जुत्ता सिलाएर हातमुख जोर्नेको व्यथा- ‘अरूको जुत्ता टल्कियो, आफ्नो भाग्य घर्कियो’  | Khabarhub Khabarhub

जुत्ता सिलाएर हातमुख जोर्नेको व्यथा- ‘अरूको जुत्ता टल्कियो, आफ्नो भाग्य घर्कियो’ 



नेपालमा विदेशिनेको ओइरो छ । बाध्यतावश होस् या रहरले नै किन नहोस्, दैनिक सयौँ मानिस पलायन भइरहेका छन् । त्यसमा पनि नेपालमा बसेर सानोतिनो काममा आँखा लाउनेको संख्या नगण्य नै छ भन्दा पनि फरक नपर्ला । तर केही यस्ता मानिस छन्, जो नेपालमा सानोतिनो काम प्राप्त कमाइबाट इज्जतको रोटी खाइरहेका छन् । आफ्नो र परिवारको दैनिकी चलाइरहेको छन् ।

त्यस्तै एउटा पेशा हो सडकपेटीमा बसेर पैदल यात्रीको जुत्ता चप्पल सिलाउनेहरू । न धुवाँधुलोको पर्वाह, न झरीको त्रास । कहाँ खाने निश्चित छैन । हुँदाहुँदै यिनीहरूलाई शौचालय जाने सुविधा पनि छैन । दिनभर मानिसहरूको भीडमा उनीहरू मान्छेका पाइलालाई निर्निमेषसंग पछ्याउँछन् । जुत्ता अवलोकन गर्छन् । पैदलयात्रुले गन्तव्य पहिल्याउँछ तर यी पारखीहरू जुत्ताको सिलाइमा दृष्टि पुर्‍याउँछन् । बिहान आँखा मिच्दै काममा निस्कनेहरू झम्के साँझ परेपछि घर फर्कन्छन् । चरासँगै उठ्ने उनीहरू पैदलयात्रीको पदचाप घट्नासाथ व्यापार उठाउँछन् ।

निश्चित के भन्न सकिन्छ भने उनीहरूले एक महत्त्वपूर्ण र उदाहरणदायी काम गरिरहेका छन् । ठाउँ फेरिएला, सहर फेरिएला ग्राहक फेरिएलान् तर पेसा नफेरिएको उनीहरू बताउँछन् । उनीहरू फाटेको जुत्तामा विभिन्न रंगका धागो छिराउँछन् । जुत्ता सिलाएको आम्दानीले घर व्यवहार टाल्छन् । यस्तै एक व्यक्ति हुन्– सर्लाही घर भएका राम ध्यान राम । जो १६ वर्षदेखि काठमाडौंमा जुत्ता चपल सिलाउने काममा व्यस्त छन् । उनी चाबहिल चोकमा बसेर केही थान धागोका डल्ला, सिलाउने सियो, जुत्ता पालिस गर्ने ब्रस र पालिस देखि जुत्ताका लेस लिएर दिनरात खट्ने गर्छन् ।

विद्यार्थी, शिक्षक, चिकित्सकदेखि सबै पेशाका मानिसको जुत्ता टल्काएको र विवाह पार्टी व्रतबन्धमा लगाउने चप्पल सिलाएर बलियो बनाएको अनुभव उनीसँग छ । ग्राहकका कालो र खैरो र कलेजी रंगको पोलिसले जुत्ता टल्काए पनि उनले यो पेशालाई मानिसले हेर्ने नजरले आफ्नो दुखेका मन र गरिबी टाल्न सकेको बताउँछन् ।

उनी भन्छन्– ‘चप्पल सिलाउने मान्छे कस्ता आउँछन्, त्यसैको आधारमा पैसा कमाइ हुन्छ । कुनै मान्छे घाममा बसिरहेको छ । आफ्नो खुट्टाको जुत्ता चपल छोयो भन्नुहुन्छ र हामीले बोलेकै रेट दिएर पनि जानु हुन्छ । कोही मान्छे सिलाउन पहिला पैसा भन्यो तर सिलाइसकेपछि २० रुपियाँ दिएर जानुहुन्छ । हुँदैन भनेर प्रतिवाद गर्‍यो भने उल्टै मुख छोड्नु हुन्छ ।’

जुत्ता सिलाइमा कमाई कस्तो छ त ?

राम भन्छन्, ‘यही पेसाबाट ५ जनाको परिवार पालेको छु । काठमाडौँको ठाउँमा कोठा भाडा तिरेर खाएर, जीवन निर्वाह भएको छ । जेठो छोरालाई ५ कक्षासम्म बोर्डिङमा पढाएँ । अहिले सरकारी स्कुलमा हालें । उनले एसईई दिएका छन् नतिजा आउन बाँकी छ । दुई वटा साना छोरा पनि अहिले ९ मा गए । उनीहरूलाई पनि ५ सम्म बोर्डिङमा नै पढाएँ ।’

बाहिर केटी मान्छेले मात्रै चप्पल जुत्ता सिलाउन आउँछन् भने जस्तो देखिए पनि केटाकेटी दुवै सिलाउन आउने उनी बताउँछन् । उनको पसलमा लेस पनि राखिएको छ । एक जोडी लेसको ५० रुपैयाँ पर्छ ।

दिनरात जुत्ता सिलाइरहेका राम भन्छन्– ‘मान्छे कति आउँछन् जान्छन् , थाहा हुँदैन कस्तो मान्छे आएको भन्ने पनि अनुहारमा हेर्दिन । मलाई त कामको मात्रै ध्यान हुन्छ । खुट्टामा हेर्‍यो कसैको चपल जुत्ता च्यातिन लागेको जस्तो देख्यो भने मेरोमा सिलाउन आउने हो कि भनेर आस लाग्छ ।’

जुत्ता चप्पल सिलाउन थालेको १६ वर्षको अनुभवमा उनी पछिल्लो समय कमाई कम हुने गरेको अनुभव सुनाउँछन् । सडकपेटीमा व्यवसाय गर्नेलाई नगरपालिकाले दुख दिँदा कमाइमा प्रभाव परेको हो ।

एकजोर जुत्ता टल्काएबापत ५० रुपैयाँ लिने राम विवाहको सिजनमा जुत्ता पोलिस गरेर नै पनि जीविका धानेको बताउँछन् ।

सिरहा घर भएका पञ्चनराम शाहलाई घरमा खान लाउन अपुग भएपछि राजधानी सपनाले यतै डोर्‍यायो । उमेरले ६० कटेका उनी पैसा कमाउन भनेर राजधानी छिरेकै ३५ वर्ष भयो । बिहानको झुल्के घाममा कोठाबाट निस्केर चाबहिल चोकमा बेलुका ९ बजेसम्म आसन जमाएर बस्छन् । काठमाडौंमा एक्लै बस्ने उनी महिनाको १० देखि १५ हजार रुपैयाँसम्म जोगाएर घरमा पठाउने बताउँछन् ।

पहिला अरु काम नपाएर यो पेशा अंगालेका पञ्चनराम भन्छन्, ‘उमेरमा पनि राम्रो काम पाइएन । हाम्रो गाउँबाट रोजगारीका लागि भारत जाने चलन रहेकोमा आफ्नै देशमा केही गरौँ भन्ने लाग्यो । यो पेशाले राम्रै मिठै खान नपुगे पनि कम्तीमा बाँच्ने आधार भने दिएको छ । भोकै नाङ्गै बस्नु परेको छैन ।’ चोरेर खानुभन्दा इज्जतको रोटी खाएकोमा उनलाई लाख छ ।

पञ्चनरामका पनि ग्राहकसंगको मिठानमिठा थुप्रै अनुभवका संगालो छन् । उनी भन्छन्–‘कतिपयले बुढो मान्छे दुख भएको सम्झिएर आफूले भने भन्दा धेरै पैसा दिने गरेको त कसैले ३० रुपैयाँ फालेर हिँडने गरेका छन् । के गर्नु ग्राहकको सेवा गरेर बाँच्नेले प्रतिशोध साँधेर काम बन्दैन ।’

बिहान ७ बजेबाट शुरु हुने कर्मको पूजा राति १० बजेसम्म अनवरत चल्छ । डेरामै खाना पकाउँछन् । एक्लै बस्ने हुँदा बेलुकाको खाना बढी बनाएर बिहान तताएर खाने गर्छन् ।  खाना पश्चात् पुनः काममा फर्किन्छन् । जुत्ता, छाता सिलाउने, पालिस लगाउने उनका नियमित काम हुन् । कतिपय ग्राहकले जुत्ता सिलाएको श्रमअनुरूप पैसा नदिँदा खिन्न हुने गरेका छन् । ‘हामीले भने जति कसले दिन्छ र ? सबैले घटाएरै दिन खोज्छन् । कतिपयले त लगानी भएअनुरूप पनि दिँदैनन्, श्रम त त्यत्तिकै खेर जान्छ,’ पञ्चनरामको गुनासो छ ।

हेर्दा थोरै पूँजी देखिने यो व्यवसाय सञ्चालनमा कति लगानी आवश्यक छ ?
धेरैलाई जिज्ञासा हुनसक्छ । ५ देखि २५ हजार लगानी गर्‍यो भने यो पेशा सञ्चालन गर्न सकिने उनीहरू बताउँछन् । पञ्चारामको अनुभवमा ५ हजारले काम त थाल्न सकिन्छ तर २५ हजार ३० हजार जति लगानी गर्‍यो भने पुरै एक दुई महिनालाई पुग्नेगरी धेरै सामान जुटाउन सम्भव हुन्छ ।

‘थोरै लगानी हुने र धेरै कमाउन नसके पनि जीवन धान्न सकिने भएकाले जुत्ता सिलाउने पेसामा पनि अहिले यो पेशा गर्नेको संख्या बढेको छ । त्यसैले हिजोआज व्यापार कम भएको छ । अहिले त हरेक चोक चोकमा २ देखि ३ जना नै जुत्ता सिलाउने भेटिन्छन्, ।’

त्यस्तै अर्का व्यवसायी फिरेम साह भन्छन्, ‘सडकको धुलो खाए पनि अरूलाई ठगेर खाएका छैनौँ । घाममा बस्न र पानीमा भिज्न त बानी परिसक्यो । अब बर्खा लाग्दैछ । यो बेला समस्या हुन्छ । तर बर्खामा जुत्ता चप्पल सिलाउने मान्छेहरू अलि बढ्ने गर्छन् । हामीलाई जुत्ता पोलिस गर्न र वर्षा सिजनमा चपल सिलाउनु चाडबाड आएजस्तै लाग्छ । किनकि त्यो बेलामा अरु बेलाभन्दा अलि केही मान्छेहरू आउनु हुन्छ ।’

कुनै बेला बोहनी नै नभई उठ्नु परेको बाध्यता उनीहरू पोख्छन् । ‘बर्खा याममा छाता मर्मत र सिलाउने गर्छू ।  यसबाट अलि पैसा कमाइ हुन्छ’ उनी भन्छन्– ‘छाताको करङ भाँचियो भने मान्छेहरू मर्मतका लागि आउँछन् । त्यसमा एउटा छाताको करङ फेर्दा वा सिलाएर बनाउँदा ५० देखि सय रुपैयाँसम्म लिने गर्छु ।’

सडकमा बस्दाका समस्या

सडकको पेटीमा बसेर काम गर्नुपर्ने हुँदा धुलो धुवाँले धेरै रुघाकोखिबाट बिरामी हुने गरेको राम बताउँछन् । महानगरले बस्न नदिँदा झन् यो पेसा असुरक्षित रहेको उनको गुनासो छ ।

यो पेसाको लागि सटर लिएर गर्न नसकिने  फिरेम बताउँछन् । ‘सटर भाडा नै उठाउन सकिँदैन कसरी कमाइ गर्ने त ?’ उनी भन्छन्– ‘सामान्य मानिसको सोचाइ हुन्छ कि सटरमा भन्दा हरेक सामान बाहिर सस्तो हुन्छ । त्यसैले उनीहरू सडकको सेवाप्रति विश्वस्त छन् । नगरपालिकाले बाध्य बनाएर भोलि सटर लिनुपर्‍यो भने कतै खान नपुगेर ऋणमा डुब्नुपर्ने पो हो कि ?’

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ३ : २७ बजे

पुजार सार्की : बुबाको जवानीको ‘लुक्स’का आर्यन

काठमाडौं– ‘लभर बोई’को परिचय बनाएका एक समय महँगा स्टार आर्यन

कांग्रेसले समय मागेपछि कार्यदलको बैठक स्थगित

काठमाडौं- सहकारी ठगी प्रकरणलाई लिएर संसदीय छानबिन समिति गठनका लागि

युवतीलाई ‘आँखा झिम्क्याएको’ निहुँमा ट्राफिक प्रहरी जवानको हत्या

काठमाडौं : ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज

रुसले युक्रेनमा आक्रमण बढाउन सक्ने जेलेन्स्कीको आकलन

काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की रुसले युक्रेनको उत्तरपूर्वी क्षेत्रमा आक्रमण

राष्ट्रिय सभाको बैठक पनि सर्‍यो

काठमाडौं– प्रतिनिधि सभा बैठक स्थगित भए लगत्तै बसेको राष्ट्रिय सभाको