राजमार्ग छेउमा मकै पोलेरै जीविका « Khabarhub

राजमार्ग छेउमा मकै पोलेरै जीविका


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलबारी – यहाँको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग घर भएका मेघराज बस्नेतले पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गमा पर्ने बेलबारी–८ स्थित चिसाङ खोला छेउमा मकै पोलेर बेच्दै आएका छन्।

मकै पोलेरै पाँच जनाको परिवारको जीविका चलाउँदै आएका उनले भने, ‘व्यापारको टुङ्गो त हुँदैन, तर औसतमा दैनिक एक हजारदेखि एक हजार पाँच सय सम्म आम्दानी हुन्छ ।’ उनका अनुसार हाल २५ प्रतिघोगा किनेको हरियो मकै रु ४० प्रतिघोगाले बिक्री हुन्छ ।

बेलबारी–१० भाउन्ने घर भएका रमेश कुँवरले पनि मेघराजले झैँ सोही स्थानमा मकै पोलेर बिक्री गर्दै आएका छन् । घरमै होटल व्यवसाय सञ्चालन गरेका उनले कोरोनाका कारण व्यवसाय ठप्प भएपछि मकै पोलेर बेच्न थालेका हुन् । हाल यो पेसाप्रति सन्तुष्ट रहेको उनले बताए। कुँवरका अनुसार राजमार्गमा यात्रारत अधिकांशले यहाँ गाडी रोकेका बेला पोलेको मकै किनेर खाने गर्छन् ।

कानेपोखरी गाउँपालिका–५ बाट मकै पोल्न आउने गरेकी ५४ वर्षीय सुस्मिता राईले छोरीको सहयोगमा विगत चार वर्षदेखि मकै पोल्दै आएकी छन् । कानेपोखरी–५ की दुर्गा तामाङ पनि दुई वर्षदेखि सोही स्थानमा मकै पोलेर बेच्दै आएकी छन् । दैनिक एक सय घोगा पोलेको मकै बिक्री हुने उनी बताउँछिन् । जाडोमा मकै पोल्न सजिलो भएपनि गर्मीमा गाह्रो हुने उनीहरू बताउँछन् । 

यात्रुहरु र सवारी चालकले पनि यहाँ पोलेको मकै देखेपछि गाडी रोकेरै खाने गरेका छन् । ‘यो राजमार्गमा यात्रा गर्दा यहाँ पोलेको मकै नखाई चित्तै बुझ्दैन,’ ट्रक चालक रामु चौधरीले भने, ‘मकै खाँदै यहाँ आराम गर्दा थकाइ पनि मेटिने, मकै पनि स्वादिलो हुने भएकाले बानी नै परिसकियो ।’

चिसाङ खोला छेउमा पोलेको मकै रुचाउने मानिसहरूको भीड लाग्ने गरेको छ । राजमार्गमा यात्रा गर्नेहरूको खाजा खाने नयाँ गन्तव्यका रूपमा यो ठाउँ विकास भइरहेको छ । कोभिड–१९ को महामारीदेखि यहाँ वैकल्पिक व्यवसायका रूपमा मकै पोल्न सुरु भएको हो । यहाँ २० भन्दा बढी स्थानीयले मकै पोल्ने पेसा गर्दै आएका छन् ।

वन कार्यालयले पहिलेदेखि यहाँबाट मकै पोल्नेलाई हटाउन कोसिस गरिरहेको छ । डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी रामलखन ठाकुरका अनुसार अतिक्रमण नियन्त्रण गर्न वन क्षेत्रमा पर्ने उक्त स्थान खाली गर्न लागिएको हो । 

सर्वसाधारणको जीविका चलिरहेको यहाँबाट विस्थापित गर्न खोजिएपछि उचित व्यवस्थापनका लागि बेलबारी नगरपालिकाले बेलबारी–१० स्थित भाउन्ने चोक पुर्वपट्टि स्थायी रुपले व्यवसाय गर्ने ठाउँको व्यवस्थापन गर्ने योजना बनाएको नगरप्रमुख दिलप्रसाद राईले बताए।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  १ : २५ बजे

मन्त्रालयको पहलमा नेसनल मेडिकल कलेज विवाद समाधान, आन्दोलनरत रेजिडेन्ट डाक्टर काममा फर्किने

काठमाडौँ – वीरगन्जस्थित नेसनल मेडिकल कलेजका आन्दोलनरत रेजिडेन्ट डाक्टरहरू अध्ययन

लुम्बिनीले गुमायो तेस्रो विकेट, कप्तान रोहित आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम

हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा

दमौली–  तनहुँको व्यास नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ ।

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

गण्डकी– कास्की जिल्ला अदालतले पोखराको इमेज बचत तथा ऋण सहकारी

लुम्बिनीले गुमायो दोस्रो विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत पहिलो क्वालिफायरमा अहिले सुदूरपश्चिम