मुस्ताङी च्याङ्ग्राको भुवा पश्मिनाका लागि उपयुक्त | Khabarhub Khabarhub

मुस्ताङी च्याङ्ग्राको भुवा पश्मिनाका लागि उपयुक्त


१८ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– मुस्ताङमा पालिएका च्याङ्ग्राको भुवा पश्मिना बनाउने कच्चापदार्थका रूपमा प्रयोग गर्न उपयुक्त देखिएको छ ।

अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद्अन्तर्गत नेपाल पशु प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्र, नेपाल पश्मिना सङ्घ र च्याङ्ग्रा पश्मिना किसान सङ्घको समन्वयमा नेपालमा पहिलो पटक गरेको परीक्षणबाट मुस्ताङी च्याङ्ग्राको भुवा गुणस्तरका हिसाबले पश्मिनाका लागि उपयुक्त भएको पुष्टि भएको हो ।

पश्मिना सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले मङ्गोलियामा रहेको अन्तर्राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा मुस्ताङी च्याङ्ग्राको भुवाको गुणस्तर पश्मिनाको कच्चा पदार्थकारुपमा प्रयोग गर्न उपयुक्त रहेको प्रतिवेदन प्राप्त भएको जानकारी दिए ।

‘एक वर्षअघि विज्ञहरूको टोली यहाँ आएर लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, बारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाबाट आठ सय च्याङ्ग्राको भुवा नमुनाका रूपमा सङ्कलन गरी गुणस्तर परीक्षणका लागि लैजानुभएको थियो’, उनले भने, ‘यसै साता कृषक र जनप्रतिनिधिलाई भेला गरी परीक्षण प्रतिवेदन सार्वजनिक गर्दै भुवाको थप गुणस्तर सुधार र व्यावसायिक उत्पादनका लागि छलफल गरेका छौँ ।’

चार वटै पालिकाका एक सय ६० किसानले पालेका पाँच/पाँच वटा फरक फरक, भूगोल, तौल, रङ र उमेर समूहका च्याङ्ग्राको शरीरबाट नमुनाका रूपमा भुवा सङ्कलन गरी परीक्षण गरिएको लामिछानेले जानकारी दिए । परीक्षणपछि नेपालमा पश्मिना बनाउने कच्चापदार्थका रूपमा प्रयोग गरिने भुवाको स्रोत रहेको अन्तराष्ट्रियस्तरमा सन्देश प्रवाह भएको भन्दै यसले च्याङ्ग्रापालन विस्तार र पश्मिना उद्योगको सम्भावना बढेको उनले बताए ।

सङ्कलित नमुनालाई पश्मिनाको मोटाइ र लम्बाइ मापन गर्ने अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाका साथै नेपाल गुणस्तर तथा नाप तौल विभागमा व्यावसायिक गुणस्तर परीक्षण गरिएको अन्तर्राष्ट्रिय व्यापार केन्द्रका परामर्शदाता सिचन श्रेष्ठले बताए । ‘च्याङग्राको भूवा पस्मिनाका लागि (क) श्रेणीको कच्चा पदार्थ हो । भेडा र चौँरीको तुलनामा च्याङग्राको भुवालाई गुणस्तरीय मानिएको छ’, उनले भने ।

प्रतिवेदन सार्वजनिकीकरणसँगै सुझाव अनुसार कश्मिरका डा खिलाल खान र अन्तर्राष्ट्रिय व्यापार केन्द्रका प्राविधिक विशेषज्ञ प्राडा सर्फराज वानीलाई ल्याएर कृषकलाई च्याङग्रा पाल्ने गोठ, आहारा र नष्ल सुधारसम्बन्धी आधुनिक ज्ञान र सीप प्रदान गरिएको परामर्शदाता श्रेष्ठले जानकारी दिए । उनका अनुसार यही जेठ ९ गतेदेखि सुरु भएको स्थलगत तालिम १६ गते सम्पन्न भएको थियो ।

टोलीसँगै मुस्ताङ पुगेकी नेपालका लागि युरोपियन युनियन (इयु)का राजदूत भेरोनिक लोरेन्जोले लोमान्थाङ गाउँपालिकाका छिरिङ वाङ्दीले स्थापना गरेको ‘पश्मिना रिसर्च एण्ड एग्रो टुरिजम फार्म’को उद्घाटन गरेकी थिइन् ।

मुस्ताङमा च्याङग्राको पश्मिनाको अन्तर्राष्ट्रिय बजारमा उच्च सम्भावना देखिएकाले यसको प्रवर्द्धन र व्यवस्थापनमा सघाउने राजदूत लोरेन्जोले बताइन् । विश्व बैंकको नेपालस्थित कार्यालयका प्रतिनिधिले पनि पश्मिनाको भुवा सङ्कलन केन्द्रको अनुगमन गरेका थिए ।

पश्मिनाको गुणस्तर सुधारका लागि विदेशी प्रशिक्षकबाट पाएको ज्ञान, सीप र अनुभव उपयोगी बन्ने कृषक वाङ्दीले बताए । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले च्याङ्ग्रापालनबाट कृषकलाई मासु बिक्रीका साथै पश्मिनाका लागि भुवा उत्पादन गरेर दोहोरो लाभ लिने सम्भावना रहेको बताए । च्याङ्ग्रापालनलाई थप व्यावसायिक, आधुनिकीकरण र सङ्ख्या वृद्धि गर्न पहल गर्ने उनको भनाइ छ ।

प्राकृतिकरुपमा कम उत्पादन हुने च्याङ्ग्राको भुवाबाट मात्रै प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन गरिने पश्मिनाको व्यावसायिक माग बढ्दै गएको छ । राम्रो गुणस्तरको च्याङ्ग्रा पश्मिनाका लागि आकर्षक मूल्य तिर्न नेपाली खरिदकर्ता तयार भएकाले च्याङ्ग्रापालक कृषकले मनग्य आम्दानी गर्न सक्ने सम्भावना बढेको छ ।

नेपालबाट निर्यात हुने प्रमुख वस्तुका रूपमा रहेको पस्मिना बनाउन च्याङ्ग्राको भुवा प्रशोधन गरेर निस्किएको धागो कच्चापदार्थका रूपमा प्रयोग हुन्छ । नेपाल पश्मिना उद्योग सङ्घका अनुसार नेपालबाट वार्षिक रु तीन अर्बको पस्मिना निर्यात हुन्छ भने वार्षिक एक सय ९५ टन पस्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ ।

 विदेशबाट कच्चापदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका कृषकबाट पछिल्लो दुई वर्षयता च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको पश्मिना उद्योगी भीम शेरचनले बताए । उनका अनुसार सङ्घले मुस्ताङबाट वार्षिक दुई मेट्रिकटन भुवा सङ्कलन गरेर लैजाने गरेको छ ।

बजारको सुनिश्चितता नभएकाले मुस्ताङका कृषकले यसअघि ऊन निकाल्ने गरेका थिएनन् । भुवा शरीरबाटै झरेर खेर जाने गरेको थियो । तीस प्रतिशतको हाराहारीमा ऊन निकाले पनि बजार नपाउने समस्या थियो । नेपाल फाइवर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भुवा सङ्कलन र काठमाडौँमा प्रशोधन केन्द्र स्थापना गरेको छ ।

वैशाख र जेठ महिना च्याङ्ग्राको शरीरबाट भुवा निकाल्ने याम हो । भुवा निकाल्ने सीपसँगै नयाँ प्रविधि हस्तान्तरण गरिएको छ । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायत ठाउँका कृषकले व्यावसायिक च्याङ्ग्रापालन गरेका छन् । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार जिल्लामा ५२ हजार च्याङ्ग्रा पालिएका छन् ।

प्रकाशित मिति : १८ जेठ २०८१, शुक्रबार  १ : ५६ बजे

सुनको मूल्य स्थिर, चाँदीमा बढ्यो

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

बालबालिकालाई श्रम लगाउने उद्योग प्रतिष्ठान कारबाहीमा

बागमती– बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने १५ उद्योग प्रतिष्ठान तथा

साँफे–मार्तडी सडक अवरुद्ध

अछाम– पहिरोले सडक पुर्दा अछामको साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ।

राहुल गान्धीले छोडेको वायनाडबाट प्रियंका चुनाव लड्ने

काठमाडौं–  भारतीय नेशनल कांग्रेसकाका नेता राहुल गान्धीले केरलाको वायनाड सिटबाट

मध्यपहाडी लोकमार्ग : समयअगावै पुल निर्माण

खोटाङ– दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुईवटा खोलामा तोकिएको समयभन्दा अगावै मोटरेबल