ज्यानको बाजी थापेर बिपी स्वदेश फर्किएको दिन « Khabarhub

ज्यानको बाजी थापेर बिपी स्वदेश फर्किएको दिन

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ।

वि.सं. २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए।

भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट देखेका कोइरालासहितका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिइ आजभन्दा ४९ वर्षअघि स्वदेश फर्किएका थिए। देशको सार्वभौमसत्ता संरक्षणका लागि बिपीलगायत नेता ज्यान बाजी थापेर स्वदेश फर्किएका थिए।

वि.सं. २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो। सोही वर्ष फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दी गृह बनाएर जेल स्थानान्तरण गरिएको थियो।

आठ वर्षपछि वि.सं. २०२५ मा उपचारका लागि बिपीलाई रिहा गरिएको थियो। रिहापछि उपचारका लागि भारत पुगेका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक क्रियाकलाप सुरु गरेका थिए। त्यसबेला भारतले सिक्किमलाई गाभेको, भारतबाट पाकिस्तान अलग्गिएको र एसियाका अन्य देशमा पनि विखण्डन सुरु भएको देखेर राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिइ ४९ वर्षअघि आजैका दिन उनीलगायत नेता नेपाल फर्किएका हुन्।

विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै कोइराला, नेता गणेशमान सिंहलगायतलाई फेरि सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो।

वि.सं. २०३४ जेठ २७ गते मिति खाली राखी उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी बिपी कोइरालालाई रिहा गरिएको थियो।

यसपछि एक पटक सुन्दरीजल बन्दी गृह फर्काइ प्रहरी तालिम केन्द्र महाराजगञ्जमा उनलाई बन्दी बनाइएको थियो। चौबीस रोपनी क्षेत्रफलको बन्दीगृहलाई २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयमा परिणत गरिएको छ।

सुन्दरीजलको बन्दीगृहमा बसेका बेला कोइरालाले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ (आत्मजीवनी) र जेल बस्दाको दैनिकी पछि ‘जेल जर्नल’ किताब लेखेका थिए।

बन्दीगृहमा बस्नुअघि वि.सं. २००८ मा उनको ‘दोषी चश्मा’ कथा सङ्ग्रह प्रकाशन भएको थियो। कोइराला राजनेताका साथै नेपाली आख्यानमा यौन मनोवैज्ञानिक धाराको प्रवर्त्तकका रूपमा परिचित छन्।

वि.सं. २०३३ पुस १६ गतेको मेलमिलाप नीति लिई फर्केपछि फेरि सुन्दरीजल बन्दी गृहमा बन्दी बनाएपछि लेखिएको दैनिकी पनि ‘फेरि सुन्दरीजल’ नामबाट प्रकाशित भएको थियो।

दिवसका अवसरमा मंगलबार कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन्।

कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँले यस अवसरमा सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्न लागेको सबुज कृष्ण बानियाँले जानकारी दिए। यस अवसरमा बिपी सङ्ग्रहालयले पनि कार्यक्रम गर्ने जनाएको छ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ६ : ०८ बजे

घरधनीकै योजनामा एसबीआई बैंकको शाखा लुटपाट, छविलालले हतियार व्यवस्थापनसँगै सूचना दिएका थिए

काठमाडौं-सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा गत पुस

चितवन पुगेर प्रचण्डले भने- कांग्रेसको फुटले निर्वाचनलाई असर गर्दैन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका

हामीले आधिकारिकता नपाए देशभर आन्दोलन हुन्छ : खड्का

काठमाडौं- निर्वाचन आयोगले विधान अनुरूप आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन

अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित

काबुल– अफगानिस्तानमा कुपोषण सङ्कटले महिला तथा बालबालिकामाथि गम्भीर असर पुर्‍याइरहेको

पूर्णबहादुरले भने : निर्वाचन आयोगले हामीलाई मान्यता नदिए देशभर आन्दोलन गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूलाई