ओलीलाई विश्वप्रकाशको जवाफ- कांग्रेसमा फरक मत राख्नेलाई ठाउँ छ, एमालेले कारबाही गरेछ | Khabarhub Khabarhub

ओलीलाई विश्वप्रकाशको जवाफ- कांग्रेसमा फरक मत राख्नेलाई ठाउँ छ, एमालेले कारबाही गरेछ


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गत पुस ११ गते नेकपा (एमाले)का तीन नेतालाई गरिएको कारबाहीको प्रसंग मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा झिकेका छन् ।

पूर्वकर्मचारी समाज नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधनका क्रममा शर्माले एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावललाई एमालेबाट निष्कासन तथा स्थानीय कमिटी सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमल्सिनालाई निलम्बन प्रकरणमा बोलेका हुन् ।

शर्माले एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेको नेतृत्वलाई प्रश्न उठाउँदै फरक मत राखेकै कारण तीन नेतामाथि कारबाही गरिएको दाबी पनि गरेका छन् ।

उनले त्यसक्रममा २०८१ वैशाख २९ गते एमाले अध्यक्ष ओलीले कांग्रेसमाथि लगाएको आरोपको प्रसंग पनि सम्बोधनका क्रममा झिकेका छन् ।

त्यसबेला ओलीले कांग्रेस लोकतान्त्रिक पार्टी नभएको टिप्पणीसहित आक्रमण गरेका थिए । त्यो समय एमाले र माओवादीको गठबन्धन सरकार थियो । कांग्रेस प्रतिपक्षमा रहेर संसद्‍ अवरुद्ध गरिरहेको थियो । संसद् चल्न नदिएको सन्दर्भमा ओलीले कांग्रेसमाथि आक्रमण गर्दै अलोकतान्त्रिक भनेका थिए ।

तर असार १७ गते रातिको ७ बुँदे सहमतिअनुसार असार ३० गते अलोकतान्त्रिक भनिएको त्यही कांग्रेसको समर्थनमा ओ‌ली प्रधानमन्त्री भएका छन् । सरकार बनेको ६ महिना हुन लाग्दा कांग्रेस र एमालेबीच मनमुटाव सुरु भएको चर्चाबीच महामन्त्री शर्माले गत वैशाखको प्रसंग झिकेका हुन् ।

‘कांग्रेसजस्तो अलोकतान्त्रिक दल कुनै छैन भनेर केपी शर्मा ओलीले कुनै बेला भन्नु भएको थियो । पार्टीभित्र फरक मत राख्ने नेताहरू कांग्रेसभित्रै छन्’, उनले भने, ‘तर, एमालेभित्र प्रश्न उठाउने व्यक्तिहरूलाई भने कारबाही गरिएको छ ।’

शर्माले सम्बोधनका क्रममा सभापति शेरबहादुरको भूमिकाबारे पनि प्रश्न उठाए । उनले कांग्रेस पार्टीमा नेतृत्व लिन खोज्नेको अभाव देखिएको बताए ।

सभापति शेरबहादुर देउवाले धेरै काम गरिरहेको अवस्थामा अब त्याग गर्न बाँकी रहेको बताउँदै उनले आफूले त्यही सुझाव दिएको पनि बताए ।

शर्माले सरकारको आगामी नीति तथा कार्यक्रममा तीन सिफ्टमा काम गर्ने गरी योजना बनाउनुपर्ने सुझाव पनि दिएका छन् ।

के भनेका थिए ओलीले ?

गत २९ वैशाखमा ओलीले कांग्रेस लोकतान्त्रिक पार्टी नभएको टिप्पणी गरेका थिए । एमाले काठमाडौं महानगर कमिटीको अधिवेशन उद्घाटन गर्दै उनले कांग्रेस सत्ता स्वार्थमा डुबेको पार्टी भएको आरोप लगाएका थिए ।

‘नेपाली कांग्रेस आफू लोकतान्त्रिक शक्ति, होइन, सत्ता रुवार्थमा चुर्लुम्म भएको शक्ति हो’, उनले भनेका थिए ।

कांग्रेसले संसद्‍मा तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न नदिएको विषयमा ओलीले त्यसबेला आफू आरोप लगाउने तर आरोपको खण्डन गर्न नदिनु लोकतन्त्र नभएको टिप्पणी गरेका थिए ।

त्यसपछि ७ जेठमा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले अबदेखि आफूलाई लोकतान्त्रिक पार्टी भन्न छोड्नुपर्ने बताएका थिए । संसद् भवन परिसरमा सोमबार पत्रकारहरूलाई प्रतिक्रिया दिँदै कांग्रेसको अलोकतान्त्रिक चरित्र उदांगो भइसकेको उनले बताएका थिए ।

‘कांग्रेसले प्रतिनिधि सभा बैठकमा जे गर्‍यो त्यसले यो पार्टी लोकतान्त्रिक होइन भन्ने पुष्टि भएको छ । अबदेखि कांग्रेसले आफूलाई लोकतान्त्रिक भन्न छोडे हुन्छ’, संसद्मा गरिएको हुलदंगालाई लिएर उनले आक्रोशसहित भनेका थिए ।

त्यसबेला कांग्रेसलाई ठूलै घाटा पर्ने चेतावनी दिएका बर्तौला अहिले दुई दल मिलेर सरकार बनेपछि सत्तारुढ दलका मुख्य सचेतकको भूमिकामा छन् ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ३ : १९ बजे

नेप्सेमा सामान्य गिरावट, फाइनान्समा उछाल 

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ।

महसुल नबुझाउँदा विद्युत् लाइन विच्छेद

सिरहा–  सिरहाको धनगढीमाई नगरपालिकाले यहाँका किसानले प्रयोग गरेका कृषि मिटरको

शिक्षककै सर्टिफिकेट नक्कली, लाग्यो भ्रष्टाचार मुद्दा

काठमाडौं – विद्यार्थीलाई सदाचार सिकाउने जिम्मा लिएको शिक्षकमाथि नै भ्रष्टाचार

एचपीभी खोप अभियान आज पनि जारी

पोखरा – पाठेघरको मुखमा हुने क्यान्सर विरुद्ध लगाइने एचपीभी खोप

कांग्रेस भन्छ– ७३ प्रतिशत नेपालीसँग स्मार्ट फोन, हामी उड्ने अवस्थामा छौँ !

काठमाडौ– नेपाली कांग्रेसको नीति, अध्ययन तथा प्रशिक्षण प्रतिष्ठानको अध्ययनले स्नातक