सुदूरपश्चिममा उपेक्षित उष्णप्रदेशीय रोगको जोखिम बढ्दै | Khabarhub Khabarhub

सुदूरपश्चिममा उपेक्षित उष्णप्रदेशीय रोगको जोखिम बढ्दै


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– उपेक्षित उष्णप्रदेशीय (गर्मी क्षेत्रमा हुने) रोगको जोखिम सुदूरपश्चिम क्षेत्रमा बढ्दै गएको छ । विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवी, ढुसी र विषाक्त पदार्थका कारणले उष्णप्रदेशमा बस्ने व्यक्तिलाई असर गर्दै आएको छ ।

व्यक्ति बिरामीमात्रै नभएर ज्यानसमेत जाने गरेको जनाइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका कीटजन्य अधिकृत (कार्यक्रमका फोकल पर्सन) हेमराज जोशीले रोगलाई उपेक्षित गरेकै कारण बल्झिँदै व्यक्तिको ज्यान जाने गरेको बताए ।

उनका अनुसार विश्व स्वास्थ्य सङ्गठनको उपेक्षित उष्णप्रदेशीय रोगहरूको सूचीमा २१ रोगको समूह सूचीकृत गरिए पनि नेपालमा हालसम्म ११  रोगमात्रै पाइएको छ ।

यसमा डेङ्गु र चिकनगुनिया, रेबिज, ट्रकोमा (खस्रे रोग) कुष्ठरोग, कालाजार, टेनियासिसन्यूरोसिस्टाइसर्कोसिस (फिते जुका), हात्तीपाइले, माटोबाट सर्ने जुका, माइसेटोमाक्रोमोब्लास्टोमाइकोसिस, अन्य डिप माइकोसेस, सर्पदंश, लुतो र अन्य इक्टोपारासाइटलगायत छन् ।

यी रोग मुख्यतया पर्याप्त सरसफाइको कमी, रोगबाहक सङ्क्रामक कीटहरू, घरपालुवा जनावरसँग नजिकको सम्पर्कमा रहने व्यक्तिसँगै गरिबीको रेखामुनि रहेका व्यक्ति बढी जोखिम रहने गरेको अधिकृत जोशीले बताए ।

‘स्वास्थ्यसम्बन्धी विश्वव्यापी एजेण्डामा यी रोगबारे विरलै मात्र चर्चा हुने गरेको छ’, उनले भने, ‘यस क्षेत्रमा काम गर्नका लागि सीमित स्रोतसाधन मात्रै उपलब्ध हुन्छ, अध्ययन–अनुसन्धान कम हुने गरेकाले पनि यी रोगलाई उपेक्षित रोग भन्ने गरिन्छ ।’

उपेक्षित उष्णप्रदेशीय रोग समुदायमा सामाजिक बहिष्करणसँग जोडेर हेर्ने गरिने भएकाले सबैभन्दा बढी गरिबीको रेखामुनि रहेका व्यक्ति बढी प्रभावित हुने गरेको उनको भनाइ छ ।

उनका अनुसार केही उपेक्षित उष्णप्रदेशीय रोग जनस्वास्थ्य समस्याको रूपबाट निवारण हुँदै आएको छ भने केही निवारण र रोकथामको रणनीतिमा कार्य भइरहेको छ ।

नेपालले सन् २०१८ मा ट्रकोमा निवारण गरेको छ । यसको प्रमाणीकरण विश्व स्वास्थ्य सङ्गठनबाट भइसकेको छ । देशमा कालाजार सन् २०२६, हात्तीपाइले, कुष्ठरोग र रेबिजलाई सन् २०३० मा निवारण गर्ने लक्ष्य लिएको छ ।

कालाजार जनस्वास्थ्य समस्याको रूपमा निवारण गर्ने लक्ष्यअनुरूप जिल्ला तहमा प्रति १० हजार जनसङख्यामा एकभन्दा कममा सङ्क्रमण पुर्याउने, कालाजारबाट हुने मृत्युलाई एक प्रतिशतमा झार्ने रणनीति तय गरिएको छ ।  पछिल्लो दुई दशकमा कालाजारका बिरामीको सङ्ख्या ९० प्रतिशतले कमी आएको अधिकृत जोशीको भनाइ छ ।

कुष्ठरोगको फैलावटलाई अवरुद्ध गरेर जिल्ला र स्थानीय तहमा निवारण गर्ने, स्थानीय तहस्तरमा लगातार पाँच वर्षसम्म १५ वर्षमुनिका बालबालिकामा नयाँ सङ्क्रमणलाई शून्यमा झार्ने लक्ष्य रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका कीटजन्य फोकल पर्सन सिद्धराज भट्टले जानकारी दिए ।

कुष्ठरोगलाई सन् २०१० मा राष्ट्रियस्तरबाट जनस्वास्थ्य समस्याको रूपमा घोषणा भएअनुसार आर्थिक वर्ष २०७९–८० मा राष्ट्रियस्तरमा शून्य दशमलव ८५ प्रिभ्यालेस दरसँगै दुई हजार पाँच सय २२ नयाँ रोगी पहिचान गरिएको उनले उल्लेख गरे ।

हात्तीपाइले रोग एन्टिजेनेमिया दुई प्रतिशतभन्दा कम र माइक्रोफिलरिया एक प्रतिशतभन्दा कममा झार्ने लक्ष्य रहेको उनको भनाइ छ । चौसठ्ठी वटा हात्तीपाइले एन्डेमिक जिल्लामध्ये आम औषधि सेवन सम्पन्न गरी ५३ वटा जिल्लामा सङ्क्रमणको प्रसारसम्बन्धी आम औषधि सेवन बन्द गरिएको छ । सात जिल्लामा आम औषधि सेवनको कार्य जारी रहेको छ ।

 

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  १० : १७ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन