काठमाडौं – चैत १५ गते शुक्रवार आन्दोलनकारीहरुले आगजनी गर्दा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा करोडौंको क्षति भएको छ । मुख्य शाखा उत्पादन शाखा रहेको भवनमा आगजनीमा बहुमूल्य मेसिनहरुसँगै उत्पादित सामग्री जलेर खरानी भएपछि उत्पादन शाखाका ज्यालादारी कर्मचारीहरुको रोजगारी नै गुमेको छ ।
प्रत्यक्ष तथा अप्रत्यक्ष सयौँ कर्मचारीलाई रोजगारी दिएको जडिबुटी कम्पनीको उत्पादन शाखामा मात्रै दैनिक ४० जना ज्यालादारीमा काम गर्दै आएका थिए ।
शुक्रबार परेकाले धेरै कर्मचारीहरु ३ बजे नै निस्किँदा ज्यान जोगिए पनि आफ्नो रोजीरोटी गुमेकोमा उनीहरु चिन्तित छन् । कर्मचारी अमिता ढुङ्गेलले खबरहबसँग कुरा गर्दै भनिन्– ‘ज्यान त जोगियो तर रोजगारी गुम्यो । घरभाडा तिर्नेदेखि लिएर छोराछोरी पढाउने सवै खर्च यहीँबाट चल्थ्यो । अब त हाम्रो रोजीरोटी नै गुमेको छ ।’

कम्पनीमा ५ वर्षदेखि कार्यरत मीरा अधिकारी भन्छिन्– ‘ठूलै भाग्यले बाँच्न त बाँचियो । तर, रोजगारी गुम्यो । सरकारी कम्पनीबाट नआत्तिनुस् हामी केही गर्छौं भन्ने आश्वासन त पाएका छौं । घर नै जलेर ध्वस्त भएको छ । कहिले मेसिन आउने कहिले घर पुननिर्माण हुने केही टुङ्गो छैन ।’
लामो समयदेखि जडिबुटी उद्योगमा कार्यरत इन्द्रा परियारको गुनासो पनि त्यस्तै छ । अमिता, मिरा, इन्द्रा जस्तै सवै कर्मचारीहरुलाई रोजगारी गुमेकोमा व्यवहार कसरी चलाउने भन्ने चिन्ता छ ।
सबै कार्यालयहरुमा तोडफोड तथा आगजनी भएपछि आइतबार सबै कर्मचारी बाहिर चौरमै मलिन अनुहारमा बसिरहेका थिए ।
यसरी भएको थियो तोडफोड र आगजनी
योजना तथा बजार व्यवस्थापन शाखा प्रमुख गोविन्द शर्माले भने– ‘शुक्रबार परेकाले ३ बजे प्राय कर्मचारीहरु निस्किसकेका थिए म पनि निस्किसकेको थिएँ । केही कर्मचारीहरु निस्किने तर्खरमा थिएँ । दिउँसो ३ बजेपछि कम्पनीमा ढुङ्गामुढा शुरु भयो ।
कार्यालय समय सकिए पनि शाखा बिस्तारको सम्बन्धमा कार्यालयमा आन्तरिक छलफल चलिरहेको थियो । छलफलमा महाप्रबन्धक संगीता यादवसहितका केही कर्मचारी र एकजना विज्ञ पनि सहभागी थिए ।
एक्कासी ढुङ्गामुढा हुन थाल्यो त्यसबारे बुझ्न नपाउँदै ५० देखि १०० सजनाको संख्यामा आन्दोलकारीहरु उद्योग भित्रै छिरे । चारैतिरबाट ढुङ्गामुढा गर्दै पार्किङ गरिएका सवारी साधनहरुमा आगजनी गर्न थालेको दृष्यहरु सिसिटीभी फुटेजमा देखिएको उनले बताए ।
यो पनि-
व्यापार नफापेको सरकारलाई ‘सञ्चो’ले दिएको खुशी

कम्पनीले उत्पादन गर्दै आएका औषधिजन्य सामग्री
छलफलमा सहभागीहरु ज्यान जोगाउनकै लागि झ्यालबाट हाम फालेर बाहिर निस्किए । ‘यी सरकारी मान्छेहरु हुन् , सबैलाई मार्नुपर्छ भन्दै अभद्र गालीगलोज गर्दै आगजनी तथा तोडफोड गर्न थालेपछि प्रहरी प्रशासनलगायत सवैलाई खबर गरेर सहयोगको याचना गर्दा पनि समयमै दमकल नआउँदा धेरै क्षति भएको उनको भनाइ छ ।
ढुङ्गामुढाले लाग्दा छलफलमा सहभागी एक कर्मचारीको टाउकोमा समेत चोट लागेको उनले बताए ।
ड्युटीमा रहेका प्रत्यक्षदर्शी सेक्युरिटी गार्ड अमर रोकाका अनुसार तिनकुनेतिर आन्दोलन भइरहेको छ भन्ने सुने पनि जडिबुटीतिर त्यस्तो केही थिएन । केही प्रहरीहरु कम्पनी परिसर भित्रै थिए ।
एक्कासी गेटमा आएको ठूलो समूहलाई प्रहरीलाई ललकार्दै गेटको ताला तोडेर पसेको सय बढीको भीड आगजनी र ढुंगामुढामा उत्रिएको थियो । आफु सुरक्षा गार्डको पोसाकमा नभएकाले त्यहाँबाट भाग्न सफल भएको उनले बताए ।
‘शुरुमा गार्ड बस्ने कोठामा आगो लगाएपछि उत्साहित हुँदै अघि बढेको भीडले त्यसपछि गाडी जलायो,’सुरक्षाकर्मीले भने, ‘त्यहाँबाट प्रशासनिक भवनमा ढुङ्गा हान्दै उत्पादन भवनमा आगो लगाएको भीडलाई नियन्त्रण गर्न नसक्ने देखेपछि प्रहरी आफैँ भागेको थियो ।’
सुरक्षा गार्ड अमरले दिएको जानकारी अनुसार दिउँसो करिब ३ः३० मा ढुङ्गामुढा गर्न थालेका उनीहरुले करिब २ घण्टापछि मात्रै उत्पादन शाखामा आगो लगाएका हुन् । त्यो बीचमा चाहेको भए प्रहरीले रोक्न सक्थ्यो तर रोकेन । कर्मचारीलाई भने ज्यान जोगाउनु थियो ।
दमकल बोलाउँदा समयमा आउन सकेन कफ्र्यू लागिसकेपछि मात्रै दमकल आयो र रातिको १ बजेपछि मात्रै आगो नियन्त्रणमा आयो । त्यतिञ्जेल सबै सामान जलेर ध्वस्त भइसकेका उनले बताए ।
ठूलो क्षति हुनबाट जोगियो
जडिबुटी उद्योगको उत्पादन शाखा नजिकै सडक छेउमै डिजेल तथा अल्कोहल लोड गरिएका ठूलाठूला तीनवटा ट्याङ्कर थिए, जसमा आगो सल्किन पाएन । ठूलो क्षति हुनबाट जोगिएको गोदाम शाखा प्रमुख सुमन स्थापितले बताए ।
उनका अनुसार उत्पादन शाखा भन्दा अलि टाढा सडक छेउमै रहेका ३ वटा ठूला ट्याङ्करमा स्यानिटाइजर उत्पादनका लागि अल्कोहल र डिजेल राखिएको थियो । केही गरी त्यसमा आगो लागेको भए उद्योग वरपरको बस्ती नै सखाप हुन्थ्यो ।
खवरहबसँग कुरा गर्दै सुमनले भने, ‘कसो उनीहरुका आँखा गोदामघरसम्म पुगेन । जहाँ करोडौं मुल्यको जडिबुटी तथा प्रशोधन गरिएको सञ्चो, जट्टा हेयर आयल, विभिन्न किसिमका मसाज आयल, बाम, स्यानिटाइजर, शिलाजित, लगायतका तेलहरु राखिएको थियो । यत्ति भएपनि जोगियो अब यसैमा चित्त बुझाउनुपर्यो ।

७० करोड क्षतिको अनुमान
चार घण्टासम्म रहेको आगजनीबाट करिब ६० देखि ७० करोड बराबरको क्षति भएको आकलन गरिएको छ । योजना तथा बजार व्यवस्थापन शाखा प्रमुख शर्माले भने उत्पादन शाखाको ल्याब, प्रशासनिक भवन, मेसिनहरु जलेर ध्वस्त भएका छन् ।
उनका अनुसार पार्किङमा राखिएका १३ वटा गाडी र ६ वटा मोटरसाइकलमा पूर्ण र ४ वटा मोटरसाइकलमा आंशिक क्षति भएको छ ।
प्रशासन रहेको भवनमा ढुङ्गामुढा गर्दा भित्र रहेका सवै सामानहरु ध्वस्त भएका छन् ।
गृहमन्त्री रमेश लेखक लगायत सरकारका विभिन्न निकायका प्रतिनिधिहरु आएर स्थलगत अनुगमन गर्दै छिट्टै उद्योग सञ्चालनका लागि आवश्यक सहयोग गर्ने आश्वासन दिएको उनले बताए ।
प्रतिक्रिया