काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिक उन्मुक्ति पार्टीका संस्थापकसमेत रहेका रेशमलाल चौधरीबारे तिखो टिप्पणी गरेका छन् ।
एमाले बर्दिया जिल्ला कमिटीको दशौँ अधिवेशन उद्घाटनका लागि मंगलबार बर्दिया सदरमुकाम गुलरिया पुगेका उनले यस्तो बताएका हुन् ।
सुदूरपश्चिम सरकार निर्माणका सन्दर्भमा रेशमले नेपाली कांग्रेसलाई साथ दिएपछि महासचिव पोखरेलले यस्तो बताएका हुन् । रेशम पत्नी रञ्जिता भने केन्द्रमा फागुन २१ गते बनेको एमालेसहितको नयाँ गठबन्धनमा छिन् ।
तर रेशमले नयाँ गठबन्धनमा मिसिँदा पार्टी सकिने भन्दै कांग्रेससँगै मिलेर सरकार बनाउने कोसिस गरिरहँदा पोखरेलको यस्तो टिप्पणी आएको हो ।
‘रेशम चौधरीले सामन्तीलाई बोकेर हिँडेपछि अब थारुहरूले उनलाई बोक्दैनन्’, पोखरेलले भने, ‘थारु समुदाय लामो समयसम्म सामन्तीहरूबाट पिल्सिए । तर रेशम भने तिनै सामन्तीहरूको पछि लागेपछि अब थारु समुदाय उनको पछि लाग्नु पर्दैन’, पोखरेलले थपे ।
उनले बर्दिया जिल्ला एमालेको आधार भूमि भएको बताउँदै पुरानै शक्तिका रुपमा फर्किने पनि जिकिर गरे ।
जनताले पनि अब एमाले नै राष्ट्रिय शक्ति रहेछ भन्ने बुझेका उनको तर्क थियो । ‘टीकापुर घटनापछि थारु समुदायमा रेशम चौधरीलाई अन्याय भयो भन्ने भाव पर्यो’, उनले भने, ‘सरकारले सजाय माफीमिनाहा गराएर जेलबाट छुटाएपछि रेशमले राष्ट्रिय राजनीतिमा सकारात्मक भूमिका खेल्ने अपेक्षा थियो । तर उनी सामन्तीहरूसँग उठबसमा लागेकाले अब उनलाई थारु समुदायले बोकिरहनु आवश्यक छैन ।’
प्रतिक्रिया