यस्तो पनि  ‘बर्थिङ सेन्टर’ ! वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे « Khabarhub

यस्तो पनि  ‘बर्थिङ सेन्टर’ ! वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको गोलबजार नगरपालिका– ६ स्थित प्रसूतिगृह (बर्थिङ सेन्टर) को भौतिक संरचना जीर्ण भएको छ । जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ । प्रसूति गृहको जस्तापाता खियाले खाएर ठाउँठाउँमा प्वाल परेको छ भने टहराको वरिपरि वनमाराको घारी छ ।

प्रसूतिगृहमा कार्यरत सिनियर अनमी मिश्रीकुमारी श्रेष्ठका अनुसार वर्षायाममा पानी चुहिएर सुत्केरी र नवजात शिशुको आङमा पानीको थोपा खस्ने गर्छ । भुइँ हिलाम्मे भई स्वास्थ्यकर्मी दबदबे हिलोमा उभिएर प्रसूति गराउँछन् ।

उनी भन्तिन्, ‘वैशाखमा टन्टलापुर घाम र उखरमाउलो गर्मी हुन्छ । जस्तापाता तातिएर उखुम हुन्छ । नजिकै सडक भएकाले सवारीसाधन आवतजावत हुँदा हिउँदमा निस्सासिँदो धुलो उठ्ने गर्दछ ।’ स्वास्थ्यकर्मीले गर्भवती  र नवजात शिशुको ज्यान जोखिममा राखेर सुत्केरी गराउनु पर्ने  अवस्था छ ।

‘सुत्केरी र नवजात शिशुलाई भित्र राख्नै सकिँदैन’, उहाँले भनिन्, ‘प्रसूति गृह वरिपरि वनमारा र घाँसपातको घारी छ । गर्मी र वर्षाको समयमा विषालु सर्प भित्रैसम्म आइपुग्छ । हामी स्वास्थ्यकर्मी लठ्ठी लिएर सर्प धपाउन चनाखो भएर बस्नुपर्छ ।’

अनमी श्रेष्ठका अनुसार यस प्रसूतिगृह दुई–चार वर्ष पहिल्यैदेखि नै यस्तो अवस्था रहँदै आएको छ, यसको स्तरोन्नति गर्न गोलबजार  नगरप्रमुख श्यामकुमार श्रेष्ठलाई जानकारी गराइएको भए तापनि समाधान हुनसकेको छैन ।

विसं २०६३ देखि यस प्रसूति गृहमा कार्यरत सिनियर अनमी निरीक्षक सविता शाक्य पञ्जियारको पनि उस्तै गुनासो छ । वर्षौँदेखि बेहाल रहेको भवनबाट सेवा गर्न बाध्य भएको उनको भनाइ छ ।

गोलबजार स्वास्थ्यचौकीका प्रमुख सत्यनारायण यादवले जीर्ण प्रसूतिगृहको भौतिक संरचना सुधार तथा सुविधासम्पन्न ठाउँमा स्थानान्तरणको लागि पटकपटक पहल गरे तापनि केही प्रगति हुन नसकेको गुनासो गरे ।   

एकजना मात्र प्रसूति आमा हुँदा त जेनतेन सेवा दिइने तर यदाकदा दुई–तीनजना थपिँदा कहाँ राख्ने भन्ने समस्या हुने गरेको स्वास्थ्यकर्मीको गुनासो छ । प्रसूति केन्द्र २४सैँ घण्टा खुला राख्नुपर्ने हो तर स्वास्थ्यकर्मीले टुसुक्क बस्ने ठाउँ पनि छैन ।

पाले सुत्ने खाटमा अहिले ‘अल्ट्रासाउण्ड’ गरिन्छ । स्वास्थ्यकर्मी रातको समयमा डेरामा बस्छन् । सेवाग्राही प्रसूति आमा आउँदा स्वास्थ्यकर्मी बोलाउन डेरासम्म पुग्नुपर्छ । प्रसूति गृहमा बत्ती गएका बेला बाल्ने विकल्प छैन । कहिलेकाहीँ टर्च बालेर सुत्केरी गराउनुपर्छ ।

हालै स्वास्थ्य सेवा विभागले सो प्रसूति गृहलाई ‘अल्ट्रासाउण्ड मेसिन’ प्रदान गरेको थियो । त्यो पनि सञ्चालनमा नआई बिग्रिएको छ ।

विसं २०५० सालमा स्थापना भएको यस प्रसूति गृह गोलबजार स्वास्थ्यचौकी मातहतमा छ । महिनामा करिब एक सय ५० गर्भवतीको स्वास्थ्य परीक्षण र २५ देखि ३० जनालाई प्रसूति सेवा प्रदान गरिएको दर्ता रजिष्टरमा देखिन्छ ।

तत्कालीन समयमा यस प्रसूतिगृह स्थापना गर्न पहल गरेका  ७४ वर्षीय  समाजसेवी रामजी यादवले  भग्नावशेष प्रसूतिगृहको बिजोग अवस्था देखेर आफूलाई चिन्ता लागेको बताए ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ९ : ४१ बजे

हुम्लामा औषधि खरिदमा अनियमितता : लालप्रसाद ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा मुद्दा 

काठमाडौं– हुम्लाको ताँजाकोट गाउँपालिकामा औषधि खरिदमा नक्कली बिल बनाई रकम

प्रचण्डको आशंका : दुई चरणको चुनावमा धाँधली हुन सक्छ, फागुन २१ मै गरियोस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१

२६ वर्षे उम्मेदवारको अठोट- नागरिकका मौलिक हक रक्षा गर्छु, आश्वासनले मत पाउने दिन गए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष खनाल नवलपरासी

भारत- अमेरिकी व्यापार सम्झौता : विपक्षीबाट संवेदनशील क्षेत्रमा असरको प्रश्न

काठमाडौं– प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी सामानमा आयात शुल्क घटाउने सम्झौताको

स्वास्थ्य बीमाको स्रोतसम्बन्धी समस्या तत्काल समाधान हुन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाको स्रोतसम्बन्धी समस्या तत्काल समाधान