जलद्रोणीका विषयमा तपाईं कति जानकार हुनुहुन्छ ? हो, लिच्छवी तथा किराँत कालमा धापिएर आएको बटुवालाई चौतारा नजिक पाटीपौवामा पानी चिसो राख्न प्रयोग गरिने घरेलु प्रविधि नै जलद्रोणी हो । यत्रतत्र सडक मार्गले जोडेपछि एकादेशको कथा बनेको यो प्रविधिको अस्तित्व दक्षिणकाली नगरपालिका टुटेपानीमा आज पनि देख्न सकिन्छ ।
पाँच सय वर्ष पुरानो यो प्रविधिलाई स्थानीयले पुरातात्विक दृष्टिले संरक्षण गरेर राखेका छन । तराईबाट फर्पिङ भइ ललितपुर जाने बटुवालाई लक्षित गरी जलद्रोणी बनाइको थियो ।
जलद्रोणी विशेष प्रकारको ढुङ्गा कुँदेर बनाइन्थ्यो । जलद्रोणीमा राखिएको पानी निकै चिसो हुन्थ्यो । फ्रिज नभएको त्यो समयमा यही पानी पिएर बटुवाले तिर्खा मेटाउँथे । स्थानीय बासिन्दाले नजिकैको कुवाबाट पानी ल्याएर संकलन गरी पानी त्यहाँ संकलन गर्थे । तत्कालिन समयमा यसलाई सामाजिक उत्तरदायित्वको कार्य मानिन्थ्यो ।
ढुङ्गे धारा निर्माण गरेर पानी उपलब्ध गराउन खर्चिलो हुने हुँदा जलद्रोणको निर्माण गरिन्थ्यो । ऐतिहासिक संरचना भएकाले यसको संरक्षण गर्नुपर्ने स्थानीय समाजसेवी निरोज श्रेष्ठ बताउँछन ।
उनी भन्छन, ‘नयाँ पुस्ताको लागि यो एक इतिहास हो । इतिहासको संरक्षण गर्नु हामी सबैको दायित्व हो ।’
यस्ता सम्पदाको संरक्षणमा स्थानीय सरकार अझ सक्रिय हुनुपर्ने उनको भनाइ छ ।
तस्विर : शशिन्द्र गौतम
प्रतिक्रिया