अर्थसंक्षेप : एकै वर्षमा दर्जन बढी सबस्टेशन र वितरण प्रणाली तयारदेखि तीन वटा विधेयक पारितसम्म | Khabarhub Khabarhub

 अर्थसंक्षेप : एकै वर्षमा दर्जन बढी सबस्टेशन र वितरण प्रणाली तयारदेखि तीन वटा विधेयक पारितसम्म


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकै वर्षमा दर्जन बढी सबस्टेशन र वितरण प्रणाली तयार भएका छन् । प्रतिनिधिसभाबाट आइतबार तीन वटा विधेयक पारित भएको छ ।  सत्ति भन्सारले नौ करोड राजस्व संकलन गरेको छ । आज दोहोरो अंकले ओरालो लाग्यो नेप्से ।

आजका प्रमुख आर्थिक समाचारहरू :

एकै वर्ष दर्जन बढी सबस्टेशन र वितरण प्रणाली तयार

नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/०८१ अवधिमा ठूला क्षमताका प्रसारण लाइन आयोजना निर्माणमा जोड दिएको छ । प्राधिकरणले देशका विभिन्न ठाउँमा ४०० केभी, २२० केभी र १३२ केभी क्षमताका प्रसारण लाइन निर्माण गरेको हो ।

प्रसारण लाइनसँगै प्राधिकरणले सबस्टेशन निर्माणमा जोड दिइरहेको छ । प्राधिकरणका अनुसार यस वर्ष कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन तयार पारिएको छ ।

यो प्रसारण लाइन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित दाना सबस्टेसनबाट शुरू भएको छ । पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रूपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को नयाँ बुटवल सबस्टेसनसम्म करिब १३० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो ।

त्यस्तै, कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजना अन्तर्गत वसन्तपुर सबस्टेसनबाट ढुङ्गेसाँघु सबस्टेसनसम्मको प्रसारण लाइनको पहिलो सर्किट निर्माण सकिएको प्राधिकरणले जानकारी दिएको छ ।

तनहुँको मार्की चोकदेखि काठमाडौंको मातातीर्थ सब(स्टेशनसम्मको करिब ८८ किलोमिटर २२० केभी प्रसारणलाइन र मातातीर्थमै रहेको समान क्षमताको सब(स्टेशन पनि प्राधिकरणले यसै आर्थिक वर्षमा तयार पारिसकेको छ ।

प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक २०८१ पारित

प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।

विधेयकमाथिको दफावार छलफलमा सांसद राजेन्द्रकुमार केसी र प्रेम सुवालले भाग लिएका थिए  । बैठकले सांसद सुवालले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । त्यसअघि अर्थमन्त्री पुनले उक्त विधेयकलाई सदनमा दफावार छलफल गरियोस् भनी राखेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो ।

प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८१ पारित

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।

उक्त विधेयकमाथिको छलफलमा सांसदहरू प्रेम सुवाल, डा प्रशाकशरण महत, दीलेन्द्रप्रसाद बडू र किरणकुमार साहले भाग लिएका थिए । छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले करका कानुनलाई वैज्ञानिक एवं लगानीमैत्री र पारदर्शी बनाउन आर्थिक विधेयकमा सामान्य हेरफेरको प्रस्ताव गरिएको बताए  ।

त्यसअघि उक्त विधेयकमाथि सांसद सुवाल र महतले राखेका संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित

प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो ।

उक्त विधेयकमाथि सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राखेका थिए । उनले राखेको संशोधन प्रस्तावलाई प्रतिनिधिसभाका बहुमत सदस्यहरुले अस्वीकृत गरेका थिए ।

सत्ति भन्सारद्वारा नौ करोड राजश्व सङ्कलन

कैलालीको सत्ति भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०र८१ को ११ महिनामा नौ करोड ८० लाख ७८ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

सत्ति भन्सार कार्यालयले चालु आवमा १२ करोड एक लाख ४७ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । अबको १५ दिनमा उक्त लक्ष्यमा पुग्न मुश्कील हुने देखिन्छ । गत वर्षको तुलनामा यस वर्ष राजश्व बढ्ने सत्ति भन्सार कार्यालयका प्रमुख दिनहरि सापकोटाले बताए  ।

गत आर्थिक वर्षमा सो भन्सार कार्यालयले १६ करोड ९४ लाख ४१ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । तर सो आवमा सात करोड ५० लाख ४० हजार रुपैयाँ मात्र राजश्व सङ्कलन भएको प्रमुख सापकोटाले बताए । ‘यस वर्ष हामी लक्ष्य प्राप्तिको नजिक पुगेका छौँ’, उनले भने ।

सत्ति भन्सार कार्यालयले प्रशासनिक सेवा शुल्कबापत ६४ हजार रुपैयाँ, बेरुजुबाट एक लाख रुपैयाँ, एकलौटी फार्म तथा व्यक्तिगत आयमा लाग्ने करतर्फ ४१ हजार रुपैयाँ, अन्तःशुल्क आयातमा २३ लाख ११ हजार रुपैयाँ, भन्सार महसुल आयातमा पाँच करोड एक लाख रुपैयाँ, कृषि सुधार शुल्कमा एक लाख आठ हजार रुपैयाँ, भन्सार सम्बन्धी अन्य आयमा ६ लाख ३९ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर आयातमा चार करोड ४६  लाख ९७ हजार रुपैयाँ तथा हरित करबाट चार हजार रुपैयाँ राजश्व सङ्कलन भएको प्रमुख सापकोटाले बताए ।

दोहोरो अंकले घट्यो नेप्से, कारोबार साढे ३ अर्बमा सीमित

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.८३ अंकले घटेको  छ । साताको पहिलो दिन आइतबार भएको शेयर कारोबारमा नेप्से घटेर २०३७.०९ को अंकमा आएको हो । आइतबार भएको शेयर कारोबारमा १९० वटा कम्पनीको शेयर मूल्य घट्यो भने जम्मा ४९ वटा कम्पनीको मात्रै शेयर मूल्य बढ्यो । त्यस्तै ७ वटा कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन ।

आज नेप्सेमा ९१ लाख ७८ हजार ८९५ कित्ता शेयर कारोबार हुँदा ३ अर्ब ६० करोड ७१ लाख ९८ हजार ४०७ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाए भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ६ : १९ बजे

अग्निपीडितलाई प्रवासी नेपालीको सहयोग

रामपुर– पूर्वखोला गाउँपालिका–६ हेक्लाङका अग्निपीडित छ परिवारलाई प्रवासी नेपालीले सहयोग

शिक्षकलाई शिक्षककै कटाक्ष- कुन नैतिकताले आफ्नै विद्यार्थीलाई बढी नम्बर दिएको ?

अहिलको परीक्षाको नतिजा सकारात्मक लाग्छ किनकि अघिल्ला केही वर्षसम्मको प्रणाली

नारायणगढ मुग्लिङ सडक एकतर्फी अवरुद्ध

चितवन– नारायणगढ मुग्लिङ सडक एकतर्फी अवरुद्ध भएको छ ।  सडक

‘ठूला मान्छेका भ्रष्टाचारका फाइल खोल्नेबित्तिकै सत्ता समीकरण फेरियो’

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका फाइलहरू खुल्न थालेपछि

डेङ्गु सङ्क्रमणको जोखिम रोक्न उच्च सतर्कता

नेपालगन्ज– भारतसँग सीमा जोडिएको बाँके जिल्लामा डेङ्गु सङ्क्रमणको जोखिम देखिएको