भन्सार शुल्क बढाउन दृढ 'ट्यारिफ म्यान' | Khabarhub Khabarhub

भन्सार शुल्क बढाउन दृढ ‘ट्यारिफ म्यान’


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लामो समयदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयात शुल्क बढाउने पक्षमा वकालत गर्दै आएका छन् । उनले गौरवका साथ आफूलाई ‘ट्यारिफ म्यान’समेत भन्ने गरेका छन् । राष्ट्रपति ट्रम्पका अनुसार उनका लागि ‘ट्यारिफ’ शब्द शब्दकोषकै सबैभन्दा सुन्दर हो ।

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले चिनिया आयातमा कर बढाएका थिए । यससँगै उनले विश्व व्यापार संगठनलाई कमजोर बनाए । फलस्वरुप बहुपक्षीय व्यापार प्रणालीमै उल्लेखनीय बाधा पुग्यो ।

दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किएपछि उनले लगाएको शुल्कको आकार र दायराले भने संसारलाई चकित पारेको छ ।

ट्रम्पको व्यापार नीतिका पक्षधरको तर्क अलिक फरक सुनिन्छ । उनीहरूका अनुसार ट्रम्पले वार्ताको टेबुलमा आफ्नो पक्ष बलियो बनाउन आयात शुल्क बढाउने धम्की दिन्छन् । र, यसले अन्ततः अमेरिकी अर्थतन्त्रलाई फाइदा हुन्छ ।

तर, ट्रम्पका पछिल्ला गतिविधिले उनी आफ्नो संरक्षणवादी व्यापार एजेन्डाप्रति पूर्ण प्रतिबद्ध छन् भन्ने संकेत मिल्छ । उदाहरणका लागि अरु देशले अमेरिकी सामानमा जति भन्सार शुल्क लगाउँछन्, त्यति नै ‘पारस्परिक’ भन्सार शुल्क लगाउने उनको योजना छ ।

यद्यपि ट्रम्पको अन्तिम लक्ष्य अझै पनि स्पष्ट छैन । उनले सबै आयात हानिकारक छ भन्ने भ्रामक तर गहिरो विचार अँगालेको देखिन्छ ।

यहाँ फ्रान्सेली अर्थशास्त्री फ्रेडेरिक बास्टियाटको एउटा रोचक भनाइ उल्लेख गर्नु उचित हुन्छ । उनका अनुसार यदि सबै निर्यात राम्रो र सबै आयात खराब हो भने संसारका सबै मालवाहक जहाजहरू निर्यात वस्तुले भरिनुपर्छ र त्यसका कार्गो डम्प गर्न समुद्रमा पठाउनुपर्छ ।

विश्वव्यापी परिप्रेक्ष्यमा कर र अरु अतिरिक्त शुल्कले प्रायः लाभभन्दा हानी धेरै हुन्छ । कतिपयले यस्तो अतिरिक्त शुल्कले राष्ट्रिय सुरक्षामा योगदान पुर्‍याउने तर्क गरेका छन् । तर, वास्तविकता के हो भने यस्ता शुल्कले लागत बढाएर घरेलु उत्पादनको गुणस्तर घटाउँछ । यसले अन्ततः अर्थतन्त्रलाई नै कमजोर बनाउँछ ।

जहाज निर्माणको एउटा उदाहरण हेरौँ, जापान वा दक्षिण कोरियाको तुलनामा संयुक्त राज्य अमेरिकामा एउटा औसत जहाज बनाउन ४–६ गुणा बढी खर्च लाग्छ । चीनमा एउटा जहाज बनाउन ५५ मिलियन डलर लाग्दा अमेरिकामा त्यही बनाउन ३ सय ३३ मिलियन डलर खर्च हुन्छ ।

कतिपयले राष्ट्रिय सुरक्षाका लागि भए पनि अरु देशबाट आयात हुने सामानमा शुल्क वृद्धि गर्नुपर्ने तर्क दिने गरेका छन् । तर, यस्तो अवस्थामा एउटा प्रश्नले महत्व राख्छ ः के अमेरिकी नौसेनाले विदेशमा किनेर चारगुणा धेरै जहाज तैनाथ गर्न सक्दा त्यो फाइदाजनक हुँदैन ?

ट्रम्पका धेरै समर्थकलाई थप हुने आयात शुल्कको सबैभन्दा ठूलो असर अमेरिकाका व्यापारिक साझेदारले वहन गर्छन् भन्ने लाग्छ ।

तर, वास्तविकता के हो भने, आयात प्रतिस्थापनका लागि स्वदेशी उत्पादनमा जोड दिन निषेधात्मक रूपमा अतिरिक्त शुल्क लगाउँदा आयातकर्ता सामानको लागत बढाउन बाध्य हुन्छन् । र, त्यसको असर अमेरिकी उपभोक्तालाई नै पर्न जान्छ ।

यसबाहेक ट्रम्प प्रशासनका नीति र बयानबाजीले अमेरिकी उत्पादक र उपभोक्तामाझ व्यवसायिक अनिश्चितता पनि बढाएको छ ।

