मदन भण्डारी राजमार्ग : पुल बन्यो, सडक छैन | Khabarhub Khabarhub

मदन भण्डारी राजमार्ग : पुल बन्यो, सडक छैन

रूख कटान विवादले निर्माण ठप्प



विराटनगर– सरकारी निकायबीच समन्वय अभाव हुँदा मदन भण्डारी राजमार्ग अन्तर्गत पूर्वी खण्ड निर्माण कार्यले गति लिन सकेको छैन ।

तीन वर्षअघि नै ठेक्का लागे पनि सुनसरी, मोरङ, झापा र इलामका करिब २५ किलोमिटर खण्डमा परेका वन क्षेत्रमा सडक निर्माण कार्य रोकिएको हो । तीन वर्ष अघि ठेक्का लागि एक वर्ष म्याद थप गरे पनि वन क्षेत्रभित्र सडक निर्माण सुरु हुन सकेको छैन ।

वन क्षेत्र बाहिर करिब ३२ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । सरकारले रुख कटान अनुमति नदिएकै कारण न क्षेत्रमा भने सडकको अत्तोपत्तो छैन । ठूला र फराकिला सडकहरू वन क्षेत्रमा पुगेर टुङ्गिएका छन्‌ ।

मदन भण्डारी राजमार्ग अन्तर्गत झापादेखि सुनसरीसम्म सातवटा प्याकेजमा ९५.८ किलोमिटर सडक निर्माण भइरहेको छ । वन क्षेत्र नरहेका स्थानमा भने ३१.६८ किलोमिटर सडक कालोपत्रे भएको हो ।

वन क्षेत्रमा भने सडक विस्तारको काम रोकिन पुगेको छ । पहुँच मार्गसमेत निर्माण हुन नसक्दा निर्माण भइसकेका पुल पनि सञ्चालनमा आउन सकेको छैन ।

चार जिल्लाको चुरे क्षेत्र हुँदै निर्माण हुने सडक क्षेत्राधिकारमा २४.५ किलोमिटर वन क्षेत्र परेको छ । सडक निर्माणका लागि कुल १३ हजार ८५९ वटा रूख कटान रोकिएको छ ।

मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकका अनुसार झापादेखि सुनसरीसम्म सातवटा प्याकेजमा ९५.८ किलोमिटर सडक निर्माण भइरहेको छ । यो खण्डको २४.५ किलोमिटरमा पर्ने जङ्गलमा रहेका रुख हटाउने काम तीन वर्षदेखि रोकिएको छ ।

ठेकेदार कम्पनी मोतीदान निर्माण कम्पनीका प्राविधिक प्रह्लाद ढुङ्गानाले सरकारी निकायबीच समन्वय नहुँदा वन क्षेत्रमा रुख कटान रोकिएको र सडक निर्माण अलपत्र परेको बताए । सडक निर्माण ठेक्का लागेपनि सरकारी निकाय मदन भण्डारी राजमार्ग आयोजना कार्यालय र वन कार्यालयबीच समन्वयको अभाव देखिएको उनी बताउँछन्‌ ।

‘सडक निर्माण ठेक्का लागेर तीन वर्षदेखि काम भइरहेको छ,’ ढुङ्गाना भन्छन, अचम्मको कुराको कुरा त के छ भने तीन वर्ष बितिसक्दा पनि अहिलेसम्म पनि वनको समस्या ज्यूँ का त्यूँ छ। बस्तीमा सडक कालोपत्रे फराकिलो बनाउने काम भएका छन्, जब सडक वन क्षेत्रमा पुग्छ- नाम निशाना हराउने अवस्था छ ।’

मदन भण्डारी राजमार्ग आयोजना कार्यालयका इञ्‍जिनियर सुभासकुमार दत्तले वन क्षेत्रमा रुख कटानको सङ्ख्या तलमाथि परेकाले समस्या भएको बताए ।

‘सडक निर्माणको लागि गरिएको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) अनुसार फिल्डमा काट्नुपर्ने रुखको संख्या फरक पर्‍यो, इञ्‍जिनियर दत्तदले भने, फेरि ईआइए संशोधन गर्ने काममा हामी संलग्न हुनुपर्‍यो, समय लाग्यो । फाइल वन मन्त्रालयमा पुगेको छ। अब रूख कटानको निर्णय पर्खेर बसेका छौँ ।’ 

इञ्‍जिनियर दत्तका अनुसार सुनसरी र मोरङ जिल्लाको सर्वेसहितकै फाइल वन मन्त्रालयमा पुगेको दुई महिना नाघिसकेको छ । मन्त्रिपरिषदबाट निर्णय हुनासाथ रुख कटानको काम अघि बढ्नेछ ।

यी दुई जिल्लामध्ये वन क्षेत्रमा परेको सडकका लागि सुनसरीतर्फ ५ हजार ५०० र मोरङ तर्फ २ हजार १६३ रुख कटान गर्नुपर्नेछ ।

त्यसैगरी झापा र इलामका वन क्षेत्रको रूख कटान स्वीकृतिका लागि पनि आवश्यक फाइल वन विभागमा पठाइएको छ । ती जिल्लामध्ये झापातर्फ २ हजार ८०५ र इलामतर्फ ३ हजार ९९१ रुख कटान गर्नुपर्नेछ ।

‘स्वयम्‌ प्रधानमन्त्री ज्युपनि यही क्षेत्रबाट हुनु भएकाले मदन भण्डारी मार्गको पूर्वी खण्डको सडक निर्माणमा वन बाधक बनेकोबारे जानकार हुनुहुन्छ,’ इन्जिनियर दत्त भन्छन, ‘रुख कटान आदेश माग्दै पठाइएको फाइल दुई महिनादेखि वन मन्त्रालयमा थन्किएको छ। मन्त्रिपरिषदबाट जतिसक्दो चाँडो रूख कटान आदेशसम्बन्धी निर्णय भए अबको एक वर्षभित्र ठेक्का लागेको सम्पूर्ण सडक निर्माण पूरा हुनेछ ।’

कार्यालयका अनुसार मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा पुल र सडक गरेर करिब ११ अर्ब रुपैयाँको ठेक्का लागेको छ । सात प्याकेजमा भइरहेको सडक निर्माणको भौतिक प्रगति ५२ प्रतिशत छ ।

पहिलो प्याकेज अन्तर्गत सो सडकको सडकको ठेक्का सम्झौता २०७८ असार २९ मा भएको थियो । सोही अवधिमा धरानको सर्दु–भलुवाको २४.८ किलोमिटर, भलुवा खोला–बेलडाँगीको २८ किलोमिटर, मेचीडाँगी–शान्तिपुरको १० किलोमिटर र मेचीडाँगीदेखि पाटापुरसम्मको करिब तीन किलोमिटर सडक निर्माणको म्याद २०८० पुस २८ मै सकिएको थियो ।

यी चार खण्डको म्याद २०८१ पुस २७ सम्म थपिएको छ । त्यसैगरी थप दुईवटा प्याकेटमा नयाँ ठेक्का लागेर काम अघि बढेको कार्यालयले जानकारी दिएको छ ।

मेचीनगरस्थित पाटापुरसम्मको राजमार्ग अन्तर्गतको चुलाचुलीस्थित कमलखोला–रतुवा खोलासम्मको १२ किलोमिटर सडक निर्माणका लागि कुल ५२ करोड ४७ लाख रुपैयाँमा ठेक्का लागेको थियो ।

शान्तिपुर–शहादतस्थल (सुखानी) खण्ड (१७ किलोमिटर) सडक निर्माण गर्न पनि ८६ करोड ८२ लाख रुपैयाँमा एक वर्ष अघि नै ठेक्का लागेको हो । बीचको ३२ किलोमिटर खण्डको ठेक्का भने अहिलेसम्म लाग्न सकेको छैन ।

यी सडक जोड्न चार जिल्लामा ३५ पुल आवश्यक छ । ३५ वटै पुल बनाउन ६ अर्ब १२ करोड ६२ लाख रुपैयाँमा ठेक्का लागिसकेको छ । निर्माण कम्पनीले २२ पुल बनाइसकेको छ भने ६ वटा पुल निर्माणाधीन छन्‌ ।

वन क्षेत्रमा परेका ९ वटा पुल पनि तयार भइसकेको छ । तर रुख कटान नहुँदा पुलको दुबैतर्फ एप्रोच रोड (पहुँच सडक) नै बनाउन नसकिएको इञ्‍जिनियर दत्तले बताए ।

‘सबै पुल निर्माणको काम लगभग सम्पन्न भइसकेको छ,’ दत्त भन्छन्, ‘वनको झमेलाका कारण त्यहाँभित्र बनाइएका पुलको पहुँचमार्ग नै बनाउन सकिएको छैन । सडक निर्माण पूरा भएको खण्डमा अब पुलकै कारण आवतजावतमा समस्या हुने छैन।’

सरकारले वि.सं. २०७५ जेठ ६ गते उच्च प्राथमिकतामा पूर्व–पश्चिम जोड्ने वैकल्पिक सडक मदन भण्डारी राजमार्ग निर्माण कार्य अघि बढाउने निर्णय गरेको थियो । 

मेची नदीको किनारमा पर्ने झापा शान्तिनगरदेखि धरान, चतरा, गाईघाट, सप्तरी, सिन्धुलीमाडी, हेटौंडा, गैडाकोट, रामपुर, राम्दी, रिडी, तम्घास सिमलटारी, प्युठानको मच्छी, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बडिचौर, सिमचौर, बीपीनगर, सहजपुर, जोगबुडा हुँदै महाकाली नदीको किनार रुपालसम्म यो सडक जोड्ने लक्ष्य छ ।

भित्री मधेश राजमार्ग पनि भनिने यो सडक नेपालको पूर्वी सीमा (मेची नदी) देखि पश्चिमी सीमा (महाकाली नदी) सम्मको लम्बाइ करिब १२ सय किलोमिटर हुनेछ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ६ : १५ बजे

मालवाहक सवारी साधन भारवहन कार्यविधि कार्यान्वयन गर्न माग

काठमाडौं– नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले मालवाहक सवारी साधन भारवहन

पार्टी भित्रको गुटगत राजनीति अन्त्य गर्नुपर्छ : एनपी साउद

नवलपरासी– नेपाली कांग्रेसका नेता एनपी साउदले गुटगत राजनीति अन्त्य गरेर

 शेयर बजार लगातार ओरालो, कारोबार कति ? 

काठमाडौं– शेयर बजार तेस्रो दिन आज सोमबार पनि घटेको छ।

विलासी ल्यान्ड क्रुजरबारे विराज भन्छन्– घरमा नयाँ कलाकार थपिएकाले किन्नुपर्‍यो

काठमाडौं – बेला बेला नेपाली सेलिब्रिटीका सामान्य कुरा पनि चर्चामा

गण्डकीमा एक लाखबढी किशोरीलाई ‘एचपीभी’ खोप लगाइने

गण्डकी– गण्डकी प्रदेशमा १० देखि १४ वर्ष उमेर समूहका एक