किसानको श्रममा त्रिपुरासुन्दरीको काँध : गुन्द्रुकदेखि दुनाटपरासम्म गाउँमै खरिद | Khabarhub Khabarhub

किसानको श्रममा त्रिपुरासुन्दरीको काँध : गुन्द्रुकदेखि दुनाटपरासम्म गाउँमै खरिद

घरमै बजार मूल्य पाएपछि किसान उत्साही



आफूले तिरेको तिरो आफ्नै घरगाउँको विकास निर्माणमा खर्च गर्ने राजनीतिक अवधारणाबाट संघीय राजनीतिक व्यवस्था निर्देशित छ । तर अधिकार बाँडफाँड, पार्टीहरूको राजनीतिक खिचातानी र नेताहरूको स्वार्थले व्यवहारमा आसलाग्दो अवस्था देखिन सकेको छैन ।

हरेक नागरिकले घरदैलोमा पाउनु पर्ने सेवा, सुविधाका अप्ठ्यारा फुक्न सकेका छैनन् । सुशासनका विषयमा धेरै प्रश्न उठेका छन् । यति हुँदाहुँदै पनि चाँदीको घेराका रूपमा स्थानीय जनप्रतिनिधिको इच्छाशक्तिका कारण अभूतपूर्व काम भएका छन् ।

घरघर गएर बृद्धभत्ता, नागरिकता बाँड्ने, थातथलो छोडेर अन्यत्र गएकाहरूलाई समेत घरघरमा गएर सेवा दिएका उदाहरण प्रशस्तै छन् । यही माहौलबीच स्थानीय सरकारले कति राम्रोसँग काम गर्न सक्छ भन्ने उदाहरण सिन्धुपाल्चोकस्थित त्रिपुरासुन्दरी गाउँपालिकाले दिएको छ ।

सानो इकाईमा रहेर कति उत्कृष्ट काम गर्न सकिन्छ भन्ने देख्न सकिन्छ । गाउँमा कृषि उपज बिक्री केन्द्रको स्थापना गरेर ‘मुठीदेखि मुरीसम्म’ को उपज खरिद बिक्री गरिरहेको छ । जसले कृषकलाई आफ्नो उत्पादन कहाँ लगेर बेच्ने भन्ने चिन्ता छैन । काठमाडौंस्थित कालीमाटी तरकारी बजारको मूल्य किसानहरूले पाइरहेका छन् ।

स्थानीय सरकारसँगको सहकार्यमा निजीक्षेत्रले यसको जिम्मा लिएको छ । जसमा हालसम्म ६ वटा संकलन केन्द्र स्थापना भएको छ । मुख्य खाडीचौर संकलन केन्द्र हो । खाडीचौरका संकलक तथा त्रिपुरासुन्दरी कृषक समूह संघका अध्यक्ष सम्राटध्वज बोहराले स्थानीय सरकारले निकै सर्‍हानीय काम गरेको बताए । उनले अनलाइनमार्फत पनि कृषि उत्पादन खरिदबिक्री गरिरहेका छन् ।

बोहोराले किसान र माटोसँगको प्रेम र लगावको बारेमा यसरी सुनाए :
यो २०८१ असार १६ गतेबाट सुरु गरिएको हो । गाउँपालिकाको पाँच लाख रुपैयाँको सहयोग छ । स्नातक तहको पढाई बीचमै छोडेर काममा लागेँ । किसानको उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले युवाले अभियानस्वरुप काम थालेका छन् । बाँकी व्यक्तिगत लागत परेको छ । खाडीचौर संकलन केन्द्रमा १० लाखको लगानी गरेका छन् ।

सरसफाइमा ध्यान दिनुपर्छ । हामीले उधारो नराखी नगदमा खरिद गर्छौ । एक हातले किसानको उत्पादन लिने र अर्को हातले भुक्तानी गर्ने नीति हो । अहिले स्थानीय तहमा उत्पादन भएका धेरै सामान यहाँ आइपुगेको छ । र व्यापारको ग्राफ पनि निकै राम्रो छ । हरियो सागपात वा छिटो बिग्रन्छ । त्यसको लागि सञ्चय गरेर गुन्द्रुक बनाउने तयारीमा छौँ ।

त्यो काम छिट्टै सुरु हुन्छ । अहिले प्रशोधन गर्न नसकेको तरकारी फालिरहेका छौँ । छिटो कुहिने तरकारीको लागि गाउँपालिकाले चिस्यान केन्द्र स्थापना गर्ने तयारी छ । केही महिनामै त्यो सुरु हुन्छ । थप दश जनालाई रोजगारको पनि सिर्जना हुन्छ । अहिले प्रशोधन गर्न नसकेको तरकारी फालिरहेका छौँ । छिटो कुहिने तरकारीको लागि गाउँपालिकाले चिस्यान केन्द्र स्थापना गर्ने तयारी छ । केही महिनामै त्यो सुरु हुन्छ र थप दश जनालाई रोजगारको सिर्जना हुन्छ ।

स्थानीय तहमा उत्पादन साग, आलु, फलफूल, निगुरो, क्याण्डी, घिउ, दही, मही र दुना टपरीसमेत खरिदबिक्री हुन्छ । महिलाहरूको एक समूहले सिस्नोको पाउडर उत्पादन गरेका छन् । हामीले स्थानीय तहमै बेचिरहेका छौँ । अनलाइन मार्केटिङ गरिएको छ । काठमाडौंतिरबाट आएकाहरूले पनि लगिरहेका छन् ।

यहाँका कृषकहरू निकै खुसी भएका छन् । अध्यक्षज्यूको आइडियाले नै यो सुरु गरिएको हो । किसानहरूले सामान ल्याउँदा भाडा अलि महँगो पर्‍यो भन्ने गुनासो गरेपछि हामीले आफै एउटा गाडी किनेका छौँ । त्यो गाडीले अब किसानको घरदैलोमा पुगेर सामान बोक्छ ।

नगरपालिकाको गाडी फोहोर लिन आएजस्तो रुट बनाएर उक्त गाडी किसानको पिँढीमै पुग्छ । त्रिपुरासुन्दरीको ब्राण्डिङ बनाएर हाम्रो उत्पादन काठमाडौंसम्म जोड्ने तयारीमा जुटिरहेका छौ । एक दर्शन काँचो केरा ४० रुपैयाँ दर्जन बेचिरहेका कृषकले तीनै केरा हामीले ८० रुपैयाँसम्ममा किनिदिएका छौ ।

त्यसलाई हामीले सय रुपैयाँसम्ममा बिक्री गरेका छौ । यो एक उदाहरण मात्रै हो । समग्रमा किसानले उचित मूल्यमा आफ्नो उत्पादन बिक्री गर्न पाएका छन् । यसरी काम गर्दा बिचौलियाको अन्त्य हुन्छ । यसले किसान र उपभोक्तालाई मारमा पर्नबाट जोगाउँछ । हाल अनलाइनमा हामीले तरकारीको मूल्य राख्दा उपभोक्ताले पत्याइरहेका छैनन् ।

हाम्रो मूल्यमा कुनै बिचौलिया पस्न पाएको छैन । मेरी श्रीमती देवी तामाङ र मैले रातदिन खटिएर काम गरिरहेका छौँ । उधारो किन्ने पनि गरेका छैनौ । बेच्ने पनि गरेका छैनौँ । गाउँपालिकाले दिएको सहयोग धेरै सानो हो । यसमा हाम्रै लगानी परेको छ ।

सरकारको मात्रै लगानी हुन्थ्यो भने यो केही समयमा बन्द हुन्थ्यो । तर निजी हाम्रो लागत छ । त्यसकारण यसले दीर्घकालीन काम गर्छ भनेरै लागि परेका छौँ । उनी २४ घण्टा खटिएकी छन् । पसलमा सबै काम गर्छिन् । गाउँपालिकासँगै अर्को मुख्य यसको श्रेय श्रीमती देवीलाई जान्छ ।

हामीले २० वर्ष यसरी खटिएर काम गर्ने योजनामा छौँ । त्यसपछि यो अर्कोले गर्छ । स्तम्भ तयार गरिदिएपछि तला थपिँदै जान्छ । मेरो सपना नै किसानसँग काम गर्ने हो । बिहान किनेको तरकारीको वजन बेलुका कम हुँदै जान्छ । यस्ता घाटामा स्थानीय तहले सहयोग गर्दा सहज हुन्छ ।

हामी श्रीमान् श्रीमती स्पेन जाने भनेर तयारीमा थियौँ । साढे दुई लाख जति खर्च पनि गर्‍यौ । तर हामीले सोचेजस्तो यो देशमा केही गर्न सकिन्न भन्ने पनि छैन । मरुभूमिमा गएर तरकारी खेती गर्ने, आफ्नो देशमा नगर्ने । हामीसँग प्रशस्त बारी छन् । विदेशबाट फर्किएका धेरै मानिसहरू कृषि कर्ममै जोडिएका छन् ।

उनीहरूले विदेश गएर कृषि बुझे । त्यसको लागि सबै विदेश नै जानुपर्छ भन्ने छैन । युरोप जाने अधिकांश नेपाली कृषिमै काम गर्ने हो । पीआर भएका उतै बस्लान् । जो केही वर्ष विदेशमा बसेर स्वदेश नै फिर्ता हुन्छन् । उनीहरू अधिकांश आफ्नै पुरानो कृषिमै फर्किने हो । त्यसो हो भने आजैदेखि कृषि किन नगर्ने ?

कसैले उत्पादन गर, कसैले बजारमा लगेर बेच । मैले आज कृषकको उत्पादन बेचिरहेको छु । सँगसँगै अब मौरी पालनमा जोडिँदै छु । कम्तीमा जेसुकै व्यापार व्यवसाय गरे पनि हप्तामा एक दिन माटोसँग खेल्नुपर्छ । मानसिक र शारीरिक स्वास्थ्यको लागि माटोसँग खेल्नु आवश्यक छ ।

हरेक गाउँपालिकाले यसरी नै काम गर्ने हो भने महिनामा ५० हजार कमाउन कुनै नेपालीले खाडी जानुपर्दैन । युरोप गएर लाख कमाउनु भन्दा घरमा परिवारसँग बसेर हजार कमाउनु बढी हो । वैदेशिक रोजगारले कति परिवार विखण्डनमा परेका छन् ? यसको न्यूनीकरणको लागि विदेश जानुबाट रोक्नु नै हो ।

किसानको  उत्पादन बिक्री र भुक्तानी आउँछ भन्ने कुरामा ढुक्क बनाइदिने हो भने उत्पादन बढ्छ । धेरै यस क्षेत्रमा जोडिन्छन् । गाउँमा उधारो खाइदिएर पैसा नतिर्ने रहेछन् । यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्छ ।

अहिले घिउको बजार निकै राम्रो छ । राम्रो उत्पादनको लागि ग्राहक खोज्नु पर्दैन । गाउँको भनेपछि उपभोक्ताले मूल्यमा लोभ गर्दैनन् । स्वच्छ उत्पादन खोज्नेहरू छन् । अहिले मान्छेहरूसँग पैसा छ, उनीहरू अर्ग्यानिक खानेकुराहरू खोजिरहेका छन् । बजारले खोजेकै कुरा बेच्नु नै व्यापारीको धर्म हो ।

किसानसँग काम गर्दाको खुसी अर्को क्षेत्रमा छैन । मलाई यो देशमै मर्नु छ । यो देशमा करोडौँको गुन्द्रुकको आयात हुन्छ । पहिले म आफै मोबाइल व्यवसायी हो । त्यो छोडेर कृषिलाई रोजेँ । यसको निकै ठूलो बजार छ । आज विदेशमा बसेर चार लाख कमाइरहेछु छु भनेर खुसी हुने होइन । हामी युवाले देशको बारेमा नसोचे कसले सोच्छ ?

देशमै लगानी नगरे कसले बनाइदिन्छ हाम्रो देश ? अर्को पुस्ता पनि विदेशै जाने ? युवा कोही पर्यटन क्षेत्रमा, कोही आईटी क्षेत्रमा अथवा आफ्नो विज्ञता अनुसार आफ्नै देशमा काम गरौँ । यो देशमा सम्भावना छैन भनेर पलायन नहोऔँ ।

कृषिमा नजोड्ने हो भने गाउँ युवाविहीन बन्छ : अध्यक्ष

सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले अबको पुस्तालाई कृषिसँग नजोड्ने हो भने गाउँ युवाविहीन बन्ने बताएका छन् । उनले भने, ‘हाम्रो तीनै तहको सरकारले पूर्वाधार विकासमा मात्रै जोड दिएका छन् । पूर्वाधार पनि विकासको महत्त्वपूर्ण आयाम हो । तर त्यो सँगसँगै सामाजिक र मानवीय विकासलाई पनि लैजानु पर्छ ।’

‘गाउँ युवाविहीन बन्ने स्थितिमा छ । देशको समग्र विकासको लागि युवा शक्ति परिचालन गर्नुपर्छ । उनीहरूलाई आयआर्जनसँग जोड्न सकिएन भने रोक्न सकिन्न, बोहरा प्रश्न गर्छन् ‘नेपालले एकै पटक ठूला उद्योग खोलेर रोजगार सिर्जना गर्न सक्ने स्थिति छैन । तर हामीले गर्दै आएको कृषिलाई नै किन व्यावसायिक नबनाउने ?’

कृषि राज्यको प्राथमिकतामा नपर्दा युवापुस्ता विदेशिनु परेको अध्यक्षको आरोप छ । भन्छन्, ‘हामीले कृषि उत्पादन आयात मात्रै रोक्न सक्यौँ भने धेरै प्रगति गर्न सक्छौ । निर्यात गर्नतिर लाग्यौ भने अझ आर्थिक क्षेत्रमा अर्को खुट्किलो उक्लिन सक्छौँ । गान्धीको नीति भनेको स्थानीय स्रोत र साधन र सीपको प्रयोग हो । राज्यले किसानको उत्पादनको जिम्मा (खरिद) लिने हो भने कृषिमा क्रान्ति गर्न सकिन्छ ।’

‘किसानलाई प्रोत्साहन गर्ने नीति ल्याउनु पर्छ । हामी प्रारम्भिक चरणमा छौँ र यसलाई दीर्घकालीन समयसम्म लैजान काम गरिरहेका छौँ । बिचौलियाको हातमा पैसा पर्ने नीतिको अन्त्य गर्नुपर्छ’ उनले थपे, ‘त्यसकारण हरेक वडामा कृषक समूह बनाइदिएका छौँ । त्यो समूहले स्थानीय उत्पादन खरिद गर्छ । केही नाफा राखेर बिक्री गर्छ ।’

उनले यो अभियान मात्रै नभएर व्यवसाय पनि भएको बताए । ‘एक वडाले अर्को वडामा उत्पादन निर्यात गर्छ । त्यहाँबाट खपत हुन नसकेको कृषि उपज बिक्री केन्द्र खाडीचौरमा पुग्छ । खाडीचौरको केन्द्रले संकलन केन्द्र र सिधै किसानबाट आएको उत्पादन खरिद गर्छ’ उनले भने ।
संकलन केन्द्रले स्थानीय बजारमा बिक्री गरेर नसकेको उपज काठमाडौंसम्म लगेर बिक्री गरेको उनका भनाइ छ । ‘अबको केही महिनामा काठमाडौंको बजारसँग ठूलो उत्पादनमै जोडिने योजनामा गाउँपालिकाले काम गरिरहेको छ । किसानले आफूले बेच्न नसकेको तरकारी कालीमाटीको मूल्यमा गाउँपालिकाले खरिद गर्ने ग्यारेन्टी लिएको छ ।’

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ४ : १५ बजे

शेरा दरबारबारे गम्भीर अध्ययन भइरहे छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखकले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम मुछिएको

सूर्यदर्शन सहकारी ठगी : जाहेरीवालाका वकिलहरूले थाले बहस

पोखरा– सूर्यदर्शन सहकारी संस्थाको बचत रकम ठगीसम्बन्धी मुद्दामा बिहीबारदेखि जाहेरीवालाहरूका

सन २०२४ : अन्नपूर्ण न्युरोमा ३ हजार सफल शल्यक्रिया

काठमाडौं– काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालले सन २०२४ मा ३

प्रचण्डलाई गृहमन्त्रीको जवाफ- व्यक्तिको नाममा गएको शेरा दरबार फिर्ता ल्याउँछौँ

काठमाडौं– गृहमन्त्री रमेश लेखकले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम मुछिएको

सुशासनमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : गृहमन्त्री 

काठमाडौं – गृहमन्त्री रमेश लेखकले संविधानलाई कार्यान्वयन गर्दै संघीय लोकतन्त्रलाई