जडीबुटी कम्पनीकी महाप्रबन्धक भन्छिन्- आँखै अगाडि भवन खरानी भयो, केही गर्न सकिएन | Khabarhub Khabarhub

जडीबुटी कम्पनीकी महाप्रबन्धक भन्छिन्- आँखै अगाडि भवन खरानी भयो, केही गर्न सकिएन


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘सञ्चो’ भनेर धेरै नेपालीलाई थाहा छ तर उत्पादक संस्थाबारे कतिपयलाई थाहा नहुन सक्छ । कम्पनीले अन्य विविध उत्पादनहरू गरिरहे पनि ‘सञ्चो’ एक स्थापित ‘ब्रान्ड’ नै भइसकेको थियो । 

जसले उत्पादक कम्पनीबारे पनि आम नागरिकमा एउटा छाप छोड्दै थियो । यसका पछाडि वर्षौदेखि संस्था र सरकारका लगानी तथा  मेहनत छ । विडम्बना, त्यही संस्था गत शुक्रबारदेखि भग्नावशेषमा परिणत भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह पक्षधर प्रदर्शनकारीले आगजनी गर्दा कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड खण्डहर बनेको हो ।  

भवन खण्डहर छ । त्यहाँ रहेका उपकरण र अन्य सामग्री जलेर खरानी भएका छन् । ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’(जिएमपी) सुविधासहितका दुई वटा भवनमा क्षति पुग्नाका साथै औषधि उत्पादनमा प्रयोग हुने कच्चापदार्थ, उपकरण, फर्निचर, कागजातल, प्याकेजिङलगायत सामग्री जलेर खरानी भएका छन् । प्रारम्भिक विश्लेषणअनुसार आगजनीबाट २८ करोड रुपैयाँ बराबरको क्षति हुन पुगेको छ ।

हाल त्यही खण्डहर भवनमा रहेका भग्नावशेष र खरानी पन्छाउने काम जारी छ । त्यो दिन सम्झिँदा कम्पनीकी महाप्रबन्धक सङ्गीता यादवको मन भक्कानिन्छ । जनमानसमा ‘सञ्चो’उत्पादन गर्ने संस्थाका रूपमा चिनिएको यस कम्पनीलाई आफ्नै आँखा अगाडि खरानी भएको देख्दा उनको मन रोएको छ ।

महाप्रबन्धक यादव भन्छिन्, ‘मैले आफैँले त्यो नयाँ मेसिन राखेको थिएँ । अब यो लेभलसम्म आयो भनेर कति खुसी थियौँ तर आँखा अगाडि नै त्यो सबै संरचना जलेको देख्दा आँखाबाट आँसु नै आयो । मन थाम्न सकिँन । यस्तो हुन पुग्यो ।’

जिएमपीअनुसार सञ्चालन गरिएको भवनलगायत स्वचालित उपकरणहरू जलेर ध्वस्त हुँदा उत्पादन ठप्प छ । यद्यपि चाँडै नै कम्पनी पुरानै अवस्थामा फर्किने आशामा रहेको महाप्रबन्धक यादवको विश्वास छ । 

उनले भनिन्, ‘सबै जलेर खरानीमा परिणत भएको छ । कम्पनी फेरि सुरुआत गर्नु त पर्छ तर सुरुआती चरणमा म्यानुअल(हातबाट) फिलिङमै जानुपर्ने भयो । कम्पनी विविध चुनौतीका बीच एक लेभलमा अगाडि बढिरहेको थियो, शाखा पनि विस्तार गरिसकेका थियौँ । हामी सबै कर्मचारी उत्साहित थियौँ तर हुलदङ्गाको चपेटामा परेर सबै गुम्यो । अब सरकारले यसलाई गम्भीर भएर सोचिदिनुपर्छ ।’

पहिलाकै अवस्थामा कम्पनीलाई ल्याउन कठिन भए पनि प्रयास र समन्वय भइरहेको छ । कम्पनीले देशभरिमा रहेका शाखा कार्यालयबाट उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । 

‘यो संस्था अप्रिय दुर्घटनाको सिकार हुन पुग्यो । सातवटै प्रदेशमा शाखा राख्ने भनेर विभिन्न ठाउँमा काम भइसकेको छ । लुम्बिनी प्रदेशमा मात्र जान बाँकी थियो । जाजरकोटमा पनि हालैमात्र शाखा विस्तार गरेका थियौँ । गोरखामा पनि सुरु गर्ने तयारी थियो । अब जिल्लामा रहेका शाखाबाट उत्पादन गर्ने कोशिस गर्छौं तर जति माग थियो त्यसलाई भने धान्न सकिँदैन’, महाप्रबन्धक  यादवले भन्छिन् ।

उनका अनुसार अस्थायी संरचना तयार गरेर भए पनि उत्पादन सुरु गर्ने र यसका लागि सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्छ । यादवले भनिन्, ‘छानबिन आफ्नो ठाउँमा छ । आफ्नो तर्फबाट सम्बन्धित निकायसँग पहल गरिरहेका छौँ । व्यवसाय गर्ने संस्था हो । आफैँ कमाउने आफैँ खाने संस्था हो । अर्थतन्त्रमा यसको पनि योगदान हुन्छ । त्यसैले उत्पादन रोकिनुहुन्न । आशा छ हामी चाँडै बौरिने छौँ । सञ्चोको उत्पादन पुनः हुनुपर्छ भनेर लागिरहेका छौँ, यसमा सबैबाट सहयोग पाउने छौँ ।’

विसं २०३८ मा स्थापित सरकारको स्वामित्व भएको यो कम्पनीले विभिन्न औषधियुक्त एवं सुगन्धित जडीबुटीहरूको सङ्कलन र प्रशोधन गर्दै आएको छ । कम्पनीले सञ्चो, भिक्स, हिमालय मसाज तेल, सञ्चो जटा केश तेललगायत उत्पादन गर्दै आएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ७ : २४ बजे

दुर्घटनामा एक जनाको मृत्यु

बनियानी – झापाको झापा गाउँपालिकामा आज बेलुका ट्याक्टरबाट खस्दा एक

परराष्ट्रमन्त्रीसँग बिमस्टेकका महासचिवको शिष्टाचार भेट

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा

नेपाल सुपर लिग : ललितपुर सिटीको पहिलो जित

काठमाडौं – ललितपुर सिटी एफसीले नेपाल सुपर लिग ९एनएसएल० फुटबल

आईपीएल : आरसिबीले गुजरातलाई दियो १७० रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा अर्न्तगत जारी खेलमा रोयल

तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप सात जना पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौंको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप