समाचार

कलंकीमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु

By खबरहब

August 31, 2024

काठमाडौं– काठमाडौँको कलंकीमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–१४ कलंकीस्थित सडकमा बा ९५ प ७६२५ नंको स्कुटर बागमती प्रदेश ०१-००६ ख ४८७९ नंको बसमा ठोक्किएर दुर्घटना हुँदा स्कुटर चालक पाल्पा घर भई काठमाडौँ बस्ने ४४ वर्षीय विष्णुबहादुर घर्तिमगरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका घर्तिमगरको कलंकीस्थित नेपाल नेसनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बा५२प ९६८० नंको मोटरसाइकलले उक्त स्कुटरलाई ठक्कर दिएपछि अनियन्त्रित भइ बसमा ठोक्किएको थियो । 

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिए पनि ठक्कर दिने मोटरसाइकल चालक फरार रहेकाले खोजी जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।