नयाँ पार्टी खोल्ने भीम रावलको तयारी, पर्ख र हेरको अवस्थामा अछामका एमाले | Khabarhub Khabarhub

नयाँ पार्टी खोल्ने भीम रावलको तयारी, पर्ख र हेरको अवस्थामा अछामका एमाले


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


5k
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेकपा (एमाले)को उपाध्यक्षसहित संगठित सदस्यबाटै हटाइएका डा. भीमबहादुर रावल अहिले कुनै दलसँग आवद्ध छैनन् । एमालेले पुस ११ गते संगठित सदस्य खोस्दै पार्टीबाटै निष्कासन गरेयता रावल दलविहीन छन् । चार दशक राजनीतिक जीवन बिताएको एमालेसँग अब वैधानिक सम्बन्ध रहेन । अध्यक्ष केपी शर्मा ओलीले ढोका बन्द गरेपछि अब चाहेर पनि रावल एमालेमा फर्किन सक्ने सम्भावना सकिएको छ।

काठमाडौंमा भएको नवौँ महाधिवेशनमा अध्यक्षका प्रत्यासी माधवकुमार नेपालको प्यानलबाट रावलले सबैभन्दा धेरै मतसहित उपाध्यक्षमा जित निकालेका थिए । त्यसपछि एमालेमा रावलको छुट्टै छवि बनेको थियो । सुदूरपश्चिममा त उनको एकल निर्णय चल्थ्यो । उनी जति लोकप्रीय थिए, त्यति नै कठोर पनि । उनले बोलेपछि सुदूरपश्चिममा अरुले जवाफ फर्काउने अवस्था हुन्थेन । तर त्यति शक्तिशाली रावललाई १० औँ महाधिवेशनमा आफूसँग भिडेपछि ओलीले अन्तत: पाखा लगाएरै छाडे ।

पार्टीलाई कमजोर बनाउन निरन्तर बोलेको, पार्टी विधान र अनुशासन उलंघन गरेको आरोपसहित संगठित सदस्यसमेत नरहने एमालेले निष्काशन गरेपछि रावल अहिले विकल्पको खोजीमा छन् ।

रावललाई एमालेले निकालेपछि देशभर ओलीको विरोध र आलोचना भइरहेको छ। सामाजिक सञ्जालमा ओलीको विरोध हुँदा रावलप्रति सहानुभूति पनि देखाउने बढेका छन् । उता गृहजिल्ला अछाममा पनि राजनीतिक हलचल तीव्र छ । उनीनिकटहरू एमालेको कारबाहीलाई अनुचित भन्दै आफूहरू पनि अब सहेर नबस्ने बताइरहेका छन् ।

उता रावलले यही बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर भावी योजना सार्वजनिक गर्न लागेका छन् । रावलले नयाँ पार्टी खोल्ने संकेत गरेपछि निकटस्थहरू अलमल र अन्योलमा छन् । त्यसको असर उनको गृहजिल्ला अछाम र त्यहाँका एमाले कार्यकर्तामा बढी देखिएको छ ।

यसअघि नै ओलीले रावललाई भूमिकाविहीन बनाएको आक्रोश एमालेजनमा थियो । अब पार्टीबाटै निकालेपछि उनीनिकट नेता-कार्यकर्ता विद्रोहकै पक्षमा उभिने तयारीमा छन् ।

देशभर सामाजिक सञ्जालमा देखिए जस्तो ठूलो असर रावलको गृहजिल्ला अछाममा देखिएको त छैन । तर उनीनिकट कार्यकर्ताहरूका लागि अलमलको अवस्था आइपरेको कुरामा विवाद छैन ।

भीम रावलसँग भेटका क्रममा कर्ण मल्ल

रावलको भावी रणनीतिबारे अहिले नै अड्कल गर्न सकिने अवस्था छैन । अहिले उनी टोखास्थित निवासमा ठूला दलका असन्तुष्ट र निकालिएका नेताहरूसँग संवादमा छन् ।

उनले सोबार कांग्रेसबाट निकालिएका डडेलधुराका कर्ण मल्ल र एकीकृत समाजवादी छाडेका सुदूरपश्चिम प्रदेश सांसद डा. तारा जोशीसँग पनि संवाद गरिसकेका छन्।

यसबीचमा नेता-कार्यकर्ताहरू रावलको सम्भावित कदमबारे अड्कल मात्रै गरिरहेका छन् । ‘अहिले नै टिप्पणी गरिहाल्ने बेला भएको छैन, उहाँको पछाडि एमालेको ठूलो पंक्तिको समर्थन होला भन्ने लाग्दैन’, अछामको तुर्माखाँद गाउँपालिकाका अध्यक्षसमेत रहेका एमाले नेता डम्मर विसी भन्छन् ।

उनले पार्टी केन्द्रको निर्णय मान्नुपर्ने बताउँछन् ।‘पार्टी निर्णय हामीले मान्ने हो, रावलको कारबाहीकव प्रभाव नपर्ने भन्ने होइन, तर बाहिर ब्याख्या गरे जस्तो ठूलै क्षति हुने अवस्था देखिएको छैन’, उनले भने ।

भीम रावल अछामको निर्वाचन क्षेत्र नम्बर १ का बासिन्दा हुन् । उनको सबैभन्दा प्रभाव साँफेबगर नगरपालिका, चौरपार्टी गाउँपालिका, बान्नीगढी, मेल्लेख र रामारोशनमा पर्ने देखिएको छ। आंशिक प्रभाव सिंगो सुदूरपश्चिममा पनि पर्छ। तर पनि पार्टी छोडेर, एमालेको सदस्यता त्यागेर रावलसँगै जाने कुरा सजिलो नहुने एमाले अछामका एक नेता बताउँछन्।

एमाले अछामका सचिवालय सदस्य प्रकाश शाहले अहिले सिंगो अछाम र सुदूरपश्चिम अलमलमा रहेको दाबी गरे । ‘रावल सरको पछि लाग्ने-नलाग्ने, जाने-नजाने, समर्थन गर्ने-नगर्ने कुरा पछिको हो’, उनले भने, ‘पार्टी संगठन बनाएकै व्यक्तिलाई पूर्वाग्रही ढंगले हटाएपछि ठूलो संख्याका नेता-कार्यकर्ता विद्रोहको पक्षमा रहन सक्छन् ।’

रावललाई एमालेले हटाउनुले अनेक आशंका जन्माएको उनले बताए । ‘जसले पार्टी बनायो, कांग्रेस र राजावादीसँग लडेर संगठन निर्माण गर्‍यो, उसैलाई हटाउने कुरा गम्भीर र आशंकायुक्त कुरा हो’, उनले भने ।

रावललाई कारबाहीपछि अछाममा आधाआधी एमाले नेता-कार्यकर्ता अन्योलमा परेका छन् । उता एमाले अछामका सचिव भीमबहादुर रावल ‘कालोटोपी’ले पूर्वउपाध्यक्ष रावललाई कारबाही गर्नु अन्यायपूर्ण भएको बताउँछन् । ‘सदस्य राखिरहँदा पार्टीलाई केही समस्या हुने थिएन’, उनले भने, ‘उहाँलाई हटाउनुको औचित्य पुष्टि गर्न र कार्यकर्तालाई बुझाउन समय लाग्छ ।’

रावल र शाह दुवैजना पूर्वउपाध्यक्ष रावलनिकट मानिन्छन् । दुवै जनाले पार्टीको एउटा समूह नै रावललाई हटाउने प्रस्तावसहित डेलिगेशनमा जाने गरेको बताउँदै अब सफल भएको बताउँदै पार्टीलाई क्षति पुगेकोमा दुखी छन् ।

अहिलेसम्म अछाम जिल्ला कमिटीको अधिवेशन पनि हुन सकेको छैन् । रावललाई कारबाही नगरी अधिवेशन नगर्ने केन्द्रको योजनाअनुसार २०८० चैत्रभित्र गरिसक्नु पर्ने अधिवेशन अझै नभएको सचिव रावलको दाबी राछ ।

यसबीचमा रावलले बुधबार पत्रकार सम्मेलनमार्फत आफ्नो भावी योजना बताउने भएका छन् । एमालेले हटाएको विषय र नयाँ राजनीतिक दिशाबारे उद्घोष गर्ने अनुमान छ । उनले सम्भवत: नयाँ पार्टी घोषणा गर्न सक्नेछन् । गैरकम्युनिष्ट चरित्रका व्यक्तिलाई समेटेर अघि बढ्ने सोचमा रावल छन् ।

रावलको विगत

कुनै बेला ओलीकै सबैभन्दानजिकका विश्वासपात्र रावल शक्तिमा हुँदा निरन्तर सत्तामा पनि रहे । उनी २०५१ पछि ४ पटक मन्त्री भएका छन् । २०४६ सालमा नेता झलनाथ खनालको स्वकीय हुँदै ०५२ सालमा पर्यटन राज्यमन्त्री बने । २०५५ सालमा पर्यटनमन्त्री बनेका रावललाई २०६२ मा पार्टीले शिक्षामन्त्रीमा सिफारिस गरेको थियो । तर चाहेको मन्त्रालय नपाएपछि सरकारमा गएनन् । उनी २०६४ सालमा समानुपातिक सभासद्, २०६६ मा गृहमन्त्री र २०७२ मा उपप्रधानसहित रक्षामन्त्री बने ।

उनलाई सुदूरपश्चिमबासीले एमाले अध्यक्ष र भावी प्रधानमन्त्रीका रुपमा हेर्ने गरेका थिए । त्यो अनुमान र आशा एमालेको कारबाहीसँगै केही समयका लागि सकिएको छ ।

अहिले रावलको कारबाहीको पक्ष-विपक्षमा जनमत बाँडिएको छ । खुलेर बोल्न र लेख्न नसके पनि एउटा पंक्ति रावलको कारबाहीमा खुसी छ । तर अर्को पंक्तिले विद्रोह नै उचित हुने निष्कर्ष सुनाइरहेका छन् । पार्टीमा बस्न नदिने अवस्था आइसकेपछि विभाजन र अन्योलको अवस्था आएको एमाले नेता प्रकाश शाह थप्छन् ।

रावलको कारबाहीले एमालेले सुरु गरेको मिसन २०८४ लाई प्रत्यक्ष असर पुग्ने देखिन्छ । जितका लागि नभए पनि एमालेले हार्ने कुरामा भीम रावलको भूमिका सिंगो सुदूरपश्चिममा पर्याप्त हुने विश्लेषण भइरहेको छ। २०७९ को चुनावमा पनि रावलको टिकट ओलीले खोसिदिँदा एमालेले सुदूरपश्चिममा कम्तीमा ५ सिट गुमाएको थियो ।

नेकपाकालसम्म रावल प्रभावशाली थिए । पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपालका बलिया सारथि पनि । माधवलाई पार्टीमा समानान्तर अभ्यासमा उकास्नेदेखि नयाँ पार्टीको विधान बनाउनेसम्म भूमिका रहेको आरोप रावलले चिर्न सकिरहेका छैनन् । माधव नेपालले त रावलले नै नयाँ पार्टीको विधान बनाएर अन्तिममा धोका दिएको सार्वजनिक रुपमै बताइसकेका छन् ।

एमालेमा सर्वाधिक मतसहित शक्तिशाली उपाध्यक्ष हुँदा पनि नेकपा निर्माणको बेला रावल ९ सदस्यीय सचिवालयमा परेनन् । त्यहाँ विष्णु पौडेलले स्थान पाए ।
त्यहीबेलादेखि नै असन्तुष्ट रावलले ‘ओली विरोधी’को ट्याग पाए । नेकपाकालमा प्रचण्ड र माधवको बोली बोल्न थालेपछि ओलीले रावललाई पाखा गरिरहे । पार्टीमा भूमिका नपाए पनि रावलले मन्त्री बन्न खोजे तर ओलीले मौका दिएनन् ।

त्यसपछि ओलीसँग टाढिएका उनी नेपालसँग नजिकिँदै गए । माओवादीसँग मिलेर बनेको तत्कालीन नेकपा अध्यक्षबाट ओलीलाई हटाउनुपर्ने पक्षमा उनी उभिए । जुन योजनामा अन्तिममा आएर आफैँ फसे । रावलले त्यसबेला ओलीलाई हटाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरे ।

२०७८ सालमा माधव नेपालले एमालेमा विद्रोह गर्दा उनीसहितका नेताहरू रोकिए । तर ओलीको विश्वास जित्न सकेनन् । ओलीसँग दश बुँदे सहमति गरेर एमालेमै बसे । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेसँगै प्रधानमन्त्री ओलीलाई कुन पार्टीको भन्ने प्रश्न पनि रावलले गरे ।

सुदूरपश्चिम प्रदेश सभामा तत्कालीन सभामुखसहित एमालेका २५ सांसदमध्ये ओली समूहमा ७ जना मात्रै थिए । संसदीय दलका नेता प्रकाश शाहसहित १८ सांसद रावल पक्षमा थिए ।

तर विडम्वना रावल अहिले एक्लिए । एमालेले निष्कासन गरेपछि उनी गैरकम्यूनिष्ट पार्टी खोल्ने निषकर्षमा पुगेका छन् ।

रावललाई नजिकबाट चिन्नेहरू उनले शक्तिमा हुँदा अरुलाई पेलेको जिकिर गर्छन् । अहिले शक्तिहीन हुँदा रावललाई ओलीले पेल्नुसम्म पेलेर एमालेबाट निकाले। रावलकै कारण पुराना नेता एवम् पूर्वमन्त्री मोहन सिंह राठौरले एमाले त्यागेका थिए । राठौर मन्त्री हुँदाका स्वकीय झपट रावललाई टिकट दिएर रावलले राठौरलाई किनारा लगाएको आरोप पनि छ ।

रावललाई २०७९ को चुनावमा एमाले हराउन लागेको आरोप छ । स्थानीय तह र संघ-प्रदेशको निर्वाचनमा एमाले हराउन भूमिका खेलेको आरोपले उनलाई पछ्याइरहेको छ । त्यसबेला रावलकै आफ्नै वडा र पालिकामा एमाले हारेको थियो । संघ र प्रदेशमा पनि राम्रो नजिता आएन । अछामबाट एमालेले रावलले लगातार तीन दशक संसद्मा प्रतिनिधित्व गरे ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ८ : १९ बजे

कुनैबेला पेट पाल्न भारतमा भाँडा माझेकी गौमुलकी सीता बनिन् ‘शी लिड्स आइकन’

धनगढी- महिला जनप्रतिनिधिको उल्लेखनीय योगदानलाई सम्मानका लागि दिइने ‘शी लिड्स

संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ : मुख्यमन्त्री आचार्य

घोराही– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश कला, संस्कृतिमा

परिणाममुखी काम गर्न सीडीओ र सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सीमित स्रोत र साधनकाबीच परिणाममुखी काम

आपतकालीन रगतका लागि ‘ब्लड फर मी’ मोबाइल एप्स सार्वजनिक

पाटन– आपतकालीन अवस्थामा ताजा रगत खोज्न सहजीकरणका लागि ‘ब्लड फर