तुलाधरको तीनपुस्ता : सिंहदरबारको सिंहदेखि चार शहीदको सालिकसम्म | Khabarhub Khabarhub

तुलाधरको तीनपुस्ता : सिंहदरबारको सिंहदेखि चार शहीदको सालिकसम्म



काठमाडौं– अहिले शहीद सप्ताह चलिरहेको छ । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवनको बलिदानी गरेका शहीदको सम्झनामा माघ १० देखि सुरु भएको सप्ताह १६ गतेसम्म चल्नेछ । शहिद सप्ताहमा शहीदको सम्झनालाई विशेष बनाउने सुत्र हो सालिक । यसले शहीदको सम्झना मात्र होइन, इतिहासलाई पुनर्ताजगी गर्न पनि ठूलो सहयोग पुर्‍याउँदै आएको छ ।

सालिक यस्तो अस्त्र हो, जसले इतिहासलाई हेरेर वर्तमानमा सम्झनयोग्य बनाउँछ । सालिक र शहीद अरुभन्दा पृथक ढंगले निकट रहेको पाइन्छ ।

देशका लागि आफ्नो प्राणको आहुती दिने शहीदलाई सधैं सम्झनाका लागि सालिक बनाउने गरिन्छ । हामीहरु सालिकलाई श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुको स्तुतिमा लाग्दा तीनै सालिक बनाउनेहरु भने पर्दा पछाडिका हिरो रहन्छन् ।

नेपालमा सालिक बनाउने इतिहास भने त्यती धेरै लामो छैन । तर, सालिक राख्ने परम्परा भने नेपालमा नयाँ होइन । सुरु सुरुमा सालिकहरू बाहिरी देशबाट ल्याएर राख्ने गरिन्थ्यो । विक्रम संवत् १९८२ मा न्युरोड महांकल आर्मी अस्पताल अगाडि काठमाडौंका रत्नबहादुर तुलाधरले सालिक बनाए । बन्दुक बोकेको सिपाहीको सालिक नेपालमा निर्माण गरिएको पहिलो सालिक भएको बताउँछन् रत्नबहादुरका नाति महेश तुलाधर ।

हजुरबुवाले थालनी गरेको सालिक बनाउने कार्य अहिलेसम्म पनि निरन्तर छ । आफ्नो बुवा हुँदै आफूसम्म यही पेशामा संलग्न रहेको महेश सुनाउँछन् । उनी भन्छन, ‘हाम्रो तीन पुस्ता देखि यो क्षेत्रमा लागेका छौँ । चन्द्र शमशेरका पालामा नेपालको पहिलो मूर्ति १९८२ मा मेरो हजुरबुबा रत्नबहादुर तुलाधरले बनाउनुभएको हो । त्यो सालिक न्युरोड महांकल स्थान अगाडि आर्मी हस्पिटलको अगाडि छ । पहिला अरु सालिकहरू जुद्ध शमशेरहरुले बाहिरबाट ल्याउँथे र त्यसपछि नेपालमा पहिला बनेको सालिक त्यही हो ।’

तीन पुस्तादेखि यही पेशामा लाग्नका लागि भने कामप्रति आम मानिसको आत्मीयताले प्रेरित गरेको उनको अनुभव छ । उनी भन्छन्, ‘आर्मी हस्पिटलको सालिकपछि हजुरबुवाले सिंहदरबारमा सिंहको मूर्ती बनाउनुभयो । बुवाको कामबाट प्रभावित भएपछि उहाँलाई शहिद गेटको शालिकका लागि अनुरोध आयो । हजुरबुवा सालिक निर्माण सम्पन्न नहुँदै महाप्रस्थान गरेपछि सो काम सम्पन्न गर्ने जिम्मा मेरा बुवा बालकृष्ण तुलाधरको काँधमा आयो ।’

हजुरबुवाबाट बुवामा हस्तान्तर भएको काम बुवासँग हिँड्दा हिँडदै आफ्नो काँधमा पनि आएको महेश बताउँछन् ।

हजुरबुवालाई कमै मात्र विश्वास गरिएको मूर्ति तथा सालिक बनाउने काममा बुवालाई भने अगाध विश्वास आएको उनको भनाइ छ । हजुरबुवाले छोडेर गएको असल कामको प्रभावबाट आफूहरुलाई फाइदा भएको उनको तर्क छ ।

लामो समय बुवाको सहयोगीका रुपमा हिँडेका महेशलाई मूर्तिकारका रुपमा चिनाउन भने शहीद शुक्रराज शास्त्रीको पूर्ण कदको शहिद निर्माणपछि टेवा पुगेको हो ।

उनी भन्छन्, ‘गणतन्त्र स्थापनापछि मलाई टेकुमा शहीद शुक्रराजको सालिक निर्माणको प्रस्ताव आयो । मैले त्यसलाई सहर्ष स्वीकार गरे र समयमा नै निर्माण पनि भयो । २०७५ सालमा टेकुको शहिद शुक्रराजको सालिक तयार भयो र उद्घाटन पनि भयो । उद्घाटन समारोहमा तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलले मलाई सालिक निर्माणका लागि प्रशंशा गर्नुभयो ।’

महेश त्यो समय आफ्नो लागि विशेष भएको स्मरण गर्छन् ‘धेरै सालिक बनाएको थिएँ तर त्यो दिन विशेष रह्यो । उहाँ (ईश्वर पोखरले) ले मेरो कामको प्रशंशा मात्र गर्नुभएन, अर्को वर्षको शहिद दिवसमा तयार गर्ने गरी अन्य तीन शहिदको पूर्ण कद सालिक बनाउने काम पनि दिनुभयो ।’

यसो भन्दै गर्दा प्रफुल्ल मुद्रामा देखिएका महेश थप्छन्, ‘उहाँ त सालिक देखेर अचम्म पर्नुभएछ । यो अनुहार ठ्याक्कै मिल्ने गरी कसरी बन्छ ? भनेर प्रश्न पनि गर्नुभयो ।’

शहीद दिवसका दिन अर्डर गरिएका अन्य शहीदको पनि एक वर्षमा निर्माण सकेर २०७५ माघ १५ गते राणा शासन अन्त्यका लागि आफ्नो ज्यानको आहुती दिएका चारै शहिदको पूर्ण कदको सालिक अनावरण गरिएको थियो ।

शहीद शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द र धर्मभक्त माथेमाको पूर्ण कदको सालिक निर्माणपछि आफूलाई कामप्रतिको अझै लगाव बढेको उनी सुनाउँछन् । उनी भन्छन्, ‘हामीले पहिलादेखि नै शहीदहरुका बारेमा पढिरहेका हौँ । राणा शासनको अन्त्यका लागि आफ्नो प्राण आहुती दिएका शहीदको सालिक बनाउन पाउँदा धन्य महसुस हुन्छ ।’

शहीद बढेसँगै बढेको सालिकको मौलिकता

पछिल्लो समय घोषणा भएका शहीदले यसको परिभाषा नै बददिएको छ । सरकारले घोषणा गरेका शहीदले वास्तविक शहीदको कद घटिरहेको आवाज उठ्दै गर्दा सालिक निर्माणको गति भने बढेको छ ।

शहीद मात्र नभएर विशेष काम तथा घटना विशेष शाहदत प्राप्त गरेका मानिसको पनि सालिक निर्माण हुने क्रम बढेको मूर्तिकार महेश तुलाधर बताउँछन् । उनी भन्छन्, ‘शहीद घोषणासँगै सरकारी निकाय तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका मानिसका पनि सालिक बनाउने क्रम बढेको छ । यसले सालिक प्रवृत्ति मात्र होइन, यो पेशामा लागेकाहरुको दैनिकी पनि सहज भएको छ ।’

आफ्नै मौलिकताले नेपालमा मूर्तिकलाको क्षेत्रमा नयाँ प्रविधि पनि भित्रिएको उनको भनाइ छ । आफूले निर्माण गर्ने सालिक तथा मूर्ति स्केचका आधारमा तयार पार्ने र निर्माणको क्रममा नेपालमा नै पाइने मैनलगायत अन्य कच्चा पदार्थको प्रयोग गर्ने गरेको उनी बताउँछन् । मूर्ति बनाउन चाहिने मैन गाउँबाट ल्याउने र बजारबाट सल्लुक तथा पित्तल ल्याएर सालिकलाई आकार दिने उनी सुनाउँछन् ।

एउटा पूर्ण कदको सालिक निर्माणका लागि निरन्तर तीन–चारजना खट्दा ३ देखि ४ महिनामा तयार हुने महेशको अनुभव छ । सालिकको साइज अनुसार लागत लाग्ने बताउँदै उनी भन्छन्, ‘अहिले मैले सालिक बनाउँदा कम्तीमा पनि ९ देखि १० लाख लिने गरेको छु । त्यसमा ७ देखि ८ लाख त खर्च नै हुन्छ । लामो समय काम गर्नुपर्ने भएका कारण ३ देखि ४ लाख हामीले राख्छौं ।’

भिडियो हेर्नुहोस्-

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ७ : ०१ बजे

ट्रपमाथि गोली प्रहारपछि वाइडेनको सम्बोधन : राजनीतिक शक्तिबिच तनाव आवश्यक छैन

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिका बासीलाई सम्बोधन

त्रिशूलीमा हराएकाको खोजी आज पनि जारी, भारत र बंगलादेशसँग सहयोग माग

काठमाडौँ– गत शुक्रबार नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा लेदो सहितको

‘के घर के डेरा’को सिक्वेलमा दोहोरिएलान् त कलाकार ?

काठमाडौँ– फिल्म ‘के घर के डेरा’को दोस्रो शृङ्खला ‘घर नम्बर

सीमा सुरक्षालाई प्राथमिकता दिन निर्देशन

वीरगञ्ज– पर्साका प्रमुख जिल्ला अधिकारीसहित  चारवटै सुरक्षा निकायका प्रमुखले नेपाल

पुल बनेपछि कालीगण्डकी वारपार गर्न सहज

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ र वडा नम्बर–५ पाउद्वार तातोपानी