अरु देशबाट अमेरिका पुग्ने सामानले सम्भावित ढिलाइ र उच्च भन्सार शुल्कको सामना गर्ने सम्भावना छ । फलस्वरूप, कम्पनीहरूले दीर्घकालीन योजनाहरूमा प्रतिबद्ध हुनुअघि थप स्पष्टताको खाँचो महसुस गर्छन् । यसैकारण अमेरिकाका कतिपय व्यवसायले लगानीबारे निर्णय गर्नुअघि स्थिरताको आवश्यकता महसुस गरिरहेका छन् ।

उदाहरणका लागि, ट्रम्पले युरोपेली संघबाट आयात हुने मदिराजन्य पेय पदार्थहरूमा २०० प्रतिशत कर लगाउने धम्की दिएका छन् ।

ट्रम्पको आयात शुल्कले पहिलेदेखि नै अमेरिकी अटो उद्योगको चिन्ता बढाइरहेको छ । यससँगै अब हरेक नयाँ कारको मूल्य हजारौँ डलरले बढ्ने अर्थशास्त्रीहरूको चेतावनी छ ।

अमेरिकामा नयाँ अटो एसेम्बली कारखाना निर्माण गर्न सात वर्षसम्म लाग्छ । यसैगरी, त्यहा घरेलु उद्योगमा उल्लेख्य वृद्धि हुन लामो समय लाग्न सक्छ ।

यी अवरोधहरूले दूरगामी असर निम्त्याउन सक्छ । ट्रम्पको संरक्षणवादी नीतिले मुद्रास्फीतिलाई बढावा दिने डरले अमेरिकामा उपभोक्ताको विश्वास सन् २०२२ यता कै न्यूनस्तरमा झरेको छ ।

यसैबीच, व्यापार युद्धले अमेरिकाको स्टक बजार पनि खस्किँदै गएको छ ।

विडम्बना के छ भने, ट्रम्पले मुद्रास्फीति नियन्त्रण गर्ने वाचा गर्दै चुनाव जितेका थिए ।

तर, अर्थशास्त्री मिकी डी. लेवी र माइकल डी. बोर्डोले भनेझैँ उच्च आयात शुल्कले विपरीत परिणाम निम्त्याउन सक्छ । आर्थिक

गतिविधि सुस्त हुन्छ, बेरोजगारी बढ्छ र उपभोक्ता मूल्य अझ वृद्धि हुन्छ ।

अमेरिकी अर्थतन्त्रको अवस्था झन्–झन् खराब बन्दै गइरहेको छ । ओईसीडीले हालै अमेरिकी अर्थतन्त्रमा हुने वृद्धि प्रक्षेपणलाई परिमार्जन गरेको छ । ओईसीडीका अनुसार ‘व्यापार द्वन्द्व’ ले आर्थिक गतिविधिलाई रोक्न सक्छ र उच्च मुद्रास्फीति निम्त्याउन सक्छ ।

अमेरिकाको आर्थिक वृद्धिदर अब २०२४ मा २.८ प्रतिशतबाट २०२५ मा २.२ प्रतिशत र २०२६ मा १.६ प्रतिशतमा सुस्त हुने अपेक्षा गरिएको छ ।

क्यानाडा र मेक्सिकोको लागि ट्रम्पको आयात शुल्कले थप चिन्ता बढाउन सक्छ । क्यानाडाको आर्थिक वृद्धि ०.७ प्रतिशतले सुस्त हुने अनुमान गरिएको छ । मेक्सिकोको अर्थतन्त्र सम्भावित रूपमा मन्दीमा प्रवेश गरेको छ ।

तर ट्रम्पको व्यापार युद्धको परिणाम उत्तर अमेरिकामा मात्रै सीमित रहने छैन । ओइसीडीका अनुसार गत वर्ष ३.२ प्रतिशत रहेको विश्वव्यापी आर्थिक वृद्धिदर सन् २०२५ मा ३.१ प्रतिशत र २०२६ मा ३ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ ।
यो प्रवृत्ति अझै उल्टाउन सम्भव छ कि छैन भन्ने स्पष्ट भइसकेको छैन । ट्रम्पका नीतिहरूका कारण उत्पन्न अनिश्चितताले अमेरिकालाई मन्दीमा धकेल्न सक्छ ।

(एन ओ. क्रुगर, पूर्व विश्वबैंक प्रमुख अर्थशास्त्री र अन्तर्राष्ट्रिय मुद्राकोषका पूर्वप्रथम उपप्रबन्धनिर्देशक, जोन्स हप्किन्स विश्वविद्यालय स्कुल अफ एडभान्स्ड इन्टरनेशनल स्टडीजमा अन्तर्राष्ट्रिय अर्थशास्त्रका वरिष्ठ अनुसन्धान प्राध्यापक हुन् ।)

प्रतिलिपि अधिकार- प्रोजेक्ट सिन्डिकेट

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ७ : ०९ बजे

दुर्घटनामा एक जनाको मृत्यु

बनियानी – झापाको झापा गाउँपालिकामा आज बेलुका ट्याक्टरबाट खस्दा एक

परराष्ट्रमन्त्रीसँग बिमस्टेकका महासचिवको शिष्टाचार भेट

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा

नेपाल सुपर लिग : ललितपुर सिटीको पहिलो जित

काठमाडौं – ललितपुर सिटी एफसीले नेपाल सुपर लिग ९एनएसएल० फुटबल

आईपीएल : आरसिबीले गुजरातलाई दियो १७० रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा अर्न्तगत जारी खेलमा रोयल

तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप सात जना पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौंको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप