा सुतली बम पड्कायो । ‘मैले त्यतिखेर यसो गर्नु ठीक होइन’ भनेँ ।

मैले समाजशास्त्र पढ्नुमा केही कारण थिए । चैतन्य मिश्र सरको ‘पुँजीवाद र नेपाल’ भन्ने किताब आएको थियो । अहिले पुँजीवाद जति बुझ्छु, त्यतिखेर बुझ्दिनँ थिएँ । उक्त पुस्तक पढेपछि समाजशास्त्र अध्ययन गर्नुपर्छ भन्ने लाग्यो ।

समाजशास्त्र पढेर खास के सिक्नुभयो ?

समाजको रूट हुन्छ । समाज भनेको सामाजिक सम्बन्धहरूको सञ्जाल हो । समाज जुन, जस्तो र जहाँको हो, सोहीअनुसार मानिसको चरित्र हुन्छ । समाज जस्तो हुन्छ – त्यहाँभित्रको मानिस पनि समान चरित्रको हुन्छ भन्ने कुरा समाजशास्त्र अध्ययनपछि बुझिन्छ ।

मार्क्सवाद पनि त्यतिबेला बुझिसक्नुभएको थियो ?

अहिले पनि म मार्क्सवाद पढिरहेकी छु । यो वृहत्तर विषय हो । प्रशिक्षण दिँदै गर्दा घनश्याम भुसालले एउटा भाषणमा फ्रान्सेली राज्य क्रान्तिको कुरा गर्नुभयो । त्यतिखेर एनजीओकरण भयो भनी एमालेमाथि आलोचना थियो । उहाँले कस्तो समाजको कस्तो पार्टी एनजीओकरण हुन्छ भनी बुझाउनुभएको थियो ।

के रहेछ त मार्क्सवाद ?

मार्क्सवादले समाजलाई हेर्ने एउटा विधि दिएको छ । मार्क्र्सले कम्युनिस्ट पार्टीको घोषणापत्र त्यतिबेला लेख्नुभयो, जतिबेला श्रमिकहरू औद्योगिकीकरणको चरम मारमा थिए । समाजमा वर्ग हुन्छ, वर्गको स्वार्थ हुन्छ र स्वार्थहरूको टकरावपछि एउटा नयाँ व्यवस्था सिर्जना हुन्छ भन्ने कुरा नै मार्क्सवाद हो । यो खासगरी समाजलाई हेर्ने कुरा हो ।

अहिले एमाले पार्टीमा महिलाको स्थिति कस्तो छ ?

भन्नलाई ३३ प्रतिशत पुर्‍याइएको छ । तर, कमिटीगत हिसाबले छैन, नेतृत्वमा छैन । पदाधिकारीमै ३३ प्रतिशत महिला पुग्दैन । स्थायी कमिटीमा पनि छैन । मन्त्रीहरूमा त्यस्तो छैन ।

एमालेमा महिला असुरक्षित छन् भन्ने सुनिन्छ नि ? विभिन्न विवादहरु आइरहेका छन्….

महिला भएकै कारण असुरक्षित छैनन् । कसैले गलत नियत राखेर कुरा पनि गर्छन् होला । पार्टीमा भएको मान्छेले त्यसको प्रतिकार गर्न सक्नुपर्छ, मलाई त्यस्तो लाग्छ । पार्टीको केन्द्रीय सदस्य भएको मान्छेले कानुन, विधान, सामाजिक रीतिरिवाज, संस्कार, संस्कृति र इतिहास हेर्नुपर्छ । तर, महिला भएकै कारण पार्टीभित्र कोही असुरक्षित चाहिँ छैनन् ।

पार्टीको माथिल्लो तहमा किन उल्लेख्य महिला प्रतिनिधित्व भइरहेको छैन ?

महिलाहरूमा क्षमता, योग्यता र अनुभव नभएर होइन । यसका सामाजिक– आर्थिक कारण पनि होला । नेत्तृत्वको मानसिकताले पनि काम गरेको छ । आजका पदाधिकारी पुरुषमा जे–जस्ता क्षमता छन्, समान क्षमता भएका थुप्रै महिला छन् । पार्टीभित्र केही नेताहरुको ‘भाले प्रवृत्ति’ छ । तर, हामी प्रतिकार गर्न नसक्ने अवस्थामा छैनौँ । तर, विभिन्न कारणले अभ्यासमा समस्या छ ।

मूल्यको राजनीति गर्ने मान्छेले कति सहज छ र कति अवसर आयो भनी खोज्नुपर्ने बेला भयो । महिला भएकै कारण पार्टीमा सामाजिक असुरक्षा छैन । तर, आमरूपमा छ ।

एमालेले केन्द्रीय कमिटीमा पुरुषलाई जति अवसर दिएको छ, महिलालाई पनि उत्तिकै दिएको छ त ?

अहिले जिम्मेवारी दिने कुरामा विभेद छैन । तर, अवसर कम दिएको छ । दिएका अवसर पनि महिला भएकै कारणले होइन कि त्यसो हुनुमा अरू पक्षले काम गरेको छ । मन्त्री पनि एकजना बनाएको छ । अरू खै ?

एमालेमा नेतृत्वका नजिक रहेकाले मात्रै अवसर पाए भन्छन् नि, हो ?

केही हदसम्म यसले ठूलो काम गरेको छ । तर, बोकेर जिम्मेवारी पाएकाले सोसाइटीलाई कस्तो योगदान गर्छन् भन्ने तपाईं हाम्रो प्रश्न हो । आमरूपमा त नतिजा चाहियो नि । अवसर पाएकाले जिम्मेवारी पूरा गरुन् भन्ने मेरो शुभकामना छ ।

यहाँले अघि पनि भन्नुभयो, मैले घनश्याम भुसालबाट  मार्क्सवादको ज्ञान पाएँ भनेर । अहिले पनि तपाईंलाई माधव नेपाल र घनश्याम नजिकको मान्छे भन्छन्, तर किन एकीकृत समाजवादीमा नगई एमालेमै बस्नुभयो ?

म एमालेबाटै उदाएको मान्छे हो । मलाई के थाहा छ भने नेपालमा नयाँ पार्टीको आवश्यकता छैन, पार्टी रूपान्तरणको आवश्यकता हो । पार्टी के गर्दैछ ? देश बनाउने कस्तो खाका पार्टीमा छ भन्ने कुरा मुख्य प्रश्न हो ।

माधव नेपाल २० प्रतिशतको अध्यादेश लिएर पार्टी बनाएर जानुभयो । त्यो आजको आवश्यकता थिएन । माधव नेपाल एक सन्दर्भमा र घनश्याम दाइ अर्को सन्दर्भमा छुटेर जानुभयो, मलाई के लाग्छ भने नयाँ पार्टीमा शक्ति खर्च गरेर पार्टी बन्दैन   

माधव नेपाल २० प्रतिशतको अध्यादेश लिएर पार्टी बनाएर जानुभयो । त्यो आजको आवश्यकता थिएन । फेरि नेकपा (एमाले) जस्तो सुन्दर पार्टी फुटाएको माधव नेपालले मात्र पनि होइन । माधव नेपाल एक सन्दर्भमा र घनश्याम दाइ अर्को सन्दर्भमा छुटेर जानुभयो, मलाई के लाग्छ भने त्यो ‘१० बुँदे’ एमालेका लागि ठूलो अवसर थियो । त्यो थिएन भने आज नेकपा (एमाले) जे छ, त्यो हुँदैन थियो होला । किन एमालेमै बस्नुभयो भन्दा एमालेमा मेरो, सबैको योगदान र पसिना छ । नयाँ पार्टीमा शक्ति खर्च गरेर पार्टी बन्दैन । त्यसैले म गइनँ ।

तर, यहाँलाई एमालेका कतिपय कार्यकर्ताहरुले अहिले पनि माधव–घनश्याम गुटको ‘लडाकू’ भन्छन् नि ?

त्यो गैरराजनीतिक चरित्रका मान्छेले भन्ने कुरा हो । म माधव नेपाललाई आज पनि सम्मान गर्छु । आलोचना र अवगुण त सबैका हुन्छन् । तर, उहाँ मेरो नेता हो । घनश्याम दाइ पनि मेरो नेता हो । किन सम्मान नगर्ने ? नेपाली राजनीतिमा इमानदारिताका साथ काम गरिरहेको छ भने घनश्याम दाइको पनि नाम १, २ नम्बरमा आउँछ नि । म जहाँ छु, यहाँको कार्यकर्ता हुँ । म एमाले हुँ । माधव, घनश्याम, रामकुमारी दिवंगत साहना प्रधान, मदन भण्डारी, मनमोहन अधिकारी सबैप्रति मेरो भयंकर सम्मान छ । पुष्पलालसँग त म निकै प्रभावित छु ।

कहिलेकाहीँ बित्थामा राजनीतिमा लागेँछु, अरू नै क्षेत्रमा लागेको भए हुन्थ्यो जस्तो लाग्दैन ?

व्यक्तिगतरूपमा लाग्दैन । तर, म मान्छे हो । आजको एमालेमा जस्तो परिस्थिति बनेको छ, यसका प्रति दलहरूले गरेको नालायकीका कारणले भएको हो । कहिलेकाहीँ आफ्नै कुनै काम गरेको भएचाहिँ अलि सजिलो हुन्थ्यो जस्तो लाग्छ । म भयङ्कर आइडियल कुरा गर्न चाहन्नँ । तर, सबैको समाधान त हामी जस्ताले गर्ने हो भनेर चित्त बुझाउँछु । किताब पढ्छु । पार्टीको घोषणापत्र हेर्छु । बीपीको आत्मकथा पढ्छु, जसले मलाई प्रेरणा दिन्छ, उसको कुरा सुन्छु ।

व्यापारी मीनबहादुर गुरुङले पार्टीलाई दान दिएको जग्गाको विषयमा आवाज उठाउँदा यहाँ पार्टीबाट ६ महिनाका लागि निष्कासित हुनुभएको छ । अब ६ महिनासम्म के गर्नुहुन्छ ?

हामीले दान प्रकरणबारे जुन कुरा गरेका थियौँ, कम्युनिस्ट पार्टीको घोषणापत्र पढेर एक हप्ता छलफल गरेको हो । मैले बच्चाबाट नै यस्ता कुरामा आवाज उठाउँदै आएकी थिएँ । राजनीतिमा पनि म एकदम दुःख गरेर आएकी हो ।

झलनाथ खनाल पार्टी अध्यक्ष र माधव नेपाल महासचिव हुँदा अन्तरपार्टी सङ्घर्ष भए पनि त्यसमा पेलिनु परेन । मेरा साथी भक्तकुमारी लामा, नवीना लामा, रामकुमारी झाँक्रीहरुसँगै धेरै आन्दोलन गरेकी छु । गणतन्त्र आएपछि हाम्रा साथीहरूले बिहे गरेर छोराछोरी पाए । तर, हामी केही (परिवार) नभनी लागेका थियौँ । संगठनबाट निकाल्दा पनि पार्टी कार्यालय घेर्ने आन्दोलन लगायत गरियो । ‘नो ट्याक्स, नो एनसेल’ भनेर उभिएका हौँ । हामी स्वतन्त्र नै काम गरेको मान्छे हो । तर, अलग पार्टी हाम्रो विकल्प हैन । यसैको रूपान्तरण गर्नुपर्छ भन्ने छ ।

दान प्रकरणबारे कुरा गर्दा चम्पादेवी हाइकिङमा थियौँ । उकालो लाग्दै गर्दा पार्टी कार्यालयबाट म्यासेज आयो । पार्टीको जग्गा उदघाटन समारोहमा उपस्थित रहनुहोला भनेर लोकेसनसहितको म्यासेज आयो । कसले दिने रहेछ भनेर साथीहरूसँग सोध्दा कुनै जानकारी आएन । पार्टी उपाध्यक्षलाई फोन गर्दा पनि कसले दिने, थाहा छैन भन्नुभयो । सचिवालयलाई नै थाहा नदिई दाने जग्गा लिइएको रहेछ । त्यो भन्दा पहिले एमालेले सङ्गठित सदस्यबाट १ सय रुपैयाँ लिने भनिसकेको थियो ।

केही थाहा नपाई कार्यक्रममा जाने कुरा पनि भएन । भोलिपल्ट मलाई चीन बस्ने साथीले फोन गर्नुभयो र फलानो विवादित मान्छेले पार्टी कार्यालय बनाउने रहेछ भन्नुभयो । म ट्वाँ परेँ ।

पार्टी उपाध्यक्षले मलाई नै थाहा थिएन भन्नुभयो । मैले किन बोल्नुभएन भन्दा हामी नबोले तिमीहरू बोल्नु पर्दैन ? भन्नुभयो । कमिटीमा पनि थाहा नदिई गरेपछि हामी त चुप बस्ने कुरा नै भएन किनकि स्वाभिमानको कुरा छ । अर्को उपाध्यक्षलाई फोन गरेर यो त पारदर्शी भएन, दुनियाँका सामु प्रश्न उठेको छ, शीर निहुरियो’ भन्दा उहाँले पनि जानकारी नपाएको भनेपछि अब त बोल्नुपर्ने भयो ।

मीनबहादुरबारे कर छलेको हरेक मुद्दा पढेकी छु । कसुरदार भएको र कतिपय मुद्दा विचाराधीन थियो । बिन्दा दिदी बिरामी हुनुहुन्थ्यो । दशैंको टीकाको भोलिपल्ट दिदी भेट्न जाँदा उहाँले पनि बोल्नुपर्छ भन्नुभयो । समाजलाई गुमराहमा पार्नु हुँदैन भनेपछि दिदीलाई हेरेर घर पुग्दासम्म लेखिसक्नु भएको रहेछ । मैले त्यसैलाई शेयर गरेर यसो नगरौं भनेको हो । खास कुरा यत्ति हो ।

उहाँहरूले स्पष्टीकरण सोध्नुभयो । पत्र पनि पठायौँ । तर, फेरि पार्टीले कारबाही गर्न सिफारिस गर्‍यो । हामीले एकसातामा लिखित जवाफ पठायौँ ।

के भनेर जवाफ दिनुभयो ? पार्टीलाई त यहाँको जवाफ चित्त बुझेन छ…

मेरो चेतनाले माफ माग्नुपर्छ भन्ने थिएन र मैले मागिनँ पनि । हामीले बोलेको विषयले पार्टीलाई घाटा पुर्‍याउँदैन भनेर लेखेको थियो । पार्टी जवाफदेही हुनुपर्छ । चित्त नबुझाउने कुरा अर्को कुरा हो ।

उसोभए अब छ महिनासम्म के गर्नुहुन्छ ?

म पार्टीको काम गर्छु । कारवाहीले खासै फरक पार्दैन । सिकेको जे छ, त्यही गरेको छ । अनौपचारिक काम गर्छु ।

यति हुँदा पनि पार्टीकै काम गर्ने ?

मैले एमाले कसैको करले रोजेको पार्टी हैन र कसैको धम्कीले छाड्ने पनि छैन । यही पार्टीलाई जिम्मेवार र जवाफदेही बनाउँछु । जनताले विश्वास गर्ने पार्टी बनाउने छु । पार्टी छाड्ने वा अरू पार्टीमा लाग्ने योजनामा छैन । यत्रो रगत पसीना बगाएको पार्टी किन छोड्ने ?

तपाई र विन्दा पाण्डे ६ महिनाका लागि निस्कासित हुनुभएको छ । आगामी केन्द्रीय कमिटी बैठकले यो निर्णय उल्टाउला र न्याय पाइएला भन्ने लाग्छ ?

जुन विषयमा रहेर हामीलाई कारवाही गरिएको छ, यो कारबाही गर्ने विषय हैन । यो विषय त छलफलको विषय थियो । तर, छलफल भएन । न त सचिवालयमा छलफल भयो, न त केन्द्रीय कमिटीमा । सचिवालयलाई पनि छलिएपछि हामी त बोल्नुपर्छ नि । आम मान्छे र नेपाली समाजले कस्तो सोचिरहेको छ भन्ने छ नि । हाम्रो कारबाहीलाई लिएर मान्छे के भन्छन् ? जवाफदेहिता त हुनुपर्छ नि ।

यो पार्टी मदन भण्डारी ४० वर्षमै बित्दा पनि चल्यो । मनमोहन अधिकारी चुनावको मुखमा बित्दा पनि चल्यो । तर, नीति, सिद्धान्त र बाटो सही हुनुपर्छ । अहिले यो ठीक भएन । अहिले मान्छेको विश्वास घटेको छ । विश्वास बढाएर जानुपर्छ । अहिले त विश्वास घट्यो नि ।

यहाँले यसो भनिरहँदा भीम रावलले एमाले ‘बा’ मालेमा परिणत भयो भनेर खबरहबलाई भन्नुभएको थियो, त्यस्तै भएको हो ?

यस्ता प्रश्न उठ्न नदिन नै छलफल हुनुपर्छ भनेको हो । छलफल भएपछि त आरोप आउँदैन थियो नि । उहाँको नियत गलत थिएन होला तर सचिवालयमा छलफलको विषय त बन्नुपर्छ नि । आफैँ निचोड निकाल्न त सकिएन ।

एमाले ‘बामाले’मा परिणत भइसक्यो : भीम रावल (अन्तर्वार्ता)

यहाँहरूले पनि त एकपटक सोध्नुभएन रे, एकै पटक सामाजिक सञ्जालमा लेख्नुभयो रे…

हामीलाई थाहा छ नि त हाम्रो पार्टीभित्रको प्रवृत्ति । अस्ति फागुनमा केन्द्रीय कमिटीको बैठक भएको थियो । अब पुसमा हुँदैछ । १० महिनामा बैठक हुन्छ । पार्टी पदाधिकारीलाई बुझ्दा छलफल नै भएन, व्यक्तिको नाम नै किटान भएन भन्ने बुझिएको छ । निर्णय भएको छ त्यस्तो । हामीले त्यो नलेखेको भए त झन् पार्टीमा मपाईँ हुने थियो । त्यसकारण पार्टी पद्दति, सिद्धान्त र विचारबाट निर्देशित हुनुपर्छ ।

आजको सामाजिक सञ्जालको तागत कत्रो छ भन्ने कुरा त यहाँ देखाएको छ नि । जायज विषयमा सामाजिक सञ्जाल प्रयोग गर्न पनि स्वतन्त्र छैन ? पार्टीमा हुनु भनेको त अझ स्वतन्त्र हुनु हो । हाम्रा कमरेडहरूले सामाजिक सञ्जालमा लेख्ने ? भनेर प्रश्न गर्नुहुन्छ । कहाँ लेख्ने भन्ने त मलाई पनि राम्रो थाहा छ नि । आजका मान्छे कहाँ पुगे ? के सोच्छन् ? हामीले लेखेको ठाउँ पनि ठिक छ र विषय पनि ठिक उठाएको छ । म त मेरो राजनीतिक जीवनमा हामीले उठाएको विषय ठिक छ भनिरहन्छु । सबैभन्दा राम्रो काम गरेको जस्तो लाग्छ । मलाई कुनै पश्चाताप छैन ।

केन्द्रीय कमिटीले डिलिट गरेर माफ मगाउने भन्ने निर्णय गर्‍यो भने नि ?

सामाजिक सञ्जाल डिलिट हुँदैन । यदि कमिटीले डिलिट गर भन्यो भने पनि डिलिट गरेर डिलिट हुँदैन । म व्यक्तिगत डिलिट गर्दिनँ । माफ पनि माग्दिनँ । हाम्रो केन्द्रीय कमिटीले डिलिट गर, माफ माग भन्छ जस्तो लाग्दैन । मैले बुझेको कम्युनिस्ट पार्टीमा फरक मतको सम्मान हुनुपर्छ । मदन भण्डारीले जबजमा पनि त्यही भन्नुभएको थियो ।

तर, छ महिना बाहिरै बसेर पार्टीमा फर्कँदा पनि सम्मानजनक व्यवहार भएन भने के गर्नुहुन्छ ?

म कहाँ पुग्छु भन्ने कुरा मेरो प्राथमिकतामा छैन । तर, मेरो संस्थाले के गर्छ भन्ने कुरा नै मुख्य हो । व्यक्तिगत भन्दा सामूहिक कुरा नै मुख्य हो । केन्द्रीय कमिटीका साथीहरूले पनि यो कुरा बुझ्नुभएको छ । आज समाजले हाम्रो पार्टी र पार्टी नेत्तृत्वप्रति बनाएको धारणा परिवर्तन गर्नुपर्ने छ ।

पार्टीको भवन बन्नु त राम्रो कुरा हो नि भनेर आवाज पनि उठेको छ….

पार्टी भवन बन्नु बेठीक हैन । कसले भवन बनाउने भयो ? कसको स्वार्थमा हो ? र, कसलाई देखाउन हो भन्ने कुरा फरक छ । बनाएपछि त्यो लिएर जनतामा जान सकिन्छ कि सकिँदैन ? त्यो फरक कुरा हो । पारदर्शी ढङ्गले काम गर्न नसक्नु नै आजको नेपाली समाजको संकट हो । त्यसै कारण राष्ट्र अगाडि बढ्न सकेन । कर छल्ने व्यक्तिको स्वार्थमा भवन बनाउने ? यो विषय टिप्पणी गर्न लायक विषय नै होइन । व्यापारीले कम्युनिस्ट पार्टीको भवन बनाउने कुरा सुन्दा पनि पारो तात्छ नि कार्यकर्ताको ।

यहाँले पाएको सूचनाअनुसार नेतृत्व किन यसमा फस्न चाहेको होला ?

अपारदर्शिता, स्वार्थ र मनपरीतन्त्र हो । व्यापारीलाई पनि त यत्रो भवन बनाएपछि पुलिस, प्रशासन, कर कार्यालय सबैबाट सुविधा हुने भयो । राज्यलाई प्रभावित पार्न सकियो । पारदर्शिता, जवाफदेहिता र नैतिकताको कुरा हो । यसलाई सच्चाउन छलफल बहस, हुनुपर्छ ।

यसोभए पार्टीमा किन भएन त छलफल ?

बिस्तारै होला । तर, पार्टीका नेता कार्यकर्तामा ठूलो छटपटी छ । सबैले एक दिन बोल्छन् । सार्वजनिक रूपमा पनि आयो तर निर्णायक हिसाबले आएन, यो दुःखद कुरा हो । बैठकमा पनि त कुरा उठेकै छ नि ।

अलिकति फरक कुरा गरौं, विगतमा माधव नेपाल समूहमा रहेर पनि ‘१० बुँदे’ सम्झौता गरेर एमालेमै रहेका नेताहरूलाई पार्टी नेतृत्वले फरक व्यवहार गरेको हो ?

खासै छैन । एमालेप्रति पूर्वाग्रह पनि छ कसैको । ‘१० बुँदे’ गरिएको थिएन भने एमाले योभन्दा ध्वस्त हुन्थ्यो । व्यक्ति–व्यक्ति भनेर फरक होला तर संरचना ठीक छ । व्यवहार ठिकै छ । तर, अन्याय परेको भए त उनीहरूले पनि बोल्नुपर्छ नि । सामूहिकता हुनुपर्छ नि । १० बुँदेका कमरेडहरू बोल्नुपर्छ नि । नेतृत्वले सुनेन भने त व्यक्तिको कमजोरी हो, सुन्नै पर्ने त बनाउनुपर्छ नि । चुप लागेर बस्ने अनि सुनेन भन्ने ?

कम्युनिस्ट पार्टीमा त फरक विचार र मत आउनुपर्छ । सबै साथीहरूको कुरा सुन्ने बनाउनुपर्छ । अन्याय भएमा ‘१० बुँदे’हरू पनि बोल्नुपर्छ । एमालेको आन्तरिक स्रोत परिचालन भयो भने त आफ्नो खुट्टामा आफैँ उभिएर हिँड्न सक्छ । यो विषयमा सबै एक हुनुपर्ने होइन र ?

उसोभए एमाले वैचारिक अवसानको डिलमा पुगेको हो ?

विचार ठिक छ तर पालना गर्ने कुरामा समस्या भयो । अब सबैले बोल्नुपर्छ । वैचारिक कुरामा अगाडि आउनुपर्छ । एमालेमा अन्तरपार्टी लोकतन्त्र कमजोर भयो, बलियो बनाउनुपर्छ ।

बलियो बनाउन के गर्ने ?

संगठनिक जीवनमा फर्कनुपर्छ । संगठनको नीति सिद्धान्त पालना हुनुपर्छ । सबैको विचारको सम्मान गर्नुपर्छ ।

तर, एमालेमा यस्तै ‘काण्ड’ जोडिँदै गयो भने ०८४ को चुनावलाई असर गर्दैन ?

यो मैले मात्र सोच्ने विषय भएन । हाम्रो पार्टी ०७९ देखि नै ०८४ भनेर पार्टी हिँडेको छ । मैले चाहिँ, ०८०, ८१, ८२ र ८३ मा पार्टीले के गर्छ भन्ने कुराले ०८४ निर्धारण गर्छ है भन्दै आएको छु । हामीले जे गर्छौं, त्यही हुन्छ ०८४ मा । तर, अहिले ०८४ को बारेमा कुरा नगरौँ ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ७ : ५४ बजे

फागुन १६ र १७ गते काठमाडौंमा रोजगार सम्मेलन

पाँचौँ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन फागुन १६ र

 नयाँ वर्ष : जर्मनीमा आतशबाजी पड्काउँदा पाँच जनाको मृत्यु

एजेन्सी – जर्मनीमा नयाँ वर्ष मनाउन बालिएको शक्तिशाली आतिशबाजीका कारण पाँच

यस्तो छ आगामी यात्राबारे भीम रावलको धारणा (पूर्णपाठ)

काठमाडौं– नेकपा एमालेको राजनीतिबाट बिदा गरिएका डा. भीमबहादुर रावलले बुधबार पत्रकार

वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भीम रावलको घोषणा

काठमाडौं- गत पुस ११ गते नेकपा एमालेबाट निकालिएका नेता डा.

हट एयर बेलुनमा उड्दै कलाकृति

 गण्डकी – प्राज्ञ नगेन सिंहले पोखराको पामेमा सञ्चालित अन्तर्राष्ट्रिय हट