बिहारका नितिश कुमार : राजीनामाको नौटंकी, दोधारमा गठबन्धन ! | Khabarhub Khabarhub

बिहारका नितिश कुमार : राजीनामाको नौटंकी, दोधारमा गठबन्धन !



नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारलाई माया गरेर बोलाउने नाम हो- नितिश बाबु। उनै नितिश बाबुबारे भारतीय राजनीतिक वृत्तमा एउटा ‘जोक’ चर्चित छ- नितिश बाबु यस्ता नेता हुन्, जो मुख्यमन्त्री हुँदाहुँदै मुख्यमन्त्री पदबाट राजीनामा दिन्छन्, ताकि उनी फेरि मुख्यमन्त्री बन्न सकुन्।

हालै नितिश कुमारले कांग्रेस र राष्ट्रिय जनता दल आरजेडीसँगको ‘महगठबन्धन’ परित्याग गरेका छन्। यससँगै उनले केन्द्रमा शासन चलाइरहेको भारतीय जनता पार्टी भाजपा नेतृत्वको नेशनल डेमोक्र्याटिक अलायन्स (एनडीए) सँग मिलेर फेरि सरकार बनाएका छन्।

आइतबार उनले भाजपासँग नयाँ सरकार बनाउँदै फेरि मुख्यमन्त्रीको शपथ लिए। नितिश बाबु राजनीतिका चलाख र निपुण खेलाडी मानिन्छन्। हेर्दा यस्तो लाग्छ, बिहारमा गठबन्धन बन्ने र भत्किने भइरहन्छ, तर नितिश कुमारको सरकार भने चलिरहन्छ।

नितिश बाबु राजनीतिका चलाख र निपुण खेलाडी मानिन्छन्। हेर्दा यस्तो लाग्छ, बिहारमा गठबन्धन बन्ने र भत्किने भइरहन्छ, तर नितिश कुमारको सरकार भने चलिरहन्छ।

राजीनामा दिने क्रममा बिहार राजभवनमा किन राजीनामा दिने अवस्था किन आयो ? भन्ने पत्रकारहरुको प्रश्नमा उनले दिएको जवाफमा कुनै ओज थिएन। उनले भनेका थिए, ‘यस्तो अवस्था किन आयो भने (बिहारको राजनीतिक अवस्था) ठीक चलिरहेको थिएन। हामीले हेरिरहेका थियौँ, सबैको राय, आफ्नो पार्टीका मानिसहरुको राय, चारैतिरबाट राय आइरहेको थियो, सबैको कुरा सुनेर आज हामीले राजीनामा दियौँ र सरकार समाप्त गर्यौं।’

 

त्यसै दिन उनले मुख्यमन्त्रीको शपथ लिए। नितिश कुमारले राजीनामा दिने र फेरि मुख्यमन्त्रीको शपथ लिने पूर्वानुमानबीच राजभवनका लागि आइतबार पर्ने साप्ताहिक बिदासमेत रद्द गरिएको थियो।

सन् २०१४ को मेदेखि सन् २०१५ को फेब्रुअरीसम्मका ९ महिनाबाहेक सन् २००५ देखि नितिश कुमार बिहारको मुख्यमन्त्रीको कुर्सीमा विराजमान छन्। राजनीतिक समीकरणको कुरा गर्दा बिहार विधानसभामा उनी नेतृत्वको जनता दल युनाइटेड (जेडीयू) तेस्रो स्थानमा छ। विधानसभाको हिसाब गर्दा बिहारमा सरकार बनाउन २४३ मध्ये १२२ सिट चाहिन्छ। विधानसभामा जेडीयूको केबल ४५ सिट छ, जहाँ भाजपाको ७८ र आरजेडीको ७९ सिट छ।

तेस्रो दलका नेता भएपनि न त नितिश कुमारले मुख्यमन्त्रीको कुर्सी छाडेका छन्, न त मुख्यमन्त्रीको कुर्सीले नितिश कुमारको साथ छाडेको छ।

सत्तामा रहन कहिले कोसँग कहिले कोसँग गठबन्धन गर्न कत्ति पनि धक नमान्ने नितिश कुमारको स्वभाव छ। उदाहरणका लागि सन् २०१४ को निर्वाचनअघि सन् २०१३ मा नितिश कुमार एनडीएबाट अलग भएका थिए। पछि उनले आरजेडी र कांग्रेससँग मिलेर महागठबन्धन बनाएका थिए।

पछि सन् २०१७ मा फेरि महागठबन्धन परित्याग गरी नितिश कुमार एनडीएसँग मिल्न पुगेका थिए। सन् २०२२ मा उनी पुनः महागठबन्धनमा फर्किएका थिए। २०२४ मा उनी फेरि एनडीएतिरै लागेका छन्।

रोचक कुरा त के छ भने नितिश कुमार उनै नेता हुन् जसले अघिल्लो वर्ष भाजपाविरुद्ध सबै विपक्षी पार्टीलाई एकत्रित गर्न लागि परेका थिए। गत वर्ष नितिश कुमारले लोकसभा चुनावमा भाजपाविरुद्ध गठबन्धन गर्ने पहल थालेका थिए। त्यसबेला कांग्रेसको विरोध गर्दै उदाएका तृणमूल कांग्रेस, समाजवादी पार्टी, आम आदमी पार्टीजस्ता विपक्षी दलहरुको कांग्रेससँग संवाद थिएन। यस्तो अवस्थामा नितिश कुमारले कांग्रेस र अरु विपक्षी पार्टीबीच सुत्राधारको काम गरेका थिए।

उनले कांग्रेसका नेताहरु राहुल गान्धी र मल्लिकार्जुन खड्गे, आम आदमी पार्टीका नेता एवम् दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, कम्युनिष्ट दलका नेताहरु, पश्चिम बंगालमा सरकार चलाइरहेको तृणमूल कांग्रेसकी प्रमुख ममता बनर्जीसँग भेटवार्ता गरी गठबन्धनको पहल थालेका थिए।

त्यसबाहेक महाराष्ट्रमा सक्रिय शिव सेना (उद्धव गुट) का नेता उद्धव ठाकरे, महाराष्ट्रकै राष्ट्रवादी कांग्रेस पार्टीका नेता शरद पवार, झरखण्डका मुख्यमन्त्री एवम् झरखण्ड मुक्ति मोर्चाका प्रमुख हेमन्त सोरेन, उत्तर प्रदेशमा पकड रहेको समाजवादी पार्टीका नेता अखिलेश यादवजस्ता नेताहरुसँग भेट गरी भाजपाविरुद्ध एउटै मोर्चामा उभ्याउन सफल भएका थिए।

नितिश कुमारकै पहलमा गत वर्षको जुन महिनामा पटनामा भाजपाविरुद्ध १६ विपक्षी पार्टीका नेताहरुको बैठक बसेको थियो।
पछि गएर सोही जमघटमा थप १० दल आबद्ध भए र ‘इण्डियन नेशनल डेमोक्र्याटिक इन्क्लुसिभ अलायन्स’ (इण्डिया) गठबन्धनको स्वरुप ग्रहण गर्यो। आफ्नै पहलमा गठन भएको विपक्षी गठबन्धनभित्रको असन्तुष्टि र मनमुटावका कारण नितिश कुमारले बिहारमा आरजेडी र कांग्रेसको साथ त्यागेको धेरैको बुझाइ छ।

भारतीय राजनीतिक वृत्तमा सुनिएको हल्लाअनुसार राजनीतिक अनुभवमा वरिष्ठताका आधारमा नितिश कुमारले उक्त गठबन्धनबाट प्रधानमन्त्रीको उम्मेदवारी खोजेका थिए। प्रधानमन्त्रीको उम्मेदवार नै नभएपनि गठबन्धनले आफूलाई संयोजक तोक्ने उनको अपेक्षा थियो। तर, विपक्षको सबैभन्दा ठूलो दल कांग्रेसले नै गठबन्धनको नेतृत्व लिन खोज्यो, उनलाई अपेक्षाअनुसार जिम्मेवारी दिइएन। उनी सन्तुष्ट भएनन्।

अघिल्लो वर्षको जुलाई महिनामा बैंगलोरमा बसेको २६ विपक्षी दलको दोस्रो बैठकले इण्डिया अलायन्सको औपचारिक नाम तय गरेको थियो। बैंगलोर बैठकका बेलामा तृणमूल कांग्रेसकी प्रमुख ममता बनर्जी र कांग्रेस नेता राहुल गान्धीले गठबन्धनको नाम ‘इण्डिया’ राख्ने प्रस्ताव गरेका थिए। त्यसैबेला नितिश कुमारले गठबन्धनको नामप्रति असन्तुष्टि जनाएको खबर सार्वजनिक भएको थियो। यद्यपि यसबारे गठबन्धनमा आबद्ध कुनै पनि दलका नेताले पुष्टि वा खण्डन गरेका थिएनन्।

बैठकको क्रम चलिरह्यो। आपसमै एक अर्काविरुद्ध खनिँदै आएका विपक्षी गठबन्धनको बैठकले न त संयोजक वा प्रधानमन्त्रीको उम्मेदवार तय गर्न सक्यो, न त सिट बाँडफाँटबारे कुनै निर्णय लिन सक्यो। उदाहरणका लागि केरला राज्यमा भाजपाको कुनै अस्तित्व छैन, त्यहाँ इण्डिया अलायन्समा आबद्ध वामपन्थी र कांग्रेसबीच नै प्रतिस्पर्धा हुने हो।

अर्कोतर्फ, पश्चिम बंगालमा यही गठबन्धनमा आबद्ध वामपन्थी दलहरु, कांग्रेस र तृणमूल कांग्रेसले एकले अर्कालाई ठाउँ दिने अवस्था नै छैन। पश्चिम बंगालमा स्थानीय र राज्यस्तरका नेताहरु एक अर्काविरुद्ध नै बयानबाजीमा उत्रिने गरेका छन्। यस्तोमा राज्यको सत्तामा रहेको तृणमूल कांग्रेस कांग्रेस र वामपन्थी दलहरुसँग सिट बाँडफाँट गर्न उदार देखिएको छैन। पञ्जाब र दिल्लीमा पनि आम आदमी पार्टीले कांग्रेससँग सिट बाँडफाँट गर्न आनाकानी गरिरहेको छ। उत्तर प्रदेशमा पनि अखिलेश यादव कांग्रेसलाई धेरै सिट दिन तयार छैनन्।

यस्तो अवस्थामा गत नोभेम्बर महिनामा विभिन्न ५ राज्यमा भएका विधानसभा निर्वाचनको नतिजा पनि गठबन्धनको पक्षमा आएन। गठबन्धनमा आबद्ध कांग्रेसले ५ मध्ये तेलंगानाबाहेक कुनै पनि राज्यमा विजय हासिल गर्न सकेन भने सरकार चलाइरहेको छत्तीसगढ र राजस्थानमा पनि पराजय व्यहोर्यो। मध्य प्रदेशमा भाजपाको नै जित भयो भने मिजोरममा जोरम पिपुल्स मुभमेन्टले जित हासिल गर्यो। प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता जाँच गर्ने ठानिएको त्यस चुनावमा मोदी पास भए।

गठबन्धनभित्र अस्थीरता र खैलाबैला चलिरहेका बेला अवस्थामा कांग्रेसका नेता राहुल गान्धी ‘भारत जोडो यात्रा’ को दोस्रो संस्करणतिर लागेका छन्।

गठबन्धनभित्र अस्थीरता र खैलाबैला चलिरहेका बेला अवस्थामा कांग्रेसका नेता राहुल गान्धी ‘भारत जोडो यात्रा’ को दोस्रो संस्करणतिर लागेका छन्। भारत जोडो न्याय यात्रा नाम दिइएको यस यात्राबारे उनले गठबन्धनका कुनै दलसँग न सहकार्य गरेका छन् न त कुनै दलले उनको यात्रालाई धेरै महत्व नै दिएको देखिएको छ। मणिपुरबाट सुरु भइ मुम्बईसम्म पुग्ने तय भएको राहुल गान्धीको यात्रा नितिश कुमारले राजीनामा दिने संयोगवश बिहार आइपुगेको थियो।

केही समयअघि अयोध्यामा धुमधामसँग आयोजना गरिएको राम मन्दिर उद्घाटनले पनि हिन्दू राष्ट्रवादी भाजपा र मोदीको छवि सुधारेको छ। राजनीतिक हावा कतितिर बहिरहेको छ भन्ने राजनीतिका पुराना खेलाडी नितिश कुमारलाई राम्रोसँग ज्ञात रहेको विश्लेषकहरु ठान्छन्। सोहीअनुसार नितिश कुमारले आफ्नो राजनीतिक जहाजको पाल उतैतिर फर्काएको विश्लेषण गरिएको छ।

नितिश बाबुले भाजपासँग सहकार्य अघि बढाएसँगै विपक्षी गठबन्धनको भविष्य के हुने भन्नेबारे अड्कलबाजी सुरु भएका छन्। तृणमूल कांग्रेस र कांग्रेस पार्टीजस्ता दुई विपरीत ध्रुवका दललाई एउटै मञ्चमा उभ्याउने कडीका रुपमा देखा परेका नितिश कुमारको राजीनामाले विपक्षी गठबन्धन अझ विखण्डित हुने धेरैको बुझाइ छ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ६ : ४२ बजे

देवघाटमा दुई वडाका नयाँ भवन निर्माण

तनहुँ– तनहुँको देवघाट गाउँपालिकाका दुई वडामा आफ्नै भवन निर्माण भएका

देशभरका विपन्नलाई काठमाडौं महानगरले निःशुल्क उपचार गरिदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले देशभरका विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार

पर्सामा नौ महिनाभित्र ७३९ घरेलु उद्योग स्थापना

पर्सा – जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ८६ करोड

जापानी परराष्ट्रमन्त्री योको नेपाल भ्रमणमा आउने

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामीकावाले आगामी साता नेपालको भ्रमण गर्ने

अर्थमन्त्री पुनको दाबी : ‘नेपाल लगानीको गन्तव्य बनिसक्यो’

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य