काठमाडौं- इलाम क्षेत्र नम्बर–२ मा सम्पन्न उपनिर्वाचनको नतिजा आइसकेको छ । यहाँ एमालेका युवा उम्मेदवार सुहाङ नेम्वाङ आफ्ना पिता सुवास नेम्वाङको बिरासत जोगाउँदै चुनाव जितेका छन् । आफ्नो जितमा एमालेजनले हर्षोल्लास मनाइरहेका छन्, जुन स्वाभाविकै छ ।
भनिन्छ, इतिहास जित्नेको पक्षमा लेखिन्छ । जति भोट पाएर जिते पनि सकियो । हार्नेले जति धेरै भोट ल्याएँ भने पनि समाजमा पराजितलाई जिस्काउने र हेप्ने प्रचलन छ । अहिले पनि त्यही नै भइरहेको छ । चुनाव हारेका कांग्रेस, पहिचानवादी र रास्वपालाई खिसी गर्ने क्रम बढेको छ सामाजिक सञ्जालमा ।
इलाममा एमालेले जितेकै हो, यसमा शंकै छैन । तर, गणितले जिते पनि इलाममा एमालेको शक्तिचाहिँ अलिकति घटेको देखिएको छ । एमालेले भन्दा बढी कांग्रेसले गुमाएको छ । कांग्रेसले भन्दा बढी माओवादीले गुमाएको छ । माओवादी त अंकगणितमा भन्दा बढी राजनीतिमै हारेको छ । राप्रपा, एकीकृत समाजवादी जस्ता पार्टीहरुले आफ्नो ‘लिलिपुट’ साइज पत्ता लगाउने अवसर पाएका छन् यो उपचुनावमा ।
इलामको चुनावी अंकगणितलाई एकैछिन बिर्सेर राजनीतिक शक्ति सन्तुलनलाई हेर्ने हो भने राष्ट्रिय स्वतन्त्र पार्टीले भन्दा बढी एमाले र कांग्रेसले चिन्ता गर्नुपर्ने स्थिति देखिन्छ । जनमतसम्म जोगाउन नसकेको रास्वपालाई सामाजिक सञ्जालमा उडाइए पनि रास्वपाले इलाममा आफ्नो राजनीति र पुरानो जनमत राम्रैसँग जोगाएको छ ।
पहिचानवादी डकेन्द्र थेगिमले चुनाव जितेनन् तर ११ हजार मतका साथ तेस्रो बनेपछि पहिचानवादीमा पनि खुशीयाली नै छाएको देखिन्छ ।
किन घट्यो एमालेको भोट ?
अखिल्लो चुनावमा एमालेका सुवास नेम्वाङले ३० हजार २० भोट ल्याएर जितेका थिए । यसपालि सुहाङ नेम्वाङले २७ हजार ७७२ भोट मात्र पाए । पिताको भन्दा उनले करिब ३ हजार मत कम पाए ।
सुवाङ नेम्वाङ ०७९ को चुनावमा एक्लै लडेका थिए । उनीविरुद्ध कांग्रेस, माओवादी, एकीकृत समाजवादीको संयुक्त घेराबन्दी थियो । यति हुँदा पनि सुवासले ३० हजार भोट पाएका थिए ।
अहिले सुहाङलाई नेकपा माओवादी केन्द्रले साथ दिएको थियो । परिवार दल र विप्लवसमूहले समेत साथ दिएको थियो । तर, भोटचाहिँ एक्लै लडेको सुवासको भन्दा ३ हजार कम आयो ।
क्षेत्रमा ५ हजार समानुपातिक मत रहेको दाबी गर्ने माओवादीले सघाउँदा पनि एमालेको भोट ३० हजारबाट २७ हजारमा कसरी झर्यो ? आखिर किन यस्तो भयो ? माओवादीले सघाएन ? या एमालेको जनमत घट्यो ? यो एमालेजनले विश्लेषण गर्नुपर्ने विषय हो ।
सुवास नेम्वाङका पालामा खसेको सदर मत संख्या ६६ हजार १८५ थियो । यसपालिको सदर मत ६८ हजार ४७२ थियो । यसअर्थमा विगतमा भन्दा करिब २ हजार मत बढी खसेको थियो । यो अवस्थामा एमालेले सुवास नेम्बाङका पालामा खसेको मत (३००२०) भन्दा अहिले बढी आएको भए एमालेको लोकप्रियता बढेको मान्न सकिन्थ्यो । तर, ६८ हजार मत खस्दा एमालेले पाएको भोट भने पहिलेको तुलनामा निकै कम रह्यो ।
अर्थात सुवास नेम्वाङका पालामा एमालेले ४५.३६ प्रतिशत भोट पाएको थियो । अहिले सुहाङका पालामा ४०.५६ प्रतिशत मात्रै भोट झर्यो । यसको अर्थ एमालेले झण्डै ५ प्रतिशत मत ‘लुज’ गर् यो ।
त्यसो त सुवास नेम्वाङले कांग्रेसको भन्दा ११४ मत मात्रै बढी ल्याएका थिए । अहिले सुहाङले ५८३० को भारी मतान्तरले जितेका छन् । यस्सो हेर्दा बाबुले भन्दा छोराले बढ्दा कमाल गरेको हो कि जस्तो देखिन्छ । तर, होइन, कांग्रेसले नै कम मत पाएकाले मतान्तर बढी भएको हो । एमालेले कमाल गरेर मतान्तर बढाएको होइन ।
कांग्रेसका डम्बर खड्काले ०७९ सालमा २९ हजार ९०६ मत पाएका थिए । यसपालि २१ हजार ९४२ मत मात्र पाए । कांग्रेसले ७ हजार ९६४ मत गुमाउँदा एमालेको मतान्तर फराकिलो देखिएको हो । सारमा चाहिँ यो उपचुनाबमा एमालेले ३ हजार र कांग्रेसले झण्डै ८ हजार मत गुमाएकै हुन् । तथ्यले यही भन्छन् ।
एमालेको एउटा सकारात्मक पक्षचाहिँ के देखियो भने उसले ०७९ मा पाएको समानुपातिक भोट चाहिँ जोगाएको छ । ०७९ मा एमालेले इलाम–२ बाट समानुपातिक भोट २६ हजार ५६२ पाएको थियो । अहिले सुहाङले त्यसमा १२ सय १० मत थपेर २७ हजार ७७२ पाएका छन् ।
तर, यसो भनिरहँदा माओवादीको भोट खोई त ? जबकि माओवादीले गत चुनावमा यस क्षेत्रबाट ५ हजार १५३ मत पाएको थियो । अहिले माओादीले सुहाङलाई सघाउने निर्णय गरेको थियो ।
एमालेले सघाउँदा पनि एमालेको समानुपातिक भोटमा १२ सय १० मात्र थपियो, किन ? जवाफ प्रष्ट छ– या त एमालेको लोकप्रियता घट्यो, या माओवादीले सुहाङलाई भोट दिएन ।
कांग्रेसको भवितव्य
नेपाली कांग्रेसले विगतको भन्दा ७ हजार ९६४ कम मत पायो । त्यसो त अघिल्लो चुनावमा माओवादीले कांग्रेसलाई सघाएको थियो, अहिले सघाएन त्यसैले कांग्रेसको कम भोट आयो भन्न सकिएला । तर, यसको अर्को एउटा उदेकलाग्दो पक्ष पनि छ ।
अघिल्लो चुनावमा नेपाली कांग्रेसले यस क्षेत्रबाट समानुपातिकतर्फ २२ हजार ३३३ मत पाएको थियो । त्यो भनेको कांग्रेसको पार्टीगत भोट हो, माओवादीसँग मिसिएर आएको भोट होइन । यसपालि कांग्रेसले त्यो आफ्नो पार्टीगत भोटसमेत जोगाउन सकेन । अर्थात् डम्बर खड्काले समानुपातिकतर्फको भन्दा कम, २१ हजार ९४२ मतमै चित्त बुझाउनुपर्यो । यसको अर्थ हो– कांग्रेसले कांग्रेसकै भोट पाएन ।
रास्वपालाई नाफा
रास्वपाका नेताहरुमा बढी हौसिने रोग छ । इलाममा पुगेर डा. स्वर्णिम वाग्लेले हामीले जितिसक्यौं, घोषणा गर्न मात्र बाँकी छ भनेका थिए । तर, मत आउँदा रास्वपा चौथो स्थानमा देखियो । ०७९ को चुनावमा रास्वपा तेस्रो स्थानमा थियो ।
रास्वपाले गत चुनावमा प्रत्यक्षतर्फ १ हजार ३८० मत मात्र पाएको थियो । अहिले उसले ५ हजार २० मत पाएको छ । पहिलेभन्दा करिब ४ हजार मतदाता थपिएका छन् । यो रास्वपाको उपलब्धी नै हो, घाटा होइन । बरु, घाटा त कांग्रेस र एमालेले खाएका छन् ।
अघिल्लो चुनावमा इलाम–२ बाट रास्वपाले समानुपातिकतर्फ ४ हजार ६८६ मत पाएको थियो । यसपालि मिलन लिम्बुले त्यसमा थोरै भए पनि मत थपेका छन् । यो तथ्य हेर्दा रास्वपाले विगतको समानुपातिक मत जोगाएको देखिन्छ ।
पहिचानवादीको उदय
इलामले दिएको अर्को सन्देश भनेको पहिचान पक्षधरहरुको उदय हो । ११ हजार मतबा साथ डकेन्द्र थेगिमले तेस्रो स्थानमा उक्लेर कांग्रेस एमालेका साथै रास्वपालाई पनि चुनौती दिएका छन् ।
आगामी चुनावमा कोशी प्रदेशमा रास्पवाको बढोत्तरीलाई रोक्न र एमाले–कांग्रेसलाई खुम्च्याउन पहिचान पक्षधरको भोटले निर्णायक अर्थ राख्न सक्छ भन्ने सन्देश यो उपचुनावले दिएको छ ।
तर, पहिचान पक्षधरहरुको खास पार्टी नभएकाले सबै निर्वाचन क्षेत्रमा यसको भोट संगठित हुन चुनौतीपूर्ण छ । दल नभएको अवस्थामा समानुपातिकतर्फको मत पनि एकै ठाउँमा केन्द्रित हुन सक्दैन ।
निष्कर्षमा, इलाममा नेकपा एमालेले जितेर आफ्नो एक सिट सुरक्षित गरेको छ । तर उसको यो जित लोकप्रियता बढेर होइन, विपक्षी कमजोर भएर प्राप्त जित बन्न पुगेको छ । ‘सोह्र दुना आठ’ भनेजस्तो भएको छ ।
प्रतिक्रिया