समाचार

बागलुङको रिठेखोलामा पक्की पुल निर्माण

By खबरहब

March 30, 2024

बागलुङ– पुल अभावमा लामो समयदेखि अगम्य बनेको जिल्लाको पर्यटकीय गाउँ भकुण्डे पुग्न अब सहज भएको छ । सङ्घीय सरकारको दुई करोड  अनुदानमा रिठेखोलामा मोटर चल्ने पक्की पुल निर्माण भएपछि भकुण्डे पुग्न सजिलो भएको हो ।

बागलुङ नगरपालिकाले बागलुङ नगरपालिका–९ तित्याङ र बागलुङ नगरपालिका–१० भकुण्डेको सिमानामा बग्ने रिठेखोलामा पुल निर्माण भएपछि भकुण्डे हुँदै रायडाँडा पुग्न पनि सहज भएको छ । पुल बनेपछि सधैँभरि सवारी साधन सञ्चालन गर्न सकिने बागलुङ नगरपालिकाले जनाएको छ ।

भकुण्डे जिल्लाकै पहिलो घरबास सञ्चालन भएको गाउँ भएकाले विदेशी पर्यटकहरूका निम्ति आकर्षण बनेको छ तर अन्य भौतिक पूर्वाधार पनि निर्माण गर्न जरुरी भएको  संविधानसभा सदस्य नरबहादुर थापाले बताए । उनले भकुण्डे पुग्ने बाटोमा पुल बनेपनि सडक स्तरोन्नति गर्नुपर्नेमा जोड दिए ।

नवनिर्मित पुल २५.८ मिटर लामो छ भने यसको चौडाइ  ६.६ मिटर छ । पुललाई बाढीपहिरोबाट जोगाउन धमाधम ‘ग्याबिन वाल’ लगाइँदैछ ।