विकासशील मुलुकको थाप्लोमा चिनियाँ ऋणको भार « Khabarhub

विकासशील मुलुकको थाप्लोमा चिनियाँ ऋणको भार


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चीनले आफ्नो महत्वकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामार्फत विकासशील मुलुकहरुमा १० खर्ब ३० अर्ब अमेरिकी डलर लगानी गरिसकेको छ । यत्रो ठूलो लगानीसँगै चीनको ध्यान भने अब सडक र पुल बनाउनेभन्दा पनि बीआरआईको ऋण कसरी व्यवस्थापन गर्नेतर्फ केन्द्रित हुन थालेको छ ।

चीन विश्वकै सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाता मुलुक हो । सन् २०२१ मा चीनले ८० अर्ब डलर बराबर ऋण प्रवाह गरेको थियो । उक्त ऋण नयाँ परियोजनामा लगानी गर्नेभन्दा पनि पुराना ऋणको फर्छौट गर्नका लागि दिइएको हो । चिनियाँ ऋण लिएका कतिपय मुलुकहरुले यो दिगो नभएको बताउने गरेका छन् ।

चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले मुलुकको अर्थतन्त्रको ठूलो हिस्सामा नियन्त्रण जमाउँदै आएको छ । चिनियाँ कम्युनिष्ट पार्टीले सरकारी निकाय एवम् निजी कम्पनीमार्फत् अर्थतन्त्रमा आफ्नो प्रभाव विस्तार गर्ने गरेको बताइन्छ । अर्थतन्त्रमा नियन्त्रण जमाउनका लागि स्थापित राज्यसञ्चालित सम्पत्ति सुपरिवेक्षण एवम् प्रशासन आयोग निकै नै प्रभावशाली मानिन्छ ।

यस्तै खालका अन्य संयन्त्रले प्रान्तीय स्तरका कम्पनीको निगरानी गर्छन् । यद्यपि कम्युनिष्ट पार्टीको पहुँच भने सम्पत्तिको स्वामित्वमा मात्रै सीमित छैन । अर्थतन्त्रलाई आफ्नो उद्देश्य र निर्देशनअनुसार सञ्चालन गर्न कम्युनिष्ट पार्टीले आफ्ना पदाधिकारी एवम् समूहलाई विभिन्न कम्पनीको व्यवस्थापन तहमै राख्ने गरेको बताइन्छ । महत्वपूर्ण निर्णय, नियुक्ति र परियोजनाहरु पार्टीका समितिमार्फत् नै निर्धारण हुन्छन् । त्यसबाहेक विभिन्न कानुनमार्फत् पार्टीले आफ्नो पकडमा रहेका जुनसुकै कम्पनीको सूचना प्राप्त गर्न सक्छ ।

चीनले आफ्नो मुलुकका कम्पनीमार्फत अरु देशमा पनि प्रभाव विस्तार गर्दै आएको छ । कुनै मुलुक चिनियाँ व्यवसायमाथि निर्भर भए चीनले ठूलो प्रभाव जमाउन सक्छ । कतिपय अवस्थामा आफ्नो मुलुकको ठूलो बजारलाई पनि चीनले अन्य मुलुकमा प्रभाव विस्तार गर्न प्रयोग गर्दै आएको छ ।
चीनको महत्वकांक्षी बीआरआई परियोजनाले यस्तै अवस्थाको संकेत गर्छ । सन् २०१३ मा चिनियाँ राष्ट्रपति सी जिन्पिङले घोषणा गरेको बीआरआई परियोजनाबाट नयाँ व्यापारिक मार्ग पहिचान गरी सञ्चालन गर्ने लक्ष्य लिएको थियो । यसबाट चीनले आफ्ना लागि अन्य मुलुकमा रहेको ठूलो बजारमा आफ्नो पहुँच विस्तार गर्ने योजना बनाएको थियो ।

सन् २०१४ मा राष्ट्रपति सीले यसलाई अझ विस्तार गर्दै ‘समुद्री रेशम मार्ग’ को अवधारणा अघि सारेका थिए । यसअनुसार चीनले मलाक्का स्ट्रेटलाई बाइपास गर्दै चीनलाई दक्षिणपूर्वी एसिया, अफ्रिका र युरोपलाई जोड्ने उद्देश्य लिएको थियो । चीन पाकिस्तान आर्थिक करिडोरमार्फत् चीनको यस महत्वकांक्षी परियोजनाको साझेदारका रुपमा पाकिस्तानलाई हेरिएको थियो ।

चीनले अफ्रिकाका इजिप्ट, इथियोपिया, केन्या, युगाण्डाजस्ता मुलुकमा पनि ठूलो परिमाणमा लगानी खन्याएको छ । त्यसबाहेक युरोपको ग्रिसमा पनि चीनले बीआरआईमार्फत् लगानी गरेको छ । अर्को युरोपेली मुलुक इटालीले पनि सन् २०१९ मा बीआरआईको समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । यद्यपि सन् २०२३ को डिसेम्बर महिनामा इटालीले यस सम्झौताबाट बाहिरिने औपचारिक घोषणा गरिसकेको छ ।
प्रारम्भीक चरणमा चीनले यस्ता मुलुकहरुमा पूर्वाधारका परियोजना निर्माण गर्न भन्दै ठूलो लगानी खन्याएको थियो ।

तर छोटो समयमा नै चिनियाँ ऋण लिने धेरै मुलुकहरु विदेशी मुद्रा र राजनीतिक संकटजस्ता समस्यामा परे । फलस्वरुप कतिपय मुलुकले चिनियाँ ऋण तिर्न सकेनन् र चीन खराब ऋणको मारमा पर्‍यो र हाल चिनियाँ ऋणको ६० प्रतिशत हिस्सा जोखिमपूर्ण मुलुकको भागमा छ । सन् २०१० मा यो केबल ५ प्रतिशत रहेको थियो । पाकिस्तान र श्रीलंका यसको उदाहरण हुन् ।

त्यसबाहेक ऋणको मारमा परेको बंगलादेशले पनि अन्तर्राष्ट्रिय मुद्रा कोषलाई गुहार्दै आएको छ । अफ्रिकामा सञ्चालित धेरै बीआरआई परियोजनालाई पनि चिनियाँ ऋण तिर्न हम्मेहम्मे परिरहेको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ४ : ३० बजे

रास्वपा कार्यकर्ताले झण्डा जलाएपछि एमालेले निकाल्यो राँके जुलुस (तस्बिरहरु)

काठमाडौं- रास्वपाका कार्यकर्ताले पार्टीको झण्डा जलाएको विरोधमा नेकपा एमालेका जनसंगठनहरुले

प्रधानमन्त्रीद्वारा प्रदेशको निर्वाचन सुरक्षा व्यवस्था सम्बन्धमा जानकारी

गण्डकी– प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ हुने निर्वाचनका सम्बन्धमा

जनताको जीवनस्तर सुधार्ने किम जोङ उनको वाचा

प्योङयाङ- उत्तर कोरियाली नेता किम जोङ उनले शुक्रबार सुरु भएको

गृहमन्त्रीसहितको टोलीद्वारा धरहरा क्षेत्रको अनुगमन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्याल र सहरी विकासमन्त्री कुमार इङ्नामले आज