ब्रेकिङ स्टोरी

झ्याप्ले खोलाको पहिरोमा दर्जनौँको ज्यान जाँदा कहाँ चुक्यो सरकार ?

By khbads

September 30, 2024

काठमाडौं– बिहीबारदेखिको अविरल वर्षाका कारण देशैभरको जनजीवन अस्तव्यस्त बन्यो । पछिल्लो तथ्यांकअनुसार बाढी तथा पहिरोबाट देशैभर १९३ जनाले ज्यान गुमाएका छन् । अझै ३१ जना वेपत्ता छन् ।

उक्त वर्षाका क्रममा पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ हुँदै काठमाडौं प्रवेश गर्ने नाका झ्याप्ले खोलामा तीनवटा सवारी साधन शुक्रबार राति पहिरोले पुरिँदा ३५ जनाले ज्यान गुमाएका छन् । नेपाली सेना र प्रहरीले शनिबार र आइतबार पहिरोमा पुरिएका शवहरू निकालेको थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले असोज ९ गते नै सूचना प्रकाशित गरेर १० गतेदेखि १३ गते आइतबारसम्मको मौसम पूर्वानुमान सार्वजनिक गरेको थियो । विभागले देशका केही स्थानमा अतिभारी वर्षा हुने भन्दै प्रतिकार्य तयारीमा जुट्न र सतर्क रहनुपर्ने क्षेत्रको नक्सा नै सार्वजनिक गरेको थियो ।

तर, महाशाखाको प्रक्षेपणपश्चात पनि सरकारले सतर्कता अपनाउन चुक्दा मुख्य राजमार्गहरूमा बाढीपहिरोले धेरै व्यक्तिको ज्यान गएको छ ।

मौसमी एलर्टको किन बेवास्ता ?

मौसम पूर्वानुमान महाशाखाले असोज १० गतेदेखि १३ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक गरिसकेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतकर्ताका लागि सूचना जारी गरेको थियो ।

गृह मन्त्रालयले पनि आफ्नो आधिकारिक फेसबुक पेजमा मौसम पूर्वानुमान महाशाखाको सूचनालाई शेयर गरेको थियो । तर, मौसम पूर्वानुमान महाशाखाले औंल्याएको खतराको सूचनालाई भने मन्त्रालय, प्रहरी र ट्राफिक प्रहरीलेसमेत गम्भीरतापूर्वक लिएनन् । उनीहरूले फेसबुकबाट सूचना मात्रै सेयर गरेर बसे ।

असार २८ गते मुग्लिङ–नारायणगढ राजमार्ग सडकखण्डको सिमतालमा दुईवटा रात्रिबस पहिरोले सोहोरेर त्रिशूलीमा खसालेपछि गृहमन्त्रालयले यातायात व्यवसायीका प्रतिनिधिहरूसँग छलफल गरेर मौसम पूर्वानुमान महाशाखाले ३ दिनअगाडि भारी वर्षा हुने पूर्वानुमान गरेको स्थानमा रात्रिबस सञ्चालन नगर्ने निर्णय गरेको थियो ।

काठमाडौं उपत्यकामा दैनिकजसो धेरै सवारीसाधन भित्रिनेमध्येको महत्वपूर्ण नाका हो पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ । मौसम पूर्वानुमान महाशाखाले ९ गते सार्वजनिक गरेको पूर्वानुमान अनुसार बागमती प्रदेशको दोलखाबाहेक सबै जिल्ला उच्च जोखिमयुक्त क्षेत्रमा थिए ।

तर, गृह मन्त्रालयले भने वर्षाको उच्च जोखिमको पूर्वानुमानका आधारमा सार्वजनिक सवारी साधनको रात्रिकालीन सेवा रोक्न जिल्ला प्रशासन कार्यालयहरूलाई कुनै औपचारिक पत्राचार वा सर्कुलर जारी गरेन । जिल्ला प्रशासन कार्यालयहरूले पनि आफू मातहतका प्रहरी र ट्राफिक प्रहरी कार्यालयलाई गम्भीर रुपमा सचेत गराएर नखटाउँदा झ्याप्ले खोलामा दुर्घटना भएको देखिन्छ ।

धादिङ प्रशासन भन्छ– आह्वान गर्‍यौँ, बन्द गरेनौँ

अविरल वर्षाले पुर्‍याएको मानवीय र भौतिक क्षतिपछि गृह मन्त्रालयले काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं र राजेन्द्रदेव पाण्डेलाई फिर्ता बोलाइसकेको छ । नेपाल प्रहरीले धादिङका प्रहरी प्रमुखलाई पनि हेडक्वार्टर तानेको छ ।

तर, जिल्ला प्रशासन कार्यालयहरूले भने उचित निर्देशन नपाएका कारण विषम परिस्थितिमा सार्वजनिक सवारी साधन रोक्न नसकिएको बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानअनुसार बागमती क्षेत्रका अधिकांश भूगोल उच्च जोखिममा रहेको देखिए पनि सार्वजनिक यातायातका साधन रोक्न गृह मन्त्रालयबाट औपचारिक सर्कुलर गरेको थिएन ।

सतर्क रहन मात्रै आह्वान गरिएकाले त्यही आधारमा जिल्ला प्रशासन कार्यालयले काम गरेको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी युवराज अर्यालले खबरहबलाई बताए ।

‘पूर्णरूपमा रोक्ने भनेर सर्कुलर आएको होइन, त्यो आह्वान हो, हामीले पनि आह्वान गरेका हौँ’, उनले भने, ‘मान्छेका आ–आफ्ना बाध्यता होलान्, कतिपयको पुग्नैपर्ने इमेर्जेन्सी पनि होला, कतिपयले के हुन्छ र सधैँ यस्तै हुन्छ भनेर लापरबाही गरेका होलान्, त्यसो भएर गाडी राजमार्गमा चले होलान् ।’

सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले चितवन, मुग्लिङ र काठमाडौं नाकामा सवारी साधन नरोकी धादिङमा रोक्न सम्भव नहुनेसमेत बताए ।

‘गृह मन्त्रालय, प्राधिकरणले आह्वान गरेको हो, हामीले पनि प्रशासन कार्यालयको वेब पेजमा राखेका छौं, कडाइका साथ बन्द नै गर्न यहाँ सम्भव छैन’, उनले भने, ‘कि नारायणगढमै रोक्न पर्यो, कि नागढुंगामै रोक्न पर्यो, बीचमा रोक्न त गाह्रो हुन्छ, किनकी त्यो अव्यवहारिक जस्तो हुन्छ ।’

बाध्यकारी नियमसहित गेट लगाएर रोक्ने काम नगरेको भन्दै उनले मौसम र बाटोको अवस्था हेरेर छोड्न सर्कुलर भएको बताए । मन्त्रालयदेखि सबैले आह्वान गर्दा वर्षाको समयमा सवारी साधन कम सञ्चालन भएको उनको भनाइ छ ।

त्यस्तै, तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सिमलताल घटनापछाडि गृहमन्त्रालयले फेरि नयाँ सर्कुलर जारी नगरेको तर, आफूहरूले विपद् प्राधिकरणको सूचनाका आधारमा रात्रिकालीन समयमा सार्वजनिक सवारी साधन रोक्ने काम गरेको बताए ।

राजमार्गको लामो दूरीमा मन्त्रालयको तर्फबाट देशैभरका प्रशासनमा उचित समन्वय गरेर सवारी साधन नरोकेको जिल्ला प्रशासन कार्यालयहरूको भनाइले देखाएको छ । जसले गर्दा दिउँसोको समयमै कहाँबाट छुट्न दिने वा नदिनेबारे औपचारिक निर्देशन मन्त्रालयले नगर्दा लामो दूरीमा सवारी साधन छुटेको देखिन्छ ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले रात्रिकालीन सवारी साधन सञ्चालन नगर्ने भनिएको तर, दिवा सेवाका गाडी नै विपत्तिमा परेको बताए । विपत्तिलाई लिएर सरकार र व्यवसायीबीच राम्रो समन्वय हुन नसकेको उनले बताएका छन् ।

‘यो विषयमा हामीबीच उचित समन्वय अभाव देखियो, रात्रिकालीन सवारी साधन सञ्चालन नगर्ने भन्ने थियो तर, दिवा सेवा सञ्चालन नगर्ने भन्ने त थिएन’ उनले भने, ‘हामीले यो विपत्ति होला भनेर अनुमान गरेका थिएनौं, सिमलताल घटनाबाट एउटा पाठ सिकेका थियौं, अहिलेको घटनाबाट अर्को पाठ सिकेका छौँ ।’