समाचार

शहीद दिवस मनाइयो

By खबरहब

January 30, 2024

काठमाडौं– देश र जनताका लागि सहादत प्रदान गर्नेहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइएको छ ।

सोही क्रममा काठमाडौंमा महानगरपालिकाको आयोजनामा मंगलबार बिहान शान्तिवाटादेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरि निकाली शहीदको स्मारकमा माल्यार्पण गरिएको छ ।

सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।

दिवसका अवसरमा लैनचौरको सहिद स्मृति पार्कमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जहानियाँ राणा शासनको अन्त्य र लोकतन्त्रको स्थापनाका निम्ति वि.सं.१९९७ सालमा आफ्नो जीवनको बलिदान गर्ने महान् शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ लगायतको स्मरण र सम्मानमा प्रत्येक वर्ष माघ १६ गतेलाई शहीद दिवसको रूपमा मनाउँदै आएका भन्दै शहीदका सपना पूरा गर्न मन, वचन र कर्मले सबै क्रियाशील रहन आवश्यक रहेको बताए ।

उनले सहिदहरूले देखेका सपना र गरेको अठोटलाई शिरोधार्य गर्नुपर्ने भन्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न संकल्प गर्ने दिन भएको पनि बताउए । प्रधानमन्त्री प्रचण्डले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति समेत सबैका लागि प्रेरणाका श्रोत र पथप्रदर्शक रहेको बताए ।

उनले आजको दिन महान् शहीदहरूको स्मरणका साथै देश र जनताको मुक्ति एवं प्रगतिका निम्ति उनीहरूले देखेकाे सपना र गरेको अठोटलाई शिरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्न आग्रह गरे ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीदले देख्नुभएको सपनालाई साँचो अर्थमा कार्यान्वयन गर्नका लागि अहिले सबैका बीचमा साझा संकल्प चाहिएको बताइन् ।

उनले जनताका चाहनाबमोजिम सेवा सुविधा उपलब्ध गराउन स्वतन्त्रता र सँगसँगै समता र समुचित उपभोग गर्न शहीदहरूको सपना साक्षी राखेर एकजुट भएर काम गर्ने बेला आइसकेको बताइन् ।

समृद्धिको मूल आधार भनेको आर्थिक विकास र रोजगारी रहेको भन्दै यसलाई सार्थक बनाउनका लागि महानगरपालिकाले आफ्नो क्षेत्र र अधिकार भित्र रहेर काम गरिरहेको उल्लेख गरिन् ।

कार्यक्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद लगायतको उपस्थिति रहेको थियो ।