बैंकले उत्पादनशील क्षेत्रमा लगानी नगरे समस्या पर्नसक्छ | Khabarhub Khabarhub

बैंकले उत्पादनशील क्षेत्रमा लगानी नगरे समस्या पर्नसक्छ

सरकारले पुँजीगत खर्च नबढाएसम्म अर्थतन्त्रको समाधान हुँदैन




गुरुप्रसाद पौडेल

अहिले देखिएका समस्याहरू बैंकिङ समस्या मात्रै होइन, सम्पूर्ण अर्थतन्त्रकै समस्या हो । हामीले यसलाई यही ढंगले सोच्नुपर्छ ।
नेपालमा बैंकिङ प्रणालीले वास्तवमा वित्तीय क्षेत्रमा रूपान्तरण पनि गरेको छ । बार्टर सिस्टमबाट हामीले मनिटाइज सिस्टममा कन्भर्ट गर्‍यौं, त्यो रूपान्तरण हो । मनिटाइज सिस्टमबाट हामीले फाइनान्सलाइजेसन गर्यौं, त्यो रूपान्तरण हो । अहिले फाइनान्सियल सिस्टमबाट हामी डिजिटाइजेसनतर्फ गइराखेका छौं, यो रूपान्तरण हो ।

नेपालको जीडीपीको आकार ०४० सालसम्म आइपुग्दा पनि ४० अर्ब हाराहारीमै थियो । आज हामी ५७ सय अर्ब बराबरको जीडीपीको विषयमा कुरा गरिरहेका छौं । यो सँगसँगै नेपालमा वित्तीय पहुँचको वृद्धि हुँदा यसले जीडीपीको आकार वृद्धि गर्नमा सहयोग गर्‍यो । जीडीपीको आकार वृद्धि हुँदा निजी क्षेत्रको विस्तार हुन सहयोग पुर्‍यायो । वास्तवमा हामीले यसरी नै हेर्नुपर्छ ।

ध्यान दिनुपर्ने विषय के हो भने पछिल्लो समयमा आएर हामी किन ‘सेलेक्टिभ’ हुनुप¥यो भन्ने हो । स्रोत जहिले पनि सीमित हुन्छ । सीमित रहेको साधन र स्रोतलाई हाम्रा आवश्यकताहरू पूरा गर्ने सिलसिलामा ‘सेलेक्टिभ’ बन्नै पर्छ ।

हामी ‘ऋणदेखि व्यक्तिगत जीडीपीसम्म’ र ‘ऋणदेखि निजी क्षेत्रसम्म’ हेर्‍यौं भने अहिले हाम्रो अवस्था लगभग संसारमै उच्च स्थानमा छ । हाम्रो जीडीपीको आकार र नेपालका बैंक तथा वित्तीय संस्थाले गरेको कर्जा प्रवाह तुलना गरेर हेर्‍यो भने झण्डै ९१ प्रतिशत हुन गएको छ, जुन भारत, पाकिस्तान, श्रीलंका लगायतका राष्ट्रहरूको तुलनामा उच्चदर हो ।

के यही गतिमा कर्जा प्रवाह हुँदै जाँदा त्यसले अर्थतन्त्रलाई दिगो बनाउन सक्छ त ? निश्चितरूपमा होइन । त्यसो हो भने के गर्ने त ?

साधन र स्रोत सीमित छ, यसलाई प्रयोग गर्ने सन्दर्भमा हामी ‘सेलेक्टिभ’ भएर अगाडि बढ्नुपर्छ । त्यसो भएको हुनाले नेपाल राष्ट्र बैंकले प्रत्यक्ष ऋणको कुरा गरेको हो । ‘डाइरेक्ट लेन्डिङ’को कुरा गर्दा कृषि क्षेत्रमा हामीले १५ प्रतिशत र उर्जा क्षेत्रमा १० प्रतिशत लगानी गर्नपर्छ भन्यौं ।

नेपालको अर्थतन्त्रमा २५ प्रतिशत योगदान गर्ने कृषि क्षेत्रले १५ प्रतिशत ऋण खपत गर्दैन ? अवश्य गर्छ । त्यस्तै, हामीले एउटा सपना देख्यौं भने नेपालको अर्थतन्त्रलाई विकसित गर्ने हो भने उर्जा क्षेत्रको विकास नगरिकन सम्भव छैन । सोही कारण हामीले बैंक तथा वित्तीय क्षेत्रलाई लगानीको १० प्रतिशत लगानी गर्न भनेका हौं ।

हामीले के भन्यौं भने बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल कर्जा लगानीको १५ प्रतिशत कृषि क्षेत्रमा लगानी गर्न पर्छ भन्यौं । हामी यसमा कति जिम्मेवार बन्यौं भन्नेबारेमा भने निजी क्षेत्रले समेत यो सोच्नुपर्ने विषय हो । नीतिले मात्रै केहीपनि गर्दैन तर, नीतिको कार्यान्वयन गर्दा सरकारी र निजी दुवै क्षेत्र मिलेर जानुपर्ने हुन्छ ।

हामीले पछिल्लोपटक ल्याउन खोजेको विषय भनेको सीमित भएको स्रोतलाई उत्पादनशील क्षेत्रतर्फ डोर्याउनुपर्छ भन्ने हो । जीडीपीको आकारमा जुन हिसाबले कर्जाको वृद्धि भइरहेको छ, सो कर्जालाई थेग्न सकिँदैन ।

एक प्रकारले भन्ने हो भने नेपालको निजी क्षेत्र बढ्ता भार भइरहेको छ । हामीले साढे ५ करोड भन्दा बढी व्यक्तिहरूको खाता खोलेर जम्मा गरेको पैसा जम्मा १८ लाखलाई लगानी गरेका छौं । सो कर्जा प्रवाह गर्ने सीमित वर्ग छ । यदि उहाँहरूले त्यसलाई उत्पादनशील क्षेत्रमा लगानी गर्दिनुभएन वा सो विषयमा सोच्दिनुभएन भने समस्या पर्न सक्छ । त्यसैले कर्जाको उत्पादनशीलतालाई हेर्नुपर्छ भन्नेतर्फ नेपाल राष्ट्र बैंकका नीतिहरू लक्षित भएका छन् ।

अहिले औसत माग घटिरहेको अवस्था छ । माग बढाउन आवश्यक छ । संसारको कुनचाहिँ देशले पुँजीगत खर्चको विकास नगरिकन माग बढाायो होला ? यो त सम्भव छैन । हामीले पुँजीगत खर्च कति गरिरहेका छौं भन्ने विषयमा त छर्लंगै छ ।

सन् १९३० ताकाको आर्थिक महामन्दी चिर्नका लागि तत्कालीन अमेरिकी राष्ट्रपति रुजवेल्टले जे सुधार प्याकेज ल्याए । ‘थ्री–आर’ भनिएको त्यो प्याकेजमा सुधार र पुनर्निर्माणलाई नै मुख्य साध्य मानेर अगाडि बढेको देखिन्छ । त्यसो हुनाले आयआर्जन र रोजगारी वृद्धिका लागि अर्को विकल्प नै छ ।

अहिले हामीले मन्दी भनिरहेका छैनौं, प्राविधिक भाषामा यो सुस्तता हो । सुस्ततालाई चिर्नका लागि पुँजीगत खर्च आवश्यक छ । अहिले बैंकिङ क्षेत्रका जे–जस्ता सूचकहरू छन्, ब्याजदर घटेको छ, लगभग बैंकहरूले एकल अंकको ब्याजदरमा कर्जा प्रवाह गर्नसक्ने देखिन्छ ।

बैंकहरूले अहिले ७ सय अर्बको हाराहारीमा कर्जा प्रवाह गर्नसक्ने अवस्था छ । तर, यस्तोबेलामा हामीले माग किन बढाउन सकिरहेका छैनौं ? किन निजी क्षेत्रको एउटा व्यक्ति राम्रो योजना लिएर बैंकसँग जान सकिरहेको छैन ? के पब्लिक कन्फिडेन्स नभएको हो ? यसलाई बढाउनको लागि कसले के गर्नुपर्ने हो ? राज्यको तर्फबाट गर्नुपर्ने के हो ?

राजनीतिक व्यक्तिहरूको तर्फबाट गर्नुपर्ने के हो ? र, वित्तीय क्षेत्रको तर्फबाट गर्नुपर्ने के हो ? यी विषयमा सीमांकन पनि हुनुपर्छ र यो विषयमा हामीले सोच्नु पनि पर्छ जस्तो लाग्छ ।

अर्को विषय, अब भौतिक पूर्वाधारलाई मात्रै अर्थतन्त्र रूपान्तरणको मुख्य विषय बनाउन सकिन्छ जस्तो मलाई लाग्दैन । भौतिक पूर्वाधारसँगै अब हामीले डिजिटल पब्लिक पूर्वाधारमा विकास गर्न आवश्यक छ । अहिले हामीले पारदर्शितालाई विस्तार गर्न सकिरहेका छैनौं, किनकि हामीसँग डिजिटाइजेसन छैन । पारदर्शिता ल्याउनका लागि पनि डिजिटाइज आवश्यक छ । राष्ट्रिय परिचयपत्रलाई राज्यका विभिन्न क्षेत्रमा अवलम्बन गर्न आवश्यक छ ।

उदाहरणका रूपमा हेर्दा भारतले रासन कार्डलाई आधार कार्डका रूपमा प्रतिस्थापन गर्दा २ करोड ९५ लाख रासन कार्डहरू फर्जी भेटिए । त्यसबाट राज्यले प्रत्येक वर्ष १७ हजार करोड भारतीय रूपैयाँ बराबरको लक्षित वर्गमा त्यो स्रोत पु¥याउन सकिरहेको रहेन छ ।

हामीले हाम्रो प्रणालीलाई डिजिटाइज गर्नका लागि सबैभन्दा पहिले राष्ट्रिय परिचयपत्रलाई किन लागू गर्न सकेनौं ? ०६७ बाट सुरु गरेको बायोमेट्रिक आइडीलाई एउटा समय दिएर अगाडि जान सक्ने विषयमा किन हुन सकेको छैन ? सरकारले पासपोर्टलाई गर्न खोज्यो, त्यो राम्रैसँग अगाडि बढेको छ ।

अर्को, हाम्रो निर्यात के हो ? के अहिले हामीले गरिरहेको निर्यातबाट नै देशलाई विकसित गर्न सक्छौं ? रोजगारी सिर्जना गर्न सक्छौं ? के हाम्रो व्यापार घाटालाई घटाउन सकिन्छ ? मलाई त्यस्तो लाग्दैन । आइआईडिएसले गरेको एउटा अध्ययनमा नेपालमा बस्ने युवाहरूले आफ्नो कम्प्युटर सफ्टवेयर बिक्री गरेर सन् २०२२ मा ५१५ मिलियन डलर आम्दानी गरे । त्यो त्यतिबेलाको मूल्यको करिब ७० अर्ब रूपैयाँ हाराहारीमा हो ।

सरकारले यतिठूलो संस्थागत संरचना निर्माण गरेर, विभिन्न सहुलियत दिएर, यतिधेरै कर्मचारीलाई लगाएर अन्य वस्तु निर्यात गर्दा हामी कहिल्यै पनि २ सय अर्बमा पुग्न सकेनौं । राज्यले कुनै ठूलो लगानी नगरिकन युवाहरू आफैँले ‘सेल्फ मोटिभेटेड’ भएर घरमै बसेर एउटा ल्यापटपबाट गरेको एक्सपोर्ट एक वर्षमा ७० अर्बको हाराहारीमा भयो ।

राज्यले ध्यान दिनुपर्ने वस्तु उत्पादन कि सेवा उत्पादन ? राज्यले पूर्वाधार मात्रै भनेर ध्यान दिने कि पब्किल डिजिटल पूर्वाधार भनेर ध्यान दिने ?

हामीले समस्याको विषयमा धेरै छलपल गरेका छौं तर, अब कसरी जाने भन्ने विषयमा छलफल गर्न आवश्यक छ । पहिला केही दायित्व पूरा गरेर पब्लिक सेन्टिमेन्ट उठाउने काम पनि गरौं न ।

हामीले नेपाल सरकारलाई अनुरोध पनि गर्यौं । अहिले १ लाख १५ हजार जनाले सहुलियतपूर्ण कृषि कर्जा लिएका छन्, त्यसको डेढ–दुई वर्षदेखि ब्याज अनुदान भुक्तानी हुन सकेको छैन । राज्यले निर्यातमा अनुदान दिने भन्यो, त्यसको २ अर्ब बढी इन्टेन्सिभ तिर्न बाँकी छ ।

त्यसैले तत्काल मान्छेहरूको मनोविज्ञानलाई उठाउन यस्ता भुक्तानीहरू दिएर जानुपर्छ । कालान्तरमा आर्थिक विकासका लागि देखिएका सुस्तता चिर्नका लागि साथै हाम्रा समस्याहरूलाई न्यूनीकरण गर्नका लागि पुँजीगत खर्च नगरिकन सम्भव नै छैन । सरकारले १ रूपैयाँ खर्च गर्नु भनेको निजी क्षेत्रले ३ रूपैयाँ खर्च गर्नु बराबर हो । सरकारले ३ सय अर्ब खर्च गर्दा निजी क्षेत्रले ९ सय अर्ब खर्च गर्छ ।

सरकारले निश्चित तोकिएको रकम पुँजीगत खर्च गर्न आवश्यक छ । सँगसँगै निजी क्षेत्रले पनि गर्न आवश्यक छ । निजी क्षेत्रले गर्ने खर्चको लागि सस्तो ब्याजदर, साधनको उपलब्धता प्रणालीबाट ग्यारेन्टी गर्नुपर्छ अथवा त्यसको वित्तीय व्यवस्था गर्दिनुपर्छ, त्यसको जिम्मेवारी केन्द्रीय बैंकको हो ।

(पौडेल नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विमागका प्रमुख हुन् । यो सामग्री खबरहब डटकम र इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा मंगलबार सम्पन्न ‘बैंकिङ क्षेत्रका चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वन्यायाधीश श्रेष्ठले उठाएका प्रश्नहरुका आधारमा तयार पारिएको हो–सं)

यो पनि-

‘चेक बाउन्स’मा जेल, बैंकको झेल ?

बैंकहरू ‘साइलक’ को नयाँ संस्करण नबनून्

बैंकिङ क्षेत्रको चुनौती : सहकारीपछि बैंकमा जोखिमको घण्टी

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  २ : ४५ बजे

कांग्रेस नेता शेखर कोइरालाले बेलायतको संसदमा सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतको संसद (वेस्ट मिनिस्टर)

चिसो बढेपछि सुनसान बन्दै ढोरपाटन

बागलुङ– चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ ।

धार्मिक तथा प्राकृतिक स्थल कालिञ्चोक भगवती (तस्बिरहरू)

दोलखा– दोलखाको कालिञ्चोक गाउँपालिकामा रहेको कालिञ्चोक भगवती मन्दिर धार्मिक, प्राकृतिक

सन्त राष्ट्रपतिको आत्मस्वीकृति- ‘जनता भोको राखेर कसरी टन्न खान सक्छु ?’

नेपाल र पूर्वी युरोपमा पर्ने देश अल्बानियामा एकै वर्ष बहुदलीय

भारत र अस्ट्रेलियाको टेस्ट रोमाञ्चक मोडमा

अस्ट्रेलिया – भारत र अस्ट्रेलिया बीचको पाँचौँ तथा अन्तिम टेस्टमा