तनहुँको १६२ हेक्टर वन क्षेत्रमा डढेलो  | Khabarhub Khabarhub

तनहुँको १६२ हेक्टर वन क्षेत्रमा डढेलो 


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँमा गत चैतयता १६२ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । त्यसबाट ठूलो क्षति भएको छ । यहाँका पालिका र सरोकार भएका निकायले सचेतनाका विभिन्न कार्यक्रम सञ्चालन गरे पनि डढेलोका घटना भने भइरहेका छन् ।

डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी सहायक वन अधिकृत राजकुमार श्रेष्ठले यस अवधिमा जिल्लाका विभिन्न १२ वटा सामुदायिक वनमा डढेलो लागेको जानकारी दिए । उनले यसबारे एकीकृत विवरण सङ्कलनको काम भइरहेको बताए ।

वनमा डढेलो लगाउनु हुँदैन भनेर जिल्लास्थित दशवटै पालिकामा पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि डढेलो लाग्ने क्रम नरोकिएको श्रेष्ठको भनाइ छ । उनले भने, ‘स्थानीय तहको सहयोगमा सामुदायिक वनका पदाधिकारी र सदस्य राखेर सचेतना फैलाउने काम निरन्तर भइरहे पनि वर्षैपिच्छे डढेलोका घटना बढिरहेकै छन् । यसमा हामी सबै चिन्तित छौँ ।’

जिल्लामा ८२ हजार ५४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ भने दशवटा स्थानीय तहमा छ सय १६ सामुदायिक वन, चार सय ८५ कबुलियती वन र छवटा धार्मिक वन रहेका छन् ।

गर्मीयाम सुरु भएसँगै यहाँका सामुदायिक वनमा डढेलो लाग्ने क्रम बढेको र सो कार्य मानवीय असावधानीकै कारण भए पनि त्यसमा सङ्लग्नको पहिचान गर्न नहुँदा कारबाहीको दायरामा ल्याउन नसकिएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।

यहाँ घर नजिकैको पातपतिङ्गर सफा गर्ने नाममा जलाउने, गाईबाख्राका लागि घाँस पलाउँछ भन्दै वनमा आगो लगाउने प्रवृत्ति कायमै छ । त्यसलाई निरुत्साहित गर्न सचेतनाका कार्यक्रम गरिए पनि त्यसको प्रतिफल आउन सकेको छैन । डिभिजन वन कार्यालयले जिल्लाका आठवटै सब डिभिजनमार्फत वन डढेलो सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ ।

त्यसक्रममा वनमा अग्निरेखा बनाउने, पात भर्ने समयमा सफा गर्ने, वनजङ्गल बाहिर लगेर मात्र गोल पोल्ने, आगो बल्ने चीज लिएर वनमा नजाने, सुकेका र ढलेका रूख तथा हाँगाबिङ्गा सुक्खा मौसम अगावै हटाउने विषयमा सामुदायिक वनका उपभोक्तालगायतलाई सचेत गराउने गरिन्छ ।

‘गर्मी मौसममा बिँडी, चुरोट खाएर ननिभाई  फाल्नाले, वन्यजन्तु भगाउन आगो लगाउनाले, नयाँ घाँस उमार्नका लागि आगो लगाउनाले डढेलोको प्रकोप बढ्न सक्छ’, श्रेष्ठले भने, ‘गोठालो तथा केटाकेटीहरूले मनोरञ्जनका लागि वनमा आगो बाल्ने, वन नजिकका खेतबारीमा झारपात जलाउने र ननिभाउने गर्नाले पनि आगलागीका घटना हुन सक्छन् । यसतर्फ सचेत हुनुपर्छ भनेर जानकारी दिइरहेकै छौँ ।’

डढेलो लाग्ने १८ जिल्लामध्ये तनहुँ पनि उच्च जोखिममा पर्दछ । वन ऐनमा  राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा क्षति भएको बिगो असुल उपर गरी तीन वर्ष कैद वा  ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ । 

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ७ : १६ बजे

श्रीमती बचाउन गएका खड्कलालको करेन्ट लागेर मृत्यु

बाँके–  बैजनाथ गाउँपालिका-२ कलरामपुर स्याली गाउँ बस्ने ७३ वर्षीय खड्कलाल जैसीको करेन्ट

बुटवल-नारायणगढको दाउन्ने खण्ड शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढको १४ किलोमिटर दाउन्ने खण्डमा

शेखरलाई साथ दिँदै विनोद चौधरीलाई गुरू घिमिरेको ८ बुँदे ‘काउन्टर’

काठमाडौं- डलर अर्बपति विनोद चौधरीले नेपाली कांग्रेसका नेता डा. शेखर

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

मकवानपुर– १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मनहरी गाउँपालिका-१ मकरी बस्ने

खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ : मन्त्री चौधरी

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद