सरकारले परिणाम दिन नसकेपछि सत्तारुढ नेता नै असन्तुष्ट | Khabarhub Khabarhub

सरकारले परिणाम दिन नसकेपछि सत्तारुढ नेता नै असन्तुष्ट

उपलब्धि नदेखिएपछि नेतृत्वमाथि बढाउँदै दबाब


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सात बुँदे सहमतिको जगमा वर्तमान सरकार गठन भएको ६ महिना पुग्न लागेको छ ।

राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्वका लागि संविधान संशोधन र कानून निर्माणलाई प्राथमिकता दिन भन्दै संघीय संसद्का दुई ठूला दल मिलेर गत असार ३० मा सरकार गठन गरेका थिए ।

कांग्रेस–एमालेले अर्थतन्त्रका शिथिलता हटाइ विश्वसनीय व्यवसायिक वातावरण तयार गरी आर्थिक गतिविधि चलायमान बनाउने वाचा गरेका थिए । साथै; आन्तरिक र बाह्य लगानी प्रोत्साहन गरी पर्याप्त रोजगारी सिर्जना गर्न सत्ता समीकरणमा जानुपरेको उनीहरूको तर्क थियो ।

उपलब्धि निराशाजनक

तर, दुईतिहाइ नजिकको शक्तिशाली सरकार गठन भए पनि बितेका पाँच महिनामा विकास खर्चलाई गति दिन सरकार असफल भएको छ । अघिल्ला वर्षहरूमा जस्तै चालु आर्थिक वर्षमा पनि सरकारले विकास खर्च बढाउन सकेको छैन ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको साढे पाँच महिना बितिसक्दा सरकारले पुँजीगत खर्च १४ प्रतिशत पनि पुर्‍याउन सकेको छैन । पुस १५ सम्म सरकारले जम्मा १३.४४ प्रतिशतमात्रै पुँजीगत खर्च गर्न सकेको हो ।

चालु आर्थिक वर्षको बजेटमा संघीय सरकारले तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ पुँजीगत खर्च विनियोजन गरेको थियो । जसमध्ये सरकारले साढे पाँच महिना अवधिमा ४७ अर्ब ३७ करोड ३४ लाख रूपैयाँमात्रै खर्च गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले समीक्षा अवधिमा लक्ष्यको ३४.६७ प्रतिशत अर्थात् तीन खर्ब ९५ अर्ब ३१ करोड ८० लाख रुपैयाँ चालु खर्च गरेको छ । त्यही अवधिमा वित्तीय व्यवस्थापनतर्फ लक्ष्यको ४२.३९ प्रतिशत अर्थात् एक खर्ब ५५ अर्ब ६९ करोड ८५ लाख रुपैयाँ खर्चिएको छ ।

चालु आर्थिक वर्षको समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च डेढ खर्ब रुपैयाँभन्दा बढीले भएको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पाँच महिनाको अवधिमा सरकारले जम्मा चार खर्ब ४५ अर्ब ८८ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ भने पाँच खर्ब ९८ अर्ब ५६ करोड ४० लाख रुपैयाँ खर्च गरेको छ । जुन खर्च सरकारको कुल आम्दानीभन्दा १ खर्ब ५२ अर्ब ६८ करोड १२ लाख रूपैयाँले बढी हो ।

सरकारले चालु आर्थिक वर्षमा ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ वैदेशिक अनुदान सहायता प्राप्त गर्ने लक्ष्य राखेकोमा ६ अर्ब ७५ करोड ३७ लाख रुपैयाँमात्रै प्राप्त गरेको छ । सरकारी अधिकारीहरूले नै चालु आर्थिक वर्षमा लक्षित अनुदान प्राप्त हुन नसक्ने बताइरहेका छन् ।

साढे पाँच महिना अवधिमा सरकारले चार खर्ब ३१ अर्ब ४९ करोड ८५ लाख रुपैयाँ राजस्व उठाएको छ । गैरकर राजस्व ३८ अर्ब ३७ करोड २१ लाख रुपैयाँ र अन्य आय सात अर्ब ६३ करोड ६ लाख रुपैयाँ प्राप्त भएको महालेखा कार्यालयले अद्यावधिक गरेको विवरणमा उल्लेख छ ।

