लेखनाथ रंगशाला घाँसेमैदानमा परिणत | Khabarhub Khabarhub

लेखनाथ रंगशाला घाँसेमैदानमा परिणत


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

गण्डकी– सोमबार साँझ केही युवा लेखनाथ रंगशालामा फुटबल खेलिरहेका थिए । खेलाडीले प्रहार गरेको बल घरी घाँसभित्र घरी हिलोमा पुग्थ्यो । यद्यपि उनीहरू उत्साहका साथ  खेलिरहेका थिए । मैदानको छेउमा किशोरहरू पनि फुटबल अभ्यासमा रमाइरहेका थिए। 

फुटबल, भलिबलदेखि सन्ध्याकालीन हिँडडुल र व्यायामका लागि पुगेकाहरूको चहलपहल रंगशालामा थियो । बिहानबेलुका करातेलगायत मार्सल आर्टका खेलाडी पनि अभ्यासका लागि त्यहाँ पुग्छन् ।

 कभर्ड हल नभएका कारण उनीहरू खुला आकाशमुनि अभ्यास गर्न बाध्य छन् । वर्षा याममा रङ्गशालाको ‘ट्रयाक’ हिलाम्मे हुने भएकाले अभ्यासपूर्व खेलाडीहरू दौडनसमेत पाउँदैनन् । 

आठ वर्षअघि निर्माण सुरू भएको बहुउद्देश्य कभर्ड हल बीचमै अलपत्र परेपछि ‘इन्डोर’ खेलको पनि चौरमै प्रशिक्षण गराउनुपर्ने बाध्यता छ । पोखरा महानगरपालिका– २९ स्थित यो रंगशालामा पूर्वाधार नहुँदा व्यवस्थित ढङ्गले खेल गतिविधि सञ्चालन गर्न कठिन भएको छ । पोखरा रंगशालाको विकल्प मानिएको लेखनाथ रंगशालामा भौतिक पूर्वाधार बनाउनुपर्नेमा स्थानीय खेलाडीले जोड दिएका छन् । 

आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङले रंगशालामा बनेका संरचना अलपत्र परेकामा दुखेसो गरे । रङ्गशालाको ट्रयाक मापदण्डअनुसारको नभएको उनले बताए। प्यारापिट पनि लथालिङ्ग छ । 

‘अहिले ठूला खेल प्रतियोगिता सञ्चालन गर्न सकिने अवस्था छैन’, उनले भने, ‘सामान्य खेल अभ्यासका लागि पनि पूर्वाधार अभाव छ ।’ 

पोखरा महानगरको खेलकुद विकास समितिका पदाधिकारी बजेट अभावले रङ्गशाला बन्न नसकेको बताउँछन् । आठ वर्षअघि रङ्गशालाभित्र निर्माण थालिएको बहुउद्देश्यीय कभर्ड हल पनि बजेट नहुँदा अलपत्र परेको छ । 

बजेट नहुँदा कभर्ड हल निर्माण तीन वर्षदेखि ठप्प छ । हालसम्म त्यसमा एक करोड १० लाख खर्च भइसकेको छ । आव २०७४ र २०७५ मा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट ११ लाख बजेटबाट कभर्ड हलको काम सुरु भएको थियो । 

राष्ट्रिय खेलकुद परिषद्ले रु ५० लाख, प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले २५ र तत्कालीन प्रदेशसभा सदस्य दीपक कोइरालाको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट २५ लाख बजेट खर्च भइसकेको छ । उक्त बजेटबाट भुइँतलाको पिलर र पर्खाल बनाइएको छ । पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले रङ्गशालामा पूर्वाधार तयार गर्न महानगर, प्रदेश र सङ्घ सरकारको लगानी चाहिने बताए । 

खेलकुद हेर्ने निकाय र खेल पदाधिकारीको उपेक्षामा लेखनाथ रङ्गशाला परेको उनको टिप्पणी छ । 

‘राज्यको स्रोतसाधन जुटाएर लेखनाथ रङ्गशालालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्नुपर्छ’, उनले भने। लेखनाथ रङ्गशालालाई पूर्वाधार सम्पन्न बनाउन पोखरा महानगरले अगुवाइ गर्नुपर्ने स्थानीयवासीको माग छ । 

कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँले पोखरालाई खेल पर्यटनको गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताए । 

‘खेल क्षेत्र सरकारको कम प्राथमिकतामा छ, पोखराको खेलकुद विकासमा प्रदेश सरकारले पनि वेवास्ता  गरिरहेको छ’, उनले भने।

-रासस

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  १२ : ३३ बजे

महिला टी-२० विश्वकप : इङल्याण्डको लगातार तेस्रो जित

काठमाडौं – आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत इङल्याण्डले स्कटल्याण्डलाई पराजित

चीनमा ग्यास चुहावट हुँदा सात जनाको मृत्यु, चार घाइते

जिनान – पूर्वी चीनको शानडोङ प्रान्तको एक बायोटेक कम्पनीमा शनिबार

डडेल्धुरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय भण्डारी पक्राउ

डडेल्धुरा । डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८

हवाई आक्रमणमा परी कम्तीमा २३ जना सुडानी नागरिको मृत्यु, ४० घाइते

खार्तूम – दक्षिणी खार्तूमको मुख्य बजारमा भएको हवाई आक्रमणमा परी

तनहुँ कारागारमा कैदीबन्दीको उपचारमा समस्या

तनहुँ । तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या भएको