काठमाडौं- नेकपा एमालेले ढोका बन्द गरेपछि डा. भीम रावलले ‘मातृभूमि जागरण अभियान’ लिएर देश दौडाहा गर्ने भएका छन् । रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट अभियान सुरु गर्ने भएका हुन् ।
रावलले झापामा गर्ने कार्यक्रमका लागि स्थान तय भइसकेको छैन । झापा रावललाई एमालेबाट निकालेका प्रधानमन्त्री ओलीको गृहजिल्ला हो । ओली दमकका बासिन्दा हुन् । यो कार्यक्रम दमक, बिर्तामोड या मेचीनगरबाट गर्ने भन्ने टुंगोका लागि रावल छलफलमै छन् ।
‘साथीहरूसँग छलफलमै छु, एक–दुई दिनभित्रै तपाईँहरूलाई स्थान थाहा हुने छ’, रावलले खबरहबसँग भने, ‘पहिला जिल्ला अभियान चलाएर प्रदेशमा अभियान गर्छौं । त्यसपछि गाउँ बस्ती र नगरका सम्पूर्ण क्षेत्रमा अभियान हुनेछ ।’
रावलले बुधबार पत्रकार सम्मेलनमार्फत् एमाले अध्यक्ष ओलीलाई ७४ प्रश्न गर्दै औपचारिक रूपमा अलग्गिएको घोषणा गरेका छन् । उनी अब पुस २१ र २२ मा बस्ने केन्द्रीय कमिटी बैठकले निर्णय सच्याए पनि एमालेमा नफर्किने बताउँछन् ।
यसै साता झापाबाट अभियान थाल्न लागेका रावल दोस्रो दिन इलाम पुग्दै छन् । इलाम एमालेका दिवंगत पूर्वउपाध्यक्ष सुवास नेम्बाङको गृहजिल्ला हो । आफ्नो अभियानलाई एमालेकै केन्द्रीय नेताहरूले पनि भित्रीरूपमा साथ दिएको रावलले पत्रकार सम्मेलनपछि खबरहबलाई बताएका छन् ।
पार्टीहरूका असन्तुष्ट र नयाँ पुस्तासहितका शक्तिसँग संवाद थाल्नुभएको हो भन्ने प्रश्नमा भने, ‘अहिले सबैसँग संवाद र छलफलमै छु । खासगरी बुद्धिजीवीसहित मेरा साथीहरू छलफलमै हुनुहुन्छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, धनगढी उपमहानगरका मेयर गोपी हमाल, अभियन्ता दुर्गा प्रसाईँ, धरानका मेयर हर्कराज साम्पाङ सबैसँग छलफल हुने छ । पार्टीबारे भन्दा आन्दोलनका विषयमा विमर्श हुन सक्छ ।’
रावलले जनचासोका विषयमा मत र विचार मिल्नेसँग सहकार्य गर्ने बताए । ‘उहाँहरूले उठाएका कतिपय मुद्दा मेरा पनि चासो र जनताका मुद्दा हुन् । देशवासीसँग मेरो दुष्मनी छैन । तर देश मास्न खोज्ने दलालसँग रहन्छ ।’
रावलले आफ्नो अभियानलाई युवालक्षित बनाउने पनि बताएका छन् । ‘पछिल्लो समय राजनीतिमा नयाँ पुस्ताको नैरश्यता छाएको छ । विदेशिएका युवा पनि नेपाल फर्किने स्थिति छैन । यो अवस्था अन्त्यका लागि सबै देशभक्त र अभियन्तासँग विमर्शपछि एक ढिक्का भएर अगाडि बढ्नुपर्ने अवस्था छ’, उनले भने ।
कस्तो होला अभियान ?
सुरुमा रावलले जिल्ला पुगेर असन्तुष्टलाई तान्ने योजना बनाएका छन् । आफूप्रति झुकाव राख्नेलाई पनि संगठित गर्ने तयारी छ । त्यसपछि सबै जिल्लाबाट सुझाव लिएर पार्टी खोल्ने या स्वतन्त्र अभियान चलाउने निर्णय हुने छ ।
रावलले अभियानमा को–को जोडिन्छन् र को–को नेताहरू उपस्थित हुन्छन् भन्ने अहिलेसम्म जानकारी गराएका छैनन्। तर उनले पत्रकार सम्मेलनमा बिपी कांग्रेस र पूर्वसैनिक कर्मचारीहरूसँग पनि आफू संवादमा रहेको बताएका छन् । हुन त नेपाली कांग्रेस बिपीका केन्द्रीय उपसभापति कर्ण मल्ल उनको अभियानमा जोडिने तयारी भइरहेको पनि चर्चा चलेको छ ।
यस्तै सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. तारा जोशी जोडिने सम्भावना रहेको रावल निकटहरु बताउँछन् । जोशी एकीकृत समाजवादीको पूर्व केन्द्रीय सदस्य हुन् । उनीहरूको दुवैको घर कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा हो ।
एमाले जनसंगठन विभाग नेतृ सिन्धु जलेसाले अगाडि भनिन्,‘अहिले पनि पार्टी खोल्न सुझाव आइरहेको छ । तर उहाँ (रावल) सबै जिल्ला पुगेर कुरा सुनेपछि मात्रै निर्णयमा पुग्नु हुनेछ । लामो यात्रा भएकाले समय लाग्छ ।’
रावलको टीम अहिले ठूलो छैन । उनी धेरै खर्च नगरी सबै जिल्ला पुग्ने योजनामा छन् । सबैको सुझावका आधारमा पार्टी खोल्ने निर्णयमा पुग्ने उनको तयारी छ ।
४९ वर्ष काम गरेको पार्टी छाड्दा..
रावलको राजनीति जीवन ५१ वर्षमा प्रवेश गरेको छ । उनले ४९ वर्षसम्म एमालेको संगठित सदस्य भएर राजनीति गरे ।
‘५१ वर्षको राजनीतिक जीवन सक्न खोजियो । एमाले ध्वस्त गर्नेलाई बोक्ने, इमानदारलाई निकालेर शत्रुवत व्यवहार भयो,’ रावलले भने, ‘तर, मैले पार्टी सदस्यता छोडिनँ । कात्तक १३ गते कुरा गर्ने भनिए पनि समय दिइएन । ओलीलाई फोन गर्दा उठेन । पटक–पटक फोन गरेको कुरा हुन पाएन ।’
एमालेबाट पटक–पटक मन्त्री र सांसद बनेका रावल एमालेमा कुशल संगठक र वैचारिक नेताका रुपमा चिनिँदै आएका थिए। तर पार्टीको दशौँ महाधिवेशनमा ओलीविरुद्ध उठे पछि उनलाई भूमिकाहीन बनाइयो । उनले त्यही कुरा पत्रकार सम्मेलनमा पनि राखे ।
‘महाधिवेशनमा किन उठिस् भनेर प्रश्न तेस्र्र्याइएको थियो। त्यसो भए केपी ओली आठौँ महाधिवेशनमा झलनाथ खनाल र नवौँ महाधिवेशनमा माधव नेपालसँग प्रतिस्पर्धा गर्न किन उठ्नु भएको ?’, उनले भने, ‘ओलीका कारण एमालेको नीति, सिद्धान्त र विचार पतन हुने अवस्था छ । यसलाई बचाइराख्न पार्टी नछाड्ने भनेको थिएँ । तर, ओलीको मपाईंतन्त्र र पेलान धेरै भयो ।’
एमालेबाट निकालिएका रावल नयाँ अभियान घोषणा गर्दा पनि चिन्तित देखिएनन् । दृढ भए भने, ‘एमालेका अरु साथीसँग मेरै गुनासो र भन्नु केही छैन । तर नेतृत्वलाई जिम्मेवार बनाउनुपर्छ ।’
पुस ११ गतेको एमाले सचिवालय बैठकमा आफूलाई संगठित सदस्यबाट नहटाउन अडान राख्ने सातजना नेता रहेको पनि उनले दाबी गरे । ‘सचिवालय बैठकमा ७ जना साथीले हटाउनु हुँदैन, उहाँको योगदान छ भन्नु भएछ, ती साथीलाई म धन्यवाद दिन चाहन्छु ।’
रावलले एमाले छाडे पनि जुनसुकै मुद्दामा जनतामाझ खरो भएर उत्रिने पनि बताएका छन्।
बबरमहलस्थित कार्की ब्याङ्केटमा आयोजित पत्रकार सम्मेलनमा रावलको क्रेज राम्रै देखियो । युट्युबरसहित मूलधारका पत्रकारसहितसामु रावलले करिब अढाई घण्टा भाषण गरे । ३१ पृष्ठ लामो प्रतिवेदन प्रस्तुत गर्दै रावलले कुशासन, भ्रष्टाचार र विकृतिविरुद्ध जुट्न आग्रह गरे । ‘स्वेच्छाचारी निरंकुश र तानाशाही निर्णय र कामविरुद्ध जनताको हितरक्षा तथा समृद्धिका लागि मातृभूमि जागरण अभियान चाहिएको छ । अब हामी मातृभूमि जागरण अभियानमार्फत देशभर पुग्ने छौँ ।’
रावल ३१ पृष्ठ लामो वक्तब्य पढेर निस्किँदा उनीप्रति सहानुभूति राख्ने र कार्यकर्ताले हुटिङसहित नाराबाजी गरे । कार्यक्रममा युवा जमातको बाकलो उपस्थिति थियो । रावलले कार्यक्रम सुरुपूर्व सबैसँग आशीर्वादसमेत लिए ।
याे पनि
भीम रावलले सोधे केपी ओलीलाई ७४ प्रश्न
ओलीलाई कटाक्षसहित रावलको कविता : सामूहिक घर कसरी भन्छौ एकलौटी मेरै हो ?
प्रतिक्रिया