पार्टीभित्रै असन्तुष्टि चुलिँदै

गत असार १७ गते मध्यरातमा एमालेसँग भएको सात बुँदे सहमतिअनुसार बनेको सरकारले काम गर्न नसकेको भन्दै प्रमुख सत्तारुढ घटक कांग्रेसभित्र असन्तुष्टि चुलिँदो छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिदेखि प्रदेश कार्यसमितिका पदाधिकारीहरू नै वर्तमान सरकारका कामप्रति सन्तुष्ट देखिँदैनन् ।

कांग्रेसको १४ औँ महाधिवशेनमा सभापति पदमा शेरबहादुर देउवासँग प्रतिष्पर्धा गरेका डा. शेखर कोइराला र उनकै समूहबाट महामन्त्रीमा उठेर निर्वाचित भएका गगनकुमार थापालगायत नेताहरू सरकारको काम र उपलब्धिप्रति असन्तुष्ट छन् ।

पुस पहिलो साता सभापति देउवाको गृहप्रदेश सुदूरपश्चिमका नेता–कार्यकर्तासँग भेटवार्ता तय गरी कैलाली पुगेका नेता कोइरालाले सरकारका क्रियाकलापले आफू निराश बनेको अभिव्यक्ति दिएका थिए ।

डा. शेखर कोइराला ।

पुस ६ गते पार्टीको भ्रातृ संगठन नेपाल प्रजातन्त्र सेनानी संघको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई कोइरालाले सम्बोधन गर्दै थिए । सम्बोधन क्रममा उनले भनेका थिए, ‘छिटोछिटो सरकार परिवर्तन हुने कार्यलाई रोकेर देशमा स्थिरता कायम गर्न दुई ठूला दलको सरकार बनाएका हौँ । तर, सोअनुसार परिणाम दिन सकेको छैन ।’

तथापि, कांग्रेस–एमालेले सरकारका कामहरू प्रभावकारी बनाउन कार्यदल नै बनाएको छ । सरकारको समग्र काममै सहजीकरणका लागि गठन भएको कार्यदलमा कांग्रेसका तर्फबाट चार र एमालेबाट पाँच नेता सदस्य छन् ।

उक्त कार्यदलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सदस्य छन् । त्यस्तै एमालेले कार्यदलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाललाई पठाएको छ । उपाध्यक्ष पौडेल त वर्तमान सरकारमै उपप्रधान तथा अर्थमन्त्री छन् ।

सरकारको समग्र काममै सहजीकरणका लागि गठन भएको भनिएको आठ सदस्यीय कार्यदलका सदस्य रहेका कांग्रेस महामन्त्री थापा वर्तमान सरकारका कामप्रति सन्तुष्ट छैनन् ।

नेता कोइरालाले धनगढीमा सरकारप्रति असन्तोष व्यक्त गरेको अघिल्लो दिन थापाले वर्तमान सरकार गठनको उद्देश्यअनुसारको काम हुन नसकेको र जनताको आशाअनुसार सरकार चल्न नसकेको प्रतिक्रिया दिएका थिए ।

गगन थापा ।

पुस ५ गते काठमाडौंमा कैलाश कोइरालालिखित उपन्यास ‘शास्त्र’ विमोचन समारोहपछि सञ्चारकर्मीसँग थापाले भनेका थिए, ‘सरकार बनिसकेपछि जुन खालको आशा थियो, ती आशाअनुरूप जसरी डेलिभरी हुनुपर्ने हो – त्यो हुन सकेको छैन ।’

कांग्रेसका तर्फबाट गोरखा–१ मा निर्वाचित प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईं पनि ओली नेतृत्वको वर्तमान सरकारको कार्यशैलीप्रति सन्तुष्ट देखिँदैनन् ।

‘कांग्रेस–एमालेबीच सात बुँदे सहमति भएको छ, तर सरकार आफैं ती बुँदाहरूप्रति चिन्तित रहेको कुनै सार्वजनिक प्रमाण छैन,’ उनले खबरहबसँग भने, ‘कतै सरकारको नेतृत्वकर्ताले आफैंले गरेको सहमतिको उल्लंघन त गरिरहेका छैनन् ?’

सांसद बजगाईं जहिल्यै सरकार सफल भएको सुन्दै आए पनि आफूले अहिलेसम्मका कुनै पनि सरकारबाट सफलताको महसुस गर्न नपाएको र आम नागरिकले पनि उक्त सफलता पाएको आफूले नदेखेको टिप्पणी गर्छन् ।

राजेन्द्र बजगाईं ।

‘जहाँसम्म ६/७ बुँदे सहमतिको कुरा छ, म पावरवाला चश्मा लगाउने मान्छे हुँ । तर, मेरा लेन्सहरू जीवनभरि झुक्किएकै छन्,’ बजगाईं भन्छन्, ‘मैले जहिल्यै सुन्दै आएको छु – हरेक सरकार सफल भएको छ । तर, चर्को घाममा जुनेली रातमा छाम्दा पनि त्यस्तो सफलता पाएको महसुस गर्न सकिनँ, न नागरिकले त्यो सफलता पाएको देखेँ ।’

कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनको नजरमा पनि कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकारले अपेक्षाअनुरुप काम गर्न सकेको छैन ।

‘दुई ठूला दल मिलेर सरकार बनाउँदा जे हुनुपर्थ्यो – त्यो भइरहेको छैन,’ खबरहबसँगको कुराकानीमा उनले भने, ‘त्यो रूपमा सरकार गएन, त्यो रूपमा जनगुनासो छ, सरकारको प्रभावकारितालाई त्यो रूपमै बुझेका छौँ ।’

सुशासनको पक्षमा काम गर्न, जनतालाई छिटो छरितो र प्रभावकारी ढंगमा सेवासुविधा प्रदान गर्न, संघीयताको पूर्ण कार्यान्वयन गर्न सरकार अलमलमा परेको प्रदेश सभापति पुन बताउँछन् । ‘तर, अलमल पर्ने छुट कांग्रेस–एमालेको सरकारलाई छैन,’ उनले भने ।

अमरसिंह पुन ।

सरकार र पार्टीको बागडोर सम्हालिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टि बढिरहेका बेला नेता कृष्णप्रसाद सिटौलाले भने नीतिगत निर्णयको नेतृत्व कांग्रेसले नै गरिरहेको दाबी गरेका छन् ।

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रम सम्बोधनका क्रममा उनले प्रधानमन्त्री ओली भए पनि नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको दावी गरेका हुन् ।

‘अहिले हामी संयुक्त सरकारमा छौँ । ठूला–ठूला पार्टीहरू कांग्रेस र एमाले मिलेर संयुक्त सरकार बनाएका छौँ । प्रधानमन्त्री केपी ओलीजी हुनुहुन्छ । तथापि, हामी गर्वका साथ भन्छौँ – नीतिगत नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ,’ राष्ट्रिय सभा सदस्यसमेत रहेका सिटौलाले भने, ‘राज्य सञ्चालनको नेतृत्व प्रधानमन्त्रीले गरिरहनुभएको होला । तर, समग्र नेपाल र आम नेपाली जनतालाई अगाडि बढाउने नीतिगत नेतृत्व नेपाली कांग्रेस पार्टीले गरिरहेको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ५ : ५७ बजे

राजावादीले ढुंगा बर्साएको तीनकुनेको एक घरमा आगजनी

काठमाडौं– काठमाडौंको तीनकुनेस्थित एक घरमा आगजनी गरिएको छ । राजावादीहरूको

राजावादी र प्रहरीबीच झडपले रणमैदान बन्यो तीनकुने (तस्बिरहरू)

काठमाडौं- राजावादी र प्रहरीबीचको झडपले तीनकुने क्षेत्र रणमैदान जस्तै बनाएको

सम्बोधन स्थलबाट राजावादीले भने- मञ्चमा आउनुहोस् 

काठमाडौं– तीनकुनेमा राजावादी समर्थक र प्रहरीबीच झडप भएपछि सम्बोधन स्थलमा

तोडफोड भएको प्रसाईंको गाडी प्रहरीको नियन्त्रणमा (भिडियो)

काठमाडौं– राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका ‘कमान्डर’ दुर्गा

राजावादी आन्दोलनमा झडप, केही व्यक्ति घाइते

काठमाडौं– राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको प्रदर्शन हिंसात्मक