धरानको रङ्गीन विकास : डीपीआरको चाङ  | Khabarhub Khabarhub

धरानको रङ्गीन विकास : डीपीआरको चाङ 

साढे ४ अर्बका दर्जन डीपीआर, ६ अर्बको कोशी लिफ्टिङ, साढे १० अर्बको सुरुङ 



सुनसरी– धरानको सुन्दर भविष्य यतिबेला करिव २२ अर्ब रुपैयाँ लागतका १५ योजनाका डीपीआर प्रतिवेदनका पन्नामा चेपिएका छन् । शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद र सांस्कृतिक मिलनको केन्द्र बनाउने लालसाले ती योजनाका विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरिएका हुन् चार बर्ष अघि । ती योजनाका डीपीआरमा धरानको भविष्य र भाग्यका रंगीन थ्रीडी स्केच गरिएका छन् ।

सुन्दर, आकर्षक र धरानको सुदुर भविष्य र भाग्यका रेखाहरु कोरिएका छन् डीपीआरमा । दुर्भाग्य, २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएका ती योजनाहरुका लागि अहिले बजेट भने एक पैसा पनि विनियोजना भएको छैन ।

धरान उपमहानगर आफैंले तयार गरेका कतिपय डीपीआर प्रतिवेदन योजना फाँटका टेबल र दराजमा थन्किएका छन् । प्रदेश र संघीय सरकारले बनाएका डीपीआर उसैका दराजको कुनै कुनामा थन्किएका छन् ।

अधिकांश योजनाका डीपीआर मन्जु भण्डारी कार्यवाहक मेयर भएका बेला बनेका छन् । विकास र समृद्धिको भोकले छटपटिएको धरानका यी डीपीआरका आधारमा आफैं काम सुरु गर्ने आर्थिक हैसियत छैन ।

धरानको बार्षिक आन्तरिक आय २५ करोड रुपैयाँ जति मात्र भाएकाले डीपीआर अनुसार योजना अगाडि बढाउन कि दातृ निकायको भरोसा गर्नुपर्छ कि प्रदेश र संघीय सरकारको आशा गर्नुपर्छ । सार्वजनिक निजी साझेदारी नीति (पीपीपी) मोडल प्रयोग गरेर लगानी भित्र्याउन पनि नसकेको अवस्थामा डीपीआरभित्र कोरिएको धरानको रंगीन भविष्यलाई सार्थक र मूर्त रुप दिन लामै समय पर्खिनुपर्ने देखिएको छ ।

यसो भनौं– अहिले धरानमा दर्जन बढी योजनामार्फत विकासै विकास भएका छन् तर कागजी डीपीआर प्रतिवेदनमा मात्र । डीपीआरले विकासको पूर्वाधार तयार गर्दै भविष्यको खाका कोरे पनि बजेट अभावमा छटपटिनु धरानको नियति बनेको छ ।
हुन त, ५० को दशकमा पूर्वमेयरहरु ध्यानवहादुर राई र मनोजकुमार मेन्याङ्बोले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको पूर्वाधार तयार गर्न २० बर्षे दीर्घकालीन योजना बनाएर काम सुरु नगरेका होइनन् । तर, उनीहरुले बनाएका योजनाका खाका अनुसार काम कति भए भनेर हालसम्म पुनरावलोकन भएको छैन ।

भक्तराज कन्दङ्वा क्रिकेट रङ्गशाला

क्रिकेट खेलाडी र खेलप्रेमीहरुका लागि धरानमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेल मैदान बनाउन ‘भक्तराज कन्दङ्वा क्रिकेट रङ्गशाला’ को डीपीआर चार बर्षअघि तयार भएको छ । धरान १५ बाझगरा र चारकोशे जंगलको सीमानामा करिब १५ बिघा क्षेत्रफलमा स्विमिङ पुल, कबर्ड हल र फुटवल मैदानसहितको अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदानका लागि धरान–१५ बाझगरामा १ अर्ब ८३ करोड १० लाख ७ हजारको लागत अनुमानको डीपीआर बनाइको छ ।

हालसम्म रङ्गशाला निर्माणका लागि प्रदेश सरकारले १ करोड, जनस्वास्थ्य कार्यालयबाट ५० लाख र धरान उपमहानगरपालिकाले १० लाख गरेर जम्मा १ करोड ६० लाख रुपैयाँको काम सम्पन्न भएको छ । उक्त जग्गा धरान उपमहानगरपालिकाको स्वामित्वभित्र पर्छ । क्रिकेट रंगशालाको डीपीआर ग्रीड/श्रेष्ठ/युपीडीसी जेभी काठमाडौंले तयार गरेको हो ।

भक्तराज कन्दङ्वा क्रिकेट रङ्गशाला संरक्षण समितिका संयोजक अइन्द्रविक्रम बेघाले पाँच बर्षअघि नै भनेका थिए, ‘ठूलो आयोजना भएकाले पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । लोकतन्त्र ल्याउनुमा कन्दङ्वाको ठूलो योगदान छ, त्यसैले उहाँको सम्मानमा रङ्गशालाको नामाकरण गरिएको हो ।’

अहिले बेघा धरान उपमहानगरको उपमेयर छन् । तत्कालीन माओवादी जनयुद्ध चलिरहेका बेला तेह्रथुम, आठराईका कम्युनिष्ट नेता भक्तराज कन्दङ्वाले माओवादीको जनवर्गीय संगठन लिम्बुवान मुक्ति मोर्चाका अध्यक्ष भएर पूर्वमा माओवादी जनयुद्धको नेतृत्व गरेका थिए । क्रिकेट खेलाडी नभए पनि उनैका नाममा धरानमा क्रिकेट मैदान बनाउने भनेर डीपीआर तयार गरिएको हो ।

क्रिकेट खेलाडी नभए पनि कन्दङ्वाको नाममा किन रंगशाला बनाउने योजना भयो भन्ने प्रश्नको जवाफमा संयोजक बेघाले तर्क गरेका थिए, ‘विश्वेश्वरप्रसाद कोइरालाका नाममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको छ, उनी डाक्टर होइनन् । राजा त्रिभुवनका नाममा अन्तरराष्ट्रिय विमानस्थल बनेको छ, उनी पाइलट होइनन्, त्यसैले रंगशाला कुनै क्रिकेटरकै नाममा हुनुपर्छ भन्ने मान्यता वाहियात हो ।’

धरानमा अन्तरराष्ट्रिय स्तरका खेलाडी भित्र्याउने र व्यावसायिक क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्य राखेर खेल मैदान बनाउन डीपीआर तयार गरे पनि हालसम्म पुग नपुग २ करोड रुपैयाँको सामान्य काम भएको छ । डीपीआर अनुसार क्रिकेट रंगशाला निर्माण सम्पन्न हुन यसैगरी बार्षिक दुई करोड रुपैयाँका दरले राज्यले दिएमा ५० बर्ष भन्दा बढी समय लाग्ने देखिन्छ ।

कोशीको पानी धरानमा झार्ने लिफ्टिङ

अघिल्ला जनप्रतिनिधिहरुले धरानको समग्र विकासका लागि बजेटको आशा गर्दै मन्त्रालयहरुमा पठाएका डीपीआरका फाइलहरु घुनले खाइरहेका बेला फेरि अरु नयाँनयाँ डीपीआर बनाउने र बजेट माग्ने काम भने धरानमा जारी छ । पछिल्लो डीपीआर कोशीको पानी धरान ल्याउने योजनाको बनेको हो ।

मेयर हर्कराज साम्पाङले आफ्नो एकसुत्रीय चुनावी एजेण्डा अनुसार काकाकुल धरानबासीलाई खानेपानीको योजना ल्याएरै छाड्ने बताउँदै आएकाले पटक–पटक लविइङ गर्दै आएका थिए । तर, हालै सार्वजनिक भएको नीति तथा कार्यक्रम र बजेटमा कोशीको पानी धरानमा ल्याउने योजनाबारे एक पैसा पनि विनियोजन भएन ।

बजेट विनियोजन नभए पनि बजेट भाषण सकिएको तीन दिनपछि धरानमा आएर मेयर साम्पाङलाई भेट्दै खानेपानी मन्त्री राजेन्द्रकुमार राईले धरानको खानेपानी योजनाका लागि ५ अर्ब ७२ करोड ५६ लाख बजेट सुनिश्चित भइसकेको र तत्काल टेन्डर आह्वान गरिने आश्वासन दिन भ्याए ।

बर्खाको चार महिना बाहेक बाँकी महिना खानेपानीको चरम अभाव खेपिरहेको धरानको खानेपानी समस्या चाँडै समाधान गर्ने बताउदै मन्त्री राईले सप्तकोशीबाट खानेपानी ल्याउने डीपीआर अन्तिम चरणमा पुगेको बताए ।

यसअघि सम्भाव्यता अध्ययनबाट कोशीको पानी धरान ल्याउन सम्भव देखिएपछि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरेको खानेपानी अन्तर्गतका विभागका आयोजना प्रमुख बालमुकुन्द श्रेष्ठले बताए ।

उनका अनुसार डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट भारतीय परामर्शदाता कम्पनी इण्डिया वापकोस लिमिटेड छनोट भएको छ । साथै, नेपालको सिम्याट कम्पनी पनि परामर्शदाताका रुपमा रहेको छ ।

बरिष्ठ इञ्जिनियर डा चेतबहादुर परियारले उपमहानगरको नेतृत्वको इच्छाशक्ति बलियो भएमा र स्रोत (बजेट) जुटेमा डीपीआर तयार भएपछि ३ बर्षभित्र योजना पूरा हुने बताएका थिए ।

धरान–लेउती सुरुङ मार्ग

आर्थिक बर्ष ०७७/७८ को नीति तथा कार्यक्रममा पाल्पाको तिनाउमा पर्ने सिद्धबाबा र धरान–लेउती सुरुङमार्ग एकसाथ घोषणामा परेका योजनाहरु हुन् । सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु हुनै लागेको छ । यता धरान–लेउती सुरुङ मार्ग भने डीपीआरमै सीमित छ ।

जोगवनी–किमाथांका सडकको दूरी र समयलाई छोट्याउने उद्देश्यले सुनसरीको धरान र धनकुटाको लेउती खोलासम्मको सुरुङ मार्ग निर्माण गर्न सम्भाव्यता अध्ययनसँगै डीपीआर तयार भयो । सुरुङमार्गको बाहिरी सतहमा साँगुरी गढी पालिका र धरान उपमहानगरपालिकाको सीमानामा पर्ने पर्यटकीय स्थल भेडेटार पर्छ ।

परामर्शदाता कम्पनी टीएमएस इआइमेभिन रेज जेभीले सम्भाव्यता अध्ययन गसिकेको छ । यो सुरुङ मार्ग निर्माण भएमा नेपालकै ठूलो तथा लामो हुनेछ । अहिलेसम्म नागढुंगा सुरुङ मार्ग करिब अढाई किलोमिटर मात्र लामो छ ।

धरान–लेउती सुरुङ मार्ग ४ किलोमिटर लामो हुने प्रारम्भिक अध्ययनबाट देखिएको छ । धरानबाट भेडेटार घुम्ती हुँदै मूलघाट नजिकको लेउतीसम्म पुग्न सवा घण्टाभन्दा बढी समय लाग्छ । तर, सुरुङमार्ग बनेमा दुरी र समय छोट्टिएर ५ देखि १०  मिनेटमा सीमित हुने अनुमान गरिएको धरान उपमहानगरपालिकाका बरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठ बताउँछन् ।

कोशी राजमार्गमा पर्ने धरान–लेउती सडकको अहिलेको दुरी करिव ३७ किलोमिटर छ । सुरुङमार्ग बनेमा ४ किलोमिटरमा सिमित हुने छ । सुरुङमार्गका सम्पन्न गर्न १० अर्ब ६३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सुरुङ्ग मार्गको अध्ययन प्रतिवेदन ०७९ असार अन्तिममा सार्वजनिक भइसकेको हो ।

धरान–लेउती सुरुङमार्गसँगै तमोरको पानी पनि धरान ल्याउन सकिनेबारे छलफल भइरहेको सुनसरी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सरोज श्रेष्ठले बताए । सुरुङ्ग मार्ग बन्नु धरानको खानेपानी समस्या समाधानका लागि नयाँ बाटोसमेत हुने उनले बताए ।

श्रेष्ठले भने, ‘कोशीको पानी ल्याउँदा पनि तीन–चार ठाउमा लिफ्टीङ नै गर्नुपर्ने रहेछ । सुरुङमार्ग बनेमा तमोरको पानी पनि त्यसरी नै लिफ्टिङ गरेर पाइपमार्फत ल्याउन सकिन्छ भन्ने हाम्रो धारणा हो ।

उनी थप्छन्, ‘सुरुङ्ग मार्ग बनाउन सके तमोर तथा लेउतीको पानी धरान ल्याएर धरानवासीलाई खुवाउन सकिने र इटहरीदेखि दुहबीसम्मका बासिन्दालाई समेत बिक्री गर्न सकिने सम्भावना छ ।’

तर, धरान–लेउती सुरुङमार्ग कहिले सुरु हुन्छ र बन्छ, त्यसको टुंगो छैन ।

सप्तरंगी पार्क

करिब अढाई दशकअघि धरानका तत्कालीन मेयर ध्यानबहाुदर राई र उपमेयर मनोजकुमार मेन्याङ्बोले सार्वजनिक जग्गा अतिक्रमण हुनबाट बचाउँदै सर्दु खोलाको बगरमध्ये करिव ६२ विगा जमिन नगरपालिकाको स्वामित्वमा ल्याएका थिए । त्योमध्ये बगरलाई मुलुककै नमूनामा सप्तरंगी पार्कमा परिणत गर्न उनीहरुले महत्वाकांक्षी योजना बनाए । सर्दु खोलाको बगरमा वृक्षारोपण गरेर सप्तरंगी पार्क निर्माणको अवधारणा बन्यो ।

धरान–१७ स्थित सप्तरंगी पार्कलाई सुन्दर र आकर्षक बनाउनका लागि क्रमागत बजेट विनियोजन गर्दै ०५५ सालमा बीडीए कन्सल्टेन्टले पार्कको डिजाइन गरेको थियो ।  डिजाइनअनुसार त्यसबेला ५ करोड लागत अनुमान गरिएको थियो ।

धरान नगरपालिकाले विभिन्न स्रोत खोजेर पहिलो चरणमा क्रमशः कम्पाउण्ड वाल, ड्रेनएज, टिकट घर र मूर्ति बनाउने काम गरेको थियो । पछि, शहरी विकास तथा भवन निर्माण विभागले पनि केही पिकनिक स्थलहरु बनाइदिएको थियो । त्यहाँ ०४६ सालको जनआन्दोलनको प्रतिक पनि निर्माण गरियो । उक्त प्रतिक तत्कालिन धरान–९ का वडाध्यक्ष समेत रहेका बरिष्ठ कलाकार योगेन्द्र लिम्बूले डिजाइन गरेका थिए ।

भवन निर्माण विभागको आर्थिक सहयोगमा बालबालिकाका लागि भुलभुलैया पनि बनाइयो । कलाकार विक्रम श्रीको डिजाइनमा एकताको प्रतिकका रुपमा प्रतिमा बनाइयो । रिसोर्ट, पिकनिक सेड, ढुङ्गाका पैदल बाटोहरु, टिकट काट्ने काउन्टर भवन र प्रवेशद्धार इत्यादि निर्माण भए ।

पछिल्ला जनप्रतिनिधिले पार्कको व्यवस्थापन पक्षमा ध्यान नदिँदा यतिबेला ‘हरर चलचित्र’ छायाङ्कन गर्ने स्थलजस्तै बनेको छ । स्थानीय बुद्धिजीवी डा. राजेन्द्र शर्मा पार्कको बिजोग देखेर भन्ने गर्छन्, ‘केटाकेटी आए, गुलेली खेलाए, मट्याङ्ग्राको नास’ भने जस्तै भएको सप्तरंगी पार्क । उपमहानगरको आन्तरिक श्रोत र भवन निर्माण विभागको बजेट त्यहाँ खन्याइए पनि त्यसको उपलब्धि देखिएको छैन ।’

फेरि यहाँ पनि बन्यो अर्को डीपीआर । ९ विघा क्षेत्रफलमा फैलिएको सप्तरंगी पार्कको मुहार फेर्न डीपीआर बनाइयो । धरानमा फनपार्क, थिम पार्क र बालबालिकाका लागि बाल उद्यान अभाव भएकाले  केही बर्षअघि २४ करोड ८८ लाख ६१ हजार ६ सय ६२ रुपैयाँ अनुमानित लागतको डीपीआर तयार पारिएको हो ।

बीडीए/आर्टिस्टा/क्वेस्ट जेभी काठमाडौले सप्तरंगीको डीपीआर तयार गरेको छ । तर पार्क निर्माणको बजेट नै नभएपछि पीपीपी मोडल प्रयोग गर्ने नीति अख्तियार गरिएको उपमहानगरका बरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठ बताउँछन् ।

पछिल्लो समयमा मेयर हर्क साम्पाङले सप्तरंगी पार्कलाई बहुसाँस्कृतिक पार्कका रुपमा विकास गरेर सञ्चालनमा ल्याउन बजेट माग गरेका थिए । विभिन्न जातजातिको सँस्कृति झल्कने गरी बहुसाँस्कृतिक पार्क बनाउने योजना भए पनि अन्त्यमा बजेट नभएर झन लथालिङ्ग बनेको छ ।

स्पोर्ट सिटी खेलग्राम 

क्रिकेट रंगशाला बाहेक धरानमा अन्य खेलका पूर्वाधार तयार गर्न धरान– १७ स्थित एन्फा एकेडेमी पूर्वको धरान उपमहानगरपालिकाको स्वामित्वमा रहेको १४ विघा जग्गामा इन्डोर्स गेम सबै खेल्न, अभ्यास गर्न र अध्ययन गर्नका लागि चार बर्षअघि  डीपीआर तयार गरिएको थियो । जीआरआई इण्डेको जेभी काठमाडौले तयार पारेको डीपीआरमा बहुउदेश्यीय कभर्डहलसहित ३१ करोड ८ लाख १४ हजार २ सय ४३ रुपैयाको अनुमानित लागत छ ।

पूर्वउपमेयर मञ्जु भण्डारीले करिव डेढ बर्ष कार्यवाहक मेयर भएको बेला ६ बर्षअघि बैंगलोर र हङकङ भ्रमणको अनुभवपछि उक्त डीपीआर तयार गर्न लगाएकी थिइन् । उनले भनिन्, ‘केन्द्र सरकारले हरेक स्थानीय तहमा एक खेलग्राम बनाउने नीति बनाएको थियो । सोही अनुसार राज्यको योजना अनुसार धरानमा गर्न खोजियो । तर अहिले यसको कार्यविधि बनाउने र लगानी भित्र्याउने काम भएन, डीपीआर मात्र भयो । पछिल्ला जनप्रतिनिधिहरुले फलोअप गरेनन् । तथापि मार्गचित्र भने तयार छ ।’

भण्डारीको थप कथन छ, ‘जनतालाई कर लगाएर मात्र नगरको आम्दानी वृद्धि गर्ने भन्दा पनि गैरकरको क्षेत्रमा विकास गरेर आम्दानी वृद्धि गर्न डीपीआरहरु तयार गरेर लगानी भित्र्याउने योजनाअनुसार सार्वजनिक–निजी–साझेदारी नीतिको मोडलमा निजी क्षेत्रलाई लगानी गर्न लगाउने योजना अनुसार डीपीआर बनाएको हो ।’

धरान सभागृह र नाटक घर

शहरी विकास तथा भवन निर्माण विभागले करिव ३ करोड रुपैयाँ लागतमा निर्माण गरेर  ०५९ सालमा धरान उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो– धरान सभागृह । तर विभागले हस्तान्तरण गरेका बेला सभागृहको हालत बेहाल भइसकेको थियो । करिव ६ सय दर्शक क्षमता रहेको सभागृह निर्माणमा कमसल सामग्री प्रयोग भएकाले सिलिङ झर्न थालेको थिए । छतबाट पानी चुहिन थालेको थियो ।

कार्यक्रम नै गर्न नसकिने अवस्था भएपछि उपमहानगरपालिकाले यसलाई कहिले नगर प्रहरी बस्ने क्वार्टर बनयो त कहिले लाहुरे ट्रेनिङ सेन्टर चलाउनेलाई भाडामा दियो । राज्यको तीन करोड लागतमा बनाइएको सभागृह खासै प्रयोग गरेर सदुपयोग गर्न नसक्ने अवस्था आएपछि यसलाई पुनः आधुनिक भवन बनाउने उद्देश्यले पाँच बर्षअघि नै ८ करोड लागतको डीपीआर बनायो ।

पछिल्लो समय मेयर हर्कराजले पनि धरान सभागृह पुरानो भएकाले समयसापेक्ष स्तरवृद्धि नहुँदा प्रयोग गर्न अयोग्य रहेको जनाउँदै बाह्य र आन्तरिक नवीकरण गरेर आधुनिक सभागृह बनाउन डिपीआर तयार भएकाले बजेट माग गरेका थिए । तर, उनको माग सुनुवाई भएको छैन । कमसल सभागृह बनाउने निर्माण कम्पनीमाथि कतै कारवाही पनि चलेन ।

सोही सभागृह भएकै क्षेत्रमा करिव ६ करोड रुपैयाँ लागतको नाटक घरको डीपीआर पनि कागजमै सीमित भएको छ । ५० को दशकमा प्रज्ञा प्रतिष्ठानमा नाटक मञ्चन गरेर नेपाली रंगमंचको नेतृत्व गरेका धराने कलाकारहरुका लागि व्यवस्थित नाटक घर धरानमा नहुनु दुर्भाग्य भएको छ । बजेट विनाको डीपीआर बनाएर चित्त बुझाउन बाध्य छन् नाट्यकर्मीहरु ।

करिब २ कट्ठा क्षेत्रफलमा नाटक घर बनाउन उपमहागनगरपालिकाले अनुमति दिइसकेको छ । नाटक घर निर्माणका लागि तत्कालीन संघीय सांसद जयकुमार राईले चार बर्षअघि ४९  लाख रुपैयाँ संसद विकास कोषबाट विनियोजन गरिदिएका थिए । त्यो रकमले नाटक घरको फाउण्डेशन र केही पिल्लर ठडिएका छन् ।

नाटक घरका लागि करिव दुई दशकदेखि लागि परेका रंगकर्मी नविन मेन्याङ्बो भन्छन्, ‘संसद विकास कोषबाट ४० लाख रुपैयाँ प्राप्त भएपछि २०७७ असार ४ गतेदेखि निर्माण कार्य प्रारम्भ भएको थियो । ०७८ मा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट १५ लाख र धरान उपमहानगरपालिबाट १८ लाख विनियोजन भएको थियो । साँस्कृतिक, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयबाट १५ लाख बजेट विनियोजन भएको थियो ।’

६ करोड लागतको नाटक घर निर्माणका लागि टुक्रे बजेट मात्र आउने हो भने निर्माण सम्पन्न हुन अझै १२ बर्ष लाग्ने देखिएको छ ।

नाटकघरको डीपीआरमा भने २ सय जना बढी दर्शक क्षमता भएको अन्तर्राष्ट्रियस्तरको र प्रदेशकै सुविधा सम्पन्न हुने गरी डिजाइन गरिएको छ । चलचित्रकर्मी समेत रहेका मेन्याङ्बोले भने, ‘नाटकघरमा चित्रकला, मूर्तिकला प्रर्दशनी कक्ष, कार्यशाला कक्ष, भिआइपी लञ्ज, इर्मजेन्सी एक्जिट, अपांगमैत्री भर्‍याङ लगायत समावेश छन् ।’

उनका अनुसार सिभिलतर्फ ५ करोड ४५ लाख ३२ हजार १४० रुपैयाँ लागत अनुमान गरिएको छ । त्यसैगरी मञ्च, कुर्सी, प्रकाश व्यवस्था, ध्वनी व्यवस्था, चलचित्र प्रोजेक्सनसहित अन्य आन्तरिक व्यवस्थापनतर्फ ३ करोड गरी कुल ८ करोड ४५ लाख ३२ हजार १४ रुपैयाँ बजेट आवश्यक पर्ने लागत अनुमान रहेको छ ।
मेन्याङ्बो भन्छन्, ‘तर बजेट पो जुटाउन गाह्रो भयो ।’

धरान औद्योगिक ग्राम

स्थानीय श्रोत, सीप र प्रविधिको प्रयोग गर्दै उद्यमशीलताको विकास गर्न र कृषकसहित स्थानीय समुदायको आर्थिक आत्मनिर्भरता बढाउने उद्देश्यले ०७६ असोज ७ गते बसेको तत्कालीन मन्त्रिपरिषदले मुलुकभरका ३२ स्थानमा औद्योगिक ग्राम बनाउने निर्णय ग¥यो । सोही निर्णयका आधारमा धरान उपमहानगरपालिकाले पहिलोपटक डीपीआर तयार पारेर सरकारलाई बुझायो ।

धरान उपमहानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको धरान– ६ पानबारीको २५ विघा क्षेत्रफलमा औद्योगिक ग्राम बनाउने योजनाअनुसार उनी बीडीए आर्टिस्ट क्वेस्ट जेभी काठमाडौंलाई डीपीआर तयार गर्न लगायो । औद्योगिक ग्रामभित्रै विभिन्न उद्योग कलकारखाना पनि राख्ने, पूर्वी पहाडको कृषि तथा जडीबुटी जन्य उत्पादनलाई प्राथमिकता दिने जस्ता नीति बनाएर तयार पारिएको डीपीआरमा ४६ करोड ८५ लाख ४९ हजार ९ सय ७४ रुपैया अनुमानित बजेट खर्च हुने भनिएको थियो ।

संघीय सरकार अन्तरगत उद्योग मन्त्रालयको बहुबर्षीय योजनामा पनि धरानको औद्योगिक ग्राम प¥यो । धरान उपमहानगरपालिकाले उपलव्ध गराएको पानबारीस्थत सेहराखोला पश्चिमको जग्गामा औद्योगिक ग्रामका लागि पहिलो चरणमा ९२ लाख रुपैयाँ संघीय सरकारले दियो । त्यसले तार घेराबारा र तटबन्धको काम भयो ।

औद्योगिक ग्रामका लागि एशियाली विकास बैंक (एडीबी) ले पनि सहयोग गर्ने भएको थियो । गाउँको उत्पादन शहरका उपभोक्तासम्म ल्याउने भनेर उद्योगपतिहरुसँग पनि छलफल भएको थियो । तर, त्यसपछि कुनै ‘फलोअप’ नहुँदा यो प्रोजेक्ट पनि अहिलेसम्म डीपीआरमै सीमित भएको छ ।

डीपीआर अनुसार औद्योगिक ग्राममा खानेपानी, विद्युत, ढल, घेराबारा, प्रदर्शनी कक्ष, विक्री कक्ष, भण्डारणका भवनहरु निर्माण गरिने उल्लेख छ ।

साइन्स सिटीपार्क

मनोरन्जनात्मक विधि अपनाएर बालबालिकालाई विज्ञान र गणित शिक्षाप्रति आकर्षित गराउन भन्दै धरान– १३ मा रहेको सत्यसाई स्कुलको दुई विघा जग्गामा भव्य साइन्स सिटीपार्क बनाउने योजनाअनुसार चार बर्षअघि नै डीपीआर तयार गरिएको थियो । उही बीडीए आर्टिस्टा क्वेस्ट काठमाडौले तयार गरेको डीपीआर अनुसार पार्कको कुल अनुमानित लागत ९ करोड ६८ लाख ७९ हजार रुपैयाँको रहेको छ ।

साइन्स सिटीपार्कमा बालबालिकालाई आकर्षक मनोरन्जनको माध्यमबाट विज्ञानका खगोलशास्त्र, भौतिक शास्त्र, व्यावहारिक विज्ञान र रसायन शास्त्रसहित गणितका ज्ञान सिकाउने, बुझाउने, ल्याव र भवनको परिकल्पना गरिएको छ । यो निर्माण गर्न धरानका मेयर हर्कराज साम्पाङले पनि चासो देखाएर ०७९ चैत १९ गते शहरी विकास मन्त्रालयमा बजेट व्यबस्थापन गरिदिन पत्र पठाएका थिए ।

साइन्स सिटीपार्क निर्माण भएमा बालबालिकासहित विभिन्न विद्यालय र कलेज अध्ययनरत विद्यार्थीहरुलाई प्रयोगात्मकरुपमा विज्ञानका विभिन्न क्षेत्रहरुको अध्ययन अवलोकन गर्ने स्थलकोरुपमा विकास गर्न सकिने अपेक्षा लिइएको थियो । धरानको शैक्षिक एवं पर्यटकीय विकासमा पनि सकारात्मक प्रभाव पर्ने भएकाले डीपीआर तयार पारे पनि बजेट विनियोजन नहुँदा कल्पनामै सीमित भएको छ  ।

बधशाला 

धराने कालो बंगुरको कान, जिब्रो होस् वा भित्रांशको स्वादमा रमाउने मासुप्रेमीहरु मुलुकमै सवैभन्दा बढी धरानमा छन् । धरानमा दैनिक ८ देखि १० टन बंगुरको मासुको खपत हुने गरेको मासु व्यावसायीहरुले बताउँदै आएका छन् । कुखुराका मासुप्रेमी पनि उत्तिकै छन् । मासु व्यावसायी तथा प्राविधिक संघले १० टन कुखुरको मासु पनि धरानमै खपत हुने बताएको छ । रांगाको मासु करिव ४ टन खपत हुने गरेको छ । खसी बोकाको मासु करिव २ हजार टन खपत हुन्छ ।
तर, हालसम्म धरानमा व्यवस्थित, एकीकृत एवं स्वस्थ पशु बधशाला छैन । केही मासु व्याबसायीले व्यक्तिगत रुपमा सानो लगानीमा पशुबधशाला बनाए पनि विस्वसनीय हुन सकेको छैन ।

