बम पड्किएको घर माओवादीको सेल्टर, सेना पनि पुगिरहन्थ्यो | Khabarhub Khabarhub

दाजुबहिनी मृत्यु प्रकरण

बम पड्किएको घर माओवादीको सेल्टर, सेना पनि पुगिरहन्थ्यो

प्रहरी भन्छ- घरेलु विस्फोटक पदार्थ हो, कति पुरानो पत्ता लगाउँदैछौँ



काठमाडौं– पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाडागाउँ टोलमा बिहीबार विस्फोटक पदार्थ पड्किँदा दुई बालबालिकाले ज्यान गुमाए ।

स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्साको बम पड्किँदा ज्यान गएको हो ।

जिल्ला अस्पताल पाँचथरमा बिहीबार उपचार सम्भव नभएपछि झापाको बी एण्ड सी अस्पताल लाँदै गर्दा प्रिन्साले बाटैमा प्राण त्यागिन् । यस्तै दाजु दिप्सन साँवाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालका चिकित्सकले मृत घोषित गरे ।

दिप्सन र प्रिन्सा छिमेकी ज्ञानबहादुर राईका ११ वर्षीय छोरा पवनसँग खेल्न गएका थिए । त्यही क्रममा बम विस्फोट हुँदा घाइते पवनको उपचार जारी छ । ज्ञानबहादुरको परिवार माओवादी कार्यकर्तासमेत रहेका आइतराज केरुङको घरमा १० वर्षदेखि बस्दै आएको थियो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हेमन्त भण्डारीका अनुसार छिमेकी बालक ७ वर्षीय दिप्सन राईको अवस्था सामान्य छ । भाग्ने क्रममा दिप्सनलाई चोट लागेको थियो । उनी घरमै उपचाररत छन् ।

डीएसपी भण्डारीका अनुसार ज्ञानबहादुर बस्दै आएको घरका मालिक आइतराज माओवादी कार्यकर्ता हुन् । उनको घरपछाडिको झाडीमा बम जस्तै अर्को शंकास्पद वस्तु भेटिएको छ । त्यसलाई नेपाली सेनाले डिस्पोज गरिसकेको छ ।

‘होम मेड सकेट बम’ भन्ने कुरा आएको छ । सेनाले अनुसन्धान गरिरहेको छ । बिहीबार विस्फोट भएको पनि घरेलु सकेट बम नै भएको सेनाले जानकारी दिएको छ’, डीएसपी भण्डारीले खबरहबलाई भने, ‘घरपछाडिको झाडीमा बम रहेको पुष्टि भयो । यो पुरानै भन्ने खुलेको छ । शंकास्पद गतिविधि केही छैन । सेनाले खोजी गर्दा अरु भेटिएन ।’

स्थानीय मोतीजार केरुङका अनुसार आइतराजले १० वर्षघि नै ज्ञानबहादुरलाई घर जिम्मा लगाएका थिए । ज्ञानबहादुर सामान्य किसान हुन् । केरुङले घटनाबारे आश्चर्य व्यक्त गरेका छन् ।

पाँचथरका डीएसपी भण्डारीले घटनाबारे अनुसन्धान जारी रहेकाले बम कहाँबाट ल्याएको भन्ने नखुलेको बताए । ‘बम कसरी र कहाँबाट ल्याइयो ? अनुसन्धानमै छ ।

बच्चाहरू खेल्ने क्रममा घरभित्रैबाट ल्याएको भन्ने पनि छ । कुनै बच्चाले धुरीबाट खसेको पनि भनेका छन्’, उनले खबरहबलाई भने, ‘दुवै बच्चा साना भएकाले सामान्य सोधपुछ गर्‍यौँ । बाल मस्तिष्कमा असर पुग्ने कुराको पनि ख्याल गरेका छौँ । खास कुरा अनुसन्धानबाट पत्ता लाग्छ ।’

लडाकु थिए आइतराज ?

उता बम विस्फोट भएको घरका मालिक आइतराजले आफू माओवादी कार्यकर्ता भए पनि लडाकुका रुपमा काम नगरेको बताएका छन् ।

दश वर्षअघि नै घर ज्ञानबहादुरलाई जिम्मा लगाएको उनले बताएका छन् । ‘घर पहिले नै जिम्मा लगाएको हो । उहाँहरू (ज्ञानबहादुर) पनि सामान्य मान्छे हो । म माओवादीको कार्यकर्ता हो’, उनले भने, ‘तर मैले माओवादीको लडाकुका रुपमा काम गरेको छैन । तर युद्धका बेला मेरो घरमा माओवादी र सेना दुवै आइरहन्थे । अहिले म सदरमुकाम बस्छु ।’

उनले घरमा कसरी बम राखियो भन्ने खुलाउन सकेनन् । आइतराजले सदरमुकामबाट वर्षमा एक पटक मात्रै घर जाने गरेको बताए । तर घर र घर आसपासमा द्वन्द्वकालीन विस्फोटक पर्दाथ रहेकोबारे उनले अनभिज्ञता प्रकट गरे ।

बिहीबारको बम विस्फोटमा ज्यान गुमाएका दाजुबहिनीका बुवा दिलीप सावाँ पनि ०६६ देखि ०६९ सम्म आइतराजको घरमा बसेका थिए । त्यसपछि उनको परिवार नजिकै सरेको छ ।

पहिले पनि भएको थियो घटना

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का पूर्वप्रतिनिधि मंगल बेघाका अनुसार यसअघि पनि पाँचथरमा द्वन्द्वकालीन विस्फोटक पदार्थ पड्किएको थियो ।

०७४ वैशाख ४ गते हिलिहाङ गाउँपालिका–७ स्थित जंगलको ओढारमा बम पड्किएको थियो । त्यसबेला दुईजना घाइते भए । बाख्रा चराउन गएका १५ वर्षीया लक्ष्मी राई र १७ वर्षीय सुजन राईले ओढारमा आगो बालेपछि बम पड्किएको थियो ।

‘द्वन्द्वकलमा बेवारिसे छाडिएका बम विस्फोट भइरहेका छन् । नेपालाई बारुदी सुरुङमुक्त घोषणा गरिए पनि द्वन्द्वका अवशेषका रुपमा विस्फोटका घटना दोहोरिइरहेका’, उनले भने, ‘यसका कारण निहत्था सर्वसाधारणले ज्यान गुमाउनु परिरहेको छ ।’

यसो भन्छन् आइतराज

घटनापछि खबरहबको सम्पर्कमा आएका आइतराजले बिहीबारको घटनाबारे यसरी वृत्तान्त सुनाए ।

दुई बालबालिकाको मृत्यु भएको मेरो पुरानो घरमा हो । म अहिले सदरमुकाम फिदिम बस्छु । मेरो नाति, नातिनी पर्नेहरूको मृत्यु भएको छ । मैले सम्पूर्ण घर ज्ञानबहादुर राईलाई जिम्मा दिएको हो । त्यो घरमा मेरो एउटा दराज मात्रै छ । त्यसमा कागजपत्र छन् । हिजो म इलाम थिएँ । घरमा केही पड्कियो भन्ने खबर आउँदा, अचम्म भएँ । पड्कियो भन्ने खबर आउँदा मैले बिजुली सटेज भएछ भन्ने ठानेँ ।

घरपछाडि खिया परेको पानस बत्ती जस्तो पनि रहेछ । १५ वर्षसम्म नदेखिएको वस्तु एक्कासि कसरी आयो ? थाहा भएन । घटना शंकास्पद भयो । कसका कारण हो, थाहा भएन । म माओवादी कार्यकर्ता नै हो । तर, पूर्व लडाकु भने होइन । ‘जनयुद्ध’मा हतियार बोकेर हिँडेको थिइनँ । अहिले पनि माओवादी जिल्ला कमिटी सदस्य छु ।

त्यो क्षेत्रमा ०५७ सालदेखि ‘जनयुद्ध’को प्रभाव थियो । तत्कालीन शाही नेपाली सेना आउँदा भाग्नु–लुक्नु पथ्र्यो । मेरो त्यो घरमा दुई पटक सेनाले सर्च गरेको थियो । मूलघर अलिक तल छ । त्यहाँ पनि एक पटक सर्च गरेको हो । त्यसबेला नेभटिएको बम अहिले भेटिनु, पड्किनु रहस्यमय भयो ।

युद्धका बेला माओवादी लडाकु र शाही सेना त्यही बाटो हिन्थे । मेरो घरमा शंकास्पद वस्तु राखेको कुनै आशंका थिए । द्वन्द्वकालमा केही पटक गाउँमा दुई पक्षका सेनाबीच झडप भएको पनि हो । अब त घर छाडेको नै १५ वर्ष बितेछ । घर जिम्मा लगाएको ज्ञानबहादुरलले पनि बम कसरी आयो ? थाहा भएन भन्नुभयो । केही शंका भएकोबारे सोध्दा थिएन भन्नुभयो । ज्ञानबहादुरलाई पनि यसबारे केही थाहा छैन ।

कसरी यस्तो घटना भयो म अचम्मित छु । मैले घर जिम्मा लगाएको छु । उहाँहरूले मलाई त्यसवापद केही अन्न दिनुहुन्थ्यो । सानो बच्चाले बमबारे ठोस जवाफ दिएका छैनन् । अवैध हात हतियार भए कोही न कोही शंकास्पद व्यक्तिको गतिविधि हुनुपर्ने । त्यो बम कसले राख्यो ? कसैलाई नदेखी कसमाथि शंका गर्नु ? म तनावमा छु । पत्याउनै नसक्ने र दुःखद घटना भयो ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार  ३ : ४६ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन