नेपाल पहिले सुन तस्करीको ट्रान्जिट, अहिले तस्करीकै सुनको बजार « Khabarhub

नेपाल पहिले सुन तस्करीको ट्रान्जिट, अहिले तस्करीकै सुनको बजार

भन्सार महसुलसँगै बढ्यो तस्करी



काठमाडौं – विगतमा सुन तस्करीको ‘ट्रान्जिट’ बनेको नेपाल पछिल्लो समय तस्करीको सुनको बजार बन्न थालेको छ ।

सरकारी तथ्याङ्कअनुसार पछिल्लो समय नेपालमा औपचारिक भन्दा पनि अनौपचारिक माध्यमबाट सुन आयात बढेको हो । अहिलेहाल नेपालको सुन बजार नै ‘तस्करको हातमा पुगेको’ व्यवसायीहरूले बताएका छन् ।

बुधबार नेपालको सुन बजारमा छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा २२ सय रूपैयाँले वृद्धि भएर प्रतिग्राम मूल्य १४ हजार ६३५ रूपैयाँमा कारोबार भयो ।

तर, भारतको बजारमा स्वचालित मूल्यअनुसार बुधबार दिउँसो १२ बजेर २६ मिनेट जाँदा सुनको मूल्य प्रतिग्राम ७ हजार ५३८ भारु अर्थात् १२ हजार ६० रुपैयाँ थियो । त्यस्तै, बुधबार दिउँसो १ बजेर ३७ मिनेट जाँदा चीनको बजारमा सुनको खुद्रा मूल्य प्रतिग्राम १२ हजार ४६ रुपैयाँ थियो ।

छिमेकी मुलुक भारत र चीनको तुलनामा नेपालमा छापावाल सुनको प्रतिग्राम मूल्य २६ सय रूपैयाँभन्दा धेरै छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीका अनुसार भारतमा भन्दा नेपाली बजारमा सुनको मूल्य प्रतितोला १८ हजार रूपैयाँभन्दा बढी पर्छ ।

पछिल्लो केही वर्षयता सुनको मूल्य निरन्तर उकालो लाग्ने क्रममा छ । नेपाल राष्ट्र बैंकका अनुसार गत भदौ मसान्तसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ३४ प्रतिशतले बढेको छ ।

मूल्यमा निरन्तर बढे पनि आयात तुलनात्मक रूपमा नघटेको, तर चालु आर्थिक वर्षको बजेटमार्फत् सुनमा भन्सार महसुल बढाइएपछि औपचारिक आयात घट्न पुगेको व्यवसायीहरू बताउँछन् ।

दुवै छिमेकी मुलुकको तुलनामा नेपाली बजारमा सुनको मूल्य बढी भएपछि सुनको आयातमा तस्करीको माध्यम हाबी हुँदै गएको महासंघका अध्यक्ष रसाइलीले खबरहबलाई बताए ।

यो पनि –

सुनको मुल्यमा आज पनि नयाँ कीर्तिमान, कतिमा भइरहेको छ कारोबार ?

भन्सार महसुल बढाएपछि सुनको औपचारिक आयत गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा झण्डै ८९ प्रतिशतले घटेको छ । तर, आयात घटे पनि गहना सुनबाटै गहना बनाइरहेका ज्वेलरी पसलहरू यथावत् सञ्चालनमा देखिन्छन् । सुनको आयातमा भारी गिरावट हुँदा पूरै सुनबजार अस्तव्यस्त हुनुपर्नेमा त्यस्तो देखिँदैन ।

‘भन्सार महसुल बढाउँदा तस्करी पनि बढ्यो’

सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटमार्फत् सुनमा विगतदेखि लगाउँदै आएको १५ प्रतिशत भन्सार महसुललाई बढाएर २० प्रतिशत पुर्‍याएको छ । तर, भारत सरकारले भने सुनमा लगाउँदै आएको भन्सार महसुल २०२४ को बजेटमार्फत घटाएर ६ प्रतिशतमा झारेको छ ।

जसले गर्दा अन्तर्राष्ट्रिय बजारबाट सुन आयात गर्ने क्रममै नेपाल र छिमेकी भारतमा खरिद मूल्यमा ठूलो फरक पर्न गएको देखिन्छ । जसको स्वभाविक प्रभाव औपचारिक आयात हुँदै राजस्वदेखि बजारसम्म परेको हो ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिना अर्थात् असोज मसान्तसम्म नेपालमा औपचारिक माध्यमबाट एक लाख ११५ ग्राम सुन आयात भएको छ । जसको भन्सार बाहेकको मूल्य एक अर्ब ४ करोड ३२ लाख ८९ हजार रुपैयाँ हो । सो आयातित सुनबाट सरकारले २० करोड ८६ लाख ५८ हजार रुपैयाँ भन्सार महसुल आम्दानी गरेको छ ।

विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा भने नेपालमा औपचारिक माध्यमबाट नौ लाख ५०० ग्राम सुन आयात भएको थियो । जुन सुनको मूल्य सात अर्ब ३५ करोड २० लाख ९३ हजार रुपैयाँ रहेको थियो । उक्त आयातित सुनबाट सरकारले एक अर्ब १० करोड २८ लाख २४ हजार रुपैयाँ भन्सार महसुल आम्दानी गरेको थियो ।

‘अहिले सरकारले सुनमा भन्सारको जुन दर तोकेको छ, सोही कारणले गर्दा तस्करी निकै बढेको छ’, महासंघका अध्यक्ष रसाइलीले भने, ‘पहिले नेपालबाट भारतमा तस्करी हुने गर्दथ्यो, अहिले नेपालमै सुन महँगो भएपछि भारतबाट तस्करी हुने गरेको छ ।’

तस्करीकै कारणले सरकारले ठूलो राजस्व गुमाएको र बजार पनि तस्करको हातमा गएको रसाइलीले बताए । ‘आयात नै नभएपछि सरकारले राजस्व गुमाएको छ, अनि पूरापूर बजार नै तस्करहरूको हातमा गएको छ, यो निकै चिन्ताजनक अवस्था हो’, अध्यक्ष रसाइलीले भने ।

भन्सार महसुलमा गरिएको वृद्धिका कारण सुन तस्करी मौलाएको भन्दै दरबन्दी संशोधन गर्न व्यवसायीहरूको माग छ । उनीहरूले भन्सार विभागसमक्ष पछिल्लो समय यस निम्ति अनुरोध गर्ने गरेको विभागका प्रवक्ता तथा सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले जानकारी दिए । तर, औपचारिक रूपमा सो विषयमा छलफल गर्ने र कुनै नयाँ पहल गर्ने काम भने नभएको उनले बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  १ : २६ बजे

सरकारका प्रवक्ताको जवाफ : सुकुम्बासी बस्ती हटाउने निर्णय भएको छैन

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले काठमाडौं उपत्यकाका सुकुम्बासी हटाउने तयारी गरिरहेका

चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति चिकित्सक संघको आपत्तिे

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि भएको दुर्व्यवहार, धम्की

खानेपानी परियोजनालाई एडीबीबाट ऋण लिन वार्ता टोली गठन गरिने

काठमाडौं – सरकारले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाका लागि

बलुचिस्तानमा आक्रमण, नौ जनाको मृत्यु, एक विदेशी कामदार अपहरण

इस्लामावाद – पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा रहेको एक अन्वेषण तथा

सरकारी विज्ञापन निर्णयविरुद्ध पत्रकार महासंघद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं– नेपाल पत्रकार महासंघले तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई