बराह सहकारीमा अर्बौं हिनामिना : मुख्य सञ्चालक भागेपछि नातागोतासहित ९ जना पक्राउ | Khabarhub Khabarhub

बराह सहकारीमा अर्बौं हिनामिना : मुख्य सञ्चालक भागेपछि नातागोतासहित ९ जना पक्राउ

अध्यक्षलाई घरमा नभेटेपछि श्रीमतीलाई समात्यो प्रहरीले



सुनसरी– बचतकर्ताहरूको करोडौँ रुपैयाँ अपचलन गरेको आरोप खेप्दै आएको धरानको बराह बचत तथा ऋण सहकारी संस्थामा प्रहरीले ताला लगाएको छ। कार्यालय सिल गरेसँगै उक्त सहकारी संस्थासँग सम्बन्धित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीले तीन दिनको अवधिमा बेग्ला बेग्लै समयमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सञ्चालक समितिका सदस्य विष्णु ताम्राकार, सहकारीका लेखापाल अपना श्रेष्ठ, ऋण उपसमिति सदस्य अस्मिता भण्डारी, लेखा सुपरिवेक्षण समिति संयोजक सुदिन ल्वागुन, सञ्चालक सदस्यहरू शेरबहादुर महत क्षेत्री, सरिता कालिकोटे, रवि पोर्तेल, जतनमाया विश्वकर्मालगायत छन् ।

जिल्ला प्रहरी कार्यालय, सुनसरीको टोलीले सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्मालाई घरमा नभेटेपछि उनकी पत्नी संगीता विकलाई पक्राउ गरेको हो ।

त्यस्तै, ऋण उपसमिति संयोजक गंगा कालिकोटेलाई नभेटेपछि उनकी पत्नी सुधा कालिकोटेलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई इनरुवास्थित जिल्ला प्रहरी कार्यालयमा लगिएको छ ।

बराह ग्रुप अफ कम्पनीका अध्यक्ष शिव लामिछाने, सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्मा, ऋण समिति संयोजक गंगा कालिकोटे, सञ्चालक सदस्य अमरबहादुर विक लगायत फरार छन् । उनीहरूले कम्पनी र बराह सहकारीमार्फत सर्वसाधारणले जम्मा गरेको १४ अर्ब रुपैयाँभन्दा बढी रकम डुबाएको बताइएको छ ।

प्रहरीले धरान उपमहानगरपालिका-८ धनकुटेमार्गस्थित सहकारी संस्थाका कम्प्युटर र कागजपत्र (खातापाता) प्रहरीले अनुसन्धानका लागि जफत गरेर लगेको छ ।

प्रहरीले सहकारी संस्थाको कार्यालय सिल गर्दै धरान उपमहानगरपालिकालाई चाबी बुझाएको छ । प्रहरीले इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, वडा अध्यक्ष र सहकारी पीडितको रोहवरमा ताला लगाएर सिल गरेको हो ।

सहकारी संस्थामा सिलबन्दी गर्दै नौ जनालाई पक्राउ गरेपछि प्रहरीले बराह बचत तथा सहकारी संस्था लिमिटेडका बचतकर्ता र सेयर धनीलाई आफैँ उपस्थित भई उजुरी दिन आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रामप्रसाद तिम्सिनाका अनुसार बराहका मूल्य सञ्चालक मानबहादुर विश्वकर्मा, गंगा कालिकोटे, शुभराव खाती लगायतविरुद्ध परेको जाहेरीका आधारमा सहकारी ठगीसम्बन्धी कसूरमा अनुसन्धान गर्न रकम फिर्ता नपाएकालाई थप उजुरीका लागि सूचना जारी गरिएको हो । शनिबार पक्राउ पुर्जी जारी भएको सूचना चुहिएपछि उनीहरू फरार भएको बताइएको छ ।

बराह सहकारीपीडित शंकर थापा क्षत्री लगायत २६ जनाले दिएको जाहेरीका आधारमा अनुसन्धानका लागि कर्मचारी र आफन्तलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत सुनसरीबाट २९ जनाको नाममा पक्राउ पुर्जी जारी भएको पछि प्रहरीले फरार सहकारी सञ्चालकहरूको खोजी तीव्र बनाएको प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले बताए । आवश्यक सम्पर्क र समन्वयका लागि प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद तिम्सिना र सह-प्रवक्ता एवम् प्रहरी निरीक्षक दिनेश अधिकारीलाई तोकिएको छ ।

स्थापनाकालमा धरानका लाहुरेहरूलाई लक्षित गरेर बराह ज्वेलरी इण्डष्ट्रिज प्राली नामले दर्ता गरेर सुनचाँदी र अन्य कारोबार सुरु गरेको थियो । ०६९ माघ अगाडिसम्म बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिका संस्थापक अध्यक्ष इन्द्र लामिछाने (विश्वकर्मा)  थिए ।


उनी  त्यही सालको पुसमै हङकङ गएका थिए । माघ १२ गते देखि बेपत्ता भएपछि खोजी गर्दा एकसाता पछि हङकङको मंकीहिलामा रुखमा झुण्डिएर मृत फेला परेका थिए । उनको मृत्युपछि बराह कम्पनीमा हलचल भयो । उनका छोरा शिव लामिछाने (विश्वकर्मा)ले कम्पनीको बागडोर सम्हाले पनि सफल हुन सकेनन् ।

सहकारीमार्फत् करिब १३ हजार बचतकर्ताहरूले ५० हजार रुपैयादेखि ३० करोड रुपैयाँसम्म जम्मा गरेको करिब ९ अर्ब रुपैयाँ अपचलन भएको चर्चा चल्न थालेपछि बचतकर्ताहरूले रकम फिर्ता माग्न थालेका थिए ।

यसैबीच सहकारीले आफ्नो १२ औँ वार्षिक साधारण सभामा तीन करोड खुद मुनाफा गरेको भनेर हिसाब देखायो । उक्त नाफा रकम शेयर सदस्यहरूको खातामा जम्मा गरिदिने बतायो । तर बचतकर्ताले मागेको ५ हजार रुपैयाँ पनि फिर्ता गर्न नसक्ने अवस्थामा पुगेपछि पीडित बचतकर्ताहरूले संघर्ष समिति बनाएका थिए ।

कुनैबेला सुकुम्बारी बस्तीमा जीविका चलाउने, सामान्य चप्पल र साइकल चढ्ने बराहका सञ्चालक सदस्यहरू अहिले आलिशान महल, तीन करोडभन्दा बढी मूल्य पर्ने लक्जरी सवारी साधन किनेर प्रयोग गर्ने हैसियतमा पुगेका छन् । एक डेढ दशकमै यति छिटो आर्थिक उन्नति गर्न सम्भव हुँदैन । तर सर्वसाधारण र विशेषगरी लाहुरे समुदायलाई महंगो ब्याजको लोभ देखाएर रकम बचत गर्न लगाए ।

यता संघर्ष समिति पनि दुई धारमा बाँडिए । एक पक्षले बराह कम्पनी र सहकारीलाई फेरि व्युताउनुपर्ने र धरानको आर्थिक गतिविधि चलायमान बनाउन भनेर पीडितहरूबाटै ६ करोड भन्दा बढी रकम जम्मा गरेर रोक्का गरिएको बराहको सम्पत्ति उकासेर सपिङ कम्प्लेक्स, व्यापार व्यवसाय सञ्चालन गर्नु पर्छ भन्ने एक पक्ष थिए ।

अर्को पक्ष कानूनी कठघरामा उभ्याएर बचत कर्ताको रकम फिर्ता गर्नु पर्छ भन्ने थिए । कतिपय लाहुरे समुदाय आफ्नो डुबेको करोडौँ रकम फिर्ता हुन्छ कि भनेर पाच सात लाख खर्च गर्न तयार पनि भएका थिए ।

यसैबीच ०८१ भदौ २३ गते बराह ग्रुपका अध्यक्ष शिव लामिछानेले सार्वजनिक अपिल जारी गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पहिचानसहितको बजार विस्तारका क्रममा लागिरहँदाकै अवस्थामा सहकारी संस्थामा आएको केही असहज परिस्थितिले दुर्घटना व्यहोर्न बाध्य भएको र  लगानी चाहे कम्पनीमा सोझै या सहकारी मार्फत होस् यसको शतप्रतिशत सुरक्षाको जिम्मेवारी कम्पनी सञ्चालक तथा सहकारीका सञ्चालक रहने प्रतिबद्धता व्यक्त गरे ।

उनले कसैले द्विविधा हुन आवश्यक नरहेको बताउँदै आफूहरूले कम्पनीको जिम्मेवारी लिने आस्वस्त पार्दै विकल्पसहित व्यवस्थापन गरी बचतकर्ताको हरहिसाब मिलानमा नयाँ तरिका अपनाउने उनीहरूले बताए । भनेका थिए, ‘यसका लागि कानुनी, व्यावहारिक र व्यावसायिक तीनवटै बाटाको उच्चतम् प्रयोग गरी यथाशक्य चाँडो सबल र सफल अवतरण गर्ने प्रयास भइरहेको छ । जुन कुरा व्यवहारमै स्पष्ट छ । यस विषम परिस्थितिलाई सन्तुलित बनाई कार्य गर्ने सिलसिलामा बराह ग्रुप अफ व्यबहारमा स्पष्ट छ । यस विषम परिस्थितिलाई सन्तुलित बनाई काम गर्ने शिलशिलामा बराह ग्रुप अफ कम्पनीले ड्रिम ल्याण्ड रियम स्टेट प्रालिसँग सहयात्रा गरी तपाईंहरूसँग निरन्तर सम्पर्कमै छ । थप कानुनी समस्या समाधान गर्न विद्वान कानुन व्यवसायी निरन्तर लागिरहनु भएको छ । आर्थिक सन्तुलन तत्काल हुने गरी केहि प्याकेजहरु बनाइएका छन् । आगामी आश्विन महिनाको पहिलो सप्ताह सम्ममा यसको विस्तृत योजना तपाईंहरूमाझ ल्याइपुर्‍याउने छौँ।’

तर यो आश्वासन र प्रतिबद्धता काम लागेन । शिव लामिछानेको यो अपिलले बचतकर्ताहरू झन् दोधारसँगै बिलखबन्दमा परे । संघर्ष समितिको अभियानलाई निस्तेज बनाउने काम उनको अपिलले गर्‍यो । तर बचतकर्ताले आफ्नो रकम कहिल्यै फिर्ता पाएनन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका सदस्य प्रदीप बास्तोलाकाअनुसार धरानको बराह सहकारीले बचतकर्ताको करिब ९ अर्ब रकम अनियमितता गरेको छ।

हालसम्म ९० जनाले प्रहरीमा उजुरी दिइसकेका छन् । अब ८ हजार बचतकर्ताले जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिने तयारी गरेको उनले बताए । बचत दुरुपयोग गर्नेहरूमा कम्पनी सञ्चालक, सहकारीका समिति, उनीहरूका आफन्त, पूर्वकर्मचारीलगायत गरी करिब ३५ जना छन् ।

धरानमा बराहले बराह ज्वेलरी इण्डिस्ट्रिज प्रालि अन्तर्गत भानुचोकमा र धनकुटे रोडमा करोडौंको सपिङ कम्प्लेक्स निर्माण गरेको छ । बराह ग्रुपमा सहकारीसहित अभिमत सेभिङ एण्ड क्रेडिट लिमिटेड, दुबईमा अल बराह मिनी मार्केट एलएलसी, बराह बालसंसार, बरा ज्वेलरी  इन्डस्ट्रिज प्रालि, बराह फेमिली किचन, चितवनमा नारायणी बराह ज्वेलरी नारायणी, गोर्खा बराह ज्वेलरी पोखरा, इन्द्र बराह ज्वेलरी हङकङ, इन्द्र बराह ट्राभल्स एण्ड टुर्स, कृपा दृश्य डिजिटल प्रालि छन् । विदेशमा हङकङको जोडर्नमा, दुबईमा र बेलायतको अल्डरसटमा पनि शाखा रहेका बताइएको छ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  २ : ०१ बजे

छिन्नमस्ता गाउँपालिकाद्वारा निःशुल्क विद्युतीय मिटर वितरण

सप्तरी – जिल्लाको छिन्नमस्ता गाउँपालिकाले विद्युत् पहुँचबाट टाढा रहेका पालिकाभित्रका

म्यान्माको सैनिक सरकारद्वारा छ हजार कैदीलाई आममाफी दिने

म्यान्मा – म्यान्मारको जुन्टा सरकारले देशको स्वतन्त्रता दिवसको उपलक्ष्यमा वार्षिक

बाँके राष्ट्रिय निकुञ्जमा बाघको आहारा बढाउन घाँसे मैदान क्षेत्र बढाइँदै

बाँके – बाघ संरक्षणका लागि विसं २०६७ मा स्थापना गरिएको

तीन पुस्ताको सहकार्यमा तयार भयो ‘सपनीमा’

काठमाडौं – नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ का लागि

सर्वोच्च बारको अध्यक्षमा पोखरेल विजयी

काठमाडौं – सर्वोच्च अदालत बार एशोसिएसनको निर्वाचनमा लोकतान्त्रिक समूह विजयी