रवि हिरासतमा हुँदा रास्वपा नेता किन भेट्दैछन् मन्त्रीदेखि प्रधानमन्त्री ? | Khabarhub Khabarhub

रवि हिरासतमा हुँदा रास्वपा नेता किन भेट्दैछन् मन्त्रीदेखि प्रधानमन्त्री ?


१५ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने दुई सातादेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने थुनिएपछि रास्वपामा नेतृत्वको सङ्कट पनि देखिएको छ। अहिलेसम्म लामिछानेले कुनै नेतालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छैनन् ।

तर, उपसभापति डोलप्रसाद अर्यालले पार्टी बैठकको अध्यक्षता गरिरहेका छन् भने अर्का उपपसभापति डा. स्वर्णिम वाग्लेत दलहरू र नागरिकसँग संवाद गर्ने भूमिकामा छन् ।

रविको हिरासत बसाइ लम्बिइरहँदा रास्वपाको आन्दोलन पनि करिब असफल भएको छ । एक सातासम्म पोखरामा आन्दोलन गरेको रास्वपालाई देशभरबाट आएका तीनदेखि चार हजार कार्यकर्ता पाल्न र थेग्नै मुस्किल भयो ।

एक सातामै पोखराको आन्दोलनलाई विश्राम दिएर नेताहरू काठमाडौंतिर लागे । काठमाडौंमा पनि केही दिन आन्दोलन चल्यो, तर अहिले सुस्ताएको छ । तिहारका कारण पनि रास्वपाका नेता-कार्यकर्ता तितरबितर भएका छन् ।

रास्वपाको आन्दोलन छठपछि सरेको छ। पोखरामा सामान्य धर्ना र भेलामा मात्रै गर्ने जनाउँदै रास्वपाले काठमाडौंको आन्दोलत रोकेको हो ।

नवउदीयमान शक्ति भनिएको पार्टीले अनुसन्धान तहकीकात निम्ति सभापति पक्राउ परेको मामिलामा उरालेको आन्दोलन थेग्न नसकेपछि रास्वपा दुई सातामै थाकेको टिप्पणी हुन थालेको छ । रविलाई प्रतिशोधबाट फसाइएको आरोप लगाउँदै रास्वपा  शक्ति प्रदर्शन गर्न भन्दै सडकमा उत्रिएको थियो ।

यो पनि –

रवि लामिछानेको ‘ब्याड फ्राइडे’ – प्रचण्डको सन्देश, पक्राउ पुर्जी र प्रहरीको घेरा

रविमाथि दुई अभियोग : सहकारी ठगी, संगठित अपराध

आन्दोलन लम्बिँदै जाँदा दबाब महसुस गरेका रास्वपा नेताहरू अब विकल्पको खोजीमा लागेका छन् । रविलाई सकेसम्म हिरासत बाहिरै राखेर अनुसन्धान अघि बढाउनुपर्ने राजनीतिक लबिइङ पनि नेताहरूले गरिरहेका छन् ।

रविविरुद्धको मुद्दा जिल्ला अदालत कास्कीमा पुगिसकेको अवस्थामा रास्वपा नेताहरू यो लबिइङले काम गर्ला/नगर्ला, तर यस बीचमा दौडधूप भने चलिरहेको छ ।

रास्वपाका अघोषित कार्यवाहक सभापति अर्यालसहितका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग भेटेको कुरा खुलिसकेको छ । प्रधानमन्त्रीले त भेटका क्रममा ‘मुद्दा अदालत गइसकेको अवस्थामा किन आएको ?’ भनेर तीतो पोखेको समाचार पनि बाहिरिएको छ ।

रास्वपाका अघोषित कार्यवाहक सभापति अर्यालले प्रधानमन्त्री र गृहमन्त्रीपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि भेट्न चाहेको स्वीकारेका छन् । उनले परराष्ट्रमन्त्रीका स्वकीय सचिवलाई भेटको समय मिलाइदिन भन्दै पठाएको भनिएको ह्वाट्सएप म्यासेज पनि अहिले चर्चामा छ ।

रास्वपाको टोलीले प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकसँग रवि पक्राउपछि विकसित घटनाक्रम र जारी सडक आन्दोलतबारे छलफल नै गरेको छ । आफूहरूले सडक आन्दोलनबारे जानकारी दिन दुवै नेतासँग भेटेको अर्यालले स्वीकारेका छन् । अर्यालले आफू रास्वपाको नेतृत्व तहमा भएकाले सरकार मान्छेसँगको भेटलाई स्वाभाविक मान्नुपर्ने बताए ।

‘मैले प्रधानमन्त्रीलाई सभापति रवि लामिछानेको हिरासत बसाइबारे जानकारी मागेको हो । मुद्दा तत्काल अगाडि बढाएर टुङ्ग्याउन र राजनीतिक प्रतिशोध नराख्न भनेको छु’, उनले भने, ‘गृहमन्त्रीसँग पनि यसै प्रसङ्गमा भेटेको हो । मैले हाम्रो सडक आन्दोलनमा दमन र धरपकड नगर्न आग्रहसमेत गरेँ ।’

उनले पार्टी सभापति लामिछाने हिरासतमा भएका बेला आफूले सरकारका अधिकारीहरूसँग भेटेर कुरा राख्नु राजनीतिक संस्कार भएको तर्क पनि गरे ।

आरजुको पछि किन ?

रास्वपा सरकारमा रहँदा अर्याल दुई पटकसम्म श्रममन्त्री भएका नेता हुन् । उनले परराष्ट्रमन्त्री राणासँग नेपालीको श्रम समस्या र श्रम मन्त्रालयले गर्न लागेको कामबारे खबरदारी गर्न भेट्न चाहेको बताएका छन् ।

तर, राणा बिरामी परेका कारण अहिलेहाल केही समयमात्रै मन्त्रालय आउँछिन् । त्यहीकारण उनीसँग भेटको समय मिल्न नसकेको अर्यालले बताए । समय मिलेपछि सचिवालयबाट जानकारी आउने आश पनि अर्यालले गरेका छन् ।

‘मैले पार्टीको गतिविधि गरिराख्नुपर्ने हुन्छ । हामी देशको चौथो ठूलो दल हौँ । समसामयिक कुरा गर्नुपर्ने हुन्छ । परराष्ट्रमन्त्रीलाई मैले भेट्न चाहेको सत्य हो । मैले परराष्ट्रमन्त्रीलाई भेट्न खोज्नुको कारण फरक छ’, अर्यालले भने, ‘अहिले श्रम मन्तालयले विभिन्न निर्णय गर्दैछ, जुन श्रमिकको अहितमा छ । जस्तो काठमाडौंबाट मागपत्र प्रमाणित गर्ने, ई-सेभेन भिसा, श्रम अभिमुखीकरण तालिम शुल्कको कुरा श्रमिकको लागि घातक छ । यो कुराले परराष्ट्रमन्त्रीसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले मैले यो कुरा परराष्ट्रमन्त्रीलाई भेटेर बुझाउन चाहेको छु ।’

परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल पनि हालै राजदूत सिफारिस भएकी छन् । यस्तो अवस्थामा सबै जानकारी परराष्ट्रमन्त्रीलाई हुन सक्ने कारण आफूले भेट्न चाहेको अर्यालको भनाइ छ ।

अहिले शरदसिंह भण्डारी श्रममन्त्री छन् । भण्डारीले मागपत्र प्रमाणित गर्ने गर्ने र ई-सेभेन भिसामा कानुनबाहिर गएर निर्णय गर्न लागेको कुरा आएका अर्यालले बताए ।

परराष्ट्रमन्त्रीलाई भेट्न चाहेको म्यासेज अर्यालले मन्त्रीका स्वकीय कमल रावललाई पठाएका थिए । उक्त म्यासेजको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

अर्यालका अनुसार त्यो म्यासेज भएको फोटो कसैले भाइरल गरेका हुन् । उनले त्यसविरुद्ध कानूनी प्रक्रियामा जाने खबरहबलाई बताए । रास्वपाको जुनसुकै गतिविधिमा सभापति रवि लामिछानेको हिरासत बसाइलाई जोड्न नहुने अर्यालले बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार  २ : ५५ बजे

तथ्यहीन सूचनाले पत्रकारितामाथि धावा, प्रेस काउन्सिलले कडाइ गर्दै 

काठमाडौं– प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यहीन र एकपक्षीय

देशभर तिहारको झिलिमिली

काठमाडौं– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दुहरूको दोस्रो

स्पेनको बाढीप्रभावित क्षेत्रमा अति आवश्यक काम बाहेक घरमै बस्न आग्रह

स्पेन – स्पेनी अधिकारीहरूले बिहीबार बाढी प्रभावित क्षेत्रका मानिसहरूलाई अतिआवश्यक

भेडीगोठदेखि घरको सुरक्षामा वफादार कुकर

गलेश्वर– तिहारको दोस्रो दिन आज कुकुर तिहार । मानव सभ्यताको

तस्बिरमा सिस्नुपानी देउसी

काठमाडौं– सिस्नुपानी नेपालले यस वर्षको देउसी भैलो कार्यक्रम सम्पन्न गरेको