हेमार्केटमा त्यस्तो के भएको थियो जसका कारण मनाइन्छ अन्तर्राष्ट्रिय श्रमिक दिवस ? | Khabarhub Khabarhub

हेमार्केटमा त्यस्तो के भएको थियो जसका कारण मनाइन्छ अन्तर्राष्ट्रिय श्रमिक दिवस ?


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज मे दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । यस वर्षको १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।

श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् ।

सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ ।

श्रमिक आन्दोलन

लामो समयदेखि कारखानामा मजदुरले दैनिक १८ घण्टासम्म काम गर्दै आएका थिए । असुरक्षित वातावरणमा काम गर्नुपथ्र्यो भने कारखानामा बालमजदुरको पनि श्रम शोषण हुने गरेको थियो ।

अमेरिका र क्यानाडाका ट्रेड युनियन र श्रम संगठनले आठ घण्टा काम गर्न पाउनुपर्ने माग राख्दै निरन्तर आन्दोलन गर्दै आएका थिए ।

अक्टोबर १८८४ मा फेडेरेसन अफ अर्गनाइज्ड ट्रेड्स एण्ड लेबर युनियन्स अफ द युनाइटेड स्टेट्स एण्ड क्यानाडाले श्रमिकले आठ घण्टा मात्रै श्रम गर्नुपर्ने माग राख्दै आन्दोलन थालेको थियो । त्यसबेला सन् १८८६ मे १ बाट यो नीति लागू गर्ने उद्देश्यका साथ अमेरिकाभर हड्तालको घोषणा गरिएको थियो ।

विभिन्न इतिहासकारका अनुसार त्यस दिन ३ लाखदेखि ५ लाख कामदार अमेरिकाभर हड्तालमा उत्रिएका थिए । शिकागो उक्त आन्दोलनको केन्द्रविन्दु थियो । शिकागोमा मात्रै ४० हजारभन्दा धेरै श्रमिक, अराजकतावादी, समाजवादी, ट्रेड युनियनका कार्यकर्ताहरु प्रदर्शन र हड्तालमा सहभागी भएका थिए ।

शिकागो प्रदर्शनमा अगस्ट स्पाइज र अल्बर्ट पार्सन्सजस्ता अमेरिकी ट्रेड युनियनका नेताहरु पनि सहभागी थिए ।

मे ३ सम्म उक्त आन्दोलन शान्तिपूर्ण र संयमित नै थियो । शिकागोका सबै श्रमिक भने हड्तालमा थिएनन् । केही श्रमिकले हड्तालको उल्लंघन गर्दै काम पनि गर्दै थिए । नजिकै रहेको म्याकोर्मिक हार्भेस्टिङ मेसिन कम्पनीमा पनि केही श्रमिक हड्तालको उल्लङ्घन गर्दै काममा सहभागी थिए ।

ती श्रमिकको सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी पनि परिचालन गरिएको थियो । पछि हड्तालमा सहभागहरु उक्त कम्पनीतर्फ अघि बढे । त्यही बेला हड्तालमा सहभागी र काममा लागि रहेका श्रमिकको सुरक्षामा खटिएका प्रहरीबीच झडप भयो ।

प्रहरीले हड्तालमा उत्रिएका श्रमिकमाथि अन्धाधुन्द गोली चलायो । आन्दोलनमा सहभागी स्पाइजले ‘प्रहरीको पछिल्लो दमनकारी कदमको निन्दा गर्न’ आह्वान गरे ।

त्यसको भोलिपल्ट राति शिकागोको हेमार्के स्क्वायरमा २५ सय जना श्रमिक भेला भएका थिए । तीमध्ये अधिकांश आप्रवासी समुदायका थिए । त्यसबेलाको प्रदर्शनमा स्थानीय अरजाकतावादी नेताले भाषण दिइरहेका थिए । उनको भाषण सुन्न शिकागोका मेयर कार्टर ह्यारिसन पनि उपस्थित थिए । पछि भाषण चलिरहेका बेला उनी घर फर्केका थिए ।

त्यसबेला विस्तारै भीड पातलिँदै गएको थियो । सहभागीको संख्या २ सय आसपास थियो । प्रदर्शन भएको स्थानभन्दा दुई ब्लक पर करिब १ सय ७० जना प्रहरी तैनाथ थिए । घर जाने बेला मेयर ह्यारिसनले प्रहरीलाई संयमता अपनाउन आग्रह गरेका थिए । तर, मेयरको निर्देशन अवज्ञा गर्दै प्रहरीले भीडलाई तितरबितर हुन आह्वान गर्‍यो ।

प्रहरीले यस्तो आग्रह गर्दा प्रदर्शनका अन्तिम वक्ताले भाषण सिद्धाउन लागेका थिए । त्यही बेला अज्ञात व्यक्तिले प्रहरीको जत्थालाई लक्षित गरी घरेलु बम प्रहार गर्‍यो । तत्काल बम विष्फोट भयो ।

त्यसपछि प्रहरीले जथाभावी गोली चलाउन थाल्यो । प्रहरीले गोली चलाएसँगै प्रदर्शनकारीले पनि जवाफी फायर खोलिसकेका थिए । त्यसबेला प्रदर्शनले झडपको रुप लिइसकेको थियो ।

झडपका क्रममा ७ जना प्रहरी र तीन जना प्रदर्शनकारीले ज्यान गुमाए ।

त्यसपछि विभिन्न अखबारले प्रदर्शनलाई ‘हेमार्केट दंगा’ को संज्ञा दिँदै हिंसा भएको विषयलाई ठूलो बनाएर छापे । अखबारमा घटनाको बदला लिनुपर्ने र प्रदर्शनलाई कुल्चेर अघि बढ्नुपर्ने आशयका सामग्री छापिए ।

त्यसपछि शिकागोमा ‘मार्शल ल’ को घोषणा गरियो । शिकागो प्रहरीले युनियनका कार्यालय, वामपन्थी समाचारपत्र, निजी सम्पत्तिमा छापा मार्न थाल्यो ।

सो क्रममा सयौँ अराजकतावादी, समाजवादी नेता कार्यकता एवम् श्रम अभियन्ता समातिए । त्यस वर्षको गर्मी महिनामा ७ जना प्रहरीको हत्यामा संलग्न रहेको आरोपमा शहरका ८ जना अराजकतावदी नेताहरु अगस्ट स्पाइज, अल्बर्ट पार्सन्स, एडोल्फ फिशर, जर्ज एङ्गेल, लुइस लिङ, स्यामुएल फिल्डेन, माइकल स्वाब र ओस्कर निबेलाई अदालतमा उपस्थित गराइयो ।

उनीहरुविरुद्ध प्रहरीसँग कुनै ठोस प्रमाण भने थिएन । तैपनि क्रान्तिकारी विचारधारा कै आधारमा उनीहरुलाई दोषी ठहर गरियो ।

अदालतले निबेलाई १५ वर्षको जेल सजाय सुनायो भने बाँकी सात जनाले मृत्युदण्ड भोग्नुपर्ने ठहर गर्‍यो ।

पछि इलेनोइ राज्यको सरकारले फिल्डेन र स्वाबको मृत्युदण्डको सजायलाई जन्मकैदमा घटायो । मृत्युदण्ड पाउने अघिल्लो दिन लिङले आफ्नै कारागार कक्षमा आत्महत्या गरे ।

पार्सन्स, स्पाइज, फिशर र एङ्गेललाई एकैसाथ सन् १८८७ नोभेम्बर ११ का दिन फाँसीमा चढाइयो ।

उनीहरुको शव गाड्न शहरका कुनै पनि समाधिस्थल तयार थिएनन् । सोही कारण नजिकैको छिमेकमा अवस्थित फोरेस्ट पार्कको वाल्डहाइम समाधिस्थलमा उनीहरुलाई समाधिस्थ गरिएको थियो ।

श्रमिक आन्दोलनमा ज्यान उत्सर्ग गरेकालाई समाजवादी र अराजकतावादी वामपन्थीहरुले ‘हेमार्केटका शहीद’ को संज्ञा दिने गरेका छन् । सन् १८८९ मा मजदुर संगठनको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउने निर्णय गर्‍यो ।

फरक दृष्टिकोण
तर, हेमार्केटमा भएको घटनालाई भने फरक व्यक्तिले फरक दृष्टिकोणले हेर्दै आएका छन् ।

हेमार्केट घटनापछि मृत्युदण्ड पाएका अराजकतावादीलाई फासी दिनु ६ साताअघि सेप्टेम्बर १८८७ मा शिकागोमा नयाँ अभियान शुरु गरिएको थियो ।

त्यसबेला शिकागोका ठूला व्यापारीहरुले हेमार्केटमा भएको घटनामा मारिएका तथा घाइते भएका प्रहरीको सम्झनामा स्मारक बनाउन चन्दा संकलन अभियान थालेका थिए । शिकागोबाट प्रकाशित हुने शिकागो ट्रिब्युन अखबारले यो अभियानलाई ठूलै चर्चाको विषय बनाएको थियो ।

छोटो समयमै यो अभियानले प्रहरीको ९ फिट अग्लो प्रतिमा निर्माणका लागि भन्दै १० हजार डलर चन्दा संकलन गर्‍यो ।

हेमार्केट क्षेत्रमा अनावरण हुनुअघि नै यो प्रतिमाको विरोधका स्वरहरु सुनिन थालिसकेका थिए । ३ मे १८८९ मा त्यहाँ भेटिएको पर्चामा उक्त प्रतिमाको निन्दा गरिएको थियो ।

‘हेमार्केटमा भएको दुःखद घटनाका सच्चा पीडितमध्ये ५ जनाको हाकाहाकी हत्या भएको घटनाबारे ध्यान दिनुभएको छ ?’ उक्त पर्चामा लेखिएको थियो, ‘हाम्रा कमरेडहरुको पर्याप्त न्यायको समय आउनेछ, तर अहिले होइन । हेमार्केटको प्रतिमामा यस्ता अग्निशब्द लेखिनुपर्छ– वाक् स्वतन्त्रताको घाँटी निमोठ्ने र दास जनताको लज्जाका लागि स्थापित !’

शिकागो ट्रिबयुनको शब्द सापटी लिँदै अधिकारीहरुले यो पर्चालाई ‘अराजकतावादी हल्ला’ को संज्ञा दिएका थिए । १८८९, मे ३० का दिन त्यस प्रतिमाको अनावरण गरिएको थियो ।

उक्त प्रतिमाको तल्लो भागमा लेखिएको थियो– ‘इलेनोइका जनताको नाममा म शान्ति आह्वान गर्दछु ।’

पार्सन्सकी विधवा लुसीको अगुवाइमा वाल्डहाइम समाधिस्थलमा मृत्युदण्ड पाएका नेताहरुको स्मारक स्थापना गरिएको थियो । उक्त स्मारक अनावरण गर्ने बेला इलेनोइ राज्यका डेमोक्र्याट गर्भनर जोन पिटर अल्टगेल्डले हेमार्केट घटनामा संलग्न रहेको आरोप लागेका फिल्डन, स्वाब र निबेलाई माफी दिएका थिए ।

अहिले अरु बेलासँगै हरेक मे १ का दिन उक्त स्मारकमा विश्वभरबाट समाजवादी, अराजकतावादी, साम्यवादी तथा श्रमिक आन्दोलनमा आस्था राख्ने सयौँ वामपन्थी नेता कार्यकर्ता आउने गरेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ८ : ५० बजे

सुदूरपश्चिमका २८ स्थानमा सुपथ मूल्यका पसल सञ्चालन

दोधारा चाँदनी- सुदूरपश्चिमका २८ स्थानमा चाडपर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालन

छैटौँ खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका कमललाई

गोरखा– संविधान दिवसको अवसरमा लियो क्लब अफ गोरखाद्वारा आयोजित खुला

जब घाइतेका लागि रक्तदान गर्न जाँदा आफैंलाई गोली लाग्यो

काडमाडौँ– नुवाकोटको ककनीका ४२ वर्षीय ललितमान लामा ट्रमा सेन्टरमा भर्ना

मुख्यमन्त्री पाण्डेले भने- संविधानको कार्यान्वयनबाट आर्थिक समृद्धि सम्भव छ

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको स्थायित्व र कार्यान्वयनले मात्र