उपत्यकापछि सवैभन्दा बढी मासुप्रेमीहरु धरानमा रहेकाले मासु जाँच ऐनअनुसार बधशालामा तयार गरिएको मासुमात्र उपभोक्तासम्म पु¥याउन संघीय, प्रदेश र स्थानीय सरकार तथा मासु व्यावसायीसँग समन्वय गरेर बधशाला बनाउने भनेर डीपीआर तयार गरिएको छ ।

पानमारामा बधशाला निर्माण भए पनि इटहरीसम्मका उपभोक्ताका लागि स्वस्थ मासु आपूर्ति गर्ने भनेर ५५ करोड ३३ लाख ४० हजार ९ सय ८४ रुपैयाँको अनुमानित बजेटमा डीपीआर तयार पारिए पनि यो दन्ते कथामात्र सावित भएको छ । मासु ऐनअनुसारको पशु बधशालामै तयार भएको मासु कहिलेसम्म उपभोक्ताको चुलामा पाक्ने हो, त्योचाँहि अझै पर्खिनु पर्ने भएको छ ।

पालिका तरकारी बजार

धरानको पालिका तरकारी बजार अहिले पनि सुरक्षित र व्यबस्थित छैन । धरानको चिनियाँचोकमा उपमहानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा भूमिगत पार्किसहितको तरकारी बजार निर्माण गर्न २२ करोड लागतको डीपीआर बनाइए पनि काम अगाडि बढेन ।

यहाँ अहिले अस्थाई टिनको छाना मात्र छ । कृषि मन्त्रालयले बजेट स्वीकृत गरेर बहुबर्षीय योजना अनुसार १ करोड ६० लाख बजेट दिए पनि उक्त बजेट ०७७ मा फ्रिज भयो । अण्डरग्राउण्डमा पार्किङ, पहिलो तलामा सागसब्जी, तरकारी मासु, माथिल्लोमा बिउ बिजन, मल विक्री केन्द्र र तेस्रो तलामा सहकारी र बैंकसहित क्यान्टिन सञ्चालन गर्ने भवनको डिजाइन गरिएको थियो ।

सडक मानव आश्रय भवन

सडक मानव आश्रय भवन निर्माण तथा पुनःस्थापना केन्द्र निर्माण गर्ने उद्देश्यले उपमहानगरपालिले डीपीआर तयार गरेको छ । भवन निर्माणका लागि करिब ८ करोड लागत अनुमान छ ।

विभिन्न कारणले सडकमा आश्रय बनाएर बसेका महिला, बालबालिका र वृद्धवृद्धालाई व्यबस्थित रुपमा राख्न स्थायी संरचनाको आवश्यक परेकाले डीपीआर तयार गरी शहरी विकास मन्त्रालयसँग ८ करोड रुपैयाँ बजेट माग गरिएको थियो ।

मेयर साम्पाङले बेलाबेलामा सडक मानवहरुलाई सडकबाटै उठाएर अस्थायी आश्रय स्थलमा राखिए पनि पुनस्र्थापना केन्द्र नभएकाले स्थायी संरचना निर्माणका लागि बजेट माग गरिएको बताए ।

दलित संग्रहालय र ज्येष्ठ नागरिकलाई पार्क, युवालाई जिम हल

धरानमा आदिवासी जनजाति संग्रहालय निर्माण हुन थालेको करिव दुई दशक हुन लागेको छ । यसले अझै पूर्णता पाएको छैन । यसैवीच, दलित समुदायले प्रयोग गरेका सामग्रीहरुको संरक्षण र सम्वर्धन गर्न धरान–२० विष्णुपादुकामा दलित संग्रहालय निर्माण गर्ने उद्देश्यले उपमहानगरपालिकाले डीपीआर बनाएको छ । यसको बजेट पनि ८ करोड रुपैयाँ अनुमानित लागत रहेको छ ।

यसैगरी धरानका ज्येष्ठ नागरिकको मन बहलाउने र युवायुवतीका लागि जिमहल निर्माण गर्ने भनेर धरान– ११ मा ‘सुनौलो नगरकोट बहुउद्देश्यीय कभर्ड हल, ज्येष्ठ नागरिक पार्क र जिम हल’ निर्माण गर्न डीपीआर तयार गरेर शहरी विकास मन्त्रालयसँग १ करोड ५० लाख रुपैयाँको प्रस्ताव पनि कागजमै सीमित भएको छ ।

मनमोहन पार्क र हर्दिया दानाबारी भ्यूपोइन्ट

धरान क्षेत्रबाटै ०४८ सालको आमचुनावमा जितेर प्रधानमन्त्री भएका मनमोहन अधिकारीको सम्मानमा धरान–४ हर्दियामा आकर्षक मनमोहन पार्क निर्माण गर्ने भनेर ५ बर्षअघि डीपीआर तयार भयो । उक्त ठाउँमा मनमोहन अधिकारी ४० को दशकमा भूमिगत बसेर कम्युनिष्ट राजनीति चलायमान बनाएको भन्दै मनमोहन पार्कको अवधारणा ल्याइएको हो ।

स्थानीय बासिन्दाले ७ विघा जग्गा समेत दिएकाले उक्त ठाउँमा कम्युनिष्ट आन्दोलनको इतिहास झल्किने पूर्वाधार तयार गर्न डीपीआर तयार गरेको पूर्वउपमेयर मञ्जु भण्डारीले खबरहबलाई बताइन् ।

भण्डारीका अनुसार चारबर्षअघि प्रदेश सरकारले करिव १ करोड रुपैयाँ दिएको थियो । उक्त रकमले जग्गा घेराबारा गरिएको छ तर अरु काम अगाडि बढ्न सकेको छैन ।
हर्दिया त्यसै पनि समुद्र सतहदेखि १२ सय मिटर उचाइमा रहेको शीतल रमणीय स्थल हो, जहाँबाट धरानको सुन्दर दृष्यावलोकन गर्न सकिन्छ । सोही क्षेत्रमा मगरजातिको संस्कृति झल्किने गरी भ्यूपोइन्ट बनाउने, हुर्रा, होमस्टे सञ्चालन गर्ने उद्देश्यले ४ करोड ५२ हजार लागत अनुमानको अर्को डीपीआर तयार गरिएको छ ।

विष्णुपादुका धार्मिक पर्यटकीय श्राद्धपोइन्ट 

धरान–२० मा पर्ने विष्णुपादु मन्दिर हिन्दु धर्मावलम्बीका लागि आस्थाको केन्द्र मानिन्छ । हिन्दु धर्मग्रन्थहरुमा भगवान विष्णुले पहिलोपटक आफ्ना पितृको श्राद्ध विष्णुपादुकामा गरेको उल्लेख छ । सोही आधामा बर्षेनि त्यहाँ श्राद्ध मेला लाग्ने गरेको छ । भारत र बंगलादेशबाट समेत भक्तजनहरु त्यहाँ श्राद्ध गर्न आउने गरेका छन् ।

तामाङ जातिका पुजारीले पुस्तैनी मन्दिरको संरक्षण र पूजा अर्चना गर्दै आए पनि हिन्दु धर्मावलम्बीले मानेको स्थानमा धार्मिक पर्यटकीय श्राद्ध पोइन्ट निर्माण गर्न डीपीआर बनाइएको थियो । करिव १५ करोड लागतको श्राद्धपोइन्टमा भगवान विष्णुका १० अवतारको प्रतिमा, भक्तजन बास बस्ने भवन, आश्रम र मन्दिरलाई सौन्दर्यीकरण गर्न पाँच बर्षअघि शहरी विकास कोष (टीडीएफ)ले बजेट दिने वचन दिएको थियो ।

शिवजटा–कोकाहा ड्याम, विष्णुपदाकाको खैरैमा रक क्लाइम्बिङ 

धरान– ४ मा पर्ने शिवजटामा र धरान– २० मा पर्ने कोकाहामा धार्मिक पर्यटन प्रवद्र्धन गर्न आकर्षक रिक्रिएसन सेन्टर र युवा पुस्तकाका लागि शाहसिक खेल प्रवद्र्धन गर्न रक क्लाइम्बिङ स्थल बनाउन डीपीआर तयार भए पनि बजेट नभएपछि बीचैमा रोकिएको छ ।

शिवजटाका लागि १६ करोड ४८ लाख ६६ हजार, कोकोहाका लागि ४० करोड ६१ लाख ७० हजार र रक क्लाइम्बिङका लागि २४ करोड ३ लाख ३ हजार रुपैयाँ लागतको डीपीआर तयार गरिएको थियो ।

रक क्लाइम्बिङका लागि चट्टान परीक्षण भएर उपयुक्त भएको भन्दै डीपीआर तयार गरिएको थियो । यी सबैको डीपीआर जीओइसी÷सीटुटेक÷विम जेभी काठमाडौले तयार गरेको हो ।
बजेट विनाका डीपीआर दराजमै थन्किए पनि डीपीआर प्रतिवेदन र थ्रीडी नक्सा तयार पार्ने काठमाडौंका कन्सल्टेन्सीहरुले भने धरानबाट राम्रै पैसा कमाउने गरेका छन् ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  १० : ५२ बजे

बङ्गलादेशबाट आज मात्र ४२० नेपाली विद्यार्थी फर्किए

काठमाडौं – बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका

पाकिस्तानमा पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौं – आर्थिक समस्यामा रहेको पाकिस्तानले पेट्रोलियम पदार्थको मूल्य बढाएको

बेनी–दरवाङ सडक १० दिनपछि सञ्चालनमा

म्याग्दी – म्याग्दीको तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी

पशुपतिमा साउने सोमबारको तयारी पूरा

काठमाडौं – सौरमासअनुसार पहिलो साउने सोमबारको व्रत साउन ७ गते

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

लुम्बिनी – लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको