काठमाडौं – खेलकुदसम्बन्धी सबै संयन्त्र, युवा तथा खेलकुद मन्त्री र प्रधानमन्त्रीले पहल गर्दा पनि क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा नदिएको खुलेको छ ।
गत जेठ ९ मा पहिलो पटक भिसा दिन अस्वीकार गरेपछि सरकारले सन्दीपलाई यही जुनमा हुने टी-२० विश्वकपका लागि पठाउन सक्दो कोसिस गरेको युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खबरहबलाई बताए ।
‘हाम्रोतर्फबाट, सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पनि सन्दीपलाई भिसाका लागि पहल गरेको हो’, खेलकुद मन्त्री श्रेष्ठले भने, ‘मैले परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई भनेपछि सरकारले अमेरिकी दूतावासमा भिसा नोट पनि पठाएको हो । कूटनीतिक हिसाबमा भिसा दिने-नदिने कुरा अमेरिकाको हो । सर्वसाधारणको समेत चाहनाअनुसार सरकारले शतप्रतिशत काम र कोसिस गरेको हो ।’
उनले सन्दीपलाई दोस्रो पटक पनि भिसा नदिँदा अमेरिकाले कुनै कारण नखुलाएको बताए । ‘अमेरिकाले किन भिसा दिएन, के कारण थियो, कस्तो कुरामा भिसा नदिएको हो केही खुलेको छैन । बिहान मैले टियुको मैदानमा सन्दीपसँग कुरा गरेको थिएँ । उनी खेल्नका लागि पूर्ण तयारी अवस्थामा थिए’, उनले भने, ‘भिसा दिने-नदिने भन्ने कुरा हामीले कसरी निर्णय गर्न सक्थ्यौँ । मैले बिदाको दिन पनि काम गरेर युवा तथा खेलकुद मन्त्रालयबाट फाइल अगाडि बढाइदिएर परराष्ट्रमा पठाएँ । परराष्ट्रमन्त्रीले पनि यसअगाडिको बैठकमा भिसाबारे पहल गरेको जानकारी दिनु एको थियो ।’
परराष्ट्रमन्त्री श्रेष्ठले अमेरिकी दूतावासमा फोन गरेर भिसाबारे कुरा गरेको खेलकुद मन्त्री श्रेष्ठले जानकारी दिए । ‘अमेरिकी दूतावासमा परराष्ट्रमन्त्रीले भनेको हो । यसमा अझ प्रधानमन्त्रीले पनि पहल गर्नु भएको हो । प्राविधिक र कानुनी कुराबारे अमेरिकालाई थाहा होला’, उनले भने, ‘यदि व्यक्तिगत आचरणको कुरा हो भने अमेरिकालाई थाहा होला, हामीले केही भन्न मिल्दैन। नेपालले आफ्नो कूटनीतिक मर्यादालाई कायम गर्दै सक्दो कोसिस गरेको हो ।’
- जब क्याबिनेटमा ब्रिफिङ चलिरहँदा सन्दीपले भिसा नपाएको खबर पुग्यो…
- सन्दीप फेरि निराश, दोस्रो पटक पनि दिएन अमेरिकाले भिसा
मन्त्री श्रेष्ठले यसबारेमा औपचारिक रुपमा अमेरिकाको धारणा नआएसम्म केही बोल्न नसकिने बताए । ‘यसमा गुनासो गर्ने भन्दा पनि मैले आफ्नोतर्फबाट सक्दो कोसिस गरेँ। सन्दीपले पनि विश्वकपमा खेल्न सबै किसिमको तयारी गरेका थिए’, उनले भने, ‘उनी निरन्तर अभ्यास गरिरहेका थिए । एउटा खेलाडीका लागि विश्वकप अवसरको कुरा पनि हो । तर उनले भिसा नपाउँदा हामीलाई दु:ख लागेको छ ।’
क्यान के भन्छ?
यसैबीच नेपाल क्रिकेट संघ (क्यान) अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको आईसीसी टी-२० विश्वकपमा सहभागिताका लागि नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भ्रमणको निम्ति कूटनीतिक नोटसहित पहल गर्दा पनि भिसा नमिलेको जनाएको छ ।
नेपाल सरकार, परराष्ट्र मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल क्रिकेट संघ साथै आईसीसीबाट आवश्यक पहल हुँदासमेत अमेरिकी दूतावासले लामिछानेलाई विश्वकप खेल्नका लागि यात्रा अनुमति (भिसा) दिन असमर्थता जनाएको क्यानले जनाएको छ ।
प्रतिक्